प्रकाश आङदेम्बे दुई दशकभन्दा लामो समयदेखि निरन्तर कला, साहित्य, रङगमंच, फोटोग्राफी आदिमा साधनारत व्यक्ति हुन् । दर्जनौं नाटक, आधा दर्जन व्यक्तिगत साहित्यिक कृति, पचासौं संयुक्त कृति, पचासौं साहित्यिक, साँस्कृतिक कृति सम्पादन गरेका उनले नेपाली कथानक चलचित्र ‘देश खोज्दै जाँदा’ पनि लेखन निर्देशन गरेका छन् । जुन चलचित्रले राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाउँदै केहीमा अवार्ड समेत जितेको थियो । उनको सबैभन्दा सुन्दर पक्ष भनेको हरेक सृजनशिल नयाँ पुस्तालाई आइडिया, हौसला, उर्जा साथ दिनु हो । ‘जहाँ गए नि आफ्नो कुल र मुललाई बिर्सनु हुँदैन’ भन्ने लाइनमा अडिक उनी आफुलाई सधैं भींडबाट अलग राख्न चाहान्छन् । हाल उनी नर्वेजियन फिल्म ‘बेनेफिट अफ कल्चरल डाइभरसिटी’ मा डाइरेक्सन, सिनेमेटोग्राफी र आइडिया डिपार्टमा रहेर काम गरिरहेका छन् । साथै फोटोग्राफी र सृजनालाई समायोजन गरेर ‘पोसिविलिटिज आर नेभर लक्ड’ नामक कन्सेप्टमाथि काम गरिरहेका छन् । प्रस्तुत छ उहाँसग हङकङ खबरले गरेको कुराकानी ।

पछिल्लो समय कृति प्रकाशन पछि कस्तो प्रतिक्रियाहरु पाईरहनु भएको छ ?
–पछिल्लो कृति प्रकाशन भएको पनि एक बर्षभन्दा बढी भयो । ‘म एउटा विहान हिडिंरहेछु’ शिर्षकको कविता कृति थियो त्यो । कृति प्रकाशनको पर्सिपल्ट कोभिडको दोस्रो लकडाउन शुरु भयो । त्यहीबेला पारिवारिक र अध्ययनको सिलसिलामा म नर्वे गएँ । यावत समस्याहरू एकैपटक आएकोले गर्दा सामान्य प्रचारप्रसारसम्म हुन पाएन । हज्जारौं मानिसहरू हताहत भएको समयमा कविताको विज्ञापन गर्न मेरो नैतिकताले मानेन । यद्यपि जतिले पढनु भयो राम्रो, ठिकै आदि मिश्रित प्रतिक्रिया जनाउनु भयो ।

नेपाली साहित्यको केन्द्रमा जस्तो किसिमको बिषयबस्तुहरू अगाडि आइरहेछ यो अवस्थालाई कसरी बुझ्न जरुरी छ ?
–मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नाराबाट गुञ्जयमान छ । आदिवासी, जनजाति, मधेसी, दलित, महिला, धर्मनिरपेक्षता आदिको मुद्दा नै अहिले केन्द्रमा छन् तर यी मुद्दाहरूलाई सबैले आफु सापेक्षित पक्ष र विपक्ष बनाएर समुहको हितको लागि होइन व्यक्तिगत स्वार्थका लागि बढी प्रयोग भइरहेको पाएको छु । सदियौंदेखि चलिआएको शासकिय हिंसा, मान्यताको साँघुरो घेरा तोड्न आवाज उठाइरहदाँ हामीले आफ्नो मात्र समस्या केन्द्रमा राखेर अरुको समस्या नजरअन्दाज गर्न थालेका छौं । समस्यामा परेका, पिल्सिएकाहरू नै आपसमा विभाजित छौं । विभिन्न वहानामा विभाजित हामीहरूको यही कमजोरी बुझेर सत्ताधारी नामक बिभेदक हामीहरूलाई ‘फुटाउ र राज गर’ नीतिमा सफल भइरहेका छन् ।

तँपाईको लेखनमा मानवीय संवेदनाको बिषयबस्तु अत्यन्तै सुक्ष्मरुपमा आइरहेको हुन्छ । तर पछिल्लो केही दशकपछि साहित्यमा आदिवासी सौन्दर्य चेतनाको बिषयबस्तु उठान भएर आईरहेको छ । यसलाई कसरी बुझ्न जरुरी छ?
–संसारका हरेक अवयबहरूको आफ्नै मुल्य होला तर मानिसको जीवन मेरा लागि सबैभन्दा महत्वपुर्ण हो । बिचार, दृष्टिकोणभन्दा एक कदमअघि म जीवन र जगतलाई प्रेमको नजरले हेर्छु र स्विकार्छु । मानवीय संवेदनाविनाको मान्छे जति अग्लो चिन्तक भए, जति सभ्य समाजको भए पनि मलाई स्विकार्य छैन । आदिवासी सौन्दर्य चेतना हरेक भूगोल, समयको, सबैभन्दा पूरानो, वैज्ञानिक, व्यवहारिक साँस्कृतिक सौन्दर्य हो । यसलाई हृदयबाट नै स्विकारेर अघि बढेका देशहरू नै वर्तमान अवस्थामा संसारका शक्ति सम्पन्न राष्ट्रको रुपमा स्थापित छन् । आदिवासी सँस्कृति मात्र होइन लामो अभ्यासपछि निर्माण भएको विश्वास पद्धति हो । जसले प्रकृतिको लय सम्हालेर अघि बढछ । प्रकृति नै जीवनको मुख्य स्रोत हो ।

तपाईंको लेखनलाई के कुराले प्रभाव पारेको छ ? प्रेम, मानवीय संवेदना कि न्याय ? विशेष नेपाली साहित्य लेखनमा आउनुपर्ने तर छुटेको बिषयबस्तु के होला ?
आम मान्छेको जिन्दगीलाई के के कुराले प्रभाव पार्न सक्ला ? यसको ठ्याक्कै उत्तर छैन मसँग । मेरो लेखनमा पनि यस्तै प्रभावहरू आउँछन् । कुनै पनि बिचार वा आस्थाको ऐठन चेतनामा लिएर बाँच्ने मान्छे होइन म । मेरो बिचारमा न्याय र अन्याय पनि नियतसँग जोडिन्छ जस्तो लाग्छ । उर्जामाथि अध्यन गरेका चिन्तकहरू बोली, शब्दभन्दा नियत शक्तीशाली हुनेमा विश्वास राख्छन् । तँपाई हामीले जति मिठो बोले पनि, लेखे पनि नियत खराब छ भने त्यसको अर्थ लाग्दैन । मलाई निश्चित दृष्टिकोणहरूसँगै साहित्यमा समग्रता समेटिनु पर्छ भन्ने लाग्छ । समय र सन्दर्भ अनुसार फरक–फरक विषयहरू केन्द्रमा आउँछन् जान्छन् । समय सापेक्षित तिनको मुल्याङकन वा अवमुल्याङकन हुन जाला तर एउटा बिषयलाई बुझाई, मतलबको केन्द्रमा स्थापित गरिरहदाँ ओझेल परेका बिचारहरूलाई पनि निशेध नै गरिहाल्नु पर्छ भन्ने लाग्दैन । तीनको पनि सम्बोधन भइरहनु पर्छ ।

पटक पटक तपाईंले राष्ट्रियताको बिषयलाई उठाउदै आएको देखिन्छ । साहित्यमा पहिचानको बिषय पनि त्यतिकै मुखरित भएर आएको देखिन्छ । राष्ट्रियता र पहिचानबीच मा के भिन्नता छ ?

राष्ट्रियता भनेको अमुर्त भाव हो । भोगाईका आधारमा कसैलाई राष्ट्र सहज लाग्छ भने उसले प्रत्यक्ष रुपमा राष्ट्रको गुणगान गाउला । कसैलाई असहज लाग्छ भने उसले राष्ट्रलाई गाली-प्रश्न गर्ला । यी दुवै कोणमा राष्ट्रियता झल्कन्छ् । तर यहाँको सत्ता आत्म प्रशंसाको भोको भएको हुनाले गाली, प्रश्नलाई महशुस गर्न शक्तैन । एउटा मान्छे आफैमा सबथोक हो । देश, राष्ट्र, भूगोल, भाषा, बिचार, सँस्कृति, पहिचान आदि सबै । उसलाई सम्पूर्ण रुपमा सम्मान सहित (पहिचान सहित) बाँच्न दिइएको छ कि छैन ? राष्ट्रले उसलाई कसरी लिएको छ । उसको अस्तित्व स्विकारेर या दुत्कारेर । राष्ट्रसँगको उसको व्यवहार पनि त्यस्तै हुनपुग्छ । न्युटनको गति सम्बन्धिको तेस्रो नियम हरेक व्यक्तिमा पनि लागु हुन्छ ।

तपाईं आफै फिल्मसगँ लामो समयदेखि संलग्न हुनुहुन्छ । नेपाली सिनेमाहरु अन्तर्राष्ट्रिय बजारमा कहाँ छ ? के हाम्रो सिनेमाहरुमा मौलीकता हराउदै गएको हो ?
–आफुले भन्न मन लागेका विषय, घटनालाई उपयुक्त माध्यम रोज्ने क्रममा साहित्य, रङगमंच, फोटोग्राफी हुँदै म चलचित्रमा आइपुगेको हुँ । मैले कुनै पनि विधामा योगदान पुर्याउनलाई काम गरेको भने होइन । स्वयमलाई मुल्याङकन गर्दा म धेरै कुरामा कमजोर छु जस्तो लाग्छ । प्रत्येक क्षण केही कुरा सिक्न भने रहर गर्छु, कोशिष गर्छु । वास्तवमा चलचित्र आफैमा नयाँ भाषा (भिजुअल ल्याङवेज) हो । यसलाई देशीय ट्याग, मेकरको नागरिकता, सँस्कृति र भाषाको आधारमा दिइने हो । नदिदाँ पनि यो आफैमा पूर्ण भाषा हो नै । एकथरी छन् , चलचित्रलाई रोजीरोटी, हाइफाइ, मनोरन्जनका रुपमा मात्र लिने । उनीहरूका लागि समाज, जिम्मेबारी, बिचारभन्दा पनि बजारको माल हो चलचित्र । माल बिकाउन उनीहरूले आफ्नो उर्जालाई प्रयोग गरेको पाइन्छ।अर्कोथरी चलचित्रकर्मी छन् जो अन्तराष्ट्रिय बजारमा कुन प्रकारका हाम्रा कथाहरू बिक्छन भन्ने थाहा पाएका । उनीहरूलाई संसारमा चलचित्रको नविन प्रयोग के के हुँदैछ सम्मको ज्ञान छ तर विडम्वना चलचित्रको निर्माण फन्ड पाउने लोभमा आफ्नो मौलिक कथाहरूलाई बिदेसीले कसरी हेर्न चाहान्छन् त्यही आधारमा ढाल्छन् । यो गलत हो । केही चलचित्रकर्मी भने आफ्नो कथालाई विश्वसनीय ढंगले भन्ने पनि छन् । विषय र रुचीको आधारमा सायद कस्तो चलचित्र निर्माण गर्ने भन्ने अर्थ लाग्दो हो ती चलचित्रकर्मीहरूलाई । मलाई भने आफ्नो कथा इनामेल नदली, पोसाक नउतारी इमानदारीताका साथ भन्नुपर्छ जस्तो लाग्छ ।

जसरी राजनैतिक घटनाक्रमहरू क्रमबद्व रुपमा नेपाली आम नागरिकले बिहोर्नुपर्यो । यसको असर कला साहित्यमा पर्यो जसले गर्दा हाम्रो लेखकहरुबाट कलाकर्मीहरुबाट त्यो दुष्टिकोणबाट साहित्य आएन सिनेमा बनेन भन्ने बुझाई पनि छ तँपाईं यसमा के भन्नुहुन्छ ?

धेरैको त्याग, बलिदानबाट , लामो राजनैतिक उतारचढावबाट, आजको व्यवस्थासम्म हामी आइपुगेंका हौं । प्रयोग र असरका हिसावले संसारकै उत्कृष्ठ व्यवस्था हो संघीय लोकतान्त्रिक गणतन्त्र । जहाँ हामीले आफ्नो हक, अधिकार, बिचार, प्रश्नहरू राख्न पाएका छौं । निर्धक्क प्रश्न गर्न पाउनु सामान्य कुरा होइन । विडम्बना चाहीं हामीले संसारका विभिन्न बिचार, बाद, व्यवस्था, चिन्तनको बारेमा अध्यन गरयौं तर त्यसलाई हामीले व्यबहार र चरित्रगत हिसावले व्यवस्थापन गर्न जानेनौं । प्रश्न अरुलाई गर्न पाए गज्जव मान्यौ । आफुलाई प्रश्न कसैले गरे दुश्मनी व्यवहार गर्छौ । यीनै सार कुराहरूबाट लेखक, चलचित्रकर्मी आदि कोही पनि अछुतो छैनौं । आफ्नो हक अधिकारको कुरा अघि बढाईरहदाँ, हामीले अरुको हक अधिकार पनि छ है भन्नेसम्म हेक्का राख्दैनौं । स्रष्टाहरूले अलमलिएको समाजलाई दिशानिर्देश गर्नु पर्ने हो । केहीहदसम्म यो काम भइ रहेको पनि छ तर नगन्य मात्रामा । धेरै स्रष्टाहरू बिचारको वकालत गर्ने नाममा निष्चित बिचार र व्यक्तिको दास बनेका छन् । दास मानसिकताले बिषयवस्तुलाई न्याय दिन सक्तैन ।

अन्तमा जीवन के रहेछ एक आम नागरिकको हिसाबले, एक कविको हिसाबले, अथवा निर्देशकको हिसाबले ?

‘स्वयं म को हुँ’ भन्ने एउटा प्रश्न अग्लो बाँचेको छ मभित्र । सामाजिक, साँस्कृतिक, जातीय, बैचारिक, लैङ्गिक , सिर्जनशील परिचय भन्दा पनि भित्रको ‘म’ लाई खोजिरहेछु । मैले गरिरहेका सारा सिर्जनशील , सामाजिक अभ्यासहरू-संवादहरू पनि स्वयंलाई उत्खनन गर्नमा प्रयोग गरिरहेछु सायद । ‘म’ लाई मैले भेटेको छैन । तसर्थ आजका मितीसम्म जीवन के हो भन्ने प्रश्नको उत्तर दिने हैसियत राख्दिन ।

तपाईको प्रतिक्रिया