नेपाली साहित्यमा कविता लेखेर आफ्नो अलग्गै स्थान बनाउने ध्याउन्नमा हिडीरहेका युवा कविहरु मध्ये कवि गगन योक्पाङ्देन विचार शिल्पको दृष्टिकोणबाट हेर्दा जबरजस्त र शक्तिशाली रुपमा उदाएका कवि हुन् । उनका कविताहरुले भुईमान्छेका कथाहरु शसक्तरुपमा उठाएको हुन्छ । न्याय समानता र मानवीयताको आवाजलाई स्थापित गर्न आग्रह गरेको हुन्छ । बिरोधका स्वरहरु यति शसक्त र शालिनरुपमा आएका हुन्छन् की तपाईलाई उनका कविताहरुले त्यसै त्यसै तानीरहेको हुन्छ । साच्चै भन्ने हो आफ्नो पुस्तामाझ उनि लामो रेसका घोडा हुन । प्रस्तुत छ साताको तीन कविता ।

परिवार सहित परदेशिएका छिमेकी प्रति

भित्तामा नानीहरूले कोरेका कखराहरु छन
भित्तामा नानीहरूले बनाएका मुर्त अमुर्त चित्रहरु छन
र भित्तामा भित्तै भएर टासिएका धमिला सम्झनाहरु छन ।

र्याकमा पुराना जुत्ताहरु छन बस् लगाउने खुट्टाहरु छैनन
दराजमा नानीहरूका सा साना पाइजामाहरु छन
बस तोते बोलि र खित्काहरु छैनन
बगैंचामा फुलिरहेका घामफुल र घडी फुलहरु छन
बस सजाउने चुल्ठोहरु छैनन।

कोहि बेला भित्ताको चराको चित्र
भुर्रर उडेर कहि दुर जान्छ
त्यसबेला तिम्रा बाआमा तिम्लाइ आशिर्वाद र सम्झनाहरु पठाउछन
सायद त्यसबेला उता तिमीलाइ बाडुली लागेको हुनु पर्छ।

कोहि बेला तिम्रा बा एक्लै मन सङ्ग
तिम्रो कुरा गर्दै बरबराइ रहेको हुन्छ
सायद त्यसबेला उता तिम्रो घाँटी खसखसाइ रहेको हुनु पर्छ।

हरेक साँझ बिहान पहिलो गाँस खानु अघि
तिम्री आमा तिमीलाई सम्झिन्छिन
सायद त्यसबेला उता तिम्रो छाती चर्किएको हुनु पर्छ।

हरेक चाडपर्वहरुमा
तिम्रो घरलाई तिम्रो अभाव खड्किन्छ
त्यसबेला तिमी सस्तो रेडिमेट शुभकामनाका
शब्दहरु लिएर बिद्युतिय यन्त्र मार्फत झुल्किन्छौ
हेप्पी दशै
हेप्पी तिहार

तिम्रा शुभेच्छाहरु आएर तिम्रा बिरामी आमालाई
डोर्याउदै डोर्याउदै अस्पताल पुर्याउदैन
तिम्रा शुभेच्छाहरु आएर पिडिबाट लडेर घाइते
तिम्रा बाको शरीरमा तेल लगाएर मालिस गरिदिदैन

तिम्रा शुभेच्छाहरु आएर
तिम्री आमाको लट्टा परेको केश कोरिबाटि गरि दिदैन
र एउटा कुरा यो पनि कि ,
तिम्रा शुभेच्छाहरुले मात्रै यो देशको उन्नति सम्भब छैन

तिम्रा बालाइ पाखन्बेद र ठूलो ओखती पिधेर खुवाउन
तिम्रै हात चाहिन्छ
तिम्री आमाको उध्रेको चोलि सिलाउन
तिम्रै हात चाहिछ र ,
यो बन्जर भुमिमा सम्भावनाको एउटा एउटा घामजुन
रोप्न पनि तिम्रै हात चाहिन्छ
त्यसैले फर्क दाजै फर्क यो देश तिम्रै अनुपस्थितीमा
स्वयंभुको आँखा भएर टोलाइ रहेछ ।।

मेरो पानीको जीवन

हुन त म सागर पुग्छु भनेर
बगेको एक खोला थिए ।

ध्यानस्त पहाडका पाउहरु श्रद्धाले सुमसुम्याउदै
ढुंगाको हृदयमा पानीको कबिता लेख्दै
तिर्खाले जलि रहेका बगरहरुमा शितलता भर्दै
खहरे, खोल्सी र जरुवाहरुलाइ पानीका हातहरुले
अङ्गालेर डोर्याउदै
खेत खलीयानहरुमा डुलेर किसानहरुलाई उत्साह बाड्दै
दोभान र किनाराहरुलाइ बग्नुको नियात्रा सुनाउदै

निरन्तर यसरी बग्दा बग्दै मेरा पानीका खुट्टाहरु थाके
र म तल सिमसारमा एकैछिन
के पोखरी सुस्ताएको मात्रै थिए ।

कमल फुलले एक याम बैँस फुल्छु भनिन
र म अझै फराकिलो बनी दिए
माछिले एक कुर रहर हुर्काउछु भनिन
र म अझै गहिरो बनी दिए
हरेक रात जुन ममा दर्पण हेर्दै श्रृङ्गार गर्न आउथिन
र म अझै पारदर्शी बनी दिए।

कहिले किसानहरुका खेतमा कुलकलाएर डुल्दा डुल्दै
कहिले जुनले अनुहार हेर्ने दर्पण बनिदा बनिदिदै
कहिले माछा, कछुवा र चेपागाडाका आखाहरुमा सपना
रोपिदिदा रोपिदिदै
त कहिले तन्नेरी बनेर पानी फुलहरुसंग
पिरती गाँस्दा गास्दा गस्दै
जरुर अलमल भएकै हो
जरुर गन्तव्यमा पुग्न देर भएकै हो ।

फेरि एकोहोरो बग्नु मात्रै पनि त जीवन होइन
फगत बगेर सागर छुनु मात्रै पनि त
जिवनको सम्पूर्णता होइन
तसर्थ म अलिकति पानी बगे, अलिकति जीवन बगे

मेरो पानीको खुट्टाहरुमा स्फुर्ति अझै उस्तै छ
मेरो पानीको बिश्वास अझै पनि धमिलिएको छैन
मेरो पानीको हिम्मतमा लेउ लागि सकेको छैन
म मेरो लक्ष्यबाट कति पनि तिरोहित भएको छुइन

बग्नुनै मेरो धर्म हो
बग्नु नै मेरो परिचय हो
बग्नु नै मेरो लक्ष्य हो
हिमतालको काखमा बसेर मैले सागर पुग्छु भनेर
पानीको कसम खाएको थिए
तसर्थ मसंग बग्नुको बिकल्प छैन।

बालक पवन हलुवाको दिनचर्या

उसको विद्यालय भने पनि
फिलहाल उसले बाचेको संसार भने पनि
सबकुच त्योहि हो
-पप्पु चिया नास्ता घर

जहाँ उ हररोज
मैला भाडाबर्तनहरुको अनुहार पढ्छ
फोहोर टेबलकुर्सीहरुको कानेगुजी सफा गरि दिन्छ
संकोचले खुच्चिएको पर्दाहरुको लाज सुमसुम्याइ दिन्छिन्
खुजुलिग्रस्त भित्ताहरुको जिउ कन्याइ दिन्छिन ।

जब जिब्रोको स्वाद भागा चिया जान्दछन
जब ग्राहकको अनुहार हेरेरै
भोकको डिग्री अनुमान गर्न सक्षम हुन्छन्
जब बासी खाजाको साजि बिवेचना गर्न दक्ष हुन्छन्
र जब मालिकको इशाराको ब्याकरण बुझ्ने हुन्छन्
तब उनको ग्राजुयसन पूरा हुन्छ।

अडर ले, नास्ता राख, पानी दे, जुठो सोर, गाली सुन
मालिकको पिटाइ खा !
फेरि अडर ले, नास्ता राख , पानी दे, जुठो सोर गाली सुन
मालिकको पिटाइ खा !

कलमा थुप्रिएका छन जुठा भाडाबर्तनहरु
जा गएर आफ्नो नियतीको गित गा

हरेक बिहान फोहोर भाडा बर्तनहरुबाट उदाएर उसको
नियतिको अध्यारो घाम
साझ फोहोर भाडा बर्तनहरुमै गएर अस्ताउछ।

पसल छेउको सडक जो आफु मात्रै हतार हतार
दौडि रहन्छ
उसलाई कहिले पुर्याउदैन डोर्याउदै पाठशालाको
उज्यालो ढोका सम्म
कवि, लेखक, पत्रकार , प्रोफेसर, वकिल र
उच्च ओहोदाका हाकिमहरु आउछन अनि उनले नै बनाएको चिया नास्ताको स्वाद लिएर जान्छन्
तर उनिहरुले कहिले देखाएनन जीवनको पल्लो क्षितिज सम्म पुग्ने सुनौलो गोरेटो
र कुनै पनि संघसंस्थाका बुज्रुकहरु आएर प्रेमले उनको आँखाको कचेरा पुछिदिदै रोपि दिएन फुल जस्तै सुहाउँदिलो सपना

अभाव र गरिबीहरुले डामेका निलडामहरु छन
पीडा र सकसहरुले चिथोरेका खतहरु छन
जो उ हर रात आशुका सन्जिविनीहरुले जाति हुने
विश्वासले सुमसुम्याइ रहन्छिन ।

यसरी-
हरेक साझ उसको दाइने आँखाबाट उदाएर चिसो जुन
देब्रे आँखामा गएर अस्ताउ छ ।।

तपाईको प्रतिक्रिया