नेपाली कविता लेखनको क्षेत्रमा कवि मुनाराज शेर्मा एक स्थापित नाम हो । कविता ,समिक्षा ,यात्रा संस्मरण ,कथा लेखनमा पोख्त शेर्माको लेखनमा पहिचान र पुर्वको किराँत सभ्यताको मीथहरु आउछन। दुइ दशक भन्दा लामो समयदेखि लेखीरहेका शेर्मा नेपाली साहित्यको स्थापित नाम हो । हालसम्म उनको ‘शब्दहरूको याक्सा ‘ कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता ।

यो संसारमा एक्लै हुन सक्छौ

करोडौं मानिसहरु बीच
अनेक मित्रहरूको साथ
सयौं आफन्तहरु माझ पनि
कहिलेकाहीं तिमी एक्लै पर्न सक्छौ
यो संसार तिमी एक्लै छिचोल्ने हो
हजारौंको जिब्रो र दिमागमा तिमी बसिरहेको हुन्छौ
एक्लो तिमी सब छोडेर मानिसहरू तिमिनै सोचिरहेको हुनेछन

पिटिक्कै पिर नमान
मित्रहरू मात्र तिम्रो असल पनमा झुम्मिएका भमरा हुन
जो फुल झरे पछि कदापि सम्बन्ध गाँस्दैनन
जसले तिमिलाई राम्रोको लागि प्रेरित गरिरहन्छन
यतिसम्म कि तिम्रो प्रेमिकाले वा प्रेमिले समेत जुम्राले लास छोडे झैँ छोडन सक्नेछ
यो बेला तिम्रो साथ तिमी आफै हुनेछौ
जो हृदयका छन ती तिम्रो अध्याँरोमा पनि सँगै बाटो खोजिरहेका हुनेछन
मान्छेको जीवन एकनासको हुने छैन कहिले
यो शान्त जिन्दगीमा एक्कासि आँधी आए जस्तै हो
स्वभाव नै मानिसको असल चिजहरुको वरिपरि झुमिन्ने मात्र हो
जसरी फलको बोटमुनी मानिसहरु हुन्छन
पानीको डोब जस्तो बिर्सनेछन उनिहरुले तिमिले लाएका गुणहरु
र,तिमितिर नफर्की फर्किजानेछन उनिहरु
यो संसारको रित हो
अचम्म नमान्नु
जब तिमी खराब मौसममा हुन्छौ छाता तिमिले ओडने हो
ओत तिमिले खोज्ने हो
कोहि छाता दिन आउने मित्रहरु पाउनु तिम्रो दिन बलियो हुनु हो
सम्झ तिमी बर्सादि बिना पनि हिडन बिर्सनु हुन्न
झरिले भिजाउन सक्छ तिम्रो मुलायम समय
हुरि बतास चलिरहन्छ जो सधैं होइन
अवश्य घाम लाग्नेछ तिम्रो भिजेका मन जस्तो कपडाहरु सुक्नेछन
मन सधैं नभिजाई राख्नु जसले तिमिलाई हिम्मत दिनेछ
खैर केही छैन मन पनि पखालियो भने आराम महसुस हुनेछ
झरिले चुटिसकेपछि सम्भावनाका आकाश खुल्नेछ अवश्य
धेरै दुर पनि देखिनेछ छ्याङ्ग हुनेछ तिम्रो मन हलुङ्गो
मुक्तिका धर्साहरु देखिनेछ क्षितिजभरी
बिति सकेको विगत रुवाउदै आउन सक्छ जंगली चराजस्तो सम्हालिनु तिमि
हिम्मत नहार्नु कदापी जे हार्छौ हार सारा
नबिर्सिनु यो पृथ्वी मानिसहरुकै बस्ती हो
जहाँ गए नि आयु होइन्जेल सकिन्छ बाँच्न
धोका दिनेहरु हुदैनन सर्वत्र
प्रेमिल भावनाहरु भेटिनेछन आगे गन्तव्यमा
नहारी हिडनु नआत्ती बढनु नविनता तिम्रै हो
क्षमा भेटिनेछ अगाडि जीवनको जङ्गलमा
संसार डाहाले जलिरहेको हुन सक्छ
इख बोकेर तिमिलाई घोच्नेछन
बदला साँधेर नुन चुक दल्नेछन
हेर्ने छैनन तिम्रो अनुहारतिर
शब्दहरु खर्चिने छैनन तिम्रो दु:खमा
तथापि नआत्ति उभिनु यी सब गरिरहन पनि उनीहरुलाई चाहिन्छ सामर्थ्य
हरेक बिषयको पनि आयु हुन्छ नै
हरेक समस्याको पनि समाधान हुन्छ नै
हरेक फरेपको नि चक्र हुन्छ नै
मात्र पर्खनु पर्छ घाम यता नि आउँछ छाँया उता नि जान्छ नै
हिक्मत नहार जङघार तरिन्छ नै
यो युग पर्खिनेहरुको हो
पर्खिनु रमिता उता पनि सुरु हुन्छ
बस!
यो संसार एक्लै छिचोल्ने हो!!
भेटिन सकिनेछन तिम्रो असल साथीहरू बीच बाटोमा !!!
बुझ ईश्वर पनि एक्लै छ!
जम्काभेट हुन सक्छ कतै जिन्दगीको मुल सडकमा !!!

हाट

पर्खिरहेका छन ग्राहकलाई फिजाएर रहरलाग्दो रहरहरु
यो संसारको फराकिलो हाटमा
राखिएको छ खचाखच बिक्रिमा हरेक सम्वेदनाहरु
खुलम खुल्ला लिलामीमा छन मिहिनेतहरु
खरिदबिक्री भैरहेको छ रोजिछाडी हरेक पसिनाको
मैले पनि भेटेको हो तिमिलाई यहि कोलाहलमय हाटमा
जुनदिन थाहै नभै बिकेको हो मेरो मन तिम्रो मनको दोकानमा
र,जोडेर हृदयसँग हृदय हुर्काएको हो हामीले प्रेमको मखमली बगैंचा इमानको आकाशमा
संसार त एउटा हाट त रहेछ
जहाँ बेचिरहेका छौँ हामी आफैलाई
मूल्य रहिन्जेलसम्म
दाउ लागिन्जेलसम्म
हाट लागुन्जेलसम्म
यो फगत बदनाम हाटमा

रक्सी नपिउनु आदिवासी पहाड

ओ आदिवासी पहाड !
शरीर भरी असन्तुष्टिको घाउ उमारेर जिङ्गृङग उभिरहेका छौ
आफ्नै आँगनमा तिमी किन बेखुस छौ
कठोर भन्दा कठोर समयहरु रक्सीको झर्नामा स्नान गरेर यहाँसम्म आइपुग्यौ
सायद जलिरहेको होला तिम्रो सत्ताको कलेजो
किन लर्बराइरहेको छ तिम्रो पैरवीको जिब्रो
किन रिंगटा छ तिम्रो मस्तिष्कको डिजिटल राज्यमा
किन लडखडाई रहेको छ तिम्रो आफ्नै माटोमा उभेको पाउ
किन दुर देख्दैन तिम्रा आँखाहरु र गर्दैन विश्लेषण
किन पक्रीदैन शक्तिसँग तिम्रा बलिस्ठ हातहरु
कसले प्रतिशोधको गाग्रोमा जाँड बनाएर बन्द गर्यो तिम्रो विचारलाई
पाकिसकेको तिम्रो विचारहरु छानेर कसले पियो
र बनायो तिमिलाई छोक्रा

बोल,सोच, दौड ,हाँस ,रुव, सम्झ ,केलाउ, छुट्याउ फेरि सोच र लागू गर
ज्ञान सीप बोकेर दौड बिजुली भन्दा तेज, आवाज भन्दा शान्त
रक्सीको नसाले गिलित्त भएर थुप्रीरहेछौ तोङबाको छेउमा घ्याम्पा मुनि
चुपचाप छौ, लागिरहेको छ तिम्रो शरीरमा आगो
हजारौं बर्षदेखि तिमिले पिएको रक्सीले तिमिलाई नै निलिरहेको छ
समुद्रले नदि निले जस्तो
कोब्राले कोब्रा निले जस्तो
र, तिमी गजधम्म अडिरहेका छौ सृष्टिदेखि बिना निरन्तर कामयावी हलचल
हजार हजार सपनाहरू टुङ्गी आएको हो रक्सीको
भेलमा
यति भिरालो अप्ठेरो जीवन हाँसेर बाँचेको हो रक्सीको
फुल फुलेपछि
तेति गरुङघो पत्थर जस्तो हृदयले अडिएर भिरमा झुन्डिएको चिण्डोको जिन्दगी जिएको हो तिमिले
तिम्रो पहाड निचोरेर बगेको छ नदिहरु नुन बोकेर सुन बोकेर हिरा ज्वाहरत सोहोरेर
तिमी चुपचाप छौ, कोदो फलाउदै फुलतरुल गोडदै
त्यही रक्सी पिएर जितेको युद्धहरुले तिमिलाई पिठ फर्काइ गयो
त्यही रक्सीले निर्माण गरेको सम्झौताहरुले तिम्रो नाम
बहिर्गमन गरि गयो
दु:खद भन्दा दु:खद ,त्रासद भन्दा त्रासद समयहरु रक्सीको बलमा भुली गयौ बैगुनी माया जस्तो
तिमिमा एक चिम्टी इख नराखी धोएर पखाल्यो तिम्रो अहमलाई
इखालु बन्नै नदिने रक्सीको जङ्गलमा हुर्किरह्यौ तिमी
कसरी थाह नभएको तिमिलाई हरेक सृजनाहरु पनि इखले निर्माण हुन्छ
र बिखले जोगिन्छ
न इख छ तिमिसँग न बिख छ
हरेक अस्तित्व पनि इखको उज्यालो आशामा बाँच्छ
चेतनाको लहरा झाँगिन पनि इखालु बन्नु थियो तिमिले
मार सहनु र मौका पर्खनु पनि शान्त बस्नु थियो तिमिले
तर तिमिलाई चुपचाप बस्नै दिएन
सानो प्रहारमा समेत भत्की हाल्थ्यौ उम्लि हाल्थ्यौ पोखिएर सिद्धिन्थ्यौ तिमि
विपक्षीहरुमा खुलेआम पर्दाफास हुन्थ्यौ तिमी
दहि हुन दूध पनि शान्त बस्नु पर्छ जसरी
हत्केलामा पानी थाम्न शान्त हुनु पर्छ तिमि
कति भयङकर गलतहरुलाई सहजै माफी दिने तिम्रो अन्तर्निहित रक्सीको ल्याकत
अरुले तिम्रो सानो गलतमा उखेले तिमिलाई डोबसहित
उठाएन माङ्गेना तिम्रो नुहेको शिरलाई
त्यसकारण रक्सी नपिउनु आदिवासी पहाड,यो तिम्रो
प्रगतिको बिम्ब होइन
तिमी जानू छ धेरै अगाडि
अरुले भनेजस्तो सांस्कृतिक बिम्बले सर्लक्कै उभो पनि लाएन कहिल्यै तिमिलाई
मात्र चाखेर चखाउनु थियो संसारलाई
लोकल रिदममा नचाउनु थियो धर्तिलाई
तर घुमेन ब्रह्माण्ड तिम्रो रक्सी आर्थिक प्रगतिको सङ्गित बोकेर
यो त अपमानित भएर फर्की आयो तिम्रो अड्डामा
सरल सोझो सपाट यो ब्रह्माण्डको ब्राण्ड हुँदै होइन
तिमी चलाख धुर्तहरुको माझमा उभिन पनि रक्सी नपिइ होसमा रहनु पर्छ हमेसा
कि तोडनु सक्नु पर्थ्यो समयलाई रक्सीको रागले
चारैतिर बालुवाको चउर हुनसक्छ, एक्कासि उठन सक्छन हतियारहरु
किन सत्ताका उन्मादिहरु घोचिरहेका छन विभेदको भालाले तिम्रो नैसर्गिक स्वत्वमा
बनाइरहेका छन नरकसहितको मुक्तिको भाष्य
तिम्रो जड्याहा ईश्वरले समेत धोका दिएको हो तिमिलाई
स्वयं ईश्वर नै मातेपछि के हुन्छ न्यायिक राज्य
तिम्रो चैनको लामो बिरासत बगी गएको हो रक्सीको नदिमा
तिम्रो बहादुर इतिहास समेत हराइ गएको हो रक्सीको पर्खालमुनि
रक्सी इश्वर होइन, रक्सी न इमान हो
रक्सी न प्रेम हो, रक्सी न सत्ता हो
तिमी रक्सी नपिइ उभिनु चौबाटोमा
त्यहाँ चिन्नु छ तिमिले तिमी खास अघि बढने मुल बाटो

तपाईको प्रतिक्रिया