७० को दशकदेखि कविता लेख्न थालेका कवि राजु स्याङतान नेपाली वर्तमान कविता लेखनमा एक शक्तीशाली उपस्थीति हो । उनका कविताले नेपाली समाजमा पीँधमा रहेका जनताका आवाजहरुलाई शसक्तरुपमा बोलीरहेको हुन्छ । महोत्तरी बर्दिवासका उनी हाल नयाँ पत्रिका दैनिकमा आवद्ध छन । पत्रकारितामा विशेषतः फिचर समाचार लेख्छन । प्रस्तुत छ, साताको तीन कविता ।

नेपाल यातायात

समयको निर्मोही छातिमाथि
बेमतलब दौडीरहेको छ एउटा बस
उसको निधारमा लेखिएको छ
‘नेपाल यातायात’
त्यही बसमा धर्मराउँदै चढिन
मधेसी माई

मदहोसी काठमान्डुलाई
ह्वास्स गनायो मधेसी मिट्टी
आईफोनको मोहक बासनासँग
हृदय साटदै गएको काठमान्डुलाई
ठुस्स गनायो घोँगी

बायाँ छेउमा सोंचमग्न छ
कम्युनिस्ट घोषणापत्र पढदै गरेको चिन्तक
दायाँ छेउमा बिराजमान छ
गान्धीको आत्मकथा पढिरहेको
गम्भीर शोधार्थी
आरक्षण सिटमा छ
सनातन धर्मी महामहिम

माईलाई पुग्नुछ आजै मधेस
रोप्नु छ सिमानामा एक लस्कर सिउँडी
अनी पठाउनुछ काठमान्डुलाई
छिटीमा केही काउली र टमाटर
तर पठाउँदिनन घोंगी
माईलाई थाहा छ
घोंगी मन पराउँदैन काठमान्डु

गुडिरह्यो नेपाल यातायात
जसरी गुडने गर्थ्यो कुनैदिन
महाराजको खराउ बोकेर हतार हतार
आजपनि गुडदैछ उसै गरी
बोकेर केही जोर नयाँ खराउ

इतिहासको नमिल्दो भारी बोकेर
बेतोडले हुँईकीरह्यो नेपाल यातायात
हुँईकिदा हुँइकिदै बेस्सरी हल्लियो अभरमा
ढलिन मधेसी माई गाडिमै
पोखियो माईको काखबाट
भर्खरै कफिनबाट निकालेर
घाटमा पोली आएको
छोराको आलो खरानी

ढलिरहिन मधेसी माई
ढलिरह्यो एउटा राष्ट्र
तर,
सिट दिएन काठमान्डुले

अस्तित्व

यो चर्को घाम
रुखहरु तिर्खाएर मरेका छन भकाभक
चराहरु बस्दैनन यहाँ पिरती गाँसेर
म हिडिँरहेछु एक्लै यही बाटो
तिर्खाएको छु असाध्यै
म सोच्दैछु
यहाँ कतै पानीको अस्तित्व हुनुपर्छ
र त म तिर्खाइरहेछु

हिँडदा हिँडदै यो गोरेटोमा
आफैँले टेक्दै आएको
पाइतलाका डामहरु नै लडला जस्तो
ओरालो भेटियो
सोंच्दैछु
यहाँ पक्कै शिखरको अस्तित्व हुनुपर्छ
र त ओरालो भेटियो

हेर्दाहेर्दै माकुराको जालमा परि
मरे कयौं निर्दोष पुतलीहरु
त्यो नराम्रो भयो
म विचार गर्दैछु
यहाँ पक्कै राम्रोको अस्तित्व हुनुपर्छ
र त मलाई त्यो नराम्रो लाग्यो

हेर्दाहेर्दै भञ्याङमाथि
घाम टुक्रुक्क बसेर निदायो
अब अँध्यारो हुन्छ
देखिन्न कतै
उडदाउडदै आत्महत्या गरेको विरही चरा
देखिन्न कतै
शिकार खोजिरहेको बुढो बाज
म सोच्दैछु
यहाँ कतै उज्यालोको अस्तित्व हुनुपर्छ
र त अँध्यारो भइरहेछ

यस्तो लाग्छ कहिले काँही
जहाँ अभाव हुन्छ– त्यहाँ म हुन्छु
जहाँ म हुन्छु– त्यहाँ अभाव हुन्छ
अभाव
मेरो जीवनको पर्याय

तर आज सोच्दैछु
दुनियाँमा कतै
खुशीको अस्तित्व हुनुपर्छ
र त म यति दुःखी छु

पिपा भनेको के हो ?

आज मेरो घरमा
जन्मिएको छ एउटा
सिक्रिले बाँधिएको बच्चा
म उसको आप्पा भएको छु

जब हुनेछ ऊ तोते बोली बोल्ने
मैले आप्पालाई सोधे जस्तै
उसले पनि सोध्नेछ मलाई–
‘डम्फू माथिको चरा
किन चुपचाप बसिरहेको आप्पा ?’
माभारको चिसो लेकमा
गुँरासको थुंगा र बाख्राको बथानसँग
साँझ बिहान खेल्दाखेल्दै
बित्नेछ उसका दश वटा हिउँद
जान पाउँने छैन ऊ स्कुल
जान बाध्य हुनेछ बरु याम्बु
मिनी बसको खलासी बस्न
होटलमा भाँडा माझ्न

याम्बुमा देख्नेछ उसले
दोबाटोमा ठिङ्ग उभिएर
औंला देखाइरहेको सिमेन्टीको मान्छे
अनि देख्नेछ त्यसको ठिक मूनी
करङका असंख्य टुक्राहरु

त्यसपछि देख्नेछ उसले
दरबारका भित्ताहरुमा
रगतले लत्पतिएका
आफैसँगै मिल्दो तस्बिरहरु
अनि सुन्नेछ उसले
महलभित्र चिच्चाइरहेको
मधुरो मधुरो आवाज

ल्होेछार मनाउन
झोलामा एक पोका खाप्से
अनि एकजोर लुङदार लिएर
मिनीबसमा झुन्डिएर घर आउँदा
उसले सोध्ने छ मलाई
अनगिन्ती अनुत्तरित प्रश्नहरु

त्यो आफ्नो आफ्नो झैं लाग्ने
नेल ठोकिएका करङका टुक्राहरु
कसका हुन आप्पा ?

त्यो के जाति दरबारको भित्ताहरुबाट
किन आइरहन्छ आप्पा
तिम्रो जस्तै पसिनाको गन्ध ?

रातको मध्य प्रहरमा
टाउको काटिएका असंख्य मान्छेहरु
फुटेको डम्फू बोकेर
किन जम्मा हुन्छन आप्पा
जंगबहादुरको शालिक छेउ ?

त्यो भग्न दरबारको दिवारभित्र
घाम डुब्दै गएपछि
अस्पष्ट अस्पष्ट आवाजमा
तामाङ गीत गाइरहने
आफ्नो आफ्नो झैँ लाग्ने
त्यो आवाज कस्तो हो आप्पा ?

समयले एक फन्को मारेपछि
यो संसारमा म हुने छैन
मेरो चिहानमाथि उभिएर
मेरो नाति–नातिनाले फेरि सोध्नेछ उसलाई
पिपा भनेको के हो आप्पा ?
नोट
याम्बुः काठमाडौं
खाप्सेः सोनाम ह्लोछारमा खाने परिकार

तपाईको प्रतिक्रिया