कवि विशाल नाल्बो वर्तमान समयको एक आशालाग्दो कवि हुनुहुन्छ । स्थायी ठेगाना भारतको कालेबुङ -हाल काठमाडौंमा बस्तै आउनु भएको उहाँ पत्रकारिता पेशामा आवद्व हुनुहुन्छ ।
विमल गुरुङ युवा प्रतिभा पुरस्कार -२०२३ धरानबाट पुरस्कृत उहाँको कविताहरु नेपाली कविता लेखनमा एक आशाको किरण हो । प्रस्तुत छ साताको तीन कविता ।

 

ताःन्छो:प्पा

-उज्यालो
खस्दै-खस्दै आयो
सिरानी मा__थि-खुट्टा टेकेर
आँखा-
मिचेर सपना-बिउँ-झदो छ-पलङमाथि टुक्रुक्क।

-हत्केलाको प्वालबाट
खस्दै गरेको-
-जुनको छाया हो कि____?___समय?
-यौ
-टा
ठाडो विचार गम-खान्छ-खोपडी उप्पर
काठे-पिरामाथि-उभेर ठिङ्ग्रिङ्ग।

-समय
उकालै-उकालो भएर
-ओरालो झर्दो-छ लौरोको भर-समातेर।

-खोला
-खोला
गएका छन्-
-रहरको बल्छी माछाको पुछार समात्न।

-हिमाल
उक्लेर

-उँ______धो-फर्किएका छन् ऊर्जाका हात-खुट्टा।

-फजिरै
-झिसमिसेमा
-म
कोपिला-घाम तापेर आँगनको एकछेउ
औँलाहरू-
-भाँचिरहेको-छु-उमेरको।

-एक
-दिन
झ्याप्प अँध्यारो खस्ने छ
-आँखाहरूका उज्यालोमा।

-म
-पनि विलिन भइजाने छु-निभेर।

-घामको
उज्यालोमा
-ता:न्छो:प्पा अल्पिए-जसरी।
___________________________
ता:न्छोप्पा-
बिहानीपख पूर्वी आकाशमा देखिने शुक्रतारालाई लिम्बू भाषामा सम्बोधन गरिने
पुरुषवाचक शब्द हो ता:न्छोप्पा।

ढुङ्गा

कालिगडले कुँदे-पछि
मूर्ति बन्छ ढुङ्गा।

कविहरू ढुङ्गालाई
कट्टरताको नाउँ दिन्छन्

र-
लेख्छन् कविता।

कि-
ढुङ्गा भनेको कट्टरताको-प्रतिमूर्ति हो

-आम
मानिसहरू-
ढुङ्गालाई ईश्वर मान्छन्
र-
राख्छन् देवी-थानमा।

पहिरो खस्दै पछि-
-एक
-ठाउँबाट/अर्को-ठाउँ
विस्थापित बन्छ-ढुङ्गा
-पल्टिँदै
-पल्टिँदै
-जान्छ कतै-

-ढुङ्गा
आफू त-अनविज्ञ छ-
-उसको
महत्त्व-क______ति छ -यो पृथ्वीमा___?

-ढुङ्गा
-त्यति कठोर पनि हुँदैन-

जति-
कविहरू-लेख्छन् कवितामा।

सबैबाट हारेर
एक दिन
-ढुङ्गा
खस्दै-
खस्दै-
खोलाबिच पुग्छ र-बेस्सरी रुन्छ।

त्यसपछि
बग्दै-
बग्दै-गएर
उसको आँसु नदी बन्छ।

-वास्तवमा
त्यतिखेर-
थाहा हुन्छ-ढुङ्गाको कोमलता-

बाडुल्की

जब मेरो,
पाखुराको नागबेली बाटो हुँदै-हुँदै बग्यो
तिम्रो आँखाको नदी।

सम्हालिएँ आफैं रुँनुबाट।

तिम्रो अनुहारबाट
हटाइदिएँ कपालको पर्दा
तिम्रो सुँक्क-सुँक्कको ध्वनि
छरिएका थिए बाटोभरि
मुस्कानको प्रतिक्षामा‌ थियो
औंलाहरु टोकिरहेको तिम्रो ओंठ
आँखाहरु तटस्थ थिए भुइँतिर हेरेर।

प्रश्नहरु
कतै अडकिएका थिए
जवाफहरु शून्य थियो।

तिमीले बाँचाको फेरोले
बुनेर दिएको उपहार शीरको टोपी।

एकदिन खस्यो भुइँमा।

झस्किएँ,
तिमी त बाडुल्की भइसके छौं।

जब मेरो,
बाँया कुममाथि टाउको अडाएर बसिरहेको,
तिम्रो आँखाबाट
अपर्झट जसरी

खसेको थियो मेरो हात्केलाभरि आँसु।

त्यो नै,तिम्रो
सम्पुर्ण मौनताहरुको जवाफ थिएछ।

 

 

तपाईको प्रतिक्रिया