बाल साहित्य – कथा

“ह्या!आज होमवर्क गर्न पनि भ्याइन।अब सरले गाली गर्नु हुन्छ।”
“बिहानै उठ्यो आँगन बढार, कुचो लगा, चिया पका, खोले पका, भाडावर्तन मोल आफै।कति हैरान हाऊ! घरको छोरी मान्छे हुनु पनि कति गाह्रो । खाना पनि आफै पकाउनु पर्ने।फेरि भाडा माझ्नु पर्यो।अनि कति खेर फुर्सद हुनु?
सबको अगाडि चिया पुर्याइ दिनु पर्ने।खाना पस्किनु बाँढ्नु कामको बोझले होला बेलुका पढौं भन्यो भुसुक्कै निदाइन्छ।”
हतार-हतार लुगामा आइरन लाएर नुमा फत्फताउदै हिडी । निकैबेर गल्ली छिचोलेपछी सडक आयो।
“अबुइ हन कस्तो हाउ झन्डै किचायो त!”
बाटोमा छुल्याहा ड्राइभरले नजिकैबाट गाडी हाकेर लग्यो।एक फेर कसेर …भ्वाँवावस्स.. हर्न पनि लायो।
“कस्तो बुद्धि सकिएको मान्छे रहेछ। झन्डै मार्यो।हैन किन गाडिले इतृनु। अनि काम न दाम हर्न लाउनु? कहिले आउला यिनिहरुको बुद्धि?”

नुमालाई थरर काम छुट्यो। सोची आज कसो मरिएन। विद्यालय पुग्न आधा घन्टा लाग्छ।बाटो बिचमा अरु साथीहरू पनि थपिए।गफिन्दै अगाडि बढे। गाडीको कुरा झिक्दा अरु साथिले पनि कहिले काहीँ उनिहरुलाई पनि समस्या भएको कुरा गरे। बाइकवालाले झन सिटि मार्दै छेउमै हात ल्याएर समात्ला जस्तो गर्ने। केटि देख्यो कि चम्किहाल्ने। मान्छे नगन्ने ।कति पिर खपेर हिड्नु पर्ने। कस्तो झ्याउ लाग्ने मान्छेहरु!

अबदेखी सडक पार गर्दा सडकमा हिडिरहदा होशियार हुने सल्लाह गरे। सामुहिक रूपमा त्यस्तो गाडिलाई प्रतिवाद गर्ने कडासँग प्रस्तुत हुने प्रहरी अभिभावक र शिक्षकलाई जानकारी गराउने निर्णय गरे। नुमालाई धेरै राहत मिल्यो। विद्यालयमा पुग्दा नुमालाई अकस्मात केही अप्ठ्यारो महसुस भयो। उसलाई मासिक स्राव भएको रहेछ। अरु साथीहरूले नुमालाई यो कुरा जानकारी गराए। उसलाई तनाव भैरह्यो। साथीहरूले नै मिसलाई जानकारी गराए। विद्यालयमा स्यानेटरी प्याड हुनसक्ने भनेर हेडसरसँग बुझ्ने भनेर उनले जानकारी गराइन ।प्याडहरु भित्र स्टोर कोठामा थन्क्याएर राखेको रहेछ। आजै सबै विद्यार्थीलाई मासिक स्राव प्याडबारे कक्षामा जानकारी गराउनु भन्ने निर्देशन समेत भयो। नुमाले साथिहरुको मद्दतले चर्पिमा गएर सरसफाई गरिन। त्यै दिन स्वास्थ्य शारिरिकको घण्टीमा शिक्षकले मासिक स्राव एक नियमित शारिरिक प्रकृया भएको कुरा जानकारी गराएका थिए। यो सामन्य रूपमा ग्रहण गर्नु पर्ने महत्वपूर्ण घटना हो भनेपछि नुमालाई धेरै राहत मिल्यो। भित्री वस्त्र भित्रि अङ्गको सरसफाई ज्यादै महत्वपूर्ण हुन्छ जति बाहिरी वस्त्र र अङ्गको हुन्छ भनेर शिक्षकले सरल तरिकाले स्पष्ट पारेका थिए।यो कक्षा सबै विद्यार्थीले बढो चाख मानेर सुने।

प्याड विसर्जन गर्ने तरिकाको सम्बन्धमा समेत विद्यार्थीले प्रश्न उठाए। शिक्षकले आफू हेड सर र अरु शिक्षकसँग सल्लाह गरेर विसर्जनको लागि छुट्टै विसर्जन मसिनको व्यवस्था गर्ने बताए।अहिलेलाई कुनै अस्थाई डस्टविनको प्रयोग गर्न सकिन्छ समेत भने।निश्चित समयमा एक मुष्ट रूपमा डढाउने पुर्ने गर्न सकिने थप जानकारी गराए। विद्यार्थीहरुले त्यो कार्यको लागि सहयोग गर्ने जताभावी फोहोर विसर्जन नगर्ने कुराको प्रतिज्ञा गरे।

अर्को घण्टीमा शिक्षकले बाल अधिकारबारे शिक्षण गर्दा छोराछोरीमा लैङ्गीक विभेद हुनु नहुने बच्चालाई लेखपढ गर्न खेलकुद गर्न समान अधिकार छ भने। नुमाले गहिरोसँग सोच बिचार गरि। त्यसो भए घरको काम किन मैले मात्र गर्नु पर्ने? एउटा जटिल सोचले उसको दिमाग घेरियो। परिवारमा, विद्यालयमा, कार्यलयमा समेत कहिलेकाही लैङ्गिक विभेद गरिन्छ। त्यसको प्रतिकार गर्नुपर्छ। सरले यो कुरा राखेपछि
नुमाले सोची म पनि आमालाई भन्छु। कतिखेर छुट्टी हुन्छ र घर पुगुँ भैरह्यो उसलाई। घर पुगेर आमालाई भन्ने साहस गरि,”आमा! एउटा कुरा छ भनुँ?”
“हैन के हो भन्न।”
“म मात्रै किन घरको काम गर्ने ? अरुले पनि त गर्दा हुन्छ। अधिकार त सबैको बराबर रैछ।”
“हैन के भन्छ?के भो तँलाई? अनि घरको काम नगरेर कसले गर्छ?”
“हैन, गर्न त गर्ने । नगर्ने भनेको होइन । मेरो पढने लेख्ने समय मिल्दैन धेर कामले। अरुले पनि सघाउनु पर्यो । अनि म पनि खेल्न पढन लेख्न पाउछु भनेको।”
“को नि ताउ तेसो भा तेरो दादाले पनि सघाउछ होला नि त।”

“हो तेसो त। उसले बढार्न सब्जी काटन कुचो लाउन चिया पकाउन सघाए त भैगो त।सजिलो हुन्थ्यो नि। तपाईंले भन्दिनु।”
“ल है ल ”
नुमा निकै खुशी भई। उस्को दाइ फाङजाङले रिसाउदै अर्को दिनदेखि काम सघायो। बिस्तारै दुबै बानि परे। आजकाल भन्नै पर्दैन दुबै मिलेर घरको काम गर्छन।

अर्को कुरा उसको साथीहरूले नुमालाई डल्ली भनेर अपमानित गर्ने कुराले उसलाई सधै पोल्थ्यो। दुइचार पटक त्यसो नभन मलाई मन पर्दैन भनेर पनि सम्झाउने कोसिस गर्दा उल्टै डल्ली !डल्ली!! भनेर झन हेपेको टिजिङ, बुल्लिइङ गरेको हो रहेछ भन्ने कुरा सरको कुराबाट आज झन छर्लङ्ग बुझी। उसलाई यसरी आफ्नै कक्षाको साथिले हेपेको झनै मन परेन।छात्र छात्राहरुको कस्तो-कस्तो बानी अरुलाई सताएर आफू रमाउने आदत भएको होला भनेर नुमा दुखी भई । यो कुरा उसले तायामा, रति , अल्गा मिल्ने साथीहरूलाई बताई ।उनिहरु बिच धेरै कुरा भयो। अल्गालाई त झन अरु समस्या पनि रहेछ। केटा साथीहरूले कहिलेकाही अश्लिल हर्कत गर्न कोसिस गर्दा रहेछन । मनिटर आफैले ठेल्ने, छुन खोज्ने कोसिस गर्दो रहेछ। कडा रुपमा प्रस्तुत भएपछि अलिक कम भएको रहेछ। उनिहरुले त्यस्तो गैरहर्कत गर्ने विद्यार्थीको नाम र उनिहरुले गर्ने कामको विवरण सहित हेड सरलाई बुझाउने निर्णय गरे ।

अफिसमा छात्रहरुलाई बोलावट भयो। हेडसरले अभिभावक समेत बोलाएर केरकार गरे। छात्रहरुको यस्तो प्रकारको क्रियाकलापप्रति छानबिन भयो। उनीहरुको गल्ती सावित भयो। सरले सम्झाउनु भयो। जिस्केर इत्रेर कसैले कसैलाई शारीरिक रुपमा छुन अफ्ठ्यारो महशुस हुने गरि स्पर्श गर्न प्रयास गर्नु अपराध हो भनेर सरले बुझाउनु भयो। केटाहरुले गल्ती महशुस गरे माफी मागे। अभिभावकले जिम्मेवारी लिने कबुलियत गरे। नुमा, अल्गा , रतिले पनि एकपल्टलाई माफी दिए। उनिहरुले आफुमाथि भएको हिंसालाई जोडदारसँग उठाएका थिए। केही दिनमा विद्यालयले बाल क्लब गठन गर्ने निर्णय सुनायो। नुमालाई बाल क्लबको अध्यक्षमा चयन गरियो।बाल क्लबले के गर्ने भन्ने अन्योल सबै सदस्यलाई थियो। हेडसरले बाल क्लबको काम कर्तव्य र अधिकार बारे संक्षिप्त मन्तव्य प्रदान गर्नुभयो। यसबाट सदस्यहरुले बालबालिकाको अधिकार सृजनात्मक सीप, कला साहित्य, सरसफाई आदि विषयमा काम गर्न सकिने कुरा स्पष्ट भयो। उनिहरुले विद्यालयमा एउटा भित्ते पत्रीका निर्माण र प्रकाशन गर्ने निधो गरे। भित्ते पत्रिकाको नाम सुनाखरी भित्ते पत्रीका नामाकरण भयो। लेख रचनाकोलागि कक्षा पाँचदेखि उभोको कक्षाका विद्यार्थीलाई अनुरोध गरे। हप्तादिनमा पत्रीका तयार भएर टाँस भयो। नुमाले बालअधिकार र घरायसी काम बारे एउटा लेख लेखी । त्यो लेख उसको जीवन बारे नै थियो। सबैले पढेर प्रशंसा गरे। विद्यालयमा विषय शिक्षकले कुनै पाठ शिक्षण गरि रहँदा विद्यार्थीले नबुझेको बारे प्रश्न सोद्धा उल्टै धम्क्याउने शिक्षक बिरुद्ध खुलेर लेखिन। सेतोपाटी अगाडि उभेर आफैले लेखेको छेलेर बोलिरहने शिक्षकलाई विद्यार्थीले सर छेलियो हटिदिनुन भन्दा उल्टै झ्याम झ्याम कुटने शिक्षकको कर्तुतलाई उछितो काढेर लेखी। कुनै शिक्षकले गणितको समस्या हल गर्दा सर त्या गल्ती भयो त्यो त यति हुन्छ भन्दा सर रिसाएर तैं जान्ने रैछस गर न भनेर धम्क्याउने सरको बिरुद्ध पनि लेखिन। यति लेख्दा उसलाई हदै तनाव भएको थियो। यो कुरा उनिहरुको बाल क्लबमा समेत छलफलमा आएको थियो। सबैलाई थाहा थियो यो कुराले विद्यालय प्रशासनलाई तनाव दिन्छ। यदि यसो भएमा मिलेर सामना गर्ने निधो गरेका थिए तर खासै समस्या भएन।

हेड सरले नुमालाई बोलाएर सोधपुछ गर्नुभयो । रिपोर्ट गर्ने सरले निकै कडा स्वरले सोध्न खोजेका थिए,”नुमा तँलाई यति धेरै जान्ने हुन कसले सिकायो। बाल क्लबको अध्यक्ष हुँदै सबैभन्दा माथी होइन्छ ? तँलाई त्यस्तो लागेको भए हामीलाई भन्थिस।” नुमाले बाल क्लबमा उठेको सबै कुरालाई छर्लङग बताइन। आफुले गाउँ पालिकाले दिएको तालिमपछि हरेक कुराको खुलेर बिरोध गर्नु पर्ने प्रशिक्षण प्राप्त गरेको स्पष्टीकरण दिइन । अन्य सरहरुले अबदेखि कुनै समस्या भए हामीलाई भन्नू भने। त्यो घटनाले अर्को पाली देखि शिक्षणमा कुनै धम्क्याउने शिक्षक भएनन। अर्को अङकमा कक्षा बङक गर्ने, कुलतमा फस्ने, अध्ययनमा ध्यान नदिने विद्यार्थीबारे राम्रो लेख प्रकाशन भएको थियो। नुमालाई हाम्रो बारेमा धेरै जान्ने नहुनु भनेर धम्की आयो। नुमाले यो कुरा बाल क्लबको छलफलमा ल्याइन। बाल क्लबले प्रशासनलाई जानकारी गरायो।विद्यालयले ती विद्यार्थीहरुको अभिभावक बोलाएर छलफल राख्यो। एक पल्टलाई सुधृने बाचासहित नुमालाई दिएको धम्कीको माफिसहित केटाहरुको पढाईलाई निरन्तरता दिइयो।बाल क्लबले निकै राम्रो काम गरिरहेको थियो।

एक दिन माघमा नुमाको साथीको बिबाह हुने कुरा उठ्यो। त्यो छात्रा नाबालिका थिइ। बीस बर्ष उमेर पुगेकै थिएन। मात्र पन्ध्रमा हिडदै गरेको।बाल क्लबको आपतकालीन बैठक बस्यो। बिबाह हुन नदिने निर्णय पारित भयो। बाल क्लब संयोजक शिक्षकलाई परामर्श लिएर उनिहरु बेहुलिको घरमा पुगे। “बाल बिबाह बन्द गर! पढन पाउने नारिको अधिकार !” जोर जोरसँग नारा लाए। भित्रबाट को लोग्ने मान्छे राँकिएर आयो। निक्कै विवाद भयो। बालबालिकाले नारा लाउन छोडेनन।भद्रभलादमी ले स्थिति नियन्त्रण गरे। विद्यालयमा खबर भयो। हेड सर अन्य शिक्षकहरुले तपाईंको छोरी उमेर पुगेपछि मात्र विवाह गर्न पाउनु हुन्छ। नत्र हामी प्रहरी बोलाउछौ भनेपछि उनिहरु नाजवाफ भए। बिबाह रोकियो। पछि थाह भयो बाहिरैबाट बिहे गरे अरे।

टोल छिमेकी सबै भेला भएका थिए । उनिहरुले होइन आजकालका केटाकेटीलाई नसकिने रैछ । उमृदै तिनपाते भनेका थिए। कत्तिले चाहिँ जे होस हाम्रो सामुदायिक विद्यालयका नानीहरू स्मार्ट भएछन । खुशी लाग्यो भने।प्रतिक्रिया मिश्रित थियो। नुमाले पढाईमा पनि राम्रो गरिन। त्यो बर्ष विद्यालयले नुमाको कामको कदर गर्दै वर्ष विद्यार्थी घोषणा गर्यो। नुमाको परिवार साथी भाई दङ्ग परे। विद्यालय पनि समाजको एउटा अभिन्न अङ्ग हो। जहाँ विद्यार्थीले आफ्नो भविष्यको चाहना सपनाहरूको बिजारोपण गर्छन। विद्यालयको भित्ते पत्रीका बालबालिकाको ज्ञानको अभ्यास गर्ने थलो हो।

तपाईको प्रतिक्रिया