विराटनगर,११ पुस : गाउँपालिको नयाँ बन्ने प्रशासकिय भवनको ठेक्का प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता नभएको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले दाबी गरेका छन् । गाउँपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गाउँपालिको ठेक्का प्रक्रिया पारदर्शी तरिकाले भएको बताए । ‘केही मिडियामा ठेक्का प्रक्रियाको क्रममा अनियमितता भएको भनियो । तर, मिडियामा भनेजस्तो छैन,’ उनले भने, ‘प्रक्रियागत तरिकाले काम भएको छ ।’
आउँदै गरेको चुनावलाई लक्षित गरि विपक्षीले भ्रम सिर्जना गर्न यसो गरिएको उनको भनाई छ । भ्रम फैल्याउँदैमा गाउँपालिकाभित्र विकास निर्माणको काम कुनै पनि हालतमा नरोकिने उनले जानकारी दिए । प्रक्रियागत रूपमा ठेक्का प्रक्रिया अगाडी बढेकोले चाँडै निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि बढाउने तयारी रहेको उनले सुनाए । ‘२५ पुसमा गाउँपालिकामा कार्यपालिको बैठक बस्दैछ,’ उनले भने, ‘बैठकले स्वीकृत प्रदान गरेसँगै निर्माणको प्रक्रिया अघि बढ्छ ।’गाउँपालिकाको बन्न लागेको भवन भने व्यवस्थित सवारी पार्किङ, मोनिटर रुम, गार्ड रुम र क्याफेटेरिया लगायतको अत्याधुनिक संरचना सहित निर्माण गरिने जनाईएको छ ।कुल १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण हुने भएको हो । आईतबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण सम्बन्धी जानकारी दिएको छ । जहदा–५ मा कुल १० कठ्ठा क्षेत्रफलमा बन्न लागेको भवन ४ तले संरचनाको हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नयाँ भवन निर्माणका लागि स्थानीय धुव्रहरि कोईरालाको परिवार जग्गा दान गरेको गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डलले बताए ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का काठमाण्डौंको अनक जोपा एण्ड ब्रर्दशले लिएको छ । गाउँपालिकाले ११ करोड १२ लाख २८ हजार ९ सय १२ रुपैयाँको अनुमानित लागतमा साउन २७ गते टेण्डर खुलाएको थियो । जसमा १५ वटा निर्माण कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये सम्पुर्ण प्रक्रिया पुरा गरेका २ वटा फर्म छनौटमा परेका थिए । बाँकी १३ वटा फर्मले तोकिएको मापदण्ड अनुसारको प्रक्रिया पुरा नगरेको पाईएपछि उनीहरूको आवेदन रद्द भएको थियो । छनौटमा २ निर्माण कम्पनीमध्ये अनक एण्ड जोपा एण्ड ब्रर्दशले भवन निर्माण ठेक्का पाएको हो । बिकोइन शाहको तुलनामा अनक एण्ड जोपा एण्ड ब्रर्दशले कम कबोल अङ्कमा आवेदन दिएपछि भवन निर्माणको ठेक्का पाएको गाउँपालिकाका प्रमुख प्र्रशासकीय अधिकृत सुर्वण घिमिरेले बताए । उनले अनक एण्ड जोपाले १० करोड ४५ लाखको आवेदन दिएकोमा बिकोइन शाहले १० करोड ५६ लाखको आवेदन दिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया