क्रान्ति सुब्बा । हङकङ ।

कुन कोभिड भ्याक्सिन तपाईंले  लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ?  यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा  तपाईंले  तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ  भनेका छ्न  सरकारी सल्लाहकार डेभिड हुइ शु-च्यङले  डिसेम्बर ८ तारीख ।

आफूले नेतृत्व गरेको चिनियाँ विश्वविद्यालयको अध्ययनको नतिजालाई उल्लेख गर्दै हुइले यसो भनेका हुन । जर्मन-निर्मित बायोएनटेक/फोसन खोपले बेइजिङ निर्मित  साइनोभ्याक खोप भन्दा  धेरै मात्रामा एन्टिबडी (रोग प्रतिरोधक तत्व) उत्पादन गर्न उत्प्रेरित गरेको तथ्यलाई  उनले अघि सारे।

बुधबार एक रेडियो कार्यक्रममा बोल्दै हुइले ७०० भन्दा बढी व्यक्तिहरु माथि गरिएको अध्ययनको आधारमा पूर्ण खोप लगाएको एक महिनापछि साइनोभ्याक खोप प्राप्त गर्ने व्यक्तिको तुलनामा बायोएन्टेक खोप लिनेहरूको शरीरले  उत्पादन गर्ने एन्टिबडी ( रोग प्रतिरोधात्मक तत्व ) को संख्या तीन गुणा बढी रहेको  बताए।

बायोएन्टेक भ्याक्सिन  लिनेहरू मध्ये ८० प्रतिशतमा  दोस्रो खोप प्राप्त गरेको ६ महिना पछि पनि भाइरस विरुद्ध लडने ५० प्रतिशत सुरक्षा शक्ति  यथावत  कायम रहेको भेटियो भने साइनोभ्याक खोप  लिनेहरूमा १६ प्रतिशत  सुरक्षा शक्ति मात्र शेष रहेको पाइयो उनले थपे।

त्यसैले साइनोभ्याक खोप (ज्याब) प्राप्त गर्ने व्यक्तिहरूले तेस्रो खोप  पाएपछि मात्र पूर्ण खोप लगाएको मानिने हुइले बताएका हुन   र तेस्रो ज्याब चाहिँ  दोस्रो मात्रा खोप लगाएको ६ महिनापछि लगाउनु पर्ने सिफारिस उनले गरेका छ्न।

“धेरै देशहरूले साइनोभ्याकको पूर्ण खोपलाइ पुन परिभाषित गरेका छ्न । र यो नविकरण भएको परिभाषा अनुसार तीन मात्रा साइनोभ्याक लगाएकोलाई मात्र पुर्ण खोप मानिने भएको छ। सिंगापुर लगायतका थुप्रै देशहरुले यो नयाँ मापदण्डलाई मान्यता दिएको छ। ” हुइले भने।

बायोएन्टेक खोप लिनेहरूले पूर्ण रूपमा खोप ग्रहण गरेको मान्यता प्राप्त गर्नका लागि बूस्टर शट लिन जरुरी छैन किनभने यसको दुई मात्रा खोप नै आवश्यक  एन्टिबडी (भाइरस संग लडने क्षमता ) को स्तरलाई कायम राख्न काफी छ – हुइले भने।

हुइको टिप्पणी वास्तवमा हङकङ विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ हो पाक-ल्यङको कथनमा आधारित थियो । होले हङकङको ठुलो जनसंख्या  तीन वटै  शट लिने अवस्थाबाट धेरै टाढा रहेको कुरा जनाएका थिए ।

“हङकङवासीहरूले बुझ्नु पर्ने कुरा के छ भने शून्य स्थानीय संक्रमण हासिल गर्नु नै यो सहरको अन्तिम लक्ष्य होइन। यदि हामी शून्य संक्रमण कायम राख्ने लक्ष्यमा मात्र केन्द्रित भयौं  भने हामीले  विश्वसँगको सिमाना पुन: खोल्न सक्ने स्थिति ल्याउन असंभवप्राय हुनेछ” होले अर्को एउटा रेडियो कार्यक्रममा भनेका थिए ।

हङकङले अत्याधिक उच्च खोप दर हासिल गरेपछि मात्र आफ्नो  सीमानाहरू खोल्न सक्छ। ग्रीस र अस्ट्रिया लगायत धेरै  देशहरूमा प्रत्येक नागरिकले  कोभिड-१९ खोप अनिवार्य लगाउनु पर्ने नियम बसालिएको छ होले जानकारी दिए ।  यदि हङकङ सरकारले खोप लगाइएका व्यक्तिहरूलाई मात्र सार्वजनिक परिसरमा जान अनुमति दिने “भ्याक्सिन राहदानी” सुरु गर्ने निर्णय गरेमा यो कुरा सर्व स्वीकार्य हुनेछ भन्ने उनको विश्वास छ।

हुइले बुधबार  कोभिड-१९ को नयाँ ओमिक्रोन भेरिएन्ट डेल्टाको तुलनामा कम घातक रहेता पनि संक्रामक क्षमता भने  डेल्टा भेरिएन्ट भन्दा  उच्च रहेको रहस्य प्रकट गरे।

“दक्षिण अफ्रिकामा ओमिक्रोन केसको मृत्यु दर डेल्टा भेरिएन्टको तुलनामा कम नै रहेको छ। तर अन्तिम  निष्कर्षमा पुग्ने बेला अझै भैसकेको छैन किनकि कतिपय   बिरामीहरू अझै अस्पतालमा उपचाररत छ्न।” हुइले भने।

“यद्यपि ओमिक्रोन संस्करण निश्चित रूपमा डेल्टा भन्दा बढी संक्रामक छ भन्न सकिन्छ किनभने केहि हप्ताभित्रको समयावधिमा नै ओमिक्रोन  ४० देशहरूमा फैलिसकेको  छ ।” उनले चेतावनी दिए।

तपाईको प्रतिक्रिया