झापामा बसेर दुई दशक भन्दा लामो समयदेखि कविता लेखीरहेका कवि धनकुटे कान्छा नेपाली कविताको क्षेत्रमा परिचित र स्थापित नाम हो । लाशमाथि एउटा बच्चा, अक्षरहरु आमा र देश, डायस्पोरिक नोस्टाल्जिया , इतिहास निफनेर लगायतका कृतिहरु प्रकाशित भैसकेका छन। उनी दमक प्रज्ञा प्रतिष्ठान कार्यसमिति सदस्य छन । बिभिन्न राष्ट्रिय र क्षेत्रीय सम्मान र पुरस्कारहरुबाट सम्मानित उनका कविताहरुमा मानिसले अनुभुति गरेको संवेदनाहरुको शालिन अभिव्यक्ति हो। प्रस्तुत छ साताको तीन कविता

ऊ अर्थात कवि र सारङ्गी

उसले सारङ्गी रेट्यो
र जीवनको गीत सुनायो।

सारङ्गी भोकको रङ भयो
सारङ्गी सपनाको सबथोक भयो।

अर्थात सारङ्गी
सबैको गीत भयो।

बिस्तारै
सडकमा जिन्दावाद आयो
बिस्तारै
सडकमा मुर्दावाद आयो ।

सडक भएर
जुलुश आयो
झण्डा आयो
राष्ट्रिय झण्डा च्यातेर
सहिदहरूको भाँडाकुटी खेले
पुतलीको टालाटुली खेल खेले ।

र सारङ्गीको तार टुटाए
र सारङ्गीको हुर्मत लिए
र सारङ्गी घाइते बनाए
अर्थात सारङ्गी मुर्छित भयो।

सारङ्गी देश थियो ।

जब देश घाइते भयो
दोष राष्ट्रिय झण्डालाई लगाए।

त्यो झण्डा उचाल्ने
एउटा निर्दोष कवि थियो ।

देशको गीत गाएको अभियोगमा
शासकहरुले उसलाई
मृत्यु दण्डको सजाय सुनाए ।

जूनकिरी र उज्यालाे

भर्खरै उज्यालाे खसाएर गयाे जूनकिरी
र, उसकाे मृत्युलाई
विज्ञापन बनायाे व्यापारीले ।।

म मलामीहरुलाई देखेर अचम्मित छु
मर्नु पनि शाेककाे व्यापार न रहेछ
लास बनाएर मारिरहने स्वार्थका व्यापारीहरु
मलाई हरेक पटक समवेदनामा बेचिरहेछन
र, मुस्कुराइरहेछन तिखा काँडाहरु
यही समय म जूनकिरी भएर खसेकाे छु
र, अध्याँराे मलाई कर्मी चरीकाे गीत सुनाइ रहेछ ।।

म घाउकाे बाेट दुख्दिन भन्दा भन्दै दुखेछु
म नानीहरुकाे ओठ मुस्कुराउनै भुलेछु।

यही समय ऊ मलाई जूनकिरी बनाएर
आफू महान बन्न खाेजिरहेछ।

म घाम,जून र ताराहरुलाई साेधिरहेछु
किन तिमी अक्षरहरु बाँडने जूनकिरीसँग तर्सिरहेका छाै ?

पहाड, उन्यू र म

जिन्दगी उन्यूको बोटजस्तो
दिउलहरू बोकेर हरियो खोपडीभरि
उम्रिरहेछन फूलहरूको बगैँचाभन्दा पर
सोत्तर सोहर्नेहरूको डढेल्नाभरि
र, म उन्यू फुल्छ भनेर
फूलबारीभरि उन्यूका दिउलहरू छरिरहेछु ।

जिन्दगी बगैँचामा फुलेको फूल छुनुहुन्न रहेछ
जो आफ्ना लागि थोरै र अरूका लागि ज्यादा फुल्छ
जो आफ्नै सौन्दर्यले आफैँ बाँच्न भुल्छ
र, मन्दिरमा चढाउनेहरूसँगै बलि चढछ
म, उन्यूलाई औधी माया गर्न थालेको छु
ऊ फुल्नुभन्दा नफुलेकै राम्रो लाग्न थालेको छ ।

म पहाडको बास्ना आँखामा सुँघेर सोच्छु
हिमाललाई दैलोमा उभ्याएर सुन्छु
झरनालाई मनमा झङझङाएर हेर्छु
यी बतासहरूले चराहरूको गीत बोकेको पहाड
आज मेरो उन्यूघारीको बाटो भएर
लेकसम्म ऐंसेलु टिप्दै–दिप्दै गयो
र, गोठ सार्दै गरेको गोठालाहरूसँगै
सुसेल्दै–सुसेल्दै आयो
कि, म आज सहरमा बसेर पहाड नियालिरहेछु ।

टाढा भएर सम्झँदा–सम्झँना नै पहाड हुँदोरहेछ
बसाइँ सरेको मन बोकेर मुग्लान लाग्नेहरूको सपनाजस्तो
म बिरानो सहरबाट पहाडलाई चिठ्ठी पठाउँदै छु
म मुटु राखेर अक्षरहरूमा पहाडलाई माया पठाउँदै छु ।

कसरी पोत्न सकेको होला यो चित्रकारका आँखाहरूले
उन्यूका दिउलहरूमा मान्छेका टाउकाहरू
र, कसरी रंग्याउन सकेको होला यो चित्रकारका पाइतालाहरूले
पहाडका टाउकामा मान्छेका लासहरू
म मेरो भित्ताको चित्र हेरेर भित्तो भएको छु
कि, म उन्यू भएर उम्रिन सकिँन
यो धेरै घरको सहरमा
कि, म पहाड भएर उभिन सकिँन
यो गजुरै–गजुरको सहरमा ।

सत्य ! रिकुटे नसम्झिदिनुहोला
म, पहाड फर्किदा एउटा कविको भरिया भएर फर्कदैछु ।

तपाईको प्रतिक्रिया