डाक्टर सृजना उप्रेती शर्मा समकालीन नेपाली साहित्यमा स्थापित नाम हो । काशी हिन्दू विश्व बिध्यालयबाट ” नारी विमर्शका दृष्टिल पारिजातका कथाहरुको विश्लेषणात्मक अध्ययन ” विषयमा पिएचडी गरेकी शर्माको अग्रेजी साहित्यमा पनि राम्रो दखल छ । उहाँले बाल साहित्यका आधा दर्जन कृतिहरु अग्रेजीबाट नेपालीमा अनुवाद गर्नु भएको छ । प्रस्तुत छ साताको तीन कविता ।
तिमी परशुराम !
तिमीत पिताको आज्ञामा
आमाको टाउको चट्ट चुडाउने
परशुराम परेछौ ।
भलै
पिता प्रदत्त वरदानमा
आमाको जीवनको पुनर्दान मागेर के भो र?
पितृसत्ताकै पृष्ठपोषक हौ तिमी ।
परम्पराको संरक्षक र सम्पोषक।
म नारी !
के तिमीले आमालाई जीवन दान दियौ भनेर
तिम्रो वाह वाह नै गरिरहूँ युग युगान्तर?
वा हजारौँ क्षत्रिय विनाश गऱ्यौ
आमाकै मानका लागि भनेर
अझैँ पनि मिथ्या रणभूल्लमा भुल्लिरहूँ हँ?
हजारौँ आमाको काख उजाडेर
हजारौँ नारीको सिन्दुरको रङ पखालेर
खुँडालाई परशुराम कुण्डमा धोयौ तिमीले
म गङ्गा होइनँ
यसैले सक्दिनँ पखाल्न तिम्रो खुँडा
ब्रम्हपुत्रले नै सक्ला त पखाल्न ती रगतका टाटा?
वा सिन्दुरका खाटा?
अनि …
अनि…
गानिएको मातृस्तनबाट निसृत त्यो तातो दूधका दशधारा
के पखाल्न समर्थ छ त यो ब्रम्हपुत्र पनि?
रुद्रअवतार बनेर परशुराम तिमीले
माताको सील राख्यौ भन्ने मिथमा हुर्काइयो मलाई
तर आज म जननी भएर सोंच्छु तिम्रैबारेमा
के माताको दशधारा दूधको मूल्य
पिताको आदेशभन्दा निर्मूल्य थियो त कहीँ?
नत्र तिमीले सक्नु पर्थ्यो पितृ-आज्ञा उलङ्घन गर्न
अनि…
अनि त…
आज माताहरूले पनि सगर्व सायद भन्न सक्ने थिए
म जननी परशुरामकी!
पितृसत्ताभन्दा घोर बलियो छ मूल्य दस धारा दूधको
रगतको रातोपन मात्रै होइन
उत्तिकै बग्छ नि निक्खुर सेतो रङ् दूधको
यसैले मार-काट, हत्या – हिंसाको इतिहास होइन
रच्नेथियो एउटा इतिहास
प्रेमको!
करुणाको !
वात्सल्य र मातृत्वको !
तर…
तिमी परशुराम !
रहेछौँ संवाहक रसंरक्षक पितृसत्ताकै
रहेछौँ संरक्षक – पितृसत्ताकै ।
समयबोध
बारूदको दूषित गन्धले
बाल, वृद्ध, वनिता कहाँ भन्छ र ?
हत्या, हिंसा, आतङ्कले
आफ्ना- पराया कहाँ मान्छ र?
युद्ध के का निम्ति ?
– शान्तिका
हिंसा के का निम्ति ?
-अहिंसाका
सहादत के का निम्ति ?
– स्वतन्त्रता
अमानवीयता के का निम्ति?
– मानवीयता
… यस्ता थुप्रै नारामा
निरन्तर मारिन्छन् निर्दोष
निष्कलङ्क ठानिन्छन् अपराधी
निर्दोषको जीवन नारकीय पारेर
निष्पक्ष मानिन्छन् निस्तेजको तेजोबध गर्नेहरू
उफ्…
हतियार स्वयं कहाँ धारिलो हुन्छ र?
हतियार स्वयं कहाँ घातक हुन्छ र?
हातमा कसको हतियार छ
त्यसैले निर्धारण गर्दछ
त्यसको धारिलोपन र घातकता
विवेकशून्य मानिसको
अविवेकी कृत्यले
निरन्तर ल्याउने रहेछ
विश्वशान्तिमा अवरोध
हजारौँ क्रन्दन, रोग, शोक र भोक
उफ्
कोही आक्रान्त छन् प्रकृतिको प्रकोपबाट
कोही आक्रान्त छन् संस्कृतिको खोल ओढेका
ढोङ्गीहरूको लोभबाट
कोही आक्रान्त छन्
सत्ता प्रमादको विकराल
कालकुट आकर्षणबाट
हो! आज बारूद घोलिएको छ
मैले लिइरहेका एकमुठ्ठी श्वासको प्रत्येक कणमा
उफ् !
कहिल्यै मेटिएला त यो दुर्गन्ध?
हत्या, हिंसा र आतङ्कको खेल त
कहिले यसका पक्षमा,
कहिले उसका पक्षमा
चलिरहेछ निरन्तर…
सायद चलिरहला निरन्तर
तर निर्दोष निरपराधहरूको
क्रन्दनले किन रोक्दैन यो दौड?
उफ् !
अब त रोकिए हुने नि यो प्रमाद
“वसुधैव कुटुम्बकम्” नारा बोकेर
के ‘कल्की’को अवतरण वाञ्छनीय नै हो त अब?
नत्र ईसु, बुद्ध र मोहम्मद साहेबको
शान्ति, सद्भाव र सहनशीलताका
उपदेशले किन विश्वमा
बारुदको गन्धलाई प्रेमको सुवासमा
परिणत गर्न असक्षम बनेको छ?
उफ् !
विश्वशान्ति आजको आवश्यकता
कसले कसलाई खोइ कसरी बुझाउने र?
बुझेर बुझ पचाउनेहरूका लागि यो बुझाबुझ
बुझ्नै नसकिने अबुझ जन्जालमा
परिणत भइदिएको छ।
यसैले त आज
बारुदको गन्धले
विश्व आक्रान्त छ
दग्ध पृथ्वी, दग्ध मानवता
दग्ध छ यो हृदयको गति!
उफ् !
भो भयो…
अब त बन्द गरिदेऊ
मानवताको यो क्षति
मानवताको यो क्षति…
एउटा आगो
एउटा आगाो
कसरी दन्किरहेछ विध्वंशमा
कसरी यसले जलाइरहेछ
कोमल, सुन्दर र स्वच्छ जीवन ।
कसरी स्वयं आगो ओकल्ने फिलुङ्गा आज
दनदनी दन्किरहेछ यी ज्वालामा ।
कसरी मृत्युबोध बोकेर बाँच्ने
त्यो साहसी योद्धालाई मृत्युले जीवनबाट खोसेछ ।
आज अजस्र सम्झिरहेछु प्रिय पारिजात!
अपराजिता तिमी!
अपराजित तिमी!
तर कसरी अनन्त पीडा बोकेर जीवनलाई
हाँक दिने तिम्रो त्यो योद्धा मनलाई
चटक्क चुडेर हामीबाट भौतिक रूपमा
दन दनी दन्क्यो ओह ! यो निष्ठुरी आगो ।
पल पल बाँचेर पनि मैले मृत्युबोध गरिरहेकी छु
पल पल नाँचेर पनि त म एउटा मृत्यु भोगीरहेकी छु ।
प्रिय पारिजात, मैले पनि तिमी जस्तै मर्न नमागेकी त कहाँ हो र ?
तर जीवनमा तिम्रो जीवनप्रतिको ऊर्जाले
चटक्क चुडाउन दिँदैन जीवनलाई ।
तर दन दन दन्किरहेछ तिम्रै यो चिताको आगो
मेरो हृदयमा ।
ओह प्रिय पारिजात, मृत्युको भव्यता देख्दा
लाग्दछ होमिदिऊ एउटा मृत्युमा यो जीवन
तर भव्य मृत्युको तयारी त भव्य जीवनको बचाइ नै त होइन र ?
तिम्रा कृति र कृत्यद्वारा बारम्बार झकझक्याउँछ यो जीवन बोध ।
निरर्थक बाँचेर मर्नेहरूले
के सार्थक मृत्यु मर्छन् त ?
यही एउटा प्रश्नले मलाई सार्थकता खोज्न, रोज्न र बाँच्न
बाध्य तुल्याउने गर्दछ ।
नत्र प्रिय पारिजात, त्यो निष्ठुरी चिताले
मेरो शरीरलाई पनि कसो नजलाउँदो हो ।
‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥” – श्री कृष्णको यो घोषणालाई
पत्याइदिएकी छुसहजै ।
तर जीवनमा आत्माको अजेयतासितै
शरीरको महत्ता पनि त रहेछ ।
यो बोध तिम्रा हातका स्पर्श अनि
तिम्रा नयनका चमक हेर्न नपाएकी मलाईमात्रै थाहा छ ।
हो प्रिय सखी!
मैले तिम्रो स्पर्ष केवल तिम्रा शब्दका ती मृत्युबोधमा पाउँदा
असीम पीडाले छट्पटाउँदै आफ्नै बचाइका मृत्युहरू
बारम्बार पन्छाइरहेकी छु ।
तिम्रा अपराजित कर्ममा मैले मृत्युलाई पराजित तुल्याएकी छु ।
प्रिय पारिजात!
नत्र त मलाई पनि
एउटा चिता नै चाहिएको छ
जहाँ म नि दन्कौँ…दन..दन…
नग्नता बोकेर जीवनको,
भव्यता बोकेर मृत्युको ।
हो हो मलाई मेरो चिताको प्यास छ ।
मलाई मेरो जीवनको त्रास छ ।





