क्रान्ति सुब्बा । हङकङ ।

मार्च ६ तारीख आइतबार हङकङ फायर सर्भिस डिपार्टमेन्टले कम्युनिटी आइसोलेसन फेसिलिटीज अर्थात  सामुदायिक आइसोलेसन सुविधाहरूमा भर्ना हुन इच्छुक संक्रमित जनको निम्ति निवेदन दिने तीन वटा हटलाइन संचालनमा ल्याएको थियो ।

आइसोलेसनमा रहन चाहनेले इमेल , वीच्याट र अहिलेको सबै भन्दा सरल विधि  व्हाटसएप मार्फत निवेदन दिन सक्नेछन।

यी तीन माध्यम मार्फत संपर्क गरेर आइसोलेसनमा जान चाहने आवेदकहरूले आफू कोरोना भाइरस पोजिटिभ भएको प्रमाणित गर्नु पर्दछ । आवेदकले  न्युक्लिक एसिड परीक्षण विधि मार्फत या डिप थ्रोट सलैभा टेस्ट (घाटीको  गहिरो भागबाट संकलित रयाल) वा र्यापिड एन्टिजेन परीक्षण मार्फत टेस्ट गर्दा पोजिटिभ नतिजा आएको हुनुपर्दछ। र हल्का लक्षणहरू मात्र भएका आफुले आफ्नो हेरचाह गर्न सक्ने निवेदकले मात्र यहाँ भर्ना हुन पाउँदछ भनिएको छ।

यो हटलाइन प्लेटफर्म  लन्च भएको एकैदिनमा करिब ४,००० निवेदन प्राप्त गरिसकेको कुरा डिपार्टमेन्टका सहायक निर्देशक वङ चुन- यीपले मार्च ७ तारीख सोमबार बिहानको एक रेडियो कार्यक्रममा बोल्ने क्रममा भनेका छन।
आज सोमबार करिब ३०० जना व्यक्तिलाई कम्युनिटी आइसोलेसन सेन्टरमा भर्ना गराइने कुरा वङले बताए ।

कस्ता आवेदकले तोकिएको आइसोलेसन सेन्टरमा स्थान प्राप्त गर्दछ्न भन्ने कुरा सेन्टरमा कति कोटा उपलब्ध छ ,आवेदकको बसाईको स्थिति कस्तो छ, उसको मेडिकल अवस्था कस्तो छ आदिका आधारमा उसलाई सुबिधा दिने या नदिने कुराको मुल्यांकन हुदछ।

संक्रमित व्यक्तिले  इमेल, व्हाटसएप वा विच्याट मार्फत पठाएको म्यासेज प्राप्त गरेपछि फायर सर्भिस डिपार्टमेन्टले संक्रमित बिरामीहरूलाई के कसो गर्नु पर्दछ भन्नेबारे थप निर्देशनहरु पठाउदछ।

सामुदायिक आइसोलेसन सुविधामा भर्ना हुन चाहनेले माथि उल्लेखित च्यानलहरू मार्फत आफ्नो चिनियाँ नाम छ भने नत्र अंग्रेजी नाम, उमेर, लिङ्ग, हङकङ परिचयपत्र नम्बर, टेलिफोन नम्बर, आवासीय ठेगाना, परीक्षण विधि र पोजिटिभ टेस्ट भएको मिति उपलब्ध गराउनुपर्छ। 

सम्पर्क विधिहरू निम्नानुसार छन:

इमेल: [email protected]
व्हाटसएप: 52331833
वीच्याट एकाउन्ट: fsd_cif

तपाईको प्रतिक्रिया