कवि तीर्थ श्रेष्ठ तीसको दशकको शक्तीशाली कवि मध्येका एक हुन। उहाँको कविताहरुमा जीवन र मृत्युको गहिरो अनुभूति पाइन्छ। प्रेमप्रतिको शालीन अभिव्यक्ति उहाँको कविताको अर्को सुन्दर पक्ष हो । मन्द गतिमा चलायमान महासागर जस्तो उहाँको कविताहरुले समाजमा भएको बेथितिहरुलाई शान्त र शालिनरुपमा प्रस्तुत गरिहेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृति तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट ,पाइलाका नीवहरुले संयुक्त कविता संग्रह मन्जुल र कुमार आलेसंग ,महाभारतका गीतहरू , मेरै हिमाल जस्तो , जिन्दगीको गोधूलीमा, धर्सैधर्साको चक्रव्यूहमा प्रकाशित छन । हाल नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा निर्वाचित श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको संस्थापक सदस्य सचिव ,तरलवादी आन्दोलनको प्रवर्तक मध्ये एक र पोखरेली युवा सांस्कृतिक परिवारको पूर्व अध्यक्ष त्यस्तै कयौं पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

एक दिन

थाहा छ
एक दिन नहुनका निम्ति
म यहाँ छु

बिहानी बताससंग रमाइरहेका यी पातहरु हुने छैनन एक दिन
आकाश ढाक्ने गरि उडिरहेका यी पंक्षीहरु हुने छैनन एकदिन
चौतारीको बरको बोटको छेल पारेर तिमीले मेरो निम्ति गाएको गीत हुने छैन एकदिन
हामीले एक अर्को संग जूनी जूनी भर संग संगै जीउने मर्ने भनेर खाएको कसम हुने छैन एक दिन
हामीले एक यूगलाई एक क्षण जस्तो गरि बिताएको यो घर हुने छैन एक दिन

मलाई थाहा छ
म नहुँदा पनि हुनेछ
यो अजम्बरी वायु
म नहुँदा पनि हुनेछ
कसम खान हामीले अन्जुलीमा उठाएको पानी
हामीले हामी भन्नलाइ टेकेको यो धरती
तिम्रो आँखामा / तिम्रो स्पर्शमा भएको प्रिय अग्नि
अनन्त जस्तो यो आकाश

मलाई थाहा छ
म नहुनका लागि यहाँ छु

मेरो देहको पानी कतै न कतैबाट पुग्नेछ खोलामा
र खोला नदिको बाटो पुग्नेछ समुद्रमा
मेरो देह छोडेर निस्किएको सास मिसिने छ वायु मण्डलमा
म भित्रको प्रिय अग्नि
बिलाउनेछ अग्नीगर्भा धरतीमा
माटो मिल्नेछ माटोमा
यौटा फुच्चे आकाश
गदगद हुनेछ अनन्तको हिस्सा हुन पाएकोमा
ओ चेतना
तिमी पनि त घर फर्के जस्तो गरि फर्कनेछौ परम चेतनामा

मलाई थाहा छ
म नहुनका निमित्त यहाँ छु

थोपा
थाहा छैन
यौटा कुलो बन्न कति मूल जोडिनु पर्छ
यौटा खोलो बन्न कति कुलो जोडिनु पर्छ
यौटा नदि बन्न कति खोला जोडिनु पर्छ
यौटा महानदि बन्न कति नदि जोडिनु पर्छ
म एक थोपा हुँ पानीको
मूलमा हुँदा पनि एक थोपा
कुलोमा हुँदा पनि एक थोपा
खोलामा हुँदा पनि एक थोपा
नदिमा वा महानदिमा वा सागरमा हुँदा पनि एक थोपा
सौभाग्य हो मेरो म मिस्सिंदै मिस्सिंदै सागरमा आइपुगेको छु
तर अझै पनि म पानीको एक थोपा हुँ फगत एक थोपा
मलाई सागर हुनु छैन
सागर त म जस्तै अगणित थोपाहरुको साझा नाम न हो
म थोपा हुँ
मलाई सागरको अहंकार सुहाउँदैन ।

बिश्वास
म बिश्वास गर्छु
र धोखा पाउँछु
धोखा पाउने आशंकामा
म कसैलाई अविश्वास गर्न सक्दिन

मेरो प्रेमको स्वप्न महल
विश्वासको जगमा अडिएको छ
आशंकाका भूकम्प र पराकम्पनले
कहाँ हल्लाउन सक्छ अजम्बरी विश्वासको
जगढुंगामा उभिएको मेरो प्रेमलाइ

म जिन्दगीभर धोखा सहन तयार छु
तर अविश्वासको गीत गाउन मेरो कण्ठ तयार छैन

तपाईको प्रतिक्रिया