नेपाली कविता लेखनमा संगीता रोका मगर सुन्दर कविता लेख्ने कविको रुपमा परिचित हुनुहुन्छ । स्थायी घर रोल्पा , पेसाले फेसन डिजाइनर तर निबन्ध र कविता विधामा खास रुचि राख्नुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
यात्रामा कोहि
म-
कोसिसमा थिएँ हरदम बचाउन सिंगो आफुलाई
आफु मात्रै राख्न
आफुसँगै राख्न
आफु जस्तै राख्न
र ,सायद उ पनि……
यात्रा मन पराउने उ उस्तै म
यात्रा हुनु कहिँ टाढाको
यात्रामा हुनु सिर्फ हामी दुई
आफ्नो जस्तो लाग्ने अन्जान ठाउँ
यात्रामा यात्रारत त हामी अतीतमा थियौँ
यसरी त उक्लिइदो पो रहेछ एक-अर्काको जिन्दगी ।
आफ्नो जस्तो लाग्ने अन्जान ठाउँ
पाइतलाले नाप्दै नाप्दै-गोरेटो बाटो
कहिले उ अघि-कहिले म अघि
हिँडेको अन्तै पुग्न थियो
हिँडेपछी यसरी त
एक-अर्काको मन सम्म पो पुगिँदो रहेछ।
वेगवान चिसो हावा भन्दा पहिल्यै
छोइसकेपछि उसले यो मन
अन्जान-अन्जान हृदयमा केही उथल-पुथल भइसकेछ।
खोला किनाराको सानो बस्ती
गुनगुनाउदै सँगसँगै हिँडीरहेको ओत लाग्दै हेर्दै थिएँ
साराहरु आएपुगेर ठिक वरपिपल मुन्तिर
जब नियाल्यौँ एक-अर्कालाई
अनि पो थाहा भयो वर्षात पो हुँदै थिएछ
निथ्रुकै भिजिसकेछौँ कतिबेला
वर्षात मन नपराउने उ र उस्तै म।
कतिबेला –
अल्झिएछ कतै त मन यस्तो स्निग्ध चेहरामा
जहाँ बदनियतको कुनै छाँया थिएन
जहाँ अतितसँग कुनै गुनासो थिएन
अल्झिएछ कतै त जिन्दगी
म घुमिरहन्छु-एक चक्रपथ उसको जिन्दगी
या उ घुमिरहन्छ एक चक्रपथ -मेरो जिन्दगी ।
यात्रा मनसम्मको
जब-
अनिदो बसेर थाक्दैनन रातहरु
जब अन्धकार हुन्छ आँखै अघि
र फेरि उसैगरी उजेली हुन्छ।
तब
छोडीदिनु सबै मायामोह
छोडीदिनु भागदौड
हटाउनु सही र गलतको फ्रेम आँखाबाट
र
झिसमिसेमा निस्किनु चुपचाप -चुपचाप
गन्तब्यको थाहा नहोस्
बस् निस्किनु र चोकमा जानू
सबैभन्दा पहिले जुन गाडी आउँछ चढ्नु त्यसैमा
जतासम्म्म गाडीको अन्तिम गन्तव्य हो त्यही सम्म जानू
या बिचमा ओर्लिनु
बस् जस्तो मन लाग्छ उस्तै गर्नु ।
जानु कुनै अन्जान भुगोलमा
चढ्नु उकाली झर्नु ओराली
बटुवासँग बात मार्नु धित मरुन्जेल।
कहिँ पुग्ने हतार नहोस्
कसैले केही भन्छ कि भन्ने सकस नहोस
केहि गर्नुपर्ने बाध्यता नहोस।
हिँड्नु थकाइलाई पनि थकाइ नलागुन्जेल हिँड्नु
कहिलेकाँंही – कहिलेकाँही
यसरी हिँड्नु र पुग्नु आफ्नै मनसम्म ।
नयाँ घर
छानो चुहिएको थाहा पाए पो अर्को फेरिन्छ
घर मक्किएको थाहा पाए पो लिपपोत गरिन्छ
जब,
खण्डहर बन्छ
भत्किएर अनायासै घर
निस्तेज हुन्छ- दृश्य
खण्डित हुन्छ- मन- जिन्दगी
जब,
अचानक छत हट्छ आफुमाथिको
भास्सिन्छ टेकेको भुगोल
ढल्छ आस्थाको मन्दिर
रुन्छ मान्छे
आकाशको छानो- धर्तीको सुकुलमा
बाँच्नुको अभिलाषा हुँदैन।
दुर-दुर सम्म पनि
देखिँदैन कतै
सानै भएपनि- आशाको क्षितिज
यस्तो लाग्छ
जस्तो–
सगरमाथा छातीमा जमेको छ
कर्णाली आँखामै बगेको छ
एक बिन्दुपछि
दुखेर थाक्छन्- दुःखहरू
बगेर सकिन्छन्- आँशुहरू
विलीन हुन्छ खण्डहर- प्रकृतिमा
हराउँदै जान्छ खण्डहर
सम्हालिँदै जान्छ मान्छे
बुझ्छ अब उसले कि
जग बलियो थिएन त्यो घरको
र त भत्कियो यसरी
भत्किनु थियो एकदिन जसरी पनि
भत्कियो समय छँदै
नभत्किएको भए समयमै
टालटुल गर्नमै बित्ने थियो- उसको जिन्दगी
अब
ऊ उठ्छ मेहनत गर्छ
अर्को घर ठड्याउँछ बलियो जग राखेर
सायद पहिलेको भन्दा राम्रो ,बलियो ….
प्रियतम !
त्यो अनायासै भत्किएको घर हाम्रो सम्बन्ध थियो।