कानुन संकायमा स्नातक गर्दै गरेकी जाजरकोटकी कवि अप्सरा केसीका कविताहरुले सामाजिक न्याय र समतामूलक समाज निर्माणको परिकल्पना गरेको छ । उनका कविताहरु सामाजिक साँस्कृतिक र धार्मीक जडताहरु बिरुद्ध प्रखर अभिव्यक्ति हुन । नेपाली समाजमा सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक ब्यवस्थाभित्र आफुले देखेका, भोगेका, महसुस गरेका असन्तुष्टि, बिरोधाभाष, असहमतिहरुलाई कविता मार्फत पोख्ने अप्सरा समकालीन कविहरुमा बिद्रोही चेतना भएकी एक सुन्दर सम्भावना भएकी कवि हुन। प्रस्तुत छ साताको तीन कविता

कविता लेख्ने छोरी !

तपाई कविता लेख्ने छोरी नजन्माउनुहोला
किनकी उसले तपाईंको बारेमा जे पनि लेख्न सक्छे
उसले तपाइँका आँशुहरु लेख्नेछे
उसले तपाईंका हाँसोहरु लेख्नेछे
उसले तपाइँका निराशाहरु पनि लेख्नेछे
उसले तपाईका आशाहरु पनि लेख्नेछे ।

म साँच्चै भन्दैछु
कविता लेख्नको लागि छोरीलाई कलम नकिन्दिनुहोला
उ शब्दहरुको बारुद भरेर कलमलाई बन्दुक बनाउन सक्छे
उ आफ्नो देशको ईतिहास लेख्न सक्छे
उ देशको अस्तित्व जोगाउन रणभुमिमा उत्रिन सक्छे ।

अझ,
उ अटेर गर्न सक्छे तपाइको आदेश
र खोज्न थाल्नेछे आफ्नै अस्तित्वको भुगोल
उ ढुङ्गाहरुका खातिर घन्टी नबजाइदिन सक्छे
बदलामा उ पुज्नेछे कोमल हृदयहरुलाई
उ तपाईंले सोचेकै रोजैकै जागीर नखाइदिन सक्छे
बरु,
ऊ खुल्ला आकाशमा स्वतन्त्र उडने मन गर्न सक्छे ।

तपाईं कविता लेख्ने छोरी नजन्माउनुहोला
उ सत्य खोज्न लागी पर्नेछे
ब्रह्माण्ड र अन्तरिक्षमा पुग्नेछे
र उ जहिल्यै कविता लेख्ने जिद्दी मात्रै गरीरहनेछे ।

तपाईकी छोरी कविता लेखेर वेश्या हुनेछे
तपाईकी छोरी कविता लेखेर अराजक हुनेछे
तपाईकी छोरी कविता लेखेर विद्रोही हुनेछे
किनकी उ यी सबै कुरा बुझ्नेछे
जो तपाईं उसले नबुझोस भन्ने चाहनुहुन्थ्यो ।

कविता लेख्ने छोरी नजन्माउनुहोला….
तपाईं कविता लेख्ने छोरी नजन्माउनुहोला ।

प्रेमपत्र

प्रिय पुरुष !
तिम्रो प्रेमपत्र आदिम कालदेखि
शताब्दीऔं शताब्दी देखि र आजसम्म पनि
फेरि फेरि खोल्छु र खोज्न थाल्छु तिम्रो प्रेमपत्रमा – प्रेम !

तिमिले मेरो शरीर कामुक मात्रै देख्यौ
मेरो प्रेमिल हृदय महसुुस गरेनौ
तिमिले मेरा आँखा नसालु मात्रै देख्यौ
आखाभित्रका मेरा सपना खोजेनौ
तिमिले मेरो ओठ रसीला मात्रै देख्यौ
मेरा ओठहरुले बोल्न चाहेका भावनाहरु सुनेनौ
तिमिले मेरो सिउदो खाली मात्रै देख्यौ
विचारहरुको तेजस्वी फराकिलो निधार देखेनौ ।

तिमिले मेरो नाक बैँशालु मात्रै देख्यौ
तर आफ्नो नाकको वर्चस्व छोडेनौ
तिमीले मेरा स्तनहरु यौनिक मात्रै देख्यौ
तर तिनले सङ्गालेको मातृत्व बुझेनौ ।

खै किन-किन मलाई तिम्रो प्रेम प्रेम कहिल्यै लागेन
आजसम्म म मौन रहे
तिमिले बुझ्यौ -मैले बोल्नुपर्ने नै केहि छैन
मैले प्रत्तिउत्तर लेखिन
तिमिले मौन स्वीकृति बुझिदियौ ।

र ,

वरिपरि फिजाएर तिम्रो कुटिल मानसिकता
आज म तिमिलाई प्रेम लेख्न बसेकी छु,
कसले भन्यो म तिमिलाई प्रेम गर्दिन?
तर ,तिमी सहि कुरा गलत ढङ्गले बुझिरहेका छौ
प्रिय,
गलत प्रश्नको सहि जवाफ लेख्दैछु म ?
म प्रेम त तिमिलाई नै गर्थें, गर्छु र गरीरहनेछु
नधमिल्याइदिनु प्रेमको हाम्रो सङलो नदि
नअमिल्याइदिनु प्रेमको मीठो स्वाद
प्रिय,
तिमि प्रेम बुझिदेउ
बरु केही शताब्दी नै लागोस ?

म कुरिरहेकी छु हामीले यो बिश्वलाई प्रेमनगरी जो बनाउनु छ।

मैथुन

मधेनी रातमा
एउटा मैनबत्ती जलाएर
म आफ्नो सानो ओछ्यानमा उत्तानो पर्छु
आफ्नै कपाल लुछ्लाछ पारेपछी
आफ्नै चीत्कारले तर्सिएपछी
मेरा टाङ खुम्चिन थाल्छ्न ।

यात्रादेखि उदेक लागेको बखत
यसरी पैतालाहरु खुम्चिनु स्वभाविक हो
मेरो त्यो प्राचीन सपनाको नमिठ्ठो सम्झना
बाले आमालाई लुछ्दा
चुरा फुटेर आमाको हातबाट छरछरी बगेको रगत
सपनाहरुको डरलाग्दो एकोहोरोपन
साहुजिको रिन
कहिले नभेटेको प्रेमीको छुवाई
बाँसघारीमा सल्बलाइरहेको सर्प
भातका छरपस्ट सीता
जाँडको गन्ध
मुटुमा ठोकिएका किलाहरु
दिमागभित्र सल्बाइरहेको एउटा किरो ।

औंलाहरुले घोचिरहन्छन मेरो अस्तित्वलाई
आफैलाई दुखाउनु
आफैसंग वितृष्णा हुनु
मानौं म
कपोल्कल्पित दुनियाँको त्यो भयानक जङ्गलभित्र दौडिदै छु
मानौँ म हावामा मिस्सिन चाहन्छु
मानौँ म तरल हुन चाहन्छु
मानौँ म शुन्य हुन चाहन्छु

फेरि एकछिनको खामोसी
त्यही खामोसी
जुन नहुदा म एक पलका लागि मज्जाले हाँसिदिन सक्थे
वा मज्जाले रोइदिन सक्थे
वा केही नभए जस्तो गरेर बाँची दिन सक्थे ।

स्तनहरुको गह्रौं भार
वदनको सिक्सिकाहट
फेरि कम्मर मुनि पसेको आँधी

आफ्नै अस्तित्व माथी नङ गाढनु
आफुलाई हावामा मच्चाउनु

त्यो ,

दुनियाँको यात्रा गर्नु जहाँ म धेरै समय अघि
मस्त पौडिदै थिएँ
मैनबत्ती बिस्तारै बिस्तारै पग्लदै छ
धिपधिप गर्दै बल्दै निभ्दै गरिरहेछ
आगोको आयु कति नै हुन्छ र ?
मैन रहुन्जेल त हो ।

एक थोपा आँसु जस्तो
एक थोपा रगत जस्तो
एक थोपा आनन्द जस्तो
एक थोपा शुन्यता जस्तो
केही म पल्टिएको जमिनमुनी तप्प खस्छ
र म बिस्तारै बिस्तारै भास्सिएको महसुस गर्छु
त्यै एक थोपा अस्तित्वभित्र
सायद मृत्युबोधको पल यस्तै हुने गर्छ।

तपाईको प्रतिक्रिया