नेपाली कविता लेखनमा राम्रो  सम्भावना बोकेका कवि हुन् लोकसागर साम्वा , आफ्ना कविताहरुमा मानिसका चेतनालाई  निक्कै तिख्खर रुपमा  उतार्न सक्ने क्षमता राख्ने उहाँ समकालीन कविहरुमा ससक्त कविको रुपमा स्थापित हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता । 

यसरी देश छोडें
पर… क्षितिजमा चरा जस्तै
उड्न मन लागेर
देश छोडेको होईन।
हवाईजहाज चढ्ने रहरले पनि होइन,
यही फलेको गुन्द्रुक र ढिंडो
नमीठो  लागेर पनि होइन,
मारुनी र च्याब्रुङको बदलामा
डिस्कोमा हल्लिने रहरले पनि होईन,
रहरै रहरमा देश छोड्नेहरु
धेरै होलान् यहाँ,
मैले त केवल
आँखाको डिलबाट तप्किने
नुनिलो  आँसु
भोको पेटको आँसु नहोस् सम्झेर
नियतिलाई केहीछिन थम्थमाउन
अमिलो हुँदै
देश छोडेको हुँ ।
सधैं हामीलाई मात्र चुट्ने
बर्खेझरीले पुरै याक्सा आहालिदाँ
रसाएको आँखाले आमा
पारी ,
छिमेकीको घर हेरिरहनुहुन्थ्यो टोलाएर
जुधाउन नसकेर आँखा
बा फर्किनुहुन्थ्यो अर्कोपट्टि,
अबोध म
आमाको आँखामा टुलुटुलु हेरीरहन्थे।
सायद!
दबाएर आँसु,दाँत किट्किटाउदै
आमा सोच्नुहुथ्यो होला,
“त्यैपरको जस्तो सानो टिनको घर भइदिए
मेरा नानीहरु (चुक-चुक-चुक)
चिसोले थर्थराउने थिएनन्
कालोनीलो ओठहरुमा पक्कै थोरै
मुस्कान हुने थियो
जीउभरी काँडैकाँडा उम्रिने थिएन।”
हिउँद पनि उस्तै, बर्ख पनि उस्तै
(तप्प आँसुु खसाल्दै आमा भन्छिन्)
छि ! चोईटिएको भाग्य!
टिनघरे आसमाको सपनालाई
मन्जिल बनाएर
कुहिरो भित्र भित्रै उड्दा
आमाको मधुरो अनुहारमा निश्चय नै
म प्रतिको ममता थियो,
र भबिश्यप्रतिको आशा थियो।
अपसोच!
त्यतिनै बेला महलहरुमा
नाफामा मान्छे किनबेच गर्नेहरुको
सायद
भयङ्कर तमासा थियो।
अस्तिनै फाटेको आमाको चोली र
आप्पाको सुरुवाल,
अब त
मक्किएर छिद्राछिद्रा भयोहोला,
पक्कै लाज छोप्नपनि मुस्किल हुदैंहोला?
कठै मेरो देश!
म भने यहाँ
निधारबाट लक्ष्यका थोपाहरु
खसालीरहेको छु।
सम्झीरहेको छु
स्कुल जानेबेला
च्यातिएको मेरो कट्टु र सर्ट
बाँसको झिक्रा तिखारेर
सियो बनाई
उनीको धागोले सिलाएर
उनीकै झोला भिराएर
भविश्यको उकालो पठाउनु भएको सम्झीरहेको छु।
आमा ! कति महान हुन्छन्
स्वर्ग भन्दा महान्
च्यातिएको लुगासँगै च्यातिएको मनपनि सिलाईदिनु हुन्थ्यो ।
आमाले जस्तैगरि फाटेको लुगासँगै
फाटेको मन त सिलाई दिन नसकुलाँ,
तर
लाजबेर्ने आमाको फरिया र आप्पाको सुरुवाल,
सिलाइदिने मेरो रहर छ
आमाको मनको गरा-गरामा
हर्षको ब्याड उमारीदिने मेरो रहर छ ।

कुममा बोकेर  हाक्पारे

सिकन्दरको किस्सा सुनाउने आप्पाको

बिडो थाम्ने मेरो रहर छ ।

यहाँ रहरै रहरको शहरमा

देशको सम्झनाले चिथोरीरहने “मेरो मन”

जीवनको गोरेटो खोज्दै

एउटा दुखको शहरमा छ ।

झरीसँग प्रेम

माथि
नीलो आकाशमा
उत्साहको बिस्कुन फिजाउदै फिजाउदै
मस्त खेलीरहेछ कालो बादल।

जीवन उमार्ने महान यात्रामा
उधोतिर रमिता हेर्दै हेर्दै
धरतीमा खस्छ झरी बनेर।

बादललाई झरी बन्न,
त्यति सजिलो कहाँ छ र?
विशाल खाडीहरुसँग सम्बन्ध तोड्दै
माथि उड्न
आकार बदल्नुपर्छ उस्ले।

छितिजसँग अनुमति लिएर
सुचनाको झिल्का फ्याक्दै-फ्याक्दै
खस्नुपर्छ भुईतिर।

स्वेच्छाले झरी, झरी बनेको होईन,
यहाँ, प्रकृतिको एउटा मधुर मिलान छ।
धरती र बादलको प्रेमको बन्धन हो झरी,
उबेला
ब्राह्मण्डको मृत्यु रोक्न
धरती र बादलले सि:लामसाक्मा साटफेर गर्दै
जन्माएको सन्तान हो झरी।

मान्छेहरु रिसाउछन झरीसँग
अनि फेरि खुसी हुन्छन झरीसँगै।

क्रोधको रागले बेस्सरी/हप्हपी पोलेको पल,
झ्यालको प्वालबाट प्रेमको चिठ्ठी बोकेर
हुलाकी भई
गालामा स्पर्श गर्दा,
झरीमा कति प्यार हुन्छ
झरीमा कति यार हुन्छ।
झरीको स्पर्श मायालुको जस्तै मीठो हुन्छ।

झरी नहुनु हो त,
यहाँ
फुलहरु फुल्दैन थिए,
रङ्गहरु इन्द्रेणीमा भरिदैन थिए,
ब्रह्मण्डको चक्काहरु गुड्दैन थिए।

आफु चालक / सारथी भएर
आज
झरीलेनै गुडाईदिएको छ
सृष्टिका सारा साईकलहरु
अनि
जीवनका चर्खाहरु।

यसैले त रुझ्न मनलाग्छ झरी तिमिसँग
भन्न मनलाग्छ :
ओ झरी- “I love you.”
मेरो प्रेमको बाछिटा उपहार छ तिमिलाई।

युग युग ब्रह्माण्ड रुझाई रहनु
मनका मरुभूमि छिटाई रहनु
म बाँचेर प्रेम गरिरहन्छु
प्रेमका बाछिटाहरु उपहार पठाइरहन्छु ।

दानवीर सुब्बाको कथा

मेरो चेप्जु बाजेले
मुलाको एक पोका अ..मिलो सिन्की
रायोको एक पोका अमिलो अमिलो गुन्द्रुक
र मालीगाईको एक ठेकी दहीमा
जैलो फल्ने सिम खेत

मकै फल्ने पाखोबारी
लैजा हो जाँठा
नभन्दिएको भए
दानबिर सुब्बाको नाति भनी
आज
मेरो ईतिहास बन्ने थिएन।

उ पनि भोकले मरिसकेको हुन्थ्यो
उ महाजन बन्ने थिएन
उ मालिक बन्ने थिएन
उसलाई मालिक
मेरो चेप्जु बाजेले बनाईदिएको हो।

गडक गडक घोडामा सवार
आगे सुब्बाको स्वागतार्थ
लम्ती लागेर उभिन्थे गाम्लेहरु
आगे सुब्बालाई पनि खुब स्वाद आउथ्यो क्यार!
अलिक बढाउथे घोडाको चाल।
उतिनै बेला
जिउ जिउ गर्न तयार हुन्थे
अहिलेका मालिकहरु।
उनिहरुलाई थाहा थियो जिउ जिउ गरेरै
मालिक हुने हो
तर
बिचरा सुब्बाहरुलाई थाहा थिएन जिउ जिउ थापेर सबै लुटिने कुरा ।

 

 

 

 

तपाईको प्रतिक्रिया