कवि तथा लेखक रिमा के सी पछिल्लो समयकी समय सापेक्ष कविता लेख्ने एक अब्बल हस्ताक्षर हुन् । विशेषगरि भुँइ मान्छेका पक्षमा प्रतिरोधात्मक आवाजहरु कविताका माध्यमबाट निरन्तर रुपमा उठाउँदै आएकि छिन । समसामयिक तथा सामाजिक विषयमा निरन्तर कलम चलाइरहेकी उनका वैचारिक रचनाहरु विभिन्न छापा एवंम अनलाइन पत्रपत्रिकामा प्रकाशित छ्न । एक दशक भन्दा अगाडीदेखि नेपाली कविताको क्षेत्रमा कलम चलाएकी उनका ‘यात्रामा अक्षर’ कविता संग्रह -२०७५, भारतीय चर्चित कवि ‘अमृता प्रीतमका छानिएका कविता’ अनुवाद कविता संग्रह – २०७९ र ‘बगावतनामा’ कविता संग्रह – २०८२ प्रकाशित छन । उनी विशेषगरी कविता, गीत, मुक्तक, कथा, संस्मरण, अनुवाद तथा लेख लगायतका विधाहरुमा कलम चलाउँछिन । यस बाहेक नेपाल टेलीभिजनमा कार्यक्रम  प्रस्तोताको रुपमा सक्रिय छिन । प्रस्तुत छ साताको तीन कविता ।

म रोल्पा हुँ राेल्पा !

मेरै आँगनमा भएको हो क्रान्तिको बिजारोपण
मेरै काखमा लडिबुडी गर्दै हुर्केका हुन् – स्वतन्त्रताका फूलहरू
गणतन्त्रकाे लागि मैले नै बलिदान दिएकाे हुँ
लोकतन्त्रको सपना बोकेर नाचेका हुन् पुतलीहरू
र गाैथलीहरूले गाएका हुन् गुँडमा बसेर क्रान्तिकाे गीत

भोकको कथामा गीत गाउन सिकेका चराहरू
सिस्ने भीरकाे ओडारमा बसेर-
नियालेका हुन् जनताहरूमाथि शासकहरूकाे दमन

मिर्मिरेमै उठेर
यहि भूगोलको गर्भबाट
उड्न सिकेका हुन् चारो खोज्दै खाेज्दै वनचरी
जलजला हिमालको एक झुल्को घाम बोकेर हिडेका हुन्
देशलाई उज्यालो बाँड्न खाम गाउँका मगरहरू

मेरै शिरमा फुलेका लालीगुराँसको
रङ्ग चोरेर रातो भएको हो देशको झन्डा
र रातै छन अझै युद्धमा बलिदान दिएका राेल्पाली घरहरू

यहि माटोले जन्माएका बेली र चमेलीले
क ख भन्दा पहिले सिकेका हुन बन्दुक बोक्न र युद्ध लड्न
आमाले ढाडमा नानी बोकेर –
राइफलले दुश्मन ढालेको ठाउँ यहि हो
यहीँ छ्न शासकले जलाएका खरका बस्तीहरुका भग्नावशेष
अभावको आगोले सिकाएको बिद्रोहको पुराण घोकेर हिँडेका हुन् कक्षा छोडेर कलिला बिद्यार्थीहरू

सहिदको रगतले भिजेको माटो हुँ म !
मेरै छातीमा समाहित छन् अझै कयौं सन्तानका लासहरू
तर पनि मनको मझेरीमा खुशीको किरण पर्न बाँकी छ
अझै पनि यहि माटोको लागि सन्तानले धेरै गर्न बाँकि छ !

ए ! सरकारी मान्छेहरु भन
यति छिट्टै कसरी बिर्सिनँ सक्याै आफू जन्मेको ठाउँ ?

गुमाउनु

रोइरहेछ आकाश
तर आँसु देखिँदैन
सुस्केरा हालिरहेछ हावाले
टोलाइरहेछन
घरका भित्ताहरू
टेको खोजिरहेको छ धुरीले
किनकि सहारा बनेको
धुरी खाँबो ढलेको छ आज अचानक
मौनताको कोलाहलमा रुमल्लिएको छ समय
सुनसान छ आँगन
मेटिएका छैनन् अझै पदचापका छापहरु

अझै गुन्जिरहेका छन घरका कुनामा हाँसोका फोहराहरु
सुगन्धहरु अझै टाँसिएका छन तन्ना र सिरकमा
अझै लाग्छ दैलोमा ठिङ्ग उभिएजस्तो
आइरहन्छ हिँड्दा–हिँड्दै चप्पल पड्केको आवाज
अझै सुन्छन कानहरुले नानी भनेर बोलाएको आवाज

घाम हुनुन्थ्यो तपाईं काका
त्यो घरलाई सधैं न्यानो दिने
आज त्यो घाम अस्ताउँदा एक्कासी
अँध्यारो छाएको छ जताततै
चुल्हो बल्छ तर न्यानो छैन
धुवाँ उड्छ तर पिरो लाग्न छोडिसक्यो
पिरो र अमिलो त मन भएको छ आज
समुद्रभन्दा एउटा गहिरो अभाव
खड्किरहेको छ मुटुभित्र

अब रोदन पनि
थाकेर कतै चुप बसेको छ
शब्दहरू मौन छन आफै
यादहरु तगारोमा पुगेर
फर्किन मान्दैनन् खोइ किन

काका
तपाईं गइसकेको होइन
तपाईं त
हाम्रो मनको गहिराइमा
बसिरहनु भएको छ
यादको सगरमाथा बनेर हमेशा
जहाँ सम्झनाले पनि
घुँडा टेकेर
प्रार्थना गर्छन अनवरत !!

यो कस्तो सम्झना ?

सम्झिरहेछु
सम्झनुपर्ने तिम्रा प्रत्येक आँखीझ्यालहरुलाई
कहिबाट पनि तिमी उस्तै देखिदैनौ
जसरि देखिन्छ आकाश
एउटै आँखीझ्यालबाट पनि बेग्लै बेग्लै

म छामिरहेछु
सम्झनाको हाँगामा उदाउने तिम्रो अधरको कोमल सूर्य
नथाकेर भागी उड्ने पुतलीहरु जस्तो निर्दोष चन्चलता
मधुर गुन्जदै म सम्म आइपुगेका तिम्रा सुरिला आवाजहरु

म सम्झिरहेछु
हुस्सुले तगारो लगाएर बाटो छेकेको त्यो साँझ
तिमीलाई सताउन आउने बेइमान घुम्तिहरु
आफ्नो सम्झि दुनियाँ छोडेर आएको तिम्रो मायालु अनुहार

म सम्झिरहेछु
तिमीले सुम्सुमाउँदै प्रेमको बन्धनले समेटेका मेरा केशरासी
मनको भित्री तहसम्म हल्लाउने मिठो छुवाई
तिम्रो मनमा फुलेको मेरो नाकको फुलिको सुगन्ध
अनि
मधुर आवाजमा सुनाएका प्रेमिल कविताका हरफहरु

थकित थकित जस्तो
गन्तव्य बिर्से जस्तो
सल्लेरीका चेपमा अलमलिएका कुहिरोहरु
समयलाई रोकेर बाँचेका विप्लव क्षणहरु
मौनताको भित्तामा चुपचाप गफिएका धर्साहरु
लप्सिको बुढो रुखमुनि तन्नेरी कवितामा
मिठो अमिलो साटफेर गरेपछि
तिम्रो छातीको सिरानीमा सुस्ताएर
आफैलाई बिर्से जस्तो
बिर्सन्छु कि भनेर सम्झेको कुनै कहानी जस्तो
तिम्रो केशमा अल्झिरहने सम्झनाको छाया जस्तो

हो, सम्झनाको यो चाँदनी हिडाईमा
हामीले दुनियाँ बिर्सिएका थियौ
तिमीले मलाई सम्झेकी थियौ
मैले तिमीलाई सम्झेको थिए
तर हामी दुबैले आफैलाई भुलेका थियौ

र यसरी …

मेरो मरुभूमि दर्पणमा
म कतै सिन्चिएको थिईन
अचानक तिमी हुरी जसरी आयौ
भाच्यौ, बढार्यौ, लघार्यौ
र मनभरि सन्नाटा छोडेर गयौ

म त्यहि सुनसान मनको बिसौनीबाट
तिमीले छोडी गएको प्रेमको मुना सुम्सुम्याइरहेछु
म तिमीलाई सम्झिरहेछु

लाग्छ अचेल
बन्जर भूमिमा अङ्कुरीत म बिज हुँ
तिमीले जलाई गएको प्रेमको दीप हुँ
भन ! यस्तो बेला म तिमीलाई कसरी सम्झु !

 

तपाईको प्रतिक्रिया