बुबा गणेशप्रसाद नेपाल र आमा सितादेवी नेपालका ६ सन्तानमध्ये चौथो सन्तानको रुपमा भोजपुर जिल्ला कोट गाविसमा जन्मिएका रत्नमणि नेपाल पचासको दशकमा उदाएका एक शक्तिशाली आख्यानकार तथा कवि हुन। लेखनको सुरुवाती दिनबाटै लीलालेखनमा आवद्व नेपालले नेपाली साहित्यमा ईन्द्रबहादुर राई पछि कृष्ण धरावासी सगँसगै यो साहित्यिक बिचारलाई अघि बढाएका हुन । साहित्य, विश्व जगत र जीवनलाई अनुभूत गर्ने आफ्नै व्याख्या बोलेको लीलालेखन नेपाली साहित्यमा चालीसको दशकदेखि नै चर्चामा रहेको छ । नेपाली साहित्यमा चलिआएका धेरै आन्दोलनहरु मध्ये लेखनमा लीलालेखन एक अविछिन्न बिचार हो । नेपाल यही बिचारलाई समातेर नेपाली साहित्यमा पचासको दशकमा उदाएका एक बैचारिक कवि तथा आख्यानकार हुन। आफ्नो लेखनको सुरुवाती समयदेखि नै निरन्तररुपमा सम्लग्न रहदै छन । उनले २०५४ सालमै लीलालेखनको बैचारिकता माथि लीला विचार प्रधान वर्तमान साहित्यिक पत्रिकाको सम्पादन गर्दै आएका छन । हालसम्म नेपालका लीला दृष्टि २०५६, कथा ईन्द्रेनी २०५८, लीलाधारणा र कथाहरु २०६४, सँगसँगै २०७१, ईन्द्राख्यान २०७६, १०८ खुल्ला ढोका २०६४, निरन्तर खुला ढोका २०६६ (सम्पादन) प्रकाशित छ । हाल उनी त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) मा आवद्व छन प्रस्तुत छ उनीसगै हङकङ खबरले गरेको कुराकानी

अहिले के लेख्दै हुनुहुन्छ ? के मा व्यस्त हुनुहुन्छ ?

म पहिला पनि कमै लेख्ने लेखक हुँ । जम्मा तीस वटा कथा लेखेको छु । त्यसमध्ये छब्बीस वटा तीनवटा संग्रहमा आएका छन । एउटा लेखें एकजना सम्पादकलाई देखाएँ । उनले तपाइँका पहिलेका कथा जस्तो त यो छैन त ? भनेपछि छापिन । फालि दिएँ । अरु तीनवटा साहित्यिक पत्रिकामा छापिएका छोटा कथा छन । कविता पनि त्यस्तै हो । शुरुमा कविता लेखे पनि तत्कालै कथा र विचार गन्थन मन्थनतिर लागियो । तर बेलाबेला कविता लेखेको छु । अहिले पनि खासमा कवितैमा जोड छ मेरो । यो नयाँ के लेख्नु ? कसरी लेख्नु ? भन्ने सोचाइले मेरो सिर्जनात्मक लेखन कम भएको छ । यसको मतलब सबै रचनाहरु अरुले लेखेको भन्दा बेग्लै त नहोलान । तर लेख्नु भन्दा अघि मनमा चैं नयाँ कसरी लेख्नु के लेख्नु भन्ने विचार आइहाल्छ ।

आजकल छापामा किन कम भएको नि ?
लेख्न कम भएपछि छापिने पनि कम हुने भइगो । तर त्यो भन्दा पनि पछिल्ला केही बर्षहरुमा म सामाजिक अनुसन्धानतिर लागें । औपचारिक अध्ययनतिर । डा हुनतिर लागें भने पनि भो । विश्वविद्यालयको जागिरमा यो आवश्यक पनि रहेछ । केही अवसरहरु पनि आए । अनि अनुसन्धानतिर लागेपछि सिर्जनात्मक लेखन अलिक पातलिएको साँचो हो ।

तपाइँ लामो समयदेखि साहित्यिक आन्दोलन लीलालेखनमा आबद्ध हुनुहुन्छ । इन्द्रबहादुर राई, कृष्ण धराबासी हुँदै लीलालेखन तपाइँसम्म आइपुग्दा नेपाली साहित्यमा यसको चर्चापरिचर्चा के कस्तो अबस्थामा छ ?
मैंले त लीलालेखनलाई साहित्यिक आन्दोलनको रुपमा भन्दा पनि साहित्यिक वैचारिक बहस, लिटरेरी डिस्कोर्सको रुपमा बुझेको हुँ र त्यसै अनुरुप यसमा अभियन्ता जस्तो लागेको हुँ । मलाई त इन्द्रबहादुर राई, कृष्ण धराबासीहरुले पनि यसलाई आन्दोलन मानेको जस्तो लाग्दैन । त्यसो भनेर यो मुलधारको लेखन हो भनेको पनि होइन । यो साहित्यिक प्रयोग चै हो । तर यसको बढि जोड विचार मै छ ।

लीलालेखनको पनि एउटा लामो कालखण्ड गुज्रिसकेको जस्तो लाग्छ । इन्द्रबहादुर राईले २०३४ मा प्रस्ताव गर्नुभएको समयदेखि आजसम्म हेर्दा यो लामो समय हो एउटा साहित्यिक बहस जीवितै रहेको । यसको प्रभाव पनि उत्तिकै नै छ । तर लीलालेखनले करिब पचास बर्षको समय मात्रै गुजारयो कि यसका लेखनगत विचारगत भिन्नताहरु पनि यस बीचमा देखिए ? के यसको आरम्भकालिन विचारमा पछि केही थपिए नयाँ विचार ? नयाँ बहस केही थपिए कि ? नेपाली साहित्यका अध्येता समालोचकहरुलाई हो प्रश्न । अंग्रेजी साहित्यमा एउटा निओ वा नव भन्ने परम्पराजस्तो नै छ । साहित्यको सामान्य सिद्धान्त बनिसकेकोबाट फेरि बैचारिक विद्रोह गरेर नयाँ सिद्धान्तका लागि बहस गर्ने निओ परम्परा । लीलालेखनमा त्यस्तो कहिले कहिले भयो ? कसरी भयो ? यो हेरियो भने हामीले बुझ्न चाहेको लीलालेखन हाम्रो पुस्तासम्म आइपुग्दा कस्तो चर्चापरिचर्चा छ भन्ने देखिन्छ होला । समालोचकहरुले अर्कै के देख्लान । धराबासी दाइले अर्कै देख्नुहोला । इन्द्रबहादुर राई त हुनुहुन्न । तर उहाँका पनि पछिल्लो समयका विचार अभिव्यक्ति हेर्नुपर्ने हुन्छ । म त के देख्छु भने लीलालेखन २०३४ बाट २०६२ एउटा कालखण्ड हो । २०६२ बाट यता अर्को । अमेरिकी दर्शनशास्त्री टोमस कुनले भनेजस्तो पहिलो चरणमा सामान्य सिद्धान्त बनिसकेको जस्तो लीलालेखन दोस्रो चरणमा त्यो सिद्धान्तमा घुनपुत्ली लागेको महसुुस गरी उनकै भाषामा वैचारिक क्रान्ति भई लीलावाद प्रस्तावित भयो । स्वयम इन्द्रबहादुर राईले यो कुरा संकेत गर्नुभयो । तर हाम्रा योग्य समालोकहरुका आँखा त्यसमा परेनन । अनि हामीले उहाँको संकेतलाई बढायौं, व्याख्या गर्यौं । प्रयोग गर्यौं । गर्दैछौं ।

लीलालेखन र लीलावादमा के फरक छ ? बुझिने गरी भन्नुस त ?
पूर्वीय अध्यात्मको अडेसो छ यसमा । तर यो अडेसो दह्रै छ भने परम एब्सोल्यूट भन्ने केही चिज छ कि छैन ? उपनिषद गीता महाभारतलाई सोध्यो भने त छ । अनिर्धायता मान्नु, अनिश्चितता मान्नु, परिवर्तनशिलता मान्नु करै लाग्छ । तर यिनको फेदमा भित्र रहिरहने एउटा चिज छ त भनेकै छ त पूर्वीय अध्यात्मले । त्यसलाई छोडनु ? छोडन पनि सकिन्छ तर फेरि हाम्रो मौलिकता भनेको पूर्वको ज्ञान हो किन भन्नु ? हो हामी त्यसलाई देख्दैनौं । हाम्रा जस्ता आँखाले देख्दैनौं । हाम्रो जस्तो ज्ञानले बुझ्दैनौं । तर छ न त छ नि त्यो इन्द्र बहादुर राईले भनेजस्तो फ्रिटजफ काप्राले व्याख्या गरे जस्तो कुटस्थ रहस्यमयी परम सत्य त । त्यसलाई सिर्जनात्मक लेखनमा कसरी लेख्नु ? निरन्तर बहँदो छ सब त हो तर कहाँ के मा बहन्छ त ? त्यो बहिरहेको भित्र के छ ? केही छैन त ?
हाम्रो ज्ञान धारणा मात्र हो कि रयासनल प्राक्कल्पना, तार्किक अनुमान ? धारणा वैयक्तिक हो कि सामुहिक ? धारणा आनुवांशिक, जेनेटिक नहोला ? बौद्धिकता, रयासनलिटि वैयक्तिक मात्र हो कि ? कि यो बढि नै सामुहिक हो ? द्वन्द्व भनेकै यही वैयक्तिक र सामुहिक धारणाको द्वन्द्व हुनु, नमिल्नु हो कि त ?

हो यस यस आधारले यस यस कारणले मैंले यस्तो जानेको हुँ बुझेको हुँ भन्ने त हामी सबैलाई नै लाग्छ । अनि इन्द्रबहादुर राईले भने जस्तै मानिसको चिन्तनमा पनि फरकपन आएको छ । उहाँले नै भन्नु भयो मानिसको यत्रो बैज्ञानिक आविष्कार, भौतिक उन्नतीलाई अनदेखा गर्न सकिएन । लीलालेखनमा मानिस निफर लुलो छ । चामेले गौंथलीलाई दुई तीन पटक लात्ती उज्याउँछ तर गौथलीलाई लागिहाल्दैन । लीलावादमा अब हामी भन्छौं मानिस आविष्कारक हो, मानिस वैज्ञानिक प्राक्कल्पना गर्नसक्ने सामर्थ्यका कारण मानिस हो ।

अर्को कुरा हामीले भोगेको जीवन र देखेको जगत मानव केन्द्रित मात्रै हो त ? मानिसले अनुभूत गर्ने यथार्थ मानिस र उसले निर्माण गरेका संस्था, प्रक्रिया, ज्ञान आदिबाट मात्रै निर्माण भएको हो त ? साहित्यमा हामी सुख दुख, रात दिन न्याय अन्याय, संघर्ष आदि विषयहरु लेख्छौं । राज्यबाट हेपिएका, लखेटिएका, धर्म जातको व्यवहारबाट पीडित, राजनीतिको दाउपेचबाट शोषित । कृषि कर्म, उद्योग व्यापार । शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, प्रहरी, सेना । यिनै त हुन हामी मानिसको यथार्थ निर्माण गर्ने कुराहरु । अनि यस्तो यथार्थ त मानिसद्धारा उत्पादित मात्र त भयो । अब सोच्नुपर्छः हामी मानिसले बोध गर्ने यथार्थ निर्माणमा नालामा कराउने भ्यागुताको कति हिस्सा छ ? बारीको डिलमा उभिएको लिच्ची र आँपका रुखहरुको कति भूमिका छ ? छानामाथि बसेर कराउने काग, गुँडमा घुरघुर गर्ने परेवा, जंगली हात्ति, मयुर, खरायोको कति छ हिस्सा मानवले बोध गर्ने यथार्थमा । हामी यथार्थ लेख्छौं भनेर कराउने लेखकहरुले यता ध्यान दिने कि नदिने ?

अनि जगत नि ? जगत चित्रण हाम्रा साहित्य सिर्जनामा हुन्छ नै । तर छ कस्तो जगत हाम्रा साहित्यमा ? त्यहाँ कति छ भुईं, कति छ पानी ? कति छ पहाड, हिमाल, मैदान ? खालि मानव निर्मित जगतको त कुरा लेखिरहेका छैनौं ? घर, महल, सडक, कलकारखाना, यातायातका साधन, प्रविधि । दृश्य जगत यतिमात्र हो त ? अलिक पर पनि केही छ कि ? इन्द्रबहादुर राईले पुनर्जीवनको कुरा उठाउनु भएको छ । आवर्तकाल त आयामवादमै छ । हामी बाँचेको समय अघिको, बाँचेको समयको, र पछि भविष्य र अझैपछि मृत्यु पछिको पनि भएर जगत तन्किन्छ कि ? ठूलोे हुन्छ कि ? लीलावादका बारेमा अझ सामान्य रुपमा भन्दा त जे लेखे पनि लीलालेखन हुन्छ त ? लेख्यो लीलालेखन भैहाल्यो ? यति हलुका पनि हो र ? लीलालेखनगत आधार पनि चाहिएला नि ? अनि त हामी वादमा लीलावादमा पुगिहाल्छौं ।

यसो हेरेर ल्याउँदा तपाइँको कथाका पात्रहरुले समाजमा जुन किसिमको अवस्था छ त्यसको विरोधमा शसक्तरुपमा उभिन नसकेको हो कि भन्ने महसुस हुन्छ । तपाइँ आफैंलाई चाहिं आपना पात्रहरु कस्तो लाग्छ यथास्थितिवादी कि परिर्वतनकारी ?
अघि भनेजस्तै लीलालेखनको जो आधार लिएर लेख्यौं त्यसले पनि पात्रहरुलाई, तिनको चयन र पात्रतालाई प्रभाव पार्यो कि ? फेरि समाज सबै कुरामा विरोधै गर्नुपर्ने अबस्थामा त छैन कि । समाजमा समस्या भएको ठीक हो । हाम्रो समाजमा अन्याय भएको पनि ठीक हो । तर त्यस्तै ठीक के पनि हो भने यहाँ न्याय पनि छ, हाँसो पनि ठट्टा पनि छ । द्वन्द्व पनि छ तर समन्वय, शान्ति, खुशी पनि छ । अनि लेखकले चैं द्वन्द्वमात्र, काटमार मात्र, जुलुशमात्र लेख्नु ? तपाइँले पात्रहरुलाई यथास्थितिवादी र परिवर्तनकारी भनेर बर्गिकरण गर्नु भो । यो त वाइनरी मात्र भो नि । एउटै मान्छे कतिखेर यथास्थितिवादी कतिखेर परिवर्तनकारी कतिखेर पलायनवादी कतिखेर चलाख कतिखेर हुस्सु हुन्छ नि । होइन र ? अनि समाजबाट हामीले टिप्ने पात्र पनि त्यस्तै हुने भए ।

पात्र कथाको सिंगोे जीवनभरि नै क्रान्तिकारी भइनैरह्यो या यथास्थितिवादी भइनैरह्यो भने त लेखक कथाकारले जीवनको यथार्थ लेखेन । विद्रोहका पनि वैयक्तिक र सामाजिक वा सामुहिक अभिव्यक्ति हुन्छन । मुडकी लगाइहाल्नु, काटमार गरिहाल्नु, साह्रो कराएर थर्काइहाल्नु मात्र क्रान्तिकारिता हो र ? सामान्य लेखन सिद्धान्त वा भनौं समसामयिक लेखन सिद्धान्तबाट अलग भएर प्रायोगिक लेखन धार समात्नु कत्रो विद्रोह हो ? आजको नेपाली साहित्य टाक्सिएको छ बौद्धिक साहित्य लेखन गरौं भन्नु आयामेलीहरुको कत्रो विद्रोह हो ? अनि बुद्धिमा भर पर्न सकिने रहेनछ, यथार्थ बुझिएको भनेको त धारणा मात्र रहेछ भन्नु कत्रो क्रान्तिकारिता हो लीलालेखनको ?

तपाइँ लामो समयदेखि प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ । यसरी हेर्दा विद्यालय र विश्वविद्यालयहरुको पाठ्यक्रमहरुमा समावेश साहित्य र त्यहाँ नपरेका साहित्य यी दुईलाई कसरी तुलना गर्नुहुन्छ ?

म भाषा साहित्य बिषयको प्राध्यापक त होइन । तर के भन्न सक्छु भने पाठ्यक्रममा परेका साहित्य राम्रा हुँदैनन भन्नु पनि ठीक होइन । नपरेका बाहिरका नराम्रा हुन भन्नु पनि ठीक होइन । पाठ्यक्रममा समावेश गर्ने कसले हो ? पाठ्यक्रम निर्माण गर्ने निकाय कति सिर्जनशील, कति अध्ययनशील र लचकदार छ ? कति आधुनिक छ भन्ने कुराले यो निर्धारण गर्ला कि । मेरो अनुभवले भन्छ पाठयक्रम निर्धारण प्रकिया र निर्धारक प्राध्यापक दुवै आग्रही त हुने नै रहेछन । छनौट प्रभावित हुँदोरहेछ उनीहरुको सोचाइले, ज्ञानको दायराले, प्राज्ञिक लक्ष्यले । यसलाई बस्तुगत बनाउन धेरै मुश्किल नै होला ।

नेपाली लेखक संघको आफ्नै गरिमा छ । तपाइँ यसको महासचिव । यस संस्थाको बारेमा केही बताइदिनुस न ?
साहित्यिक संघ संस्थाहरु सबैको उस्तै उस्तै हुन्छ होला गठन, काम र उद्देश्य । एउटा समिति हुने, गोष्ठि विमोचन आयोजना गर्ने । भाषा साहित्यको श्रीवृद्धि गर्ने उद्देश्य हुन्छ । लेखक संघको पनि त्यही नै हो । तर तपाइँले भनेको गरिमा चाहिँ लेखक संघले कसरी कहाँबाट प्राप्त गर्यो त ? प्रश्न यो हो ।

लेखक संघको गरिमा त छ । किनभने सायद यसको स्थापनाको इतिहासको कारणले होला । यो नेपालकै साहित्यिक संघ संस्थाहरु मध्ये अग्रणी संस्था हो । अर्को यसको उद्देश्य कारण होला । सामान्य साहित्यिक संस्थाहरुको जस्तो भाषा साहित्यको विकासमा योगदान मात्र नभइ यसको उद्देश्य त लोकतन्त्र, समावेशीता, सामाजिक न्यायसँग पनि जोडिन्छ । अझ मुलभुत रुपमा भन्ने हो भने अभिव्यक्ति स्वतन्त्रता यसको उपल्लो लक्ष्य हो । यसका कार्यक्रम यसै उद्देश्य मुताबिक निर्धारण हुन्छन । यस्ता सार्वकालिक, जीवनवादी, मानववादी र अधिकारवादी उद्देश्य र लक्ष्य त सबै साहित्यिक संघहरुका हुँदैनन । तर हामीले कोरा कर्मकाण्डी लेखक संघ बनाउने हो कि ? राजनीतिक उद्देश्यप्रति बढि आकर्षित हुने हो कि ? के हो ? हामीले केही समय अघि यिनै प्रश्नहरुको वरिपरि रहेर विचार र बहसको पक्षमा अभियान जस्तै भनौं छलफल गर्दै आएका छौं । लेखक संघकै मञ्चबाट नभए पनि हाम्रा कुरा त्यतै लक्ष्यित छन । साहित्यिक विचार, लेखन विधि, सामाजिक सांस्कृतिक र भाषिक सिद्धान्त र तिनका लागि पृष्ठपोषक रैथाने स्रोतहरु । यिनका बारेमा लेखक संघले किन बहस नगर्ने ? किन काम नगर्ने ? किन अभियन्ता नबन्ने लेखक संघ ? यतापट्टी सोच्नुपर्ला कि जस्तो लाग्छ ।

नेपाली साहित्यमा पहिचानका बिषयहरु कसरी उठान भैरहेकाछन ?
पहिचानलाई हेर्ने मुलतः दुईथरी मत हावी भएको देख्छु । एकथरी छन पहिचान स्थिर अवधारणा मान्ने । जाती, भाषा, संस्कारका संरचना र व्यवहार स्थिर रहन्छन भन्ने । अर्को मत छ पहिचान लचक अवधारणा हो भन्ने मान्ने । भनेको पहिचान चाहिँ देश काल अनुसार बदलिन्छ नयाँ नयाँ निर्माण भइरहन्छ भन्ने । समकालीन नेपाली साहित्यमा जुन पहिचानवादी धार छ त्यो पहिचानबारेको पहिलो मतमा ज्यादा उभिएको जस्तो लाग्छ । यो मुखर छ आजभोलि । केही समय यो जान्छ नै । तर यदि दोस्रो मत सही हो भन्ने मान्ने हो भने त नेपाली साहित्यमा पहिचानका बिषय आधुनिक साहित्य लेखनको क्रमसँग शुरु भएको मान्नुपर्छ । अझै अघि पनि केही झिल्का देखिएलान खोज्ने हो भने ।

असल साहित्यको धर्म के हो जस्तो लाग्छ ?
यो त धेरै गाह्रो कुरा भयो । म असल के लाई भन्ने मै अलमलिन्छु । मेरो हिसाबले भनौंला लीलावादी दृष्टिकोणबाट लेखिएको साहित्य असल हो । तपाइँले अर्कै भन्नु होला । कतिलाई कवितै असल लाग्ला । कतिलाई उपन्यास नै असल साहित्य लाग्ला । अलिक फरक ढंगले भन्ने हो भने मलाई के लाग्छ भने पढिने हुनु नै साहित्य असल हुने पहिलो खुटकिलो हो । पहिले त्यो ढिलो या चाँडो पढिनु पर्यो । पढिसकेपछि मात्र मुल्याङकन असल या खराब भन्ने हो । पढिसकेपछि त्यसले मानसिक खुल्दुली र आत्मिक शान्ती दिनुपर्छ कि ! वाह ! भन्छ आत्माले मनले । तर मतिष्कले वाह भनेर बस्दैन । बस्ने पनि होइन । त्यसलाई त अलिकति झोस्ने ठोकठाक पार्ने खुराक चाहिन्छ । चकमकले आगो पारेजस्तो ।

विश्व साहित्यमा नेपाली साहित्य कहाँ उभिएको छ ?
मलाई त लाग्छ नेपाली साहित्यले विश्व बजारका पाठक पाउँदो छ । देवकोटाका, विपीका, पारिजातका, भूपिका साहित्य विश्व बजारमा अनुदित छन र पढिएका छन । अहिले त नेपाली डायस्पोराले नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न अतुलनीय योगदान गरेको छ । यसमा नेपालबाट काम र सुखद भविष्यको खोजीमा विश्वका विभिन्न देशमा गएका गैरआवासीय नेपालीहरुलाई विशेष सम्झनुपर्नेहुन्छ । अहिले त अनुवादका काम पनि धेरै भइरहेका छन । भर्खरै हाम्रा परिपक्व लेखक बुद्धिसागरको कर्णाली ब्लूज माइकल हटको अनुवादमा पेन्गुइनबाट आएको छ । यसका रिभ्यु पनि ठूला ठूला पत्रिकाहरुमा आएका छन । यो ठूलो कुरा हो । धराबासीको राधा पनि केही समय अघि आएको र विश्व बजारका पाठकहरुले रुचाइएको थियो । अनुवाद हुनु नै ठूलो कुरा होइन । कसले अनुवाद गर्यो कस्तो अनुवाद भयो यो ठूलो कुरा हो जस्तो मलाई लाग्छ । अर्को कुरा हामीले विश्व साहित्यमा नेपाली साहित्य कहाँ छ भनेर खोज्दा कोरा मानविकी सम्बद्ध कथा कविता उपन्यासलाई मात्र हेर्नु हुँदैन कि भन्ने मलाई लाग्छ । हाम्रा सांस्कृतिक, समाज वैज्ञानिक लेख अनुसन्धानहरु कति पढिन्छन ? कति उदृत हुन्छन ? जस्तो हाम्रा संस्कृतिका, बुद्धबादका, हिमालका, हिमाली जातीका, नेपाली गोर्खाबारेका लेख अनुसन्धान युरोपमा प्रशस्तै पढिन्छन । उदृत भएका छन । त्यसले पनि हाम्रो नेपाली साहित्यको वैश्विक स्थान दर्शाउँछ कि ।

केही छुट्यो कि ?
यहाँ कुरा भएको थोरै छ । धेरै थोरै । त्यसकारण धेरै नै छुट्यो भन्नुपर्ला । (हाँसो)

तपाईको प्रतिक्रिया