नेपाली साहित्यमा पार्यबरणीय लेखनमा आफ्नै बिशिष्ट योगदान पुर्याउदै आउनु भएको लेखक बिजय हितान नेपाली साहित्यमा एक स्थापित नाम हो । ‘लाहुरेको रेलिमाई ‘उहाँको नेपाली पाठकमाझ लोकप्रिय उपन्यास हो । पछिल्लो समय मलाई आर्यघाट लगेर नजलाउनु कविताकृति प्रकाशित जसमा पर्यावरण संरक्षणमा केन्द्रित रहेर लेखिएका कविताहरु समावेश छ । प्रस्तुत छ साताको तीन कविता ।

महामारी र फोक्सोको कथा
मेरो सिङ्गो अस्तित्व भन्नू म उभिएको जमिन रहेछ
मेरो पुरै अस्तित्व भन्नू
मुटु कलेजो मृगौला र फोक्सो रहेछ
खासमा मान्छेको शरिरको संरचना पनि देश नै रहेछ
एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र जस्तै
तर, पछिल्लो समय
मेरो फोक्सोमा
दसगजा भत्काउँदै भित्र पसेको भाइरस
भेन्टिलेटरमा निरीह अल्झिरहेको सिकिस्त बिमारीजस्तै
मेरो फोक्सो कमजोर छ
कालापानी, लिम्पयाधुुरा अतिक्रमण गर्दै भित्र पसेको
यो भाइरल आप्रवासी जस्तै
आईसीयुमा थुनिएर बसेको छ मेरो फोक्सो
जहाँबाट
मेरा इन्द्रियहरु मुस्किलले
झ्याल बाहिरका दृश्य नियालिरहेछन्
ओहो,
नदिले बाटो बदले जस्तो तुफानी हावा चले जस्तो
सायद हजारौं बर्षपछि यो पहाडमा
अडिरहेको ठूलो ढुङ्गा लडे जस्तो
उत्पतिकालदेखि नै मान्छेले दोहोन गरेपछि
छिया छिया परेको यो पृथ्वीको अनुहार जस्तो
कोरोनाको विरोधमा मेरो देशको सरकारले
ओभर डोज लगाउदै मर्दै गरेका निरीह नागरिक जस्तो
अथवा,
अस्पतालको बेडबाट
बाँच्ने अभिलाषामा भित्ताहरु नियालिरहेको
मेरो मुटुको ढुकढुकी जस्तो
पृथ्वी !
हुन त मैले पनि तिमीलाई दुखाएकै हो
कति कुरुप बनाएका छन्
मेरा आविस्कारहरुले तिम्रो सौर्न्दर्य
यो विज्ञानका दुषित रागहरु जस्तो
कुनै चित्रकारले घृणाले बनाएको आतंककारी चित्र जस्तो
मलाई थाहा छ मेरो नियतिको कथा
होइन , मलाई मात्र होईन
सम्पुर्ण मानव जातिलाई थाहा हुनु जरुरी छ
रोकथामका धारिला ईन्जेक्सनहरुले केवल भ्रम छर्छन्
जसरी विकासको नाममा संसार विनासतर्फ अगाडि बढिरहेछ
र,
मानिसबाट प्रेम, सदभाव, सहिष्णुता सकिदै गएको छ
सुन, समग्र पृथ्वीवासी मानवहरु
दुखान्त कथाको अन्तिम हरफ जस्तो
के अब हामी सकिन लागेकै हौं त ?
आऊ
यो पृथ्वी सबैको साझा वासस्थान हो
हामी सबै मिलेर बसौं
अनि त कसो नहोला फोक्सो राष्ट्रको सार्वभौमसत्ता ।

मलाई आर्यघाट लगेर नजलाउनु
म मरे भने
मलाई आर्यघाट लगेर नजलाउनु
किनकि मलाई जलाउने दाउराको चिताबाट
हावामा उत्सर्जन हुनसक्ने बिशालु कार्वनले
म तिम्रो फोक्सो जलाउन चाहन्न
मेरो मृत्युमा
तिमी बॅाच्नेहरुलाई अक्सिजन दिने रुखहरुको पनि
म मृत्यु देख्न चाहन्न ।
म बॅाचुन्जेल
मेरा दुर्ब्यावहारले तिम्रो मन कति धमिलिए होला !
म मरे भने
मेरो खरानी बाग्मतीमा बगाएर
भो, तिमीले पिउने पानीलाई धमिलो पार्न म चाहन्न ।
म बॅाचुन्जेल
कार र प्लेन चढेर
वायुमण्डलको अक्सिजनमा यति धेरै कार्बन घोलें हुला कि
ऋणमुक्त बनेर मर्न देउ मलाई
म कार्वन न्युट्रल भएर स्वर्ग जान चाहन्छु ।
त्यसैले भन्दछु-
म मरे भने
सफा उर्जाद्वारा संचालित इन्सिनरेटरभित्र हालेर जलाईदिनु मलाई
मेरो कार्बन फूटप्रिन्ट घटाएर मर्न चाहन्छु
होइन भने,
मेरै बारीमा लगेर गाडिदिनु
ता कि,गड्यौँलाहरुको एक छाक आहारा बन्न सकुँ
र उर्वर माटोमा अर्को बर्ष राम्रो फसल लाग्न सकोस
तर, मलाई आर्यघाट लगेर नजलाउनु ।

मञ्जुश्री आज फेरि चोभार आएका छन्

विकास विकास भन्दै भुलिरहेका
ओ काठमाडौँबासी –
भुलेका छैनौ होला एउटा किंवदन्ती
कि प्राचिनकालमा मञ्जुश्रीले
फोरेर चोभारको डाँडो
बगाएर एक विशाल तालको पानी
बसालिदिएका थिए तिम्रो बस्ती ।

पोहरसम्म
त्यो चोभारको गल्छीबाट
बग्दै थियो बाग्मती
बोकेर पानीको निर्मल आयतन
उडाउँदै हावामा फूलको बासनाजस्तै एचटुओका मोलक्युलहरु ।
अहिले त
बग्दो रहेछ अल्छि मान्दैमान्दै ढलमती
बोकेर गन्हाउने पिपैपिपको मयलपानी
उत्सर्जन गराउँदै अमोनिया र मिथेनका दुर्गन्धहरु
अनि धमिलो पार्दै पवित्र गङ्गालाई
पुग्दोरहेछ सागरसम्म-खनाउन प्रदूषणको भारी ।

होसियार ओ काठमाडौँबासी !
तिनै बौद्ध भिक्षु मञ्जुश्री
त्यो गल्छीलाई थुन्ने योजना लिएर
आएका छन् आज चोभार फेरि
ताकि ती तिम्रा कुकर्मका ढल
फर्केर जाउन तिम्रै
घर, दोकान, मन्दिर, उद्योग, रेष्टुरेन्ट, होटेल र दरबारका आँगनतिर ।
जसै
चोभारको गल्छी थुनिने छ
डुब्ने छ तिम्रो विकासको अगतिला संरचनाहरु
डुब्ने छ तिम्रो अस्तित्व पनि ।
जब तिमी विलुप्त हुने छौ यो उपत्यकाबाट
हराउने छन् तिमीले ओकल्ने विषका स्रोतहरु
अनि
पुर्नस्थापित हुने छ यहाँको असन्तुलित पारिस्थितिक प्रणाली ।

जव सन्तुलनमा आउन सुरु गर्नेछ यहॅाको पारिस्थितिक प्रणाली
तब मात्र
फर्केर आउने छन् मञ्जुश्री चोभार फेरि
र, खोलिदिने छन् त्यो गल्छेडोको ढोका ।
त्यतिबेला बल्ल
बग्ने छ पुनः बाग्मतीमा पानी जस्तै पवित्र पानी ।

त्यसैले
होसियार ओ काठमाडौँबासी  !
गल्छी थुन्ने योजना लिएर
मञ्जुश्री आज फेरि चोभार आएका छन् ।

 

तपाईको प्रतिक्रिया