क्रान्ति सुब्बा

हङकङ सरकारले खुकुलो पारेका नयाँ नियमहरु

हङकङ सरकारले नोभेम्बर १७ तारीख बिहीबारदेखि थिम पार्क, हेयर सैलुन, म्युजियम ,गेम सेन्टर ,धार्मिक स्थल आदि ठाउँहरूमा सक्रिय अनुगमनको सट्टा निष्क्रिय अनुगमन  मात्र जारी राख्ने भएको छ।
निष्क्रिय अनुगमन भनेको नियमन गरेको स्थलमा छिर्न पुर्व अनिवार्य रूपमा भ्याक्सिन पास वा भ्याक्सिन छुटको प्रमाणपत्र देखाउनु पर्दैन तर सेवाग्राहीले खोपको तीन खुराक भने प्राप्त गरेको हुनु पर्दछ। यसका साथै अन्य केही महामारी विरोधी मापदण्डहरु पनि  खुकुलो बनाइएको छ, जसमा हङकङ बाहिरबाट आएका एम्बर कोड होल्डर मानिसहरूलाई पनि ती नियमन गरिएको परिसरमा प्रवेश अनुमति दिइएको छ।  तर ती परिसरमा प्रवेश गर्दा भने लिभहोमसेफ एपको क्युआर कोड स्क्यान गर्नु पर्दछ।

खेलकुद तथा घोडा  रेसमा सहभागी दर्शकले पनि खुल्ला मैदानमा खान पिउन सक्नेछ्न ।

कृषि, मत्स्यपालन र संरक्षण विभाग अन्तर्गतका ४० भन्दा बढी कन्ट्री पार्क क्याम्पसाइटहरू र लीजर एन्ड कल्चरल सर्भिसेस डिपार्टमेन्ट अन्तर्गत रहेको पुई ओ क्याम्पसाइटहरू पनि नोभेम्बर १७ तारिख बिहीबारबाट  पुन खोलिने भएको छ।

संचालकद्वारा सक्रिय जाँच नहुने परिसरको नामावली :



– मनोरञ्जन खेल केन्द्रहरू;

– मनोरञ्जन स्थलहरू (बिलियर्ड हल  र सार्वजनिक बलिङ्ग हल ), सार्वजनिक स्केटिङ रिङ्कहरू बाहेक;

– सार्वजनिक मनोरञ्जन स्थलहरू (जस्तै थिम पार्क, संग्रहालय),  सिनेमा हलहरू र प्रदर्शन स्थलहरू बाहेक,जब दर्शकहरूलाई त्यहाँ खाना वा पेय पदार्थ उपभोग गर्न अनुमति दिइने त्यसपछि यो नियम त्यहाँ पनि लागु हुनेछ।

– क्लब हाउस;
-माजोङ खेल्ने परिसर;
– कार्यक्रम आयोजना हुने परिसर;
– हजाम पसल / हेयर  सैलुन;
– धार्मिक परिसर;
– सपिङ  मलहरू;
– डिपार्टमेन्ट स्टोरहरू;
– हाट बजार;  र
– सुपरमार्केटहरू।

संचालकद्वारा सक्रिय जाँच हुने स्थानहरु :


– खानपान(क्याटरिङ) परिसर;
– बार/पबहरू;
– बाथहाउसहरू;
– फिटनेस केन्द्रहरू;
– सार्वजनिक स्केटिङ रिंक;
– सिनेमाघर र प्रदर्शन स्थलहरू,
– पार्टी हुने  कोठाहरु,
– ब्यूटी पार्लर र मसाज सेन्टरहरू;
– क्लब/नाइट क्लबहरू;
– कराओके स्थलहरू;
– खेलकुद परिसर;
– स्विमिमिङ पुलहरु;  र
– क्रूज जहाजहरू।


कोभिड नियम खुकुलो पार्ने सरकारी रवैयाको आलोचना

सरकारले जनजीवनलाई सामान्य बनाउने नाममा प्रत्येक दुई हप्ताको अन्तरमा फुकी फुकी अलि अलि गर्दै कोभिड नियम खुकुलो पार्ने शैली तर्कसंगत नभएको टिप्पणी गर्दै सरकारको आलोचना गरेकी थिइन एक  स्पष्टवक्ताको रूपमा चिनिने स्वतन्त्र सांसद डोरेन कंग युक-फुनले नोभेम्बर ११ तारीख शुक्रबार । यो शैली भ्रामक र अराजक भएको दाबी उनको रहेकोे थियो ।

लमेकर डोरेन कङ

उक्त दिनको एक रेडियो कार्यक्रममा बोल्ने क्रममा उनले  सरकारी कदमको स्वागत गरेता पनि ज्यादै कम पैमानामा कोभिड नियम सहज गराइएको उनको टिप्पणी थियो ।

छोटो अवधिमा शहरको कोविड नियमहरूमा बारम्बार परिवर्तन गर्नाले नागरिकहरु भ्रमित भएको उनले उल्लेख गरिन।

कङको प्रश्न थियो – यदि खुकुलो पारिएको कोभिड नियमले नागरिकको दैनिक जीवन र व्यवसायिक गतिविधिहरुलाई सामान्य अवस्थामा पुर्याउदछ भने किन फेरि शहरको अर्को इलाकामा फरक नियमहरु लागु गरिन्छ ?

उनले कोभिड नीतिहरू बिरोधाभाष रहित र तर्कसंगत  छन् या छैनन्  सुनिश्चित गर्न अधिकारीहरूलाई यो सहजीकरण संयन्त्रको समीक्षा गर्न आग्रह पनि गरेकी थिइन।


२०२३ को गर्मी महिना सम्ममा हङकङको अवस्था सामान्य हुने

सरकारका एक विशेषज्ञ सल्लाहकार इभान हुङले नोभेम्बर १३ तारिख बिहान एउटा टिभी कार्यक्रममा बताए अनुसार हङकङ अर्को गर्मी याम सम्ममा पूर्णतया सामान्य अवस्थामा फर्किसक्ने अपेक्षा गर्न सकिन्छ र सबै किसिमका क्वारेन्टाइन पनि हटिसक्ने छ भनेका थिए ।

उनले हङकङमा ६०% देखि ७०% वयस्कहरू कोभिड-१९ बाट संक्रमित भएको र ८०% वयस्कहरूले  खोपको पुर्ण मात्रा लगाइसकेको जानकारी पनि दिए। मिश्रित किसिमको साझा रोग प्रतिरोधात्मक क्षमता स्थापित भैसकेको अहिलेको अवस्थामा भाइरसको  छुट्टै  नयाँ संस्करणको प्रवेश नभएमा पुष्टि दैनिक केसको संख्या बिस्तारै घट्दै जाने विश्वास गरिएको छ । उनले हङकङ अर्को वर्षको सुरुमा इन्फ्लुएन्जाको पीक सिजनमा प्रवेश गर्ने कुरा सम्झाउदै इन्फ्लुएन्जा र कोभिड महामारीको दोहोरो मारमा परेपछि दुइटा भाइरसका कारण संक्रमणमा जटिलताहरू आउन सक्छ,  फलस्वरूप पुष्टि  केसको संख्या अचानक बढ्न सक्ने आकलन गरेका छ्न।

उनले चौथो इन्जेक्शन सबैले लाउन आवश्यक नभएको पनि बताए तर उच्च जोखिममा रहेका व्यक्ति वा विदेश जाने योजना भएका नागरिकले भने लगाउनुपर्छ भनेका थिए ।

इभान हुङ


अस्पताल प्राधिकरणले हालै निकट सम्पर्क सुची (संक्रमितको संसर्गमा रहेका व्यक्ति) मा परेका कर्मचारीहरूलाई चाडो भन्दा चाडो काममा फर्कने  अनुमतिको  दिएको थियो । यस सन्दर्भमा उनले संक्रमणको जोखिम ठूलो नभएकोले सम्बन्धित संयन्त्र कुनै बेला लागू गरेर व्यवस्थापन गर्न सकिन्छ  र यो व्यवस्था हङकङका सबै नागरिकहरू सम्म विस्तार गर्न सकिन्छ भनेका थिए । उनको बुझाइमा हालमा घनिष्ठ सम्पर्क सुचीमा परेका व्यक्तिहरूलाई संक्रमण हुने जोखिम त्यति उच्च छैन। संक्रमण भैहाले पनि यसका लक्षणहरू हल्का नै हुन्छन्। वास्तवमा घनिष्ठ सम्पर्क सुचीमा परेका व्यक्तिहरू जसले खोपका तीन मात्रा ग्रहण गरिसकेका छ्न उनीहरुको निम्ति क्वारेन्टाइन बस्नुपर्ने आवश्यकतालाई  हटाउदा पनि हुन्छ भन्ने मान्यता विकास हुदै गरेको अवस्था छ।  यति हो उनीहरुलाई जारी गरेको ५ दिने एम्बर कोडको अवधिमा उनीहरूलाई मास्क हटाएर बस्नुपर्ने ठाउँहरू जस्तै रेस्टुरेन्ट आदिमा प्रवेश गर्न दिनु हुन्न  र र्यापिड एन्टिजेन टेस्ट (RAT) हरेक दिन सम्पन्न गर्नुपर्छ ।


सामाजिक दुरि सम्बन्धि नियम हदैसम्म नरम गर्नुपर्ने माग

हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले पनि नोभेम्बर १५ तारीख मंगलबार एक रेडियो कार्यक्रममा बोल्दै अधिकारीहरूले कोविड नियम सहज बनाउन अब सानोतिनो कदम चाल्नुको कुनै औचित्य नभएको बताएका थिए । उनले लिभहोमसेफ क्युआर  कोड स्क्यानिङ गर्नुपर्ने लगायतका अन्य औपचारिकताको लागि राखिएको अव्यहारिक नियमहरु पनि अविलम्ब खारेज गर्न अनुरोध गरेका थिए ।

स्वास्थ्य विज्ञले वर्तमान कोविड अवस्थालाई ध्यानमा राख्दै सरकारले सहरको सामाजिक दूरी सम्बन्धि नियमलाई हदैसम्म नरम तुल्याउने किसिमको साहसी  कदम चाल्नुपर्ने बताए।

उनले  एक कदम अगाडि बढेर तीन खुराक खोप लगाइसकेका व्यक्तिहरूलाई अनिवार्य न्यूक्लिक एसिड परीक्षण गर्नुपर्ने नियमबाट छुट दिनुपर्ने बताएका थिए र  एन्टिजेन टेस्टबाट नतिजा नेगेटिभ आएका तीन खोप प्राप्त क्लोज कन्ट्याक्ट् लिस्टमा परेकालाई आइसोलेसनमा जानुपर्ने नियम हटाउनु पर्छ भनेका थिए ।

उनले हङकङ बाहिरबाट आउने आगन्तुकलाई एम्बर स्वास्थ्य कोड जारी गर्ने व्यवस्था र अनिवार्य न्यूक्लिक एसिड परीक्षण गर्नुपर्ने नियम पनि खारेज गर्नुपर्ने बताएका थिए ।

हो पाक ल्यङ

स्मरण रहोस् हालमा हङकङ भित्रीने यात्रुहरूले होटल क्वारेन्टाइनबाट गुज्रनु पर्दैन तर उनीहरूलाई तीन दिनको लागि एम्बर कोड भने दिइन्छ र यो कोड भएकाले तीन दिनसम्म रेस्टुरेन्ट वा अन्य नियमन गरिएका ठाउँहरूमा जान पाउदैन साथै शुन्य जोड तीन ( “०+३” ) को व्यवस्था अन्तर्गत नियमित रूपमा कोभिड परीक्षण गर्न आवश्यक छ।

माइक्रोबायोलोजिस्ट होले ब्राजिलमा भएको अध्ययनले  सिनोभ्याक भ्याक्सिनको दुई डोज लिएपछि तेस्रो डोजको रूपमा सिनोभ्याक भ्याक्सिन लगाएका व्यक्तिमा भन्दा वायोएन्टेक भ्याक्सिन लगाएका व्यक्तिमा संक्रमण र रोगको गम्भीरता कम देखिएको  बताए।

त्यसकारण उनले सिनोभ्याक भ्यक्सिनको दुई खुराक लगाइसकेका नागरिकले तेस्रो खुराकको रूपमा भने वायोएन्टेक भ्याक्सिनलाई रोज्दा हुन्छ भनेका थिए ।


नोभेम्बर १७ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,०५२
.स्थानीय केस संख्या : ७,५१९
.पिसिआरबाट पुष्टि केस संख्या : १,७२० (८७१ वटा पुष्टि केस ,७३८ वटा लक्षणहिन केस र १११ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ५,७९९

.आयातित केस संख्या : ५३३ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ४७४ जना ( १०४ वटा पुष्टि केस ,३४३ वटा लक्षणहिन केस र २७ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ५९
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: २८८
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १६८
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ७७

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,०२५,६५४
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ९८७,२२३

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले नोभेम्बर १७ तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२१ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १२ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३४ वटा

.स्थानीय भेरिएन्ट
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : ४७
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १६ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : १
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : ५५ वटा 

.नोभेम्बर ८ देखि नोभेम्बर १४ तारीख बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ८४ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : २,०१२,८७७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,५६९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,८००,७९५

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १२
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि  ) : १०,३५६ जना । जसमध्ये १०,२६६ जनाको मृत्यु अस्पतालमा भएको  अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८६ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,५६९

.अस्पतालमा भर्नारत बिरामीको संख्या : २,३०३( नयाँ भर्ना भएका बिरामी : ३६१)
.अक्सिजन थेरापीमा रहेका बिरामीको संख्या : २११
.भेन्टिलेटरमा रहेका बिरामीको संख्या : ११
.आइसोलेसन वार्डमा रहेका बिरामीको संख्या : ५५२
.दोस्रो तहको वार्डमा रहेका बिरामीको संख्या : १९०
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन सेन्टर रहेका बिरामीको संख्या : ५७४ ( नयाँ बिरामीको संख्या : २५१)
.नयाँ क्रीटिकल बिरामीको संख्या : १०
.नयाँ गम्भीर बिरामीको संख्या : १२
. कुल क्रीटिकल बिरामीको संख्या: ३८
.कुल गम्भीर बिरामीको संख्या : ६२
.आइसियुमा रहेको बिरामीको संख्या : ९
.२४ घन्टाको अवधीमा निको भएका बिरामीको संख्या : २५० (डिस्चार्ज भएका बिरामी : २०२ जना)

तपाईको प्रतिक्रिया