विजय हितान-

मिर्मिरेबिहानिमा :

एली कार लिएर बिहानै आइन । हामी लाग्दै गरेको आजको गन्तव्य स्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ ।

‘गुड मर्निङ एली ! कस्ती छौ ? सप्तान्त कस्तो बित्यो ?’ मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ ।

‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । माफ गर, मेरो कार अलि फोहोर होला है ! के गर्ने कारमा कुकुर राखेर हिँडाउनुपर्छ ।’ कारलाई हाइवेतिर हुइँय हुइँक्याउँदै मलाई पनि प्रश्न गरिन, ‘तिमी नि ?’

‘म पनि कतै गइनँ । हार्बर हुँदै सामुद्रिक तटैतट मर्निङ वाक गरेँ । सामुद्रिक छालको सुमधुर संगीतमा मनै लोभ्याउने धुन सुन्न सारै मज्जा लाग्छ तर सफा र स्निग्ध समुद्री किनारामा प्लास्टिक फोहोरहरू देख्दा भने एकदम नमज्जा लाग्छ ।’ हुईं हुईं गर्दै गुडेका गाडीहरूका दृश्यतिर आँखा घुमाउँदै मैले भनेँ ।

‘हो नि, त्यो एक पबित्र स्थान हो भन्ने थाहा पाउँदापाउँदै पनि मान्छेले खाएर खाने कुराका खोलहरू, पानीका बोतलहरू फाली रहन्छन | यसलाई एक अनियन्त्रित विश्व बिकृतिको रुपमा लिन सकिन्छ।’ मेरो एकोहोरिरहेको ध्यान भंग गर्दै उनले भनिन |

गाडीहरू लेन फेर्दै उछिनपाछिन गरिरहेका छन ।
सायद ! सबैलाई हामी जस्तै आफ्नो स्थानमा पुग्न हतार छ । थाहै छैन पछाडिको एक्जस्ट पाइपबाट वातावरणको घाँटी निमोठने कार्बनडाइअक्साइड जस्ता दूषित ग्यास उत्सर्जन भएको छ भनेर ।

यो कस्तो मूलबाटो हो जहाँबाट हजारौँ मानिस प्रतिघण्टा आवतजावत गर्छन । तर नमस्कार, कहाँबाट आउनुभएको ? कहाँ जाने हो ? भनी सोध्ने फुर्सद छैन कसैलाई । यो हल्लैहल्लाको मूलबाटो । तर एकान्तमा यो दिनरात लम्पसार परिरहेको छ । झ्यालको सिसा झारेँ ,एकैछिन फ्रेस हावा लिन । बाहिर खोला सुसाएको जस्तै सुसाइरहेको थियो हाइवे ।

’त्यसरी मर्निङ वाक गर्दा रहेछौ र त यो उमेरमा पनि जवान देखिन्छौ ।’ उनले मिरोरमा आफूलाई हेर्दै सद्भावका शब्दहरू बर्साइन ।

मैले गमक्क परेर धन्यवाद दिँदै भनेँ, ’एउटा कुरा सोधूँ तिमीलाई ?’

‘भन न के हो ?’उनले जिज्ञासा देखाइन ।

मैले भनेँ, ‘भो भन्दिनँ, कतै तिमी रिसाउने हौ कि ?’

हाम्रो बातहरू जतिजति बढदै जान्थे उतिउति यात्राका दुरिहरू पनि घटदै थिए |
सधैँ आफैँले कार चलाएर हिँडन अल्छी लाग्छ । संसारमा कसैलाई हिँडदा हिँडदा दुःख छ भने कसैलाई कारमा चडदा पनि दुःख नै छ । यस्तै होला है विकसित राष्ट्रको शहरीया जीवन ! आज एलीले मलाई आफ्नो कारमा हालेर हिँडाउँदा धेरै आनन्द आएको छ । त्यसैमा एली जस्ती सुन्दरी युवतीले हाँकेको गाडीमा बस्न पाउँदा के चाहियो र ! गोरेनी युवतीहरू छालैले राम्रा देखिन्छन ! गालाको डिम्पल र ब्ल्यान्ड केसले झनै राम्री देखिन्थिन एली !

‘अगाडि राम्रोसँग हेरेर चलाऊ । हतार नगर । समयमै पुगिन्छ ।’ उनीतिर पुलुक्क हेरेर सावधानी गराउँदै भनेँ ।

उनी भने मलाई देखाउन थियो कि के हो ? निक्कै स्पिडमा हाँक्दै थिइन । स्पिड लिमिट सत्तरी तर असी माइल प्रतिघन्टामा कार अगाडि बढदै थियो । बसका ड्राइभरले आफ्नो नजिकै राम्री तरुनी बसेका छन भने खुबै हाँक्नुपर्छ नि बस,त्यस्तैगरी।

आधा बाटो काटिसकेका थियौँ होला आकाश खनिन थाल्यो कारको स्क्रिनमा । लाग्थ्यो हामीलाई रोमान्टिक बनाउन कसैले पानीको पाईपले कारमाथि छर्कंदै छ |

‘डरायौ ? तिमी निर्धक्कै बन । तिमी यताउता भइहाल्यौ भने म सम्हालिहाल्छु नि ।’ उनले कारको रुझेको अनुहार वाइपरले पुछ्दै सान्त्वना दिँदै भनिन ।

समयमै लन्डन पुग्यौँ । आ-आफ्ना नाम रिसेप्सनमा दर्दा गरायौँ । आफ्नो नाम अंकित ब्याज भिरेर एउटै लाइनको कुर्चीमा वल्तिर पल्तिर बस्यौँ ।

‘फोहोर पानी प्रशोधन केन्द्र र यसले पार्न सक्ने वातावरणीय प्रभाव’ शीर्षक थियो पारि भित्तामा प्रदर्शन गरिएको पावरपोइन्टको ।

घरबाट टेक्स्ट आयो, ‘बिहानै हिँडनुभएछ आज त, म विस्तारामै हुँदै । तपाईंको कार त यहीँ छाडनुभएछ ।’ एक्कासी मैले कल्पना गरिरहेको सङलो पानी घरको शंकालु टेक्स्टले धमिलो देखें |
मैले टेक्स्ट फर्काएँ, ‘हो, हामीले कार शेयर गरयौँ । एलीले मलाई ड्राइभ गरेर ल्याइन । म अहिले एउटा वातावरणीय सेमिनारका लागि लन्डन आएको छु ।‘

‘ए त्यसो पो ! खुबै मज्जा भएछ है ?बाई !’ उताबाट फ्याट्ट रिप्लाई आयो । सम्झेँ, उहिल्यै मेरा बा कतै टाढा गएर महिनौं घर फर्कन नसक्दा मेरी आमा कसरी बसिन होली ? त्यो बेला बाबाको हातमा मोबाईल भएको भए आमाले पनि यस्तै भन्थिन कि ?
केहीबेर फोनमा आँखा घुमाइराखेँ, उताबाट अरु कुनै रिप्लाई आएन ।

परार एक बहुराष्ट्रिय कम्पनीद्वारा सञ्चालित प्रशोधन केन्द्रको मेसिन बिग्रिन जाँदा फोहोरमैलाको ढल बिना ट्रिटमेन्ट पानीमा मिसियो । फोहोर पानी नदीमा पस्दा माछाजति सोत्तर परे । मरिनामा राखिएका डुङ्गाहरूलाई प्रदुषणले ठूलो असर पारेको थियो । यहाँ वातावरणलाई प्रदूषण गर्नु अपराध हो भन्ने कानुनी विषयलाई एन्भाएरोमेन्ट एजेन्सीले अनुसन्धान गरेर उक्त कम्पनीलाई अदालतमा उभ्याएको थियो । मुद्दा जितेर बीस मिलियन पाउन्ड पनि जरिवाना तिराउने सफलता मिलेको थियो । त्यो मुद्दा कसरी तयार पारियो, के के सिकियो, तिनै कुराहरू शेयर गर्नु सेमिनारको औचित्य थियो ।

मोबाइलमा फेरि अर्को टेक्स्टको घन्टी बज्यो, ’कती बजे आइन्छ त ? सदाकै नर्मल टाइममा होला नि ?’

‘अँ, छ बज्नु अगाडि आइपुग्छु ।’, मैले टेक्स्ट रिप्लाई गरेँ ।

हामी कार्यक्रम सकिएपछि आज्ञाकारी भएर कतै अलमल नगरी घरतिर फर्क्यौं।

गोधुलीसाँझमा:
एलीले मलाई मेरो घरअगाडि ल्याइपुरयाइन ।

‘एकैछिन भित्र बसौँ । कफी पिएर जाउली ।’, झर्नेबेला मैले अफर गरेँ ।

‘ठिकै छ, अबेर भयो, तिम्रो परिवारलाई डिस्टर्ब होला, धन्यवाद । बरु, बिहान के भन्छु भन्थ्यौ नि, त्यो कुरा भन न, के हो ?’ उनले भनिन ।

‘भो पछि भनुँला । ऐले भन्ने उचित वातावरण बनेन ।’, भनेर मैले टारिदिएँ ।

बिहान अफिसमै भेटने भनी बाई गर्दै उनी हुइँकिन ।

मैले ढोकाको बेल बजाएँ । साँझको आठ बजिसकेछ । लामो ट्राफिक जाममा परियो हाइवेमा । दुर्घटनाले बाटो बन्द नभएको भए अघि नै आइपुग्ने नि । चाबी निकालेर ढोका खोलेँ ।

उनको काम आज चार बजे सिद्धिनुपर्ने ! ‘कहाँ गइछन !’ भन्दै फोन गरेँ, लागेन । किचनमा पसेँ, सुनसान थियो ।माथि शयन कक्षमा उक्लेँ । ढकढक गरेँ, खुलेन । निलम.. निलम.. भनी चिच्याएँ ।

एकैछिनपछि कसैले घरको मुलद्वार ढकढक गरयो । चाइनिज टेकअवे ल्याएको गोरो केटो रहेछ ।

ए तिमी ? कति हो ?

एघार पाउन्ड पचास पेन्स, कृपया ।

यी, लौ ।

धन्यवाद !

भोक लागेको थियो । स्पेयर रिफ र नुडल खाएँ । अनि टिभी हेर्दाहेर्दै सोफामै निदाएछु ।

अर्कोदिनकोबिहान:
घडीको अलार्मले निद्रा खोलिदियो । म जुरुक्क उठेँ । थकित जस्तै महसुस भएको पाएँ । उनको ढोका अझै बन्द थियो । म एक कप कफी पिएर हिजोकै सुटमा अफिस लागेँ ।अफिस लाग्नुभन्दा अघि एउटा नोट लेखेर टेबुलमा छाडेँ ।

‘निलम,

म के साधनको प्रयोग गर्छु मेरो कार्बनफुटप्रिन्ट त्यसमा निर्भर गर्छ । तिमीलाई थाहै छ, वायुमण्डलमा कार्बनडाइअक्साइडको उत्सर्जनको कारण नै जलवायु परिवर्तनको असर हो । हाम्रो अफिसको पोलिसी तिमीलाई विदितै छ, पहिला हिँडेर जानु या साइकल चलाएर । यी दुईबाट पुग्न असम्भव छ भने कि रेल कि बस समात्नू । यी पनि सम्भव हुँदैन भने मात्रै अन्त्यमा कार प्रयोग गर्नू । अन्य सहकर्मी पनि एउटै ठाउँमा जाँदै छन भने कार शेयर गरेर जानू ।

यसै पोलिसीलाई पालना गर्ने क्रममा म एलीसँगै लण्डन गएको हुँ । हामीले हिजो कार शेयर गर्दा धन्दै २४ किलो कार्बन उत्सर्जन हुनबाट जोगाएका छौँ । जसरी तिमी मेरो जीवनसँगी बनेकी छौ । मलाई लाग्छ, तिमी मजस्तै वातावरण मैत्री पनि छ्यौ ।

तर याद गर कार्वनफुटप्रिन्ट घटाएर वातावरण जोगाउन खोज्दा घरवार नजोगिने भयो भने म अब यस्तो कहिल्यै गर्नेछैन ! हुन्छ, भरे भेटौँला ।

–उही तिम्रो, हब्बी

कार्यालयमा:
एली कफीका लागि केटलमा पानी बसाल्दै थिइन । म टुप्लुक्क पुगेँ ।

‘मलाई पनि हो,कफी ?’

‘हिजो के कुरा भन्छु भन्थ्यौ, भन न, प्लिज ।’

‘तिमीले कुकुरहरू पालेकी रहिछौ । यहाँ फुटपाथ र पार्कतिर कुकुरको गु टेक्दै हिँडनुपर्छ । उता नेपालका बाटाहरूमा मान्छेका गु किच्दै हिँडनुपर्छ । तिमीले त उठाउँछ्यौ होला नि तिम्रो कुकुरको गु र हाल्छ्यौ होला ढवाङमा ।’

आफ्ना सन्तानभन्दा पनि बढी कुकुरलाई माया गर्ने एलीले आफैँलाई मात्रै कफी बनाइन । उनी दिनभर बोलिनन।

कार्बनफुटप्रिन्ट घटाउन खोज्दा उता स्वास्नीको ईष्र्या बढने, यता सहकर्मी रिसाउने !

गाह्रो विषय हो वातावरण संरक्षण !

तपाईको प्रतिक्रिया