कथा

जलेश्वरी श्रेष्ठ
“ जिन्दगीको के छ र भर
कहिलेको यहाँ, कहिलेको पर ”

गीत गुनगुनाउँदै आएकी प्रज्ञा प्रसन्न मुद्रामा घरभित्र पसिन् । किनभने इन्जिनियरिङ क्याम्पसमा बी ई इन्ट्रान्स इक्जाममा पहिलो नम्बरमा नै उनको नाम निस्किएको थियो । तर घर सुनसान र चकमन्न देखेर उनी आश्चर्यचकित भइन् । सबै जना कहाँ गए होलान् भनी खोज्न थालिन् ।
काम गर्ने कान्छा भान्छाको एक कुनामा निन्याउरो मुख लगाएर बसिरहेको देखेर त्यस्तो फुर्तिलो कान्छा किन यस्तो भएको होला भनी मनमनै सोचेर कुनै नराम्रो अवस्थाको सङ्केत देखिन् र एकदमै आत्तिएको स्वरमा भनिन्, ‘ए कान्छा, तिमी किन यस्तो अँध्यारो मुख लाएर बसेको ? सबै जना कहाँ गए ?
कान्छाले रुन्चे स्वरमा भन्यो, ‘निनी अस्पतालमा सिकिस्त हुनुभयो भनी सबै जना उतै जानुभयो ।’ प्रज्ञाले उनकी आमालाई मोबाइलमा फोन गरिन्, ‘ममी, निनीलाई के भएको छ ? सबै जना किन जानुभएको ’?
‘तिम्री निनी कमला छैनन् अब । पशुपतिमा लाने तयारी हुँदै छ । तिमी पनि छिटो आऊ ’ रुँदै भनिन् । उनी पनि प्रसूतिगृहतिर हानिइन् ।
कमला प्रज्ञाकी फुपू । विवाह गरेको दस वर्षपछि बच्चा हिजो राति मात्र जन्मेको । सबै ठीक छ भन्थे । अहिले अचानक के भएर मृत्यु भएको होला, मनमा अनेक तर्कनाहरू आउन थाले । सानो बच्चाको कस्तो बिजोग भयो होला ? अनि कस्तो बित्यास परेको होला ?
अस्पतालमा सबैका आँखा भिजेका थिए । लास पशुपतिमा लैजान तयारी अवस्थामा थियो । प्रज्ञाकी आमाले भनिन्, ‘तिमी फुपूको अन्तिम दर्शन गरेर घर जाऊ । घरमा कोही छैन । हामी पशुपतिको काम सकेर आउँछौँ ।’
प्रज्ञा रुँदै–रुँदै घर गइन् । सुनसान एक्लो घरमा आफ्नी प्यारी फुपूको सम्झना आयो ।
कमला राम्रो हृदयकी मायालु र दयालु थिइन् । आँखामा राखे पनि नबिझाउने खालकी थिइन् । उनी सानै उमेरमा हुँदा आमा–बुबा दुवै जना बितेका थिए । उनका आफ्ना दाजु र भाउजू प्रज्ञाका आमाबुबाले आफ्नी टुहुरी बहिनीलाई आफ्नै सन्तानसरह माया गरेर पालेका थिए ।
प्रज्ञा र उसका दाजुसँग गर्ने व्यवहारमा कमलालाई कुनै भेदभाव हुँदैनथ्यो । उनको राम्रो कुलघरानमा धूमधामसँग विवाह पनि गरिदिएका थिए तर विवाह गरेको दस वर्षसम्म पनि सन्तान जन्मिएको थिएन । बल्ल हिजो एउटा छोराको जन्म भएर कति खुसी थिए सबै जना । सजिलैसँग बच्चा जन्मिएको थियो रे आज बिहानसम्म पनि सबै ठीक छ भन्थे । अचानक धेरै ब्लिडिङ भएर बितिन् रे
पशुपतिको काम सकेर सबै घरमा आए । एक दिन दुई दिन भन्दै तेह्र दिनको काम पनि सकियो । सानो बच्चालाई उनीहरूको घरमा हेर्ने कोही छैन भनी प्रज्ञाहरूकै घरमा ल्याए । अब त्यो बच्चा हेर्ने जिम्मा प्रज्ञाकै भयो । आमा रोगी र कमजोर भएकीले बच्चा हेर्न सक्दिनथिन् । भाउजू आफ्नै काममा व्यस्त । बच्चालाई स्याहार्दै उनले इन्जिनियरिङ पढ्ने समय मिलाउनै सकिनन् । उनको इन्जिनियर हुने लक्ष्य चकनाचूर भयो ।

यही बेला अब उसका फुपाजुलाई कुन केटी विवाह गर्ने भन्ने कुरा चल्न थाल्यो । फुपाजुको घरबाट प्रज्ञालाई बिहे गर्ने कुरा आयो । प्रज्ञाका आमाबुबाले पनि प्रज्ञालाई विवाह गरेर दिने निर्णय गरे किनभने सानो बच्चाको संरक्षणका लागि प्रज्ञा नै उपयुक्त हुने देखे ।
उनका आमाबुबाले प्रज्ञालाई सम्झाउँदै भने, ‘हेर छोरी, ज्वाइँ अजय पैँतीस वर्षका मात्र भए । हेर्दा राम्रो देखिन्छ । ऊ युनिभर्सिटीको राम्रो प्राध्यापक हो । समाजमा इज्जतदार र सम्पन्न परिवारको पनि हो । सबैभन्दा ठूलो कुरा सानो बाबूलाई तिमीले आमा जस्तै भएर हेरचाह गरिरहेकी छ्यौ । उसलाई पनि आमाको आवश्यकता छ । तिमीले जत्तिको माया उसलाई कसैले गर्न सक्ने छैन । त्यसैले हामीले अजयसँग तिम्रो विवाह गरिदिने निर्णय गरेका हौँ ।’
प्रज्ञाले भनिन्, ‘म भर्खर बीस वर्ष भएँ । मेरो इन्जिनियर बन्ने त्यत्रो इच्छा हुँदाहुँदै पनि अर्को विषय पढ्नुप¥यो तैपनि मैले गुनासो गरिनँ । आफ्नै फुपाजुलाई कसरी मैले आफ्नो श्रीमान् सोच्न सक्छु र रु बच्चालाई मैले विवाह नगरे पनि हेरचाह गर्न सकिहाल्छु नि । त्यसैले म विवाह गर्दिनँ ।’
ओहो लोग्नेमान्छेकी श्रीमती मर्दा १३ दिन नै नसकी अर्को कोसँग विवाह गर्ने भन्ने कुरा चलिहाल्छ । लोग्नेमान्छेको घर हेर्नका लागि एउटी आइमाईको आवश्यकता सधैँ पर्दो रहेछ । बिचरा लोग्नेमान्छे स्वास्नीमान्छे नभए टुहुरो जस्तै हुन्छ रे तर यसमा कुनै नारीको लोग्ने म¥यो भने नारीको बिहेको कुरै छोडिदिऊँ, उसको बाहिर स्वतन्त्र हिँड्नुमा पनि बन्देज लाग्दछ । अनि लोग्ने मरेको नारीका बारे अझै पनि पुरुषको जस्तो सान्त्वना र साथ कसैले सोच्दैन ।
‘हैन छोरी, विवाह नगरी आमा हुन मिल्दैन । के भो र ? घर राम्रो छ, परिवार असल छन्, अजय समझदार छन् । तिमीलाई पढाउँछु पनि भनिसके । रह्यो उमेरको भिन्नता, त्यो त विवाह गरेपछि सामान्य भएर जान्छ ।’
यसरी प्रज्ञाको विमती हुँदाहुँदै पनि विवाह गर्न कर प¥यो । विवाह पनि भयो । अजय त खुसी हुने नै भयो तर प्रज्ञा जिउँदो लास जस्तै भइन् । उनको प्राण त त्यो सानो छोरासँग मात्र गाँसिएको थियो ।
पहिलो रातमा नै अजयले प्रज्ञाको भावना विपरीत आफ्नो तृष्णा जबरजस्ती मेट्यो । अजय बहुलापानी फक्लेपछि भित्तापट्टि फर्केर मस्तसँग सुत्यो । अजयको व्यवहारले प्रज्ञाको तनमन दुवै विक्षिप्त भयो । एकातिर आफ्नो शरीरको कष्ट, असह्य पीडा सहन विवश भइन् भने अर्कोतिर मनमा तीखो काँडाले च्वासच्वास घोचेको आर्त सहन बाध्य थिइन् ।
यत्तिकैमा बच्चा रुन थाल्यो । बडो कष्टका साथ उठेर बच्चालाई थमथम्याउन थालिन् ।
ओहो लोग्नेमान्छेको मन कस्तो निर्मोही त्यस्ती प्यारी स्वास्नीको निधन भएको केही महिनामा नै बिर्सेर तरुनी पाउनेबित्तिकै आफ्नो कामवासनाले बेकाबु हुँदै जबरजस्ती आफ्नो तृष्णा मेट्छ ।
अजयले प्रज्ञाको भावनालाई बुझ्न कोसिसै नगरी झन्झन् हातपात गर्दै गयो । प्रज्ञालाई लोग्नेप्रति गाढा घृणा हुन थाल्यो । प्रज्ञा हरेक रात लोग्नेको जबरजस्ती आक्रमण लासमा परिणत हुन्थिन् । भोलिपल्ट बिहान सन्तानको ममताले बाँच्न बाध्य हुन्थिन् ।
प्रज्ञा हरेक रात मरेतुल्य हुन बाध्य भइन् । यस्तै गरी केही वर्ष पनि बित्यो । अजयलाई प्रज्ञाको त्यस्तो चिसोपन देखी उनको शरीर नै निर्जीव जस्तो लाग्न थाल्यो । अनि उसलाई पनि स्वास्नीप्रति विरक्त र वितृष्णा हुन थाल्यो ।
अजयले बच्चा र प्रज्ञालाई छोडी विदेश जाने निर्णय ग¥यो र एक दिन विदेश गयो पनि । अनि विदेश गएपछि ऊ फर्कंदा पनि फर्केन । सुनिन्छ, विदेशमा केटी साथीसँग रमाइरहेको छ अरे ।
यता प्रज्ञाको पढाइ त पहिले नै छुटाइसकेको थियो । उनी त्यस घरकी बुहारी होइन, पैसा तिर्न नपर्ने नोकर्नीको जस्तो व्यवहार खप्न बाध्य भएकी थिइन् । उनी छोराको मायाले मात्र त्यस घरमा बसेकी थिइन् ।
पाँच वर्षपछि घरको अंशबन्डा गर्नका लागि अजय आयो र अंशबन्डा भएपछि छोराको पढाइका लागि बीस लाख र प्रज्ञाको लागि जिउनी दस लाख राखिदियो । करोडौँ रुपियाँको पैसाको पोको लिई आमाछोरालाई छोेडेर गयो । ओहो लोग्नेमान्छेको स्वभाव पनि कस्तो त ? यसरी गिर्दो रहेछ, मायाममता र कर्तव्यको कुनै वास्ता नगरी छोडेर जान सक्दो रहेछ ।
प्रज्ञालाई आफ्नो मूल्य दस लाख तोकेकोमा आपूm मान्छे नभई एउटा वस्तु जस्तै लाग्यो अनि उनले मनमनै भनिन्, ‘ओहो मेरो मूल्य त दस लाख मात्रै पो रहेछ । मैले त्यसै घरको कुलको बिरुवालाई ममता दिएर आफ्नो सारा जीवन तिलाञ्जलि दिएबापत् बस दस लाख १ मैले त्यस घरमा काम गरेको ज्याला जोड्यो भने पनि त्योभन्दा बढी भइसक्यो होला । यस घरप्रति मैले गरेको त्याग र तपस्याको मूल्य खुब दिएर गए १’ सोचेर उनको ह्दय टुक्राटुक्रा भयो ।
यो कुरा सम्झिँदा पनि प्रज्ञाको मुटु चिराचिरा परी रगतको भेल बगेको जस्तो भयो । उनी छटपटिन लागिन् ।
सबै जना घरमा मस्तसँग निदाइरहेका होलान् । उनी भने आगाको भुङ्ग्रोमा बसेजस्तै भतभत पोलेको अनुभव गर्दै थिइन् । एकछिन त वैराग लागी कतै गएर यस्तो सस्तो जीवनलाई सिद्ध्याउने हो कि भनेर विचार पनि आयो । सँगै मस्तले निदाइरहेको छोरालाई देख्दा दुष्विचार त्यागिन् ।
अब कहाँ जाऊँ भन्ने कुरा उनको मनमा खेल्न थाल्यो । आमाबुबाको काखमा जाऊँ भने उहाँहरू यस संसारमा हुनुहुन्न । दाजुभाउजू पनि काठमाडौँ छोडेर विराटनगर गइबसे ।
‘हैन, हैन म त अब यो आगाको भुङ्ग्रोमा एकछिन पनि बस्न सक्दिनँ ।’ यो सोचेर बाबूलाई डो¥याएर झिसमिसे उज्यालोमा विराटनगरको बस चढिन् ।
अचानक बहिनी र भान्जा आएको देखेर उनीहरू छक्क परी खबरै नगरी आयौ त, के भयो, त्यसरी आउनुपर्ने रु प्रश्न गरे । प्रज्ञाले आपूmलाई परेको अन्यायको वृत्तान्त सुनाइन् । यो कुरा सुनी उनका दाजुभाउजू पनि एकदम दुखी भए ।
‘हामीले त तिमी आफ्नो घरमा भान्जासँग आरामले बसिरहेकी छ्यौ भन्ने सोच्यौँ । तिमीलाई यस्तो अन्याय परेको कुरा पहिला नै भन्नुपथ्र्यो, किन सहेर बसेकी रु’
‘‘ल, जे भयो–भयो, अब यहीँ हामीसँगै बस्ने । हाम्रै स्कुलमा तिमी पढाऊ । तिमीले सेन्टमेरिजबाट पास गरेकीले राम्ररी पढाउन सक्छ्यौ । भान्जा पनि हाम्रै स्कुलमा पढ्छ अब ।’
दाजुभाउजूको कुरा मानेर विराटनगरमै बसिन् प्रज्ञा । त्यहीँ बसेर स्कुलमा पढाउँदै उनले आफ्नो पढाइलाई पनि अगाडि बढाइन् । अनि एम्ए पनि पास गरिन् । आफ्नो जीवनलाई आपूmअनुकूल खुसीसाथ बिताइरहेकी थिइन् ।
एक दिन साँझ प्रज्ञाको घरमा कसैले ढोकाको कलबेल बजायो । प्रज्ञाले ढोका खोलिन् । ढोकामा एउटा बूढो, रोगी जस्तो देखिने मान्छे र एउटा केटा उभिरहेको देखिन् । त्यो रोगी जस्तो देखिने बूढो मान्छेले प्रज्ञातिर हेरेर भन्यो, ‘प्रज्ञा, मलाई चिनिनौ रु म अजय । आमाबुबाले तिमी विराटनगरतिर दाजुभाउजूकहाँ बसिरहेकी छ्यौ भनेपछि म तिमीलाई खोज्दै यहाँ आएको ।’
एकछिन प्रज्ञा अवाक् भइन् । ओहो १ अजय त कस्तोविघ्न बूढो देखिने भएछ ।
‘प्रज्ञा, मलाई भित्र आऊ पनि नभन्ने १’ अजयले भनेपछि अकमकाएर भित्र आउनुहोस् भनिन् र भित्र बोलाएर सोफामा बसाइन् । दुब्लो कान्तिहीन अनुहार, सेतै कपाल, पहिलाको मान्छे नै हैन जस्तो देखिएको । किन आएको होला यहाँ रु सायद छोरालाई लिन आएको होला भन्ने प्रज्ञालाई लाग्यो भने अजयलाई सफासुग्घर लिभिङ रुममा बसिरहेको छोरालाई देखेर उसलाई पनि राम्ररी नै राखिरहेको होला भन्ने लाग्यो र अजयको मन ढुक्क भयो । ऊ गर्मीले पसिनापसिना भएको देखेर प्रज्ञा पानी लिन भित्र गइन् ।
अजय ढुक्क भई आनन्द र शान्तिले आँखा चिम्ली बस्छ र सोच्छ, ‘मेरो जीवन त सकिइहाल्यो, अब कति नै हो र रु म बाँचेँ एक वर्ष त हो । क्यान्सरले अन्तिम अवस्थामा पु¥याइसक्यो । अन्तिम सास आफ्नी श्रीमती र छोरासँग बिताउने विचारले यहाँ आएको पनि ठीकै लाग्यो । जे भए पनि प्रज्ञा हिन्दू नारी, मेरै नाममा बसिरहेकी होली । मलाई माफ दिइहाल्छे होला नि । मेरा सबै अपराधका कुरालाई माफ गरिदिन्छे होला । मेरो स्याहारसुसार पनि धर्म ठानी गर्छे होला ।’
‘पानी लिनुहोस् ।’ प्रज्ञाको स्वरले ऊ झस्कियो । पानी एकै सासमा पिएर भन्यो, ‘प्रज्ञा, म त यहीँ बस्न आएको, तिमी र छोरासँग । तिमीले मलाई राख्छौ होला नि १ हेर न, मलाई त क्यान्सरले खाइसक्यो, मेरो केही दिन मात्र समय छ । म अन्तिम समय तिम्रै साथमा रहन आएको ।’
प्रज्ञा जबाफहीन भइन् । उनी एकछिन शून्यमा विलीन जस्तै भइन् । प्रज्ञाले मौन भएर सोचिन्, ‘जीवनको अन्तिम अवस्थामा शरणमा आएको मान्छेलाई यो परिस्थितिमा मैले के जबाफ दिने होला रु शरणमा आएकोलाई मरण गर्न मेरो मानवताको भावनाले पनि दिँदैन ।’
त्यति नै बेला चार–पाँच वर्षको एक बच्चा र पन्ध्र वर्षजतिको एक आकर्षक केटा अनि एकचालीस–बयालीस वर्षजतिको एक मान्छेले प्रवेश गरे । प्रज्ञालाई अप्ठ्यारो अनुभव भए पनि पन्ध्र वर्षको केटालाई अजयसँग परिचय गराइदिइन्, ‘छोरा प्रणव, उहाँ तिम्रो बुबा हुनुहुन्छ ।’
प्रणवले अजयलाई अचम्म मान्दै हे¥यो ।
त्यसपछि फेरि सानो बच्चालाई देखाउँदै बोलिन् प्रज्ञा, ‘यो मेरो छोरा र उहाँ छोराको बुबा राजीव ।’
त्यस मान्छे पनि आश्चर्य र असमञ्जसमा पर्दै हेरिरहेको थियो । फेरि प्रज्ञाले भनिन्, ‘यदि तपाईं हामीसँग बस्न चाहनुहुन्छ भने ठीक छ, बस्न सक्नुहुन्छ । होइन त राजीव? ’
राजीवले आफ्नी श्रीमती अर्थात् प्रज्ञाको आज्ञापालनामा टाउको हल्लायो भने अजयचाहिँ यस परिस्थितिमा जिल्ल परेर के गरूँ के गरूँ जस्तो भएर टोलाएर बसिरह्यो ।

तपाईको प्रतिक्रिया