काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल, गोँगबु, रानीवारी लगायतका क्षेत्रमा रहेका २ सय १६ वटा मनोरञ्जन क्षेत्र मध्ये अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित संचालनमा रहेका छन ।

महिलाका निम्ति महिला मञ्च नेपालले गरेको सर्वेक्षण अनुसार यी स्थानहरूमा संचालित मनोरञ्जन क्षेत्र मध्ये कतिपय दर्ता नै नगरी संचालन गरिएका छन भने कतिपयको नविकरण नभएको र कतिपयले होर्डिङ बोर्ड समेत नराखेर मापदण्ड विपरित सञ्चालनमा छन ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको हक अधिकारका लागि काम गर्दै आएको महिलाका निम्ति महिला मञ्च नेपालले मनोरञ्जन क्षेत्र र त्यहाँ काम गर्ने श्रमिकहरूको अवस्थाबारे थाहा पाउन एक सय ५० खाजाघर, १५ डान्स बार, २ दोहोरी, १८ मसाज पार्लर र एक रेस्टुरेन्ट गरी २ सय १६ मनोरञ्जन क्षेत्रमा सर्वेक्षण गरेको जानकारी दियो ।

सर्वेक्षणका क्रममा २ सय १६ मध्ये एक सय ५ मनोरञ्जन क्षेत्र दर्ता नै नभएका र एक सय ६१ नवीकरण नै नगरी संचालन गरिएको फेला परेका छन ।

महिलाको निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सिर्जना पुनका अनुसार यो क्षेत्रमा काम गर्ने श्रमिकहरूले सरकारले तोकेको मापदण्ड अनुसार ज्याला पाउन सकेका छैनन । दिनको ८ घण्टा काम गर्दा उनीहरूले ५ देखि १५ हजारसम्म मात्रै कमाउने गरेका छन ।

No description available.

सर्वेक्षणकै क्रममा यही क्षेत्रमा काम गर्ने तीन सय ५१ जना श्रमिकहरूसँग कुराकानी गरी काम र सेवासुविधा बारे जानकारी लिइएको पनि पुनले जानकारी दिइन । जसमा ८० जना पुरुष र अरु महिला थिए । सर्वेक्षणमा १८ वर्ष मुनिका ९ जना श्रमिकले पनि भाग लिएको संस्थाले जानकारी दिएको छ ।

३ सय ५१ श्रमिकहरूमा गरिएको सर्वेक्षणमा नेपाल सरकारले तोकेको न्यूनतम तलब १४ जनाले मात्र पाउने गरेका छन । यस्तै अधिकांशसँग परिचयपत्र र सम्झौता पत्र पनि छैन ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई पहिलेको भन्दा अहिले सम्मानजनक दृष्टिले हेर्ने गरिएको यो क्षेत्रमा काम गर्नेहरूको अनुभव छ ।
महिलाका निम्ति महिला मञ्च नेपालका कार्यक्रम अधिकृत मनिला शाक्यका अनुसार यो क्षेत्रमा काम गर्ने श्रमिकहरू सञ्चालकबाट नभई ग्राहकबाट बढी पीडित हुने गरेका छन ।

सर्वेक्षणका क्रममा श्रमिकहरूमाथि दुर्व्यवहार पनि भएको पाइएको छ । रेस्टुरेन्टमा आउने, खाजा खान आउनेहरूले नै श्रमिकहरूलाई गलत नजरले हेर्ने गरेका छन । जसमा आफूमाथी दुर्व्यवहार भएपछि २ सय १७ जनाले न्यायको लागि आफू काम गर्ने क्षेत्रको म्यानेजर कहाँ पुगेका थिए ।

No description available.

काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा रहेका मनोरञ्जन क्षेत्रका श्रमिकहरूको विवरण संकलन र कानुन कार्यान्वयनको अवस्था मापन सम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा महिलाका निम्ति महिला मञ्चले ‘जसको सवाल, उसैको नेतृत्व’ विषयमा तयार पारेको बृत चित्र पनि प्रर्दशन गरिएको थियो । बृतचित्रमा मनोरञ्जन क्षेत्रको महिला अधिकार र मानव अधिकारलाई जोडदार ढंगले उजागर गरिएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर २६, महिलाको निम्ति महिला मञ्च नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र गोगंबुको संयुक्त आयोजनामा भएको कार्यक्रममा महिलाको निम्ति महिला मञ्च नेपालका अध्यक्ष यशोदा कुमारी के.सी, विशेष अतिथि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक दिनेशराज मैनालीलगायत टोखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष मधुसुधन पाण्डे, टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जोगप्रसाद नेपाल, राष्ट्रिय महिला आयोगक प्रतिनिधि सविता भटराई, सामाजिक सुरक्षा कोषका सहायक निर्देशक सुसिला पौडेल, नेपाल स्वतन्त्र होटल तथा रेष्टुरेण्ट मजदुर युनियनका महासचिव लक्ष्मण तिवारी, कालीमाटी महिला सेल प्रमुख प्रहरी निरीक्षक अनु लामा, प्रहरी बृत बालाजुका डिएसपी गौतम विष्ट, सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह र श्रमिक महिलाहरूसहित ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मनोरञ्जन क्षेत्रलाई मान्यता दिई डान्स बार,दोहोरी, क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर, खाजा घरलाई नियमन गर्न र श्रमिकको सुरक्षा सुनिश्चित गर्न विशेष कानुन बनाइनु पर्ने, सबै मनोरञ्जन क्षेत्रको दर्ता प्रावधान अनिवार्य तोक्नु पर्ने, अनुगमन र नियमनका लागि विशिष्ट कार्यालय र प्राधिकरण वा समिति तोक्नु पर्ने, मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन संवैधानिक प्रावधान र श्रम कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने, मनोमानी गिरफ्तारी गर्ने, महिला कर्मचारीलाई सार्वजनिक अपराध ऐनमा मुद्दा लगाउने काम प्रहरी र प्रशासनले तुरुन्त बन्द गर्नुपर्ने, प्रत्येक वडामा श्रम डेस्क स्थापित गर्नु पर्ने लगायतका सुझाव आएका थिए ।

No description available.

तपाईको प्रतिक्रिया