रुमु न्यौपाने-

भर्खरै सकिएको तिहारले खल्लो महसुस गराईरहेको छ । सबै कुरा त्यस्तै त हुन्छन जब आउँछन हर्ष र उमंगका साथ आउँछन अनि जब जान्छन सबैलाई खिन्न बनाएर जान्छन । सधैंभरी आफूसंगै रहिरहने कुरा के होला र ? संगै मर्ने संगै जिउने कसम खाएर अग्नीलाई साक्षी राखेर विवाह गरेको श्रीमान त आफूभन्दा धेरै टाढा छन भने अरु आफ्नो समिपमा रहुन भन्ने अपेक्षा कसरी गर्न सक्छु र म ?

बाबा र ममिको हार्दिक अनुरोधमा मैले क्याप्टेन प्रभातसंग त्यसदिन पहिलो पटक भेटेकीे थिएँ । एक त पाईलट भनेपछि सानैदेखि भुतुक्कै हुने म त्यसमाथि उनको उचाई र शारिरिक बनोट नै यस्तो थियो कि म त्यसै त्यसै आकर्षित भएँ उनीप्रति । त्यसपछि त झन जब म उनीसंग बोल्न थालें उनको बोलीमै लठ्ठिएँ । बाबा र ममिको रोजाईमा परेको क्याप्टेन मेरो रोजाईमा पर्न कुनै समय लागेन । ममि र बाबाले आफूले सकेजति गरेर मेरो कन्यादान गरिदिनुभयो । ‘मारे पाप, पाले पूण्य’ भन्दै मेरो हात प्रभातको हातमा थम्याईदिनुभयो ।

बाबा र ममिको साथमा जस्तो सहज जीवन श्रीमानको साथमा नहुने रहेछ । हुन त प्रभात मेरो एकदमै ख्याल राख्थे । तर उनको मायाले मात्रै म खुशी हुन सकिन किनकी उनीसंग मेरो लागि समय नै हुन्थेन । कहिले कता कहिले कता फ्लाईट परिरहन्थ्यो उनको । यद्यपी जति समय मसंग हुन्थे मलाई कुनै कुराको कमी महसुस हुन दिदैंन थिए । म उनको पेशा सम्झेरै आफ्नो मनलाई बुझाएर बस्थें ।

प्रभातको परिवारमा उनको फूपू बाहेक अरु कोही थिएनन । प्रभातले भने अनुसार उनको फूपूले उनकै लागि भनेर विवाह नगरी बस्नु भएको रहेछ । त्यसैले हाम्रो विवाहपछि हाम्रो सहारा भनेकै फूपू हुनु भयो । विवाहको पहिलो बार्षिकोत्सवमा मैले छोरालाई जन्म दिएँ । छोरा पाएको देखेर सबै खुशीले गदगद भए, ‘यो त काटीकुटी प्रभात जस्तै छ ।’ फूपूले बारम्बार भन्नुहुन्थ्यो । छोरा जन्मेपछि एकछिन फुर्सद भएन । प्रभात नहुँदा छोरा हेरेर मन बुझउँथे । छोरा दुई बर्षको भएपछि मेरो पेटमा फेरि गर्भ रह्यो । यो कुराले सबै खुशी भए । मैले छोरीलाई जन्म दिएँ । छोरीको न्वारनको दिन जब प्रभात भारतबाट फर्कदै थिए त्यतिखेर उनको प्लेन दुर्घटनामा पर्यो । उनको दुर्घटनामा मृत्यू भएको खबर आयो । ‘यसैले खाई मेरो भदालाई ।’ फूपूको अपत्यारिलो स्वर सुनियो । ‘के भन्नुभएको फूपू ?’ मैले आश्चर्य मान्दै सोधें । उहाँले फेरि आक्रोश पोख्दै भन्नुभयो, ‘तिमीले जे सुन्यौ त्यही भनें ।’ एक त श्रीमान गुमाएको पिडा त्यसमाथि फूपू सासुको त्यो अपत्यारिलो रुप ।

त्यसपछिका दिनहरु मेरो निकै कष्टकर रह्यो । दुई बच्चालाई हुर्काउँदै फूपू सासुको बचन सुन्दै दिन कटिरहेको थियो मेरो । घरमा जो आए पनि फूपू एउटै कुरा भन्नुुहुन्थ्यो, ‘यो जन्मिनासाथ मेरो भाईले संसार छोड्यो ।’ म सोच्न बाध्य हुन्थे, ‘शहरमा बसेर पढेलेखेका मान्छेको पनि यस्तो सोच कसरी भयो ?’ उनको छुरीजस्तो बोलीले मेरो मुटु छिया छिया हुन्थ्यो । तर कसले देख्थ्यो र मेरो छियाछिया भएको मुटु ? ममि बाबालाई त म केही भन्न सक्दिन थिएँ । मेरो कारणले उहाँहरुलाई केही चोट नपुगोस भन्ने लाग्थ्यो । त्यसैले म मौन नै रहें । अनि एक रात फूपू सुतेको मौका पारेर दश महिनाकी छोरी र दुई बर्षको छोरालाई लिएर म त्यस घरबाट निस्कें । निस्किन त निस्कें तर जाने ठाउँ कतै थिएन । त्यसरात बाटोमै मैले दायातिर छोरी अनि बाँयातिर छोरालाई च्यापेर भोको पेट निदाएँ । भोलिपल्ट झिसमिसे उज्यालोमा कसैले घच्घचाए पछि म झल्याँस्स बिउँझिएँ । पुलिस थियो जो मलाई त्यहाँबाट हटन आदेश दिईरहेको थियो ।

नजिकै होटेल देखें अनि त्यतै गएर दुध मगाएर छोरा र छोरीलाई पिउन दिएँ । होटलको मालिकले दयालु भावले मलाई सोधे, ‘हेर्दा त राम्रै परिवारको जस्तो देखिनुहुन्छ फेरि यो के गति बनाउनुभएको ?’ खै उनको कुरा सुनेर मलाई के भयो । मैले उनमा आफ्नै दाईको छायाँ देखें अनि सबैकुरा खुलस्त भनें । मेरो कुरा सुनिसकेर उनले भने, ‘केही पिर नगर तिमी मेरी बहिनीको उमेरकी रहिछौ म तिमीलाई एउटा कोठा दिन्छु अनि यही होटलमा काउन्टरमा बस्ने काम पनि दिन्छु । तिमी काम गर्छौ नि ?’ उनको कुरा सुनेर मलाई ढुंगा खोज्दा देउता मिले झैं लाग्यो । उनले भने जस्तै म त्यही काम गर्न थालें । मेरो कामदेखि उनी प्रशन्न भए । उनले मलाई राम्रो तलब पनि दिन्थे ।

छोरा छोरी हुर्किदै गए । उनीहरु राम्रो पढथे । मेरो दुख देखेरै होला मसंग कहिल्यै केही कुराको माग गर्दैन थिए । म उनीहरुसंग खुशी र सन्तुष्ट थिएँ । ठूलो छोराले पढाई सकेर कमाउन सुरु गरयो अनि छोरी पढनको लागि अमेरिका गई । उसले उतैको केटा मन पराएपछि त्यतै विवाह गरेर बसी ।

जब मेरो आर्थिक अवस्था राम्रो हुँदै गयो । मैले नचिनेको आफन्तहरु पनि साथ दिन आईपुगे । नत्र त यतिका बर्षसम्म मलाई साथ दिने भनेको मेरो ममि र बाबा बाहेक कोही हुनुहुन्नथ्यो । मेरो बारेमा सबै थाहा पाएपछि उहाँहरुले मलाई आफूसंगै राख्नुभयो । उहाँहरुको साथ र आफूसंग बचेको पैसाले मैले ठूलो होटेल खोलें । होटलको लागि मलाई मान्छे चाहिएपछि मैले पत्रिकामा प्रचार गरें । त्यसपछि थुप्रै मान्छे जागिरको लागि अन्तरवार्ता दिन आए । ती मध्य मैले लगभग २० बर्षको कालो कालो वर्णको हिस्सी परेको केटालाई जागिर दिएँ ।

विनय नाम गरेको त्यो केटा मेरो होटेलको स्टाफ मात्रै नभई समयसंगै मेरो जीवनकै एक हिस्सा भयो । विनय मलाई निकै माया गर्थ्यो । मेरो खुट्टा दुख्दा खेरी खुट्टा मिचिदिने देखि लिएर मेरो सानो सानो घरको काममा पनि सहयोग गर्थ्यो। त्यसरी त्यो बेलादेखि सुरु भएको हाम्रो सम्बन्ध अझै पनि कायमै छ ।

विनयले मेरैलागि भनेर विवाह नगरी बसेको छ । उ मलाई निकै माया गर्छ । मलाई कसैसंग फोनमा कुरा पनि गर्न दिदैंन । उ सधैं भनिरहन्छ, ‘तिमी अरुसंग कुरा गरेको मलाई मनपर्दैन के ।’ उमेरले मेरो छोरा समान भएर पनि मलाई ‘तिमी’ नै भनेर सम्बोधन गर्छ । उसंग धेरैपटक म फिल्म हेर्न गएको छु । तर जतिपटक घुम्न गए पनि पैसा मैले नै तिरें । उसको लागि पैसा खर्च गर्न मलाई कुनै गाह्रो हुँदैन ।

एकदिन होटलमा काम सकेपछि उसले मलाई भन्यो, ‘मलाई एकलाख जति पैसा चाहिएको थियो ।’ मैले केही नबोली एकलाख रुपैंयाको चेक उसको नाममा काटेर दिएँ । ऊ खुशी भयो । उसलाई देखेर म झन खुशी भएँ । त्यसपछि उसले ओहोरदोहोर गर्न समस्या भएको बताएपछि मैले उसलाई गाडी पनि किनिदिएँ । उसले आफ्नो अनेक दुःख देखाएर मसंग पैसा लिईरह्यो ।

जब मैले औंला दिन थालें उसले डुडुल्नो निल्न खोज्यो । उसलाई पैसा दिंदा दिंदा म ऋणमा डुब्न थालें । होटेल उसको जिम्मामा थियो । तर उसले होटल राम्रोसंग सम्हाल्न सकेन । ‘सिमा हामी यो होटल बेचिदिउँ । ’ उसले बडो सानका साथ भन्यो । उसको कुरा सुनेर मैले मेरो कानलाई नै विश्वास गर्न सकिन । मैले चर्को स्वरमा भनें, ‘यो के भन्दै छौ तिमी ? मैले कति दुख गरेर यो होटेल खोलेको छु थाहा छ नि तिमीलाई ।’ जति चर्को आवाजमा बोले पनि म उसको कुरालाई नकार्न सक्दिन थिएँ । मेरो कमजोरी नै त्यही थियो । उसले भनेपछि मैले होटेल बेचें । विनयले मसंग फेरि पैसा माग्यो । मैले उसंग भविष्यको कल्पना गरेरै उसलाई फेरि पैसा दिएँ ।

जब रित्तिन थालें विनय अनेक वाहना बनाएर मबाट टाढिन थाल्यो । त्यसपछि उसले मेरो फोन समेत ब्लक गर्यो । सायद गल्ती मेरै थियो आफ्नो छोराको उमेरको केटासंग मैले जीवन बिताउने सपना कसरी देखें ? सबैकुरा सम्झेर मलाई आफैंदेखि घृणा लाग्यो । छोरा सम्झें, छोरी सम्झें, बाबा अनि ममि सम्झें ।

रात निकै छिप्पीसकेको थियो । चुपचाप बिरालोको चालमा गएर ड्रयरबाट मुसा मार्ने औषधी झिकें । अचानक कसैले ढोका ढक्ढकायो । मेरो हातबाट औषधीको बोतल खस्यो । मैले हतार हतार त्यो बोतल लुकाएँ । छोरा आएको रहेछ । उसले अनौठो भावमा मलाई सोध्यो, ‘ममि यो विनय भनेको को हो ?’ छोराको प्रश्नले मेरो अनुहारभरी पसिना आयो । मैले उसलाई केही भन्न सकिन । मेरो मौनतालाई उसले के बुझ्यो मलाई थाहा छैन । तर उ केही नबोली मेरो कोठाबाट निस्कियो । मैले आफैंले आफैंलाई धिक्कारें ।

भोलिपल्ट मेरो फोनमा अपरिचित नम्बरबाट फोन आयो । मैले फोन उठाउनासाथ उताबाट आवाज आयो, ‘आफ्नो छोराको माया लाग्छ भने केही रकमको व्यवस्था गर्नु हैन भने तिम्रो छोरालाई म जिवीत छोडने छैन ।’ विनयको त्यो आवाजले मलाई असह्य पिडा भयो । जुन मान्छेले मसंग बारम्बार पैसा मागेर मलाई रित्तो बनाएर गयो उ अझै मसंग पैसाको अपेक्षा गर्दैछ । त्यो पनि मेरो छोराको प्रयोग गरेर । एउटी आमाले सबै सहन सक्छे तर आफ्नो सन्तानलाई कसैले हानी पूर्याएको सहन सक्दिन । मैले उस्तै आक्रोशको साथमा भनें, ‘ठिक छ जे मन लाग्छ गर, सकेजति गर । यो द्धन्दमा जीत कसको हुन्छ म पनि हेर्छु ।’ उताबाट राक्षसी हाँसो छुट्यो । मैले फोन राखेर तुरुन्तै वकिललाई फोन गरेर भेटन गएँ । मानहानीको मुद्दा हालिदिएँ । कस्तो दिन आयो जसलाई मैले आफूलाई भन्दा बढी माया र विश्वास गरेकी थिएँ उसैलाई मुद्दा हाल्नुपर्यो । मैले मुद्दा हालेको थाहा पाएपछि विनय मसंग धेरै रोयो । धेरै बिन्ती गर्यो तर मैले सुनिन ।

त्यसपछि विनय जेलभित्र थुनियो । जीवनमा नचाहँदा नचाहँदै मान्छे धेरै कुरा गर्न बाध्य हुन्छ । विनयलाई जेल पूर्याउने मेरो कुनै उदेश्य थिएन । तर त्यो बाहेक मसंग अरु कुनै विकल्प पनि थिएन । म उसलाई जेलमा भेटन गएँ र भने, ‘तिमीले मेरो सबथोक खोस्यौ । तिम्रै कारणले म आज ऋणमा चुर्लुम्म डुबेकी छु । यति हुँदाहुदै पनि म चुपचाप सहेर बसें । किनकी म तिमीलाई माया गर्थें । तर आज जब कुरा मेरो छोराको ज्यान लिनेसम्म पुग्यो मैले सहन सकिन । मसंग जे गर्यौ त्यो अरु कसैसंग नगर्नु । नारी देवीमात्रै हैन उस्तै पर्यो भने कालीको रुप पनि धारण गर्न सक्छे ।’ विनयले केही बोल्न सकेन । म यति भनेर उसको अनुहार पनि नहेरी फर्के । घर पुगेर छोरालाई अंगालेर धेरैबेर रोएँ । म रुनुको कारण उसले बुझेन । तर उसलाई सुरक्षित राख्न सकेकोमा म निकै हर्षित भएँ । प्रेमदेखि सुरु भएको सम्बन्ध अन्त्यमा जेलमा पुगेर टुंगियो ।

तपाईको प्रतिक्रिया