काठमाडौं । नेकपा एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा एमालेको अविचलित मान्यता छ,’। हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएका थिए ।

विदेश विभाग प्रमुख भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

तपाईको प्रतिक्रिया