काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई केपी ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जान आह्वान गरेका छन् । आज शुक्रवार दाङमा आयोजित गणतन्त्र दैनिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले प्रतिनिधिसभा पुनस्र्थापना नहुने भएकाले नहुने बाटोमा नहिँड्नसमेत आग्रह गरे ।

पोखरेलले भने, ‘फेरि पनि म भन्छु कमरेड प्रचण्ड र माधव नेपाल आउनुस्, प्रथम अध्यक्षको हैसियतमा केपी ओलीले कसैलाई कारबाही गर्नुभएको छैन । अहिले पनि केपी ओलीको नेतृत्वमा प्रचण्ड पनि हुनुहुन्छ, माधव नेपाल पनि हुनुहुन्छ । बरु उहाँहरुले केपी ओलीलाई कारबाही गर्नुभयो । यसले एकताको पक्षमा को रहेछ भन्ने देखियो ।’

पोखरेलले प्रचण्ड–माधव पक्षले केपी ओलीविरुद्ध देशभर घृणा प्रकट गर्दै हिंडे पनि त्यसको ठिक उल्टो ओलीप्रति सम्मानको बाढी आउन थालेको दाबी गरे । उनले यो अभियान शुरु मात्र भएको भन्दै प्रचण्ड माधव नेपालले पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै अझै पनि मिल्ने ठाउँ बाँकी रहेको बताए ।

पोखरेलले भने,‘नचाहिंदो काम नगर्नुस्। पार्टी एकतालाई कमजोर पार्ने काम फिर्ता लिनुस् । फेरि पनि चुनावमा जाने हो पार्टी एकता सम्भव छ । भाँचिएका मन जोड्न सकिन्छ । एकजुट भएर चुनावमा जाउँ, सम्भव छ ।’

तपाईको प्रतिक्रिया