कवि रश्मि रिमाल लामो समयदेखि कविता लेखीरहेकी सशक्त  कवि हुनुहुन्छ  । बिशेषगरि कवितामा कलम चलाईरहेकी रिमालका कविताहरुले राष्ट्रियता र मानवीयताको पक्षमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

देशको खाँचो, जनताको चासो

देशले खोजेको सत्य के हो?
कसको आवाज सुन्ने सरकार?
बिहानै खेतमा पसिना चुहाउने हात
सहरमा काम खोज्दै
भौतारिने पाइलाहरू
के तिनीहरूको चासो
सुनेको छ कोहीले?
देशका कुना-कन्दरामा
बालबालिका अझै पनि भोका छन्
वृद्ध आमाबुबाका आँखा
ओभाएका छैनन्
शिक्षा अझै महँगो छ
स्वास्थ्य अझै बन्धक छ
के यही हो समृद्धिको सपना?
माटोले बोलाउँछ
आफ्ना सन्तानलाई
तर धेरै परदेशिन्छन्
फर्कंदैनन्
देशलाई सिँगार्ने हातहरू
अरूको सेवा गर्न बाध्य छन्
देशमा श्रम गर्नेहरूका
चुलो निभ्न लाग्दा
कतै कसैले सुन्छ कि सुन्दैन?
जनताको चासो भनेकै
सहज जीवन हो
पसिनाको सम्मान हो
आफ्नै माटोमा
रहन पाउने अधिकार हो
देशको खाँचो भनेकै
सही नेतृत्व हो
अनि
विकासको साँचो योजनाहरू पनि!
हे, शासकहरू!
देशको आकाश हेरेर सोच
युवाहरूको जोस सम्झेर बोल
देशलाई सपनाको होइन
सत्यको बाटोमा लैजाऊ
देश हाम्रो पहिचान हो
हाम्रो माया
हाम्रो आत्मा
जनताको चासो बेवास्ता नगर्नू
नत्र इतिहासले तिमीहरूलाई धिकार्ने छ ।

पसिनाको मुल्य

आफ्नै  मानसपटलसंग
झट्ट झस्किएर मानव तिमी मौन बसिरहेका छौ
र  त  –
संग्लिदै छ तिम्रो बात्सल्यको उम्लिदो रगत  

तिम्रो नयनहरूले नियालिरहेछन
समृद्धिको साधक भएर
एक मुठ्ठी उज्यालो नपाएर
हेर त तिमी संगसंगै हिडेका
ती पाइलाहरू दौडिरहेछन्  मृग सावक भएर
झरीमा रूझेर पनि खोजीरहेछन झरी भित्र
बिरानो अनुहारहरू
हृदयमा फूलको बासना लिएर
यो सपनाको पहाड बोकेर कति डुबुल्कीन्छौ तिमी ।

खबरदार ! यता नहेर

मेरो देश छटपटाई रहेको मलाई थाहा छ
यो बिष भरिएको युगमा
मेरो देश निस्सासिएको पनि मलाई थाहा छ
देशलाई अँगालोमा बाँधेर म हेरिरहेको छु
हेर्दा हेर्दै अल्मलिएकी पनि छु ।
मेरो मातृभूमि मेरो प्यारो अमृतरूपी सञ्जिवनी
निष्ठुर कठोर हातले छुन खोजिरहेछ
त्यसैले म –
मेरो देशसँग गाँसिएकी छु 
छुन कहाँ दिउँला र ?
दृढ अठोट लिएर जागै छु
जति नै यान्त्रिक हात पनि मेरो स्वाभिमानी तेजका अघिल्तिर
निस्तेज हुने विश्वासमा छु
मेरो मन मन्दिरमा सजिएको मेरो देश
पाखण्डीको प्रकोपले जति नै अस्तव्यस्त पारे पनि
मेरो साथमा
मेरो गाथमा
मेरो जन्मभूमि
जल र जमिनमा म लपक्क भिजेकी छु ।
खबरदार ! यता नहेर
खबरदार ! यता नआऊ
मेरी आमा मीठो निद्रामा छिन्
मेरो काखमा मेरी आमाको शिर छ
म बिउँझे छु
यतिबेला नालापानीबाट ल्याएको
खियापरेको खुकुरीमा धार लगाउँदैछु
खबरदार ! यता नहेर
खबरदार ! यता नआऊ ।
   
जुन आमाको
वात्सल्यमा म हुर्केँ , म बढेँ र म ठूली भएँ
आज तिनै आमाको म रक्षक भएकी छु
म तिनै मेरी आमाको पहरेदारी गरिरहेकी छु ।
खबरदार ! यता नहेर खबरदार ! यता नआऊ ।

तपाईको प्रतिक्रिया