२४ फेब्रुअरी बिहीबार । हङकङ । क्रान्ति सुब्बा ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

फेब्रुअरी २४ तारीख  बिहीबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल केस संख्या: ८,७९८

.मृत्यु संख्या : ५० जना (गत २४ घन्टामा)

.आयातित केस संख्या : ३

.स्थानीय संक्रमण संख्या :८,७९५

.डेल्टाबाट संक्रमित संख्या : १९ जना

.ओमिक्रोन संक्रमित संख्या : ४,४३४

.अनिश्चित : ३

.अपर्याप्त भाइरल लोड केस: १३०

गत २४ घन्टामा मृत्यु हुने ५० जना मध्येमा एक जना  नौ वर्षीय बालक पनि परेका छ्न।

दीर्घ रोगबाट पीडित उक्त बालक बिहीबार बिहान सबेरै  घरमै बेहोस (कोमा) भएका थिए । उनको परिवारका सदस्यले उनलाई प्राथमिक उपचार गरेपछि  एम्बुलेन्स बोलाइएको थियो ।

युनाइटेड क्रिश्चियन अस्पताल पुग्दा उनको मुटुको धडकन बन्द भैसकेको थियो। कृत्रिम स्वासप्रस्वास दिनु पनि ढिलो भैसकेको थियो । बिहान ७ बजे उनको मृत्यु भएको थियो ।

उनमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको भएता पनि उनको आकस्मिक निधन भएकोले कोभिड परीक्षण गरिएको थियो । उनको परिक्षण नतिजा पोजेटिभ आएको थियो ।  उनको मृत्युलाई शुक्रबारको मृत्यु सुचीमा राखिने भएको छ।  उनको केस कोरोनर अदालतमा पठाइनेछ।

“दुई तीन वर्षको हुँदा उनमा मांसपेशि सम्बन्धी वंशाणुगत रोग ( मसल जेनेटिक डिजिज) भएको पत्ता लागेको थियो,” अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक लाउ का-हिनले भने।

हङकङमा कोभिड प्रकोपको पाँचौं लहर शुरु भएपछि   अहिलेसम्ममा चार जना बालबालिकाको मृत्यु भैसकेको  छ । मृत्यु हुने अन्य तीन जनामा  ११ महिनाकी नानी , तीन वर्षकी वालिका  र चार वर्षका वालक थिए।

सरकारको खोप सल्लाहकार बालरोग विशेषज्ञ तथा  हङकङ युनिभर्सिटीका प्रोफेसर लाउ यु-लुङले बालबालिकाको माथिल्लो श्वासप्रश्वास नली साँघुरो हुने भएकोले सङक्रमण भएमा त्यस त्यस माथि धेरै हदसम्म असर पर्न सक्ने बताए।  उनले कोविडले बच्चाको दिमागमा सूजन (इन्फ्लेमेसन) ल्याउने कुरा पनि औंल्याए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआङ शुक-क्वानले  मृत्यु हुनेमा ५२ देखि ९७ वर्ष उमेर समुहका ३५ पुरुष र १५ महिला रहेको बताइन।

तीमध्ये ६ जनाले दुई डोज खोप र दुईजनाले एक डोज खोप लगाएका थिए । तीमध्ये पाँच जना ६० वर्षभन्दा कम उमेरका थिए। र  ३१ जना मृतक  ८० वर्ष वा सोभन्दा माथिका थिए।

मृत्यु हुनेमा सबैभन्दा कान्छो व्यक्तिको उमेर ५२ वर्ष थियो ।उनी  केयर होममा बस्थे र ओछ्यानमा थलिएका  थिए। उनको वाक्य बसेको थियो र ब्रेन हेमोरेज भएपछि  मस्तिष्कको शल्यक्रिया पनि गरिएको थियो ।

एक  ५३ वर्षीया मृतक चाहिँ  क्यान्सरबाट पीडित थिए र अर्का एक ६० वर्षका व्यक्तिले  ब्रेन ट्युमरका कारण केमोथेरापी लिइरहेका थिए ।

अहिलेसम्म संक्रमित वृद्ध आश्रमको संख्या ३६० पुगेको छ। ती विभिन्न आश्रमका कुल ४२० कर्मचारी र १,१०० निवासी संक्रमित भएका छ्न। ३७ वटा आश्रममा १० जना भन्दा बढीका दरले संक्रमित छ्न।

सरकारी  अस्पतालमा संक्रमित कर्मचारीको संख्या १ हजार ६ सय ६८ पुगेको छ । पहिलो चोटि पोजिटिभ पुष्ठि भएको सातौं दिन दिन पछि गरिएको टेस्टमा नेगेटिभ रिजल्ट आएका कर्मचारीलाई काममा आउने अनुमति दिइएको छ।

तपाईको प्रतिक्रिया