२०२४ सालमा पौँदे अमराइ गुल्मीमा जन्मीएका लेखक बिजय हितान हाल बेलायतमा रहेर लेखनमा सर्कय हुनुहुन्छ ।उहाँका बिभिन्न बिधामा लेखिएको आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् । कथा ,कविता , नाटक ,निबन्धमा बिशेष दखल राख्ने उहाँ पछिल्लो एक दशक भन्दा लामो समयदेखि पर्यावादी साहित्य लेखनमा सकृय हुनुहुन्छ । पेशाले बेलायती सेनाबाट अवकास हाल एनभायरोमेन्ट एजेन्सी बेलायतसँग आवद्ध उहाँ दर्जनौ सामाजिक र साहित्यीक सस्थाहरुसँग आवद्ध हुनुहुन्छ । भर्खरै मात्र “मगर रिन्हाक “कृति प्रकाशित भएको छ । प्रस्तुत छ हामीले उहाँसग नेपाली साहित्य लेखन अब कीन पर्यावरणलाई केन्द्रमा राखेर लेखिनुपर्छ र बिश्वमा नै बाताबरण सरक्षणको अवस्था के छ भन्ने बिषयमा बिशेष केन्द्रमा रहेर गरिएको कुराकानी ।

नेपाली साहित्यमा पर्यावरणलाई केन्द्रमा राखेर लेखिएको साहित्यीक कृतिहरु छैन । तर तपाईं बिगत एक दशकदेखि पर्यावरण र साहित्यमा केन्द्रीत रहेर साहित्य लेखन र बहसहरु सृजना गरिरहनु भएको छ । साहित्य र पर्यावरणबीचको सम्बन्धबारे भन्नुहोस न ?
पृथ्वीको पर्यावरणले सन्तुलन गुमाउदै छ । यसको प्रमुख कारण मानवीय गतिविधि हुन । मान्छेले आधुनिक विकासका नाममा प्रकृतिमाथि अतिक्रमण गर्दैछ । तसर्थ साहित्य लेखन र पठन मार्फत आम मानिसमा पर्यावरण संरक्षणका महत्व र आवश्यकता बुझाउन सकिन्छ र त्यसतिर उत्प्रेरित गर्न सकिन्छ ।

नेपालमा जलबायु परिवर्तन र पर्यावरणीय अवस्था कस्तो अवस्थामा रहेको छ ? यसका चुनौतीहरु के के छन ?
जलवायु परिवर्तनको प्रभाव र जोखिमको हिसावले नेपाल विश्वमा उच्च दस राष्ट्रभित्र पर्दछ । तिव्र तापमान वृद्धिको कारणले हाम्रा हिमालहरू पग्लिने क्रम पनि तिव्र नै छ । जसरी उत्तरी र दक्षिणी ध्रुवका हिउॅ असामान्य तवरले पग्लिदै छन त्यसरी नै हाम्रा हिमाल पग्लिएर काला पत्थरमा परिणत हुदैछन। जसको कारण निकट भविष्यमा पानीको स्रोत बन्द हुन गइ मरूभुमिकरण हुने सम्भावना छ । विगत केहि बर्षमा देखिएका असमान्य बाढि पहिरो र त्यसले धनजनमा पारेको सकस जलवायु परिवर्तन कै प्रभाव हुन । समग्रमा नेपालको पर्यावरणको अवस्थाको कुरा गर्नु पर्दा अन्य देशहरूमा भन्दा राम्रो छ । हाम्रोमा भौगोलिक हिमाल पहाड र मधेस जस्ता विविधता छन । त्यसैगरि जैविक विविधतामा पनि हामी धनी छौं । ठुलाठुला नदिहरू, बाग भालु हात्ती चराचुरुङ्गी जस्ता वन्य जन्तु र त्यसैगरि विविध प्रजातीका वनस्पतिले यसलाई पुष्टि गर्दछ । तर र्दुभाग्य बिकासका नाममा जैविक विविधता प्रत्येक सेकेन्ड ओरालो लागिरहेको छ । अर्थात मैले माथि भनेजस्तै पर्यावरणीय सन्तुलनमा क्षयीकरण देखिदैछ । यसको सन्तुलनमा विविध चुनौतिहरू छन । पहाडका गॅाउगॅाउमा बाटो पुर्याउनु छ । मधेसको उर्वरा भुमिमा बिल्डिगं ठडिएका छन । कृषिजमीन र शहरले वनलाई प्रतिस्थापन गर्दैछन फलस्वरुप वन्यजन्तुका वासस्थान मासिदै छन । घर तथा उद्योगधन्दाबाट उत्पन्न फोहोर मैला र ढलले जमिन, पानी र हावालाई प्रदुषित पार्दैछ । यसर्थ विकास निर्माण र वातावरण संरक्षण एक ठुलो चुनौतिको बिषय बनेको छ ।

तपाईंको लेखनले पृथ्वी सबै जीवको साझा बासस्थान हो भन्नेमा बिशेष जोड दिएको हुन्छ । आउने दिनहरुमा समग्र जीवलाई ठुलो संकटबाट बचाउन पर्यवरणीय साहित्यले खेल्न सक्ने भुमिका के हुन सक्छ ?
यो पृथ्वी मानिसको मात्रै हो जस्तो गरेर हाम्रा कृयाकलाप हुन्छन । हाम्रो सोंच पनि यस्तै छ । त्यसो होइन । पृथ्वी सबै प्राणीको साझा फुलवारी हो । उनिहरूको पनि यसमा जिउने हक र अधिकार छ भनेर बुझ्न अति जरूरी छ । तिनको अस्तित्वले नै मानव अस्तित्व सुरक्षित छ भन्ने कुरा मनन गरेर व्यावहारमा प्रयोग गर्न अति आवश्यक छ । त्यहि व्यवहारिक ज्ञानलाई ग्रहण गरेर पर्यावरण बचाउन साहित्यले महत्वपुर्ण भुमिका खेल्न सक्छ । साहित्य लेखनबाट ठुलाठुला सामाजिक राजनैतीक लैंगिक परिवर्तन आएका छन । प्रजातन्त्र र संघियता आएका छन । छुवाछुत उन्मुलन हुदैछ । नारी हक अधिकारका विषय कार्यान्वयन हुदैछन । यी त भए सवै साहित्य लेखनले ल्याएका मानव केन्द्रित परिवर्तनहरू ।

अब साहित्यले मानवेत्तर जगतमा पनि परिवर्तन ल्याउनु पर्छ। रोग र भोकको मात्रै कविता हैन अव रूख को कविता लेखिन पर्छ । मोती जयन्ती मात्र होइन माटो जयन्ती मनाइन पर्छ । भानु जयन्तीको साथै भालु जयन्ती पनि मनाइन पर्छ । घोडोमा चढने राजा महाराजाको होइन साइकल चढेर फलाम, सिसा, कागज संकलन गर्ने कवाडीको कथा लेखिन पर्छ । सिंहदरवारका सांसद केन्द्रित लेख होइन हाम्रा राष्ट्रिय निकुन्जका वन्यजन्तु केन्द्रित लेख निबन्ध लेखिन पर्छ । सामाजिक धार्मिक ऐतिहासिक बिषयलाई मात्रै होइन वातावरणीय बिषयलाई पनि प्राथमिकता दिएर नियात्रा, संसमरण लेखिनु पर्छ । अनि मात्रै पाठकहरू वातावरणीय मुद्दातिर सचेत हुन्छन ।

तपाईंले हालै प्रकाशित कथा सग्रहको नाम ब्लु प्लानेट राख्नु भएको छ। यस्तो नौलो नाम राख्नुको कारण के ? यस पल्ट नेपाल भ्रमणमा हुनुहुन्छ । काठमाडौ घुम्दा यहाँको पुराना हिटीहरु लगभग मृत अवस्थामा छन । कस्तो महसुस गर्नुभयो ?
अन्तरिक्षबाट एउटा मात्रै ग्रह निलो देखिन्छ – त्यो हो हाम्रो पृथ्वी । त्यसकारण पृथ्वीलाई निलो ग्रह अर्थात ‘ब्लु प्लानेट’ भनिन्छ । ब्लु प्लानेट नाम गरेको बिबिसीले डकुमेन्ट्रीका शृंखलाहरू निर्माण गरेर टेलिभिजन मार्फत प्रसारण गरेको छ। जसमा पृथ्वीको निलो समुन्द्र, हरियो जंगल, सेतो हिमाल अनि यस ग्रहको जैविक विविधता कसरी र किन नष्ट हॅुदैछ भनि चित्रण गरिएको छ । यो एउटा निक्कै नै लोकप्रिय विश्वप्रसिद्द टेलिभिजन शृंखला भएको हुनाले मेरो यस कथा संग्रहको शिर्शक ‘ब्लु प्लानेट’ राखेको हुँ। काठमान्डुका हिटीको कुरा गर्नु पर्दा त जसरी एक बुढो मानिस रोगग्रस्त भएर उसले आफ्नो जीवनको अन्तिम स्वास लिरहेको देख्दा कति दुख लाग्छ त्यस्तै महशुस हुन्छ नि । हिटी त जमिन मुनिको जलभन्डारबाट सृजित हुने खाने पानीका मुहान हुन तर ति सुक्नुको कारण जथाभावी शहरीकरण गरिनुका उपज हुन । जनसंख्या वृद्धिको उच्च चापका कारणले हुन । जसले जती पायो उति मनपरी जलभन्डारको पानी तानेर हो बिस्तारै मानवजातीले ठुलो संकट भोग्नुपर्ने अवस्था आउँदैछ । जसरी एउटा डक्टर उसको क्लिनिकमा एक क्यान्सर लागेको रोगी ॲाउदा चिन्तित र दुखित हुन्छ त्यसरी नै यि हिटीहरू देख्दा म त्यस्तै चिन्तित हुन्छु । यसको निम्ति समग्र समाज विश्वनै सचेत हुन जरुरी छ ।

तपाई आफै बिट्रिश आर्मी आन्दोलनले तीन दशक पार गरिसक्दा अझै पनि यो मुद्वा सम्बोधन नहुनुको कारण के हो जस्तो लाग्छ ?
प्रमुख कारण गोर्खाहरू एक भएर उभिन नसक्नु हो । एउटै मुद्दालाई उठाउने चार पाँच संस्थाहरू छन तर पनि समस्या सम्बोधन हुन सकिरहेको छैन । अर्को कुरा यस अघि केहि मुद्दाको वृटिश सरकारले सम्बोधन गरिसकेको छ । अनि गोर्खाले उठाएका मुद्दालाइ वेलायत र युरोपको न्यायलयले हराइदिसकेको छ । तथापि अभियान जारी छ । बेलायत र नेपाल सरकारले यसलाइ प्राथमिकताका साथ लिएको देखिदैन ।

तपाई पेशाले आर्मी, साँस्कृतिक रुपमा पनि सचेत लेखक नेपालमा बर्तमान समयमा भैरहेको सामाजिक रुपान्तरणको अवस्थालाई कसरी बुझ्न सकिन्छ ?
नेपालमा सामाजिक परिवर्तन बिशेष गरि संघियता पश्चात तिव्र गतिमा अघि बढेको छ । यो नेपाल मात्रै होइन विश्वका सवै मुलुकमा पनि देखिन्छ । यसको प्रमुख कारण प्रविधिको विकासले उत्पन्न सहजताले गर्दा हो जस्तो मलाई लाग्छ । मैले यसलाई सकारात्मक रुपमा लिएको छु ।

जीवनको लामो समय संसारको बिकसित मुलुक मध्ये एक बेलायतमा बिताउनु भयो बेलायत र नेपालको फरकपन के हो ?
धेरै फरक छ । सोचाइमा जमिन आसमानको फरक छ । जनताका सरकारका काम गराई, व्यवस्थापन, योजना, विकास निर्माण इत्यादि सवै कुरामा भिन्नताको खाडल गहिरो छ । हामीहरूले यता बल्ल आधुनिकिकरणका सोच ल्याउदा उता उत्तरआधुनिकिकरण ल्याइसके । जे काम पनि विज्ञान र प्रमाणका आधारमा गरिन्छ । कम बोलीन्छ बढि काम गरिन्छ । मानव हक अधिकारका कुरालाई पालना गरिन्छ र गराइन्छ । लैंगिक विभेद उता पनि छ तर पिडितले उचित न्याय पाउछन । यहाँ जस्तो राजनैतिक अराजकता उता देख्दिन । समावेसी र समानता बढि पाइन्छ उता । यस्ता भिन्नताका सुची लामै छन- संक्षिप्तमा भन्नुपर्दा नेपाल उताको अवस्थामा पुग्न अझै १-२ सय बर्ष लाग्न सक्छ ।

पर्या साहित्यको महत्व र आवश्यकता बारे माथि नै भन्नुभयो । अब यसका विषय वस्तु केके हुन ?
साहित्यकार लेखकले निम्नलिखि बिषयवस्तु अन्तर्गत रहेर आफ्ना सृजना लेख्न सक्छन । पर्यानारिवाद, ग्रामेयता र सहरिकरण,जलवायु परिवर्तन, जैविक विविधता, प्राकृतिक सौन्दर्यता,विकास निर्माण,धर्मशास्त्रमा,पर्यावरण,आदिवासी र तिनको पर्यावरणसंगको सामिप्यता,वन्यजन्तु चोरि सिकारी,पर्या-राजनिति, आध्यात्मक परिवेश ।

सन २००९ देखि पर्या साहित्यमा लाग्नु भएको रहेछ । नेपाली साहित्यका अरू पनि धेरै वादहरू छन । पर्यावादी साहित्यमा लाग्ने कारण र प्रेरणा कसरी प्राप्त भयो ?
यसको एक प्रमुख कारण मेरो उच्च शिक्षा वातावरण विज्ञानमा भएर हो । यो विषय पढदा इकोलोजी, वायोलोजी, जिवोलोजी, क्लाइमेट चेन्ज, एन्भाएरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट, एस्टुरियन इकोलोजी, एन्भाएरोमेन्टल ल इत्यादिको ज्ञान भयो नि त । यस्ता ज्ञानले नेपाली पर्या साहित्य गर्न मलाइ सजिलो भयो । अर्को यस अभियानमा प्राडा गोविन्दराज भट्टराईलाई एक गुरूको रूपमा पाए । वहाँको उत्तर आधुनिक विमर्स पुस्तकमा इको राइटिंग भनेर एउटा अध्यायमा पर्या साहित्यलाइ सिद्दान्तिकरण गर्ने महान कार्य गरिएको छ । वहाँको मार्गदर्शनलाई आत्मसात गर्दै म यस क्षेत्रमा अघि बढेको छु । अहिले त इको साहित्यको एउटा बलियो संजाल बनेको छ हामी तिन चार दर्जन साहित्यकारहरुको ।

अब अन्त्यमा अलिकता सन्दर्भलाई बदलौं आखिर जीवन के रहेछ ?
जिवन संघर्ष हो । जन्मेर बाच्न सक्नु मात्रै पनि एक संघर्ष हो भने कतिले आफ्नो स्वार्थपुर्ति होस या अमर हुन उसले जिवनभर गर्ने कुकर्म या सुकर्म सबै संघर्ष हो नि त । अन्य जिव र प्राणीले पनि आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेकै हुन्छ ।

तपाईको प्रतिक्रिया