रमेश के.सी.

भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो ।

दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्ररी बुझ्न सकेका छैनन । यी सभ्यतागत राष्ट्रहरु वेस्टफेलिया १६४८ को सन्धिले निर्धारण गरेको राष्ट्र राज्यको अवधारणाबाट अलिक बेग्लै हो । भारतको उत्तर तर्फको हिमालयले यसलाई चीन भन्दा अलग्ग राख्यो । चीनले प्राचिनकालदेखि नै संसारको केन्द्र अर्थात मध्य अधिराज्यको धारणामा विश्वास गरयो । चीन आफुलाई विशेष ठान्दछ । भारत आफुलाई बहुल र विविध ठान्दछ । आज चीनको उदयले विश्वभरी हलचल ल्याईरहेको छ । राष्ट्रहरु बीचको सम्बन्धमा नयाँ गठबन्धन र सामरीक परिवर्तन ल्याइरहेको छ । चीनको उदयले दक्षिण एसियामा सबैभन्दा चिन्तित भारत छ ।

राष्ट्रपति सी जीङपीङको उल्फ वारीयर कुटनीतिको सक्रियताले भारत संसारमा आफ्नो भूमिकाको रणनीतिक स्वायत्तताको खोजीमा रहेको छ । हाल साल भारतीय पूर्व विदेश सचिव एवं रणनीतिकार श्याम शरणको नयाँ किताब “हाउ चाइना सीज इन्डिया एण्ड द वर्ल्ड ” बजारमा आएको छ । चीनमा राजदुत रहि सकेका तथा मन्डारीन भाषामा बोल्ने शरण चीन–भारतको इतिहास, सम्बन्ध र वर्तमान अवस्थाबारे विभिन्न शिर्षक अन्तर्गत घोत्लन्छन ।

भारतमा बुद्ध धर्मको स्थापनापछि चीनीयाहरु तक्षशीला र नालन्दा विश्वविद्यालयमा अध्ययन ,अध्यापन गरे र चीनमा बुद्ध धर्म लगेको विवरण दिन्छन । अन्ततगोत्वा भारतको बुद्ध धर्म चीन पुगेर ताओवाद र कन्फुसीयाली धर्म बीच  हुर्कन्छ । चीनीया भीक्षुहरु हिमाल नाघेर भारतमा अध्ययन गर्न आउँथे भने बोधीधर्म नामका भिक्षु चीनमा बुद्ध धर्म प्रचार गर्न आए। सामुद्रीक यात्री जङ हे भारतका क्यालीकुतसम्म समुद्र मार्गद्वारा आए । प्राचिन भारत र चीन बीचको व्यापारीक सम्बन्धलाई पनि उनि केलाउँछन । तर स्वतन्त्रता पछि दुवै देश नयाँ सम्बन्धको निर्माणमा लाग्छन ।

चीनका माओ र भारतका जवाहर लाल नेहरु बीच सम्बन्ध विस्तार हुन्छ । तर तिब्बत समस्या शुरु भएपछि तीब्बती नेता दलाई लामाको भारत निर्वासन पछि सम्बन्धमा तिक्तता आउँछ । सन् १९६२ मा भारत चीन बीच भएको सीमायुद्धमा भारत पराजीत हुन्छ । तिब्बत समस्या भारत चीन सम्बन्धमा पेचिलो मुद्दा हो । भारतमा दलाई लामाको निर्वासन चीनलाई कुटनीतिक व्यवहारमा घोच्ने काँडा हो । उता चीन पाकिस्तानको सबै मौसमको मीत्रता भारतको चुनौति हो । पाकिस्तानलाई आणविक हतियार सम्पन्न तुल्याउन चीनको सहयोग छ ।

आज अमेरिका चीन तनाव बढदै गर्दा विश्व कुटनीतिमा भारतको महत्व बढेर गएको छ । एसियामा क्वाड, अकुस जस्ता अमेरिकी रचनाका अन्तराष्ट्रिय गठबन्धन चीनलाई लक्षित गरेर बनेका छ्न। चीनको बेल्ट एण्ड रोड अभियान, संघाईको अपरेशन अर्गनाइजेसन जस्ता गठबन्धनहरु तिब्र रुपमा विस्तार भएका छन । भारतको निती गठबन्धन भन्दा भारतको स्वार्थ जहाँबाट पुरा हुन्छ त्यही भुमीका खेल्ने भारतीय विदेशमन्त्री एस. जयशंकर बताउछन ।

एक दशक अघि  भारत चीन मीलेर जानुपर्ने चिन्डिया धारणा आएको थियो भने अहिले चिमेरीका भएको छ । भारत चीन सम्बन्धमा सीमा विवाद सम्भावित युद्धको कारण हुन सक्छ । अरुणांचल र लद्धाखमा दुवै राष्ट्रका सैनिकहरु बीच  छिटपुट भीडन्त हुँदै आएको छ ।

पश्चिमाहरुलाई चीनको उदयले ४ सय वर्ष देखि  कायम रहेको पश्चिमाहरुको विश्व व्यवस्थालाई चीन केन्द्रित विश्व व्यवस्थाले विस्थापित गर्छ कि भन्ने चिन्ताले घेरेको छ । विश्व सामरिक  खेलमा भारतको पनि महत्व बढेर गएको छ । तर भारतको ४ ट्रीलीयन डलरको अर्थतन्त्र छ भने चीनको १७ ट्रीलियनको अर्थतन्त्र छ । चीन  नाममात्रको साम्यवादी तर कन्फुसीयाली राष्ट्रवादलाई लिएरअगाडी बढेको छ । सन् २०४९ सम्ममा चीन आफुलाइ विश्वको सबै भन्दा शक्तिशाली बनाउन चाहन्छ । त्यसैले चीनको उदयलाई पश्चिमको अन्त्यको रुपमा बुझेका छन् लेखकले ।

लेखक शरणले चीनको रैथाने र मौलिक अवधारणाहरुलाई पाठक समक्ष ल्याएका छन् । उता विद्वान कान्ती बाजपेयी चीन र भारत कहिले मिल्न नसक्ने  विषम छिमेकीहरु भएको टिप्पणी गर्छन । चीनिया प्रध्यापक ज्याङ वे वे चीन पश्चिमी भन्दा बेग्लै सभ्यताको मुलुक भएकोले यहुदी र इसाई परम्पराको मानव अधिकार र प्रजातन्त्र लागु नहुने बताउछन् ।

लेखक श्याम शरण चीनलाई बुझ्न सैनिक रणनितिकार सुनजुको युद्धकला सम्बन्धि रणनीति बुझ्न आवश्यक छ भन्छन । उनी चीनको उत्पति देखि  वर्तमान सम्मको रणनीति विवरण भारतसँगको सम्बन्धमा चर्चा गर्छन । कौटल्य नितिका अभ्यासकर्ता श्याम शरणको यस अघि “हाउ इन्डिया सिज द वर्ल्ड ” पुस्तक प्रकाशित भएको थियो । यो पुस्तकलाई त्यही पुस्तकको पुरक रचना मान्न सकिन्छ । उनको भनाईमा भारत र चीन कतिपय मामलाहरुमा आपसमा आमने सामने भए पनि दुवै देशका जनतामा सही समझदारीको कमी छ ।

२०औं शताब्दीको प्रारम्भमा भारतीय दार्शनिक एवं कवि रविन्द्रनाथ टैगोर चीन भ्रमणमा गएका थिए । तर उनले उपनिवेशबाट आएको हुनाले सही सम्मान पाएनन् । आज चीन र भारत बीच सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध छ । तर विश्व महाखेलमा आइरहेको उथल पुथल बाट चीन र भारतको सम्बन्ध निर्धारण हुने देखिन्छ ।

किताब : “हाउ चाइना सिज इन्डिया एण्ड द वर्ल्ड ”

लेखक : श्याम शरण

प्रकाशक : जगरनट

मूल्य : १,२७५ ने.रु.

पेज : २८६

तपाईको प्रतिक्रिया