व्यक्तित्व-

तेह्रथुम जिल्लाको छथर गाउपालिकामा  बिक्रम सम्वत १९७५ भाद्र ६ गते जन्मनु भएका  स्वर्गीय वृजमान तुम्खेवा  तत्कालीन समयमा एक बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ जन्मिएर हुर्किएको समयमा नेपाल अत्यन्त संक्रमणकालीन युगबाट अगाडि  बढिरहेको अवस्था थियो ।

नेपालको सबै क्षेत्रहरुमा देखिएको परिवर्तन सुरुवाती अवस्थामा थिए । राजनीतिक प्रणाली र चेतनाको अवस्था पञ्चायती व्यवस्था भएकाले राजनीतिक स्वतन्त्रता थिएन। जातीय वा धार्मिक अधिकारबारे बोल्नु राष्ट्रघाती ठहरिन सक्थ्यो । शिक्षा, सञ्चार र राज्य संयन्त्रले “एक भाषा, एक भेष, एक धर्म” को अवधारणा फैलाएको थियो । चेतना भन्दा पनि डर, मौनता र स्वीकार्यता  नै जनताको  निम्ति  बिकल्प थियो । तर यस्तो अवस्थामा पनि उहाँ आफ्नो ज्यानको पर्वाह नगरी लिम्बू समाजभित्र जागरणको निम्ति सम्वाद गर्नुहुन्थ्यो । यो अहिले देख्दा सानो  देखिएता पनि तत्कालीन समयमा ठूलो साहस थियो । शासकको बिरोधमा केही गरे वा बोले मात्र पनि  ज्यानै जाने खतरा थियोे । तर शासकको बिरोधमा त्यो समयमा पनि गुप्तरुपमा बिरोध भैरहेकै अवस्था थियो र सचेत नागरिकहरुले भित्रभित्रै यो नीति र अवस्थाको बिरोधमा प्रश्न उठाईरहेका थिए र यसै लहरमा बृजमान तुम्खेवा पनि पर्नु हुन्थ्यो । पेशाले ब्रीटिश आर्मी भएको कारण उहाँले तत्कालीन समयमा बेलायतको बिकासलाई पनि आखैले देखेको कारण पनि आफ्नो समाज परिवर्तनको निम्ति केही गरौं भन्ने मनभित्र  ठूलो हुटहुटी थियो ।

नेपाली समाजमा तत्कालीन समयमा जातीवाद चर्को रुपमा थियो ।तर जनजाति समुदायमा भने देशव्यापी रुपमा आफ्नै संस्कृति जोगाउने चेतना, दलित समुदायमा अपमान विरुद्ध मौन पीडा, केही प्रगतिशील बुद्धिजीवीमा समानताको चेत विकसित हुँदै थियो। यस्तो अवस्थामा लिम्बुवानभित्र देखिएको राजनीतिक,धार्मिक,शैक्षिक र सामाजिक परिवर्तनको सुरुवात लिम्बू समाजभित्र पनि नजादिदो रुपमा हुँदै थियो र स्वार्गीय वृजमान तुम्खेवाले आफ्नो स्थानीय भेगमा हरेक घर घरमा पुगेर जागरणको योगदान पुर्याउनु भएको थियो त्यो समयमा । आज देखिने पहिचान आन्दोलन, धर्मनिरपेक्षता र समावेशी चेतनाको बीउ भने त्यही दबिएको समयदेखि नै मौन रूपमा उम्रिँदै थियो । अहिलेको नेपाली राजनीति वृतमा जनजाति अनुहारको बलियो उपस्थिति देखिनु त्यसैबेला रोपिएको बिउको परिणाम हो भन्न सकिन्छ ।

त्यसो त छथर भेगमा  स्वार्गीय नन्दप्रसाद तुम्वाखेवाले  पहिलेदेखि नै राजनिती र सामाजिक सेवामा  आफ्नो पहिचान राष्ट्रिय रुपमा स्थापित गरिसकेका थिए, यसैको कारण पनि समाजमा केही गर्नुपर्छ भन्ने प्रभाव तत्कालीन समयमा सबैमा थियो । कतिपय मुद्दाहरुमा नेता तथा समाजसेवी स्वार्गीय नन्दप्रसाद तुम्वाखेवाको प्रभाव वृजमान तुम्खेवामा पनि परेको देखिन्छ । त्यो समय राजनीतिक रूपमा निरंकुश,सामाजिक रूपमा अन्धविश्वासले जकडिएको र चेतनाको दृष्टिले अत्यन्त सीमित अवस्था रहेको कालखण्ड थियो। एकातिर राणा शासनको एकतान्त्रिक दमन,अर्कोतिर सामाजिक असमानता, अशिक्षा,जातीय विभाजन र धार्मिक कट्टरताले समाजलाई जकडिरहेको थियो। यस्तो अवस्थामा जन्मिएका वृजमान तुम्खेवा चेतनाको उज्यालो बोकेर समाज रूपान्तरणतर्फ अघि बढेका एक असाधारण व्यक्तित्व हुनुहुन्थ्यो । मौनता र अन्धविश्वास राणा शासनकालीन नेपाली समाजमा आम नागरिकको जीवन भय र मौनताले ढाकिएको थियो। बोल्ने अधिकार थिएन, विरोध गर्ने साहस थिएन, र अन्याय सहनु नै नियति ठानिन्थ्यो। जग्गा–जमिनसम्बन्धी मुद्दा र प्रशासनिक दमनले जनजीवन आक्रान्त थियो। शिक्षा सीमित वर्गमा मात्र सिमित थियो भने आम जनसमुदाय परम्परा र अन्धविश्वासमा बाँधिएको थियो।

धार्मिक क्षेत्रमा बलिपूजा,हिंसात्मक कर्मकाण्ड र डरमा आधारित आस्थाले समाजलाई नियन्त्रण गरिरहेको थियो। जातीय विभाजन गहिरो थियो—कुनै जात माथि, कुनै जात तल भन्ने सोच सामाजिक चेतनाको मूलधार थियो। किराँत लिम्बू समुदाय स्वयं पनि आफ्नै मौलिक धर्म,भाषा र संस्कृतिका बाबजुद राज्य संरचनामा ओझेलमा परेको थियो। यस्तो अवस्थामा उहाँले आफ्नो समुदायभित्र र छथर वरिपरिका भेगहरुमा लिम्बू संस्कृति र परम्परालाई संरक्षण  गर्नुको निम्ति पुर्याउनु भएको योगदान महत्त्वपूर्ण छ । पेशाले ब्रीटिस आर्मी भएकै कारण उहाँको दैनिक जीवनको अनुशासन कडा थियो । आत्मसंयम र न्यायको स्पष्ट विवेक र ज्ञानकै कारण केही गर्नुपर्छ भन्ने उहाँभित्र गहिरो हुटहुटी थियो ।

त्यो समयमा छथर वरीपरीको क्षेत्र जहाँ झैँ–झगडा, बदला र बल प्रयोगलाई ‘साहस’ ठानिन्थ्यो, वृजमान तुम्खेवा भने कहिल्यै अनावश्यक विवादमा संलग्न भएनन्। न्याय र अन्याय छुट्याउने चेतना राख्दै स्वयम्‌माथि परेको अन्याय समेत कानुनी उपचारमार्फत समाधान गर्ने उनको दृष्टिकोण तत्कालीन समाजभन्दा निकै अगाडि थियो। सधैं  मौन ध्यानमै रहन मन पराउने उहाँको अर्को महत्त्वपूर्ण व्यक्तित्व थियो । जनतालाई श्रमसँग जोड्न सक्नु नै गरिबी र अज्ञानता बिरुद्वको ठूलो आधार हो भन्ने बुझेकै कारण उहाँ स्थानिय उत्पादनमा आधारित सिपहरुमा पनि निपुण हुनुहुन्थ्यो ।  
देश बिकासको  निम्ति श्रम र शिपको महत्त्वपूर्ण भुमिका छ भन्ने बिषयलाई उहाँले बेलायतमै देखेर आउनु भएको कारण तत्कालीन समाजमा शारीरिक श्रमलाई हेय दृष्टिले हेर्ने नेपाली समाजमा वृजमान तुम्खेवा कृषि,काठ र बाँसबाट सामग्री निर्माण, घर बनाउने सीपमा निपुण हुनुहुन्थ्यो । गाउँमा हुने त्यस्ता कार्यहरुमा सहभागी हुने र अन्य युवा जमातलाई पनि श्रमसग जोडीन आह्वान गर्नुहुन्थ्यो । 
उहाको दुष्टिकोणमा श्रम अपमान होइन, आत्मनिर्भरता थियो। पढाइ–लेखाइप्रति गहिरो रुचि राख्दै उहाँले मुन्धुम, पौराणिक कथन, इतिहास र वंशावली संकलनमा समेत लामो समय योगदान पुर्याउनु भयो तर उहाँको जीवनकालमा वंशावली प्रकाशन हुन सकेन । यो वास्तवमै त्यतीबेलाको समयमा सानो जागरण  थिएन।समाज जतिबेला मौखिक परम्परामै सीमित थियो,उहाँ अभिलेखीकरणतर्फ उन्मुख भैसक्नु भएको थियो ।

त्यसो त उहाँ राणा शासनविरुद्व २००७ सालको जनक्रान्तिको बिषयमा सचेत हुनुहुन्थ्यो । त्यो समय नेपाली समाजको लागि ऐतिहासिक मोड थियो। धेरै मानिस भय,अज्ञान र अनिश्चितताका कारण मौन बसेका बेला वृजमान तुम्खेवा निरंकुश राणा शासनविरुद्धको आन्दोलनमा सरिक हुनुभयो । नन्दप्रसाद तुम्खेवाको अगुवाईमा,यो केवल राजनीतिक सहभागिता मात्र थिएन,यो चेतनाको साहसी अभिव्यक्ति थियो। जब समाज अन्यायलाई नियति ठानिरहेको थियो, तब उहाँले अन्याय विरुद्ध उभिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो। यसले गर्दा पनि तत्कालीन समाजको औसत चेतनाभन्दा धेरै अगाडि उहाँको चेतना रहेको पुष्टि हुन्छ ।

साच्चै भन्नुपर्दा धर्म र अन्धविश्वास समाप्तिको निम्ति स्वर्गीय   वृजमान तुम्खेवा एक आयाम हुनुहुन्थ्यो तुम्खेवा समाजमा र स्वर्गीय नन्दप्रसाद तुम्खेवाको बिचारको हितौसी पनि। बिकासकै निम्ति पनि नेपाली समाज धार्मिक रूपमा रुपान्तरण हुन जरुरी छ भन्ने उहाँको अडान थियो। बलिपूजा, डर, लोभ र पाप–पुण्यको भय देखाएर धर्मले मानिसलाई नियन्त्रण गर्नु हुन्न भन्ने उहाँको अडान थियो । समाजमा प्रचलित बलिपूजा विरुद्ध  आवाज उठाउनुको साथै फूलपाती, फलफूल, अक्षता र नैवेद्यबाट पूजा गर्नुपर्ने विचार फैलाउँदै अहिंसात्मक धार्मिक चेतनाको अभ्यास गर्नुभयो उहाँले आफ्नो जीवनकालमा । जबकि त्यो बेलामा समाज धर्मको नाममा हिंसालाई स्वाभाविक ठान्थ्यो, वृजमान तुम्खेवा भने सम्पूर्ण मानव, जीवजन्तु र पशुपक्षीप्रति समान करुणाको पक्षमा उभिए। यो चेतना तत्कालीन समाजभन्दा धेरै दशक अगाडि रहेको देखिन्छ । तत्कालीन नेपाली समाजमा जातीय विभाजन गहिरो थियो। राज्य संरचनाले केही भाषा, धर्म र संस्कृतिलाई मात्र मान्यता दिएको थियो। किराँत लिम्बू समुदायको भाषा, लिपि र मुन्धुम राज्यको मूलधारबाट बाहिर थियो। यस्तो अवस्थामा वृजमान तुम्खेवा किराँत श्रीजङ्गा लिपिको प्रचारमा सक्रिय हुनु पनि चेतनाको अर्को तह हो ।

त्यसो त यस क्षेत्रमा सत्यहाङमा धर्मको प्रचारक तथा पुजारीका रूपमा उहाले मौलिक पहिचानको संरक्षण गर्नुभयो तर उहाँको चेतना केवल आफ्नै समुदायमा सीमित थिएन। सबै जातजाति, सबै धर्म, सबै भाषा र संस्कृतिप्रति समान सम्मान राख्ने समावेशी दृष्टिकोण थियोे उहाँमा । अतः वृजमान तुम्खेवा तत्कालीन नेपाली समाजको शासकहरुको निम्ति चुनौती पनि थिए। जहाँ समाज डर, अन्धविश्वास र विभाजन थियो, उनी न्याय, करुणा र समन्वयमा उभिए। आज हामी लोकतन्त्र, मानवअधिकार, अहिंसा र समावेशी चेतनाको कुरा गर्छौं। ती मूल्यहरू वृजमान तुम्खेवाले आफ्नो जीवनमै अभ्यास गरिसकेका थिए। उहाँ एक व्यक्ति मात्र होइन, उहाँ समयभन्दा अगाडि हिँडेको चेतना हुनुहुन्थ्यो। त्यसैले उहाँको जीवन तुम्खेवा समाज र तत्कालीन समाजको निम्ति सम्मानित नाम हो ।

तपाईको प्रतिक्रिया