२०४६ फेदेन–६पान्थरमा जन्मीएको कवि सन्देस सुब्बा नेपाली कविताको क्षेत्रमा आफ्नो पुस्ताहरुमाझ एक बलशाली कवि हुन। पत्रकारिता पेशामा सकृय उनका आगोको सौन्दर्य कविताकृति २०७६, सम्झनाको आँधी गजलकृति २०७८ प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता ।

कथा एक बादशाहको

एकादेशमा
थिए– एक बादशाह ।

बादशाह !
सन्काहा र अहङकारी थिए
निरङकुश र तानाशाही थिए
आफूलाई शेर सम्झन्थे
रैतीहरुको पीडामा मजाक गर्थे
व्यक्तिसत्ता सबैभन्दा प्रधान ठान्थे ।

त्यहाँ
भोकमरी चल्थ्यो
फूलजस्ता भुराभुरी कुपोषणको शिकार हुन्थे
आफन्त जस्तै बनेर आइपुग्थ्यो महामारी
एकबारको जुनी पाएका
मान्छेका जीवनको
राजीनामा पत्र बुझाएर जान्थ्यो ।

बादशाह
बिराजमान रहन्थे सिंहासनमा ।

दरबार
हरेक रात हुन्थ्यो रङ्गीन
जम्थ्यो मेहेफिल
पस्किन्थे नर्तकीहरु भद्धा नृत्य
नशामा मदहोस बादशाह
हुक्काको धुँवा उडाउदै
हान्थे प्रतिगामी हुटिङ ।

लाग्थ्यो–
यहिं हो जलिरहेको ‘रोम’
यीनै हुन बासुरी बजाइरहने ‘नीरो’

बादशाहले
स्वतन्त्रताको कविता लेख्ने कविको हात काटिदिए
मुक्तिको गीत गाउने गायकको जिब्रो थुतिदिए
न्यायको संसार हेर्न चाहने आँखाहरु फुटाइदिए
समानताको नारा लगाउन निस्कनेहरुको खुट्टा भाचिदिए ।


फेरे सत्ता–सुरक्षाको लामो श्वास ।

एकदिन
रगत पिउन पल्केका बादशाह
प्यासले आकुलब्याकुल बने
धाराको साटो पुगे– इनार
इनारभित्र पानीमा देखे– आफ्नै छाँया ।

बादशाह
शक्तिको उन्मादमा यति घमण्डी र मूर्ख भइसकेका थिए कि
पानीमा प्रतिबिम्बित आफ्नै छायाँलाई
दुश्मन देखे ।

‘‘मेरो बिशाल साम्राज्यमा अर्को बादशाह ?’’

गर्जिए बादशाह
– यसको गिदीजिब्रो
– यसको मुटुकलेजो
– यसको तात्तातो रगत
अब बन्नेछ मेरो लागि मीठो सितन ।

आक्रोशले आगो बनेका बादशाह
तरबार उज्याएर झ्वाम्म हाम्फाले इनारभित्र ।

एकादेशमा
एक बादशाह
यसरी आफ्नै अहङकारको दहमा डुबेर
बिदा भए ।

घर

अब,
बजाउँदै च्याब्रुङ
फलाक्दै मुन्धुम
गरौं– थक्थामा ।

च्याङ धुम …..धुम …
च्याङ धुम… धुम…
हिम थक्थाम्थाम …
हिम थक्थाम्थाम …

जुक्तिले उभ्या’को घरमा
किन बार–बार लागिरहन्छ, धमिरा ?
कि, फेरि खस्यो
मूलखाँबोको खाडलमा
खाप्पुना मेन्लन्हाङ्माको कपालको थाक्रा ?

हामी :

पाजाइबा
पान्तुम्याङ
तेन्तुम्याङ
एकैछिन थामिराख्न नसक्दा– खाँबो

खाडलभित्रै किचिइन मेन्लन्हाङ्मा ?

भइन, सेअक्लुङ अक्वानामा ।

नत्र त
पटक–पटक नखानुपर्ने हो, धमिराले घर ।

नमक्किनु पर्ने हो
मूलखाँबो
दलिन
डाँडाभाटा

राखिएकै हो– त्तुत्तुतुम्याङ
छोइएकै हो– माटो
गरिएकै हो– वाचा
कि, कहाँनेर पुगेन मुन्धुम ?

खुसी हुन सकेनन्, लुङ्देनहाङ्बा र फुङदेनहाङबा ?

कि, प्रवेश गरे घरमा
छद्मभेषी
षडयन्त्रकारी
उत्तरआधुनिक धमिराहरु ?

लु ! फेरि एक खेप
बजाउँदै च्याब्रुङ
फलाक्दै मुन्धुम
गरौँ– थक्थामा ।

च्याङ् धुम … धुम…
च्याङ धुम… धुम …
हिम थक्थाम्थाम …
हिम थक्थाम्थाम …

जसरी उभ्याउनु छ– सभ्यताको घर ।

यादहरुको सुनामी

सम्भवत :
तिमीलाई पनि जम्मै याद छ
बैशाखे पूर्णेको त्यो रात
हाम्रै शिरमाथिको चन्द्र साक्षि राखेर
धित मरुञ्जेल रोएका थियौं अन्तिम पल्ट

छुट्टिएका थियौं
कहिल्यै एक नहुने गरी ।

तिमी हिंडने बेलामा
तिम्रै हातमा राखिदिएको हुँ
तिमीले लेखेका प्रेमपत्रहरुको पोको
तिमीले नमाने पनि
तिम्रै शिरमा सिउरिदिएको हुँ
प्रणय दिवशको दिन
तिमीले दिएको रगतरङ्गे गुलाफको फूल

फिर्ता गरेको हुँ
‘जीवनको कविता लेख है !’ भनेर
तिमीले स–प्रेम दिएको निलो डायरी र कलम
अनि
तिम्रा जम्मै फोटोहरु ।

तिमीले लिन नमाने पनि
मैंले राख्न नचाहेपछि
सप्पै–सप्पै चुपचाप थाप्यौ
मैंले त केथ्यो र लिनु ?
भएँ रित्तो–रित्तो
रित्तो मन
रित्तो जिन्दगी ।

मनले पटक्कै नमानी
जबि तिमीले
एउटा गह्रुङ्गो पहिलो पाइला सारयौ
अन्तिम पल्ट तिम्रो हात समाएर भनेथें
मेरो भागका जम्मै फूलहरु लैजाउ
र, जिन्दगी सजाउ यसले
औंशी–पूर्णे झुल्किने
अधरका शिरबन्दी जस्ता घाम–जून पनि लैजाउ
र, सधैं–सधैं उज्यालो पारी राख आफ्नो संसार ।

तिमी त चुपचाप उभिरह्यौ
लज्जावती झार झैं खुम्चिएर
तिमीले अलिकति शिर उठाउदा हो क्यार !
भनिरहेका थिए, तिम्रो चीसा आँखाहरुले
सत्ते, सत्ते म बैगुनी होइन
सत्ते, सत्ते म निष्ठूरी होइन
सत्ते

त्यसपछि
जब छोंडें तिम्रो हात
तिमी सुस्तरी अलप भयौ पूर्वतिर
सँगै लिएर सपनाहरु … कल्पनाहरु … पनि
म फडके कुदें पश्चिमतिर
सायद कुल्चिदै तिम्रो कोमल मुटु
त्यहिं रात मेटियो
रगतले लेखेको प्रेमको एउटा अभिलेख
उदास–उदास रोइरह्यो जून आकाशमा
ठिङ्ग उभिरहेका रुखका पातहरुले गाए ट्राजेडि
वतासको संगीतमा
भर्खरै एकोहोरे गोडेर भुईं छाडदै गरेका
मकैका बोटहरुले पनि
हेरिरहे छक्क परेर
एउटा स्वर्णिम सम्बन्धको दुःखद अवसान ।


आज तमोरमा निकै पानी बगेपछि
कुल्चिदै छोडिराखिने पाइतालाका डोबहरुसँगै
पछ्याइरहने तिम्रो छाँया र याद पनि
फिर्ता गर्न आएको छु उही पुरानै ठाउँमा
जहाँबाट अन्तिम पल्ट सँगै रोएर
छुट्टिएका थियौं हामी, कहिल्यै नभेटने भनेर ।

आउ
विगतको बाचालाई बिर्सेर एकपटक
लैजाउ ! यी पनि तिमी नै राख
यो कमजोर मुटुले थाम्न सक्दैन अब
बेगवान
यादहरुको सुनामी ।

तपाईको प्रतिक्रिया