बेलायती सेनामा ईन्जिनियरिङ पेसाको कर्म र त्यो जागिरे जीवनबाट पेन्सन पाकेपछि हाल बेलायत सरकारमै बाताबरण अधिकृतको रुपमा कार्यरत , पछिल्लो एक दशक यता निक्कै संवेदनशीलरुपमा वातावरण जोगाउन लागि परेका यी लेखक जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणमा पनि उत्तिकै लागि पर्ने एक अभिनन्ता हुन् । नेपाली साहित्यको बिविध बिधामा आधा दर्जन कृतिहरु प्रकाशित गरिसकेका लेखक विजय हितान आफ्नो लेखनीको सुरुवाती समयदेखि नै पर्यावरणलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने सोचबाट अभिप्रेरित छन् सबै जसो उनका सृजनाहरु पर्यावरणमा केन्द्रीत छ । प्रस्तुत छ साताको तीन कविता ।

बन्दुक होईन बा मलाइ कलम चलाउन सिकाउनुहोस !

दुइसय बर्षसम्म बन्दुक बोकेर हिँडे
मेरो काँध धेरै थाक्यो…..
बन्दुकले बनतिर ताक्ला भनेको आफ्नै घरतिर ताक्यो
घरकै आगनमा पड्क्यो
सत्रुको रगत बगाइदेला भनेको
धेरै पत्नीहरुको रातो सिन्दुर बगाइ दियो…..
मानिस हिड्ने यी बाटाहरुमा एम्बुस थापेर
हामीले आफ्नैहरु माथि घात गर्यौ ।

परिबन्धको यो समयमा उभिएर म सोचीरहेछु
बन्दुक उठाएर आफ्नो भुमि जोगाउँला सोचेथेँ
आफ्नै भुमि गुमाउन पुगेँ…..
परायलाई पराजित गरेर
आफुलाई बिजयी बनाउला सोचेथेँ
आफैलाई हरुवा बनायो
बन्दुकको गोली सत्रुको छातीमा बर्षियो भनेको
मेरै अस्तित्वलाई तर्साएर गयो।

नियतीको मनोदशामा उभिएर सोचीरहेछु
यति लामो जीवन भोगेर आईसक्दा
बन्दुकले मेरो मस्तीष्कलाई युद्धबन्दी बनाइरहेको बेला
अब म यस्तो सन्धी लेख्ने छु
जसमा सुगौली र त्रिपक्षीय सन्धी भङ्ग हुनेछ
उन्नाइस सय सन्तानब्बेको विभेदपुर्ण निति फेरिने छ
बा अब मलाई बन्दुक होइन कलम चलाउन सिकाउनुहोस ।

देबकोटाले त्यसै भनेका रहेनछन् जरुर साथी हामी पागल !

यस्तै छ हाम्रो हाल –
स्यानो तिल जत्रो आईभोरी, माला घाटीमा झुन्डाऊन
बडेमानको पहाड जत्रो हात्ती, ढालिन्छन माझ जंगल

आलंकारीक जाबो बनाऊन, एऊटा डाबरको दाब
चोरी-सिकारीद्वारा मारिन्छन, निकाल्न गैंडाको खाग

आफ्नै घरको फोहर मैला, सौचालयका ढल
अर्काको आगन र गल्लीतिर, बढारेर फालिन्छ

जलवायु परिवर्तन, ऊत्सर्जन गराऊनाले कार्बन
बढ्दो छ समुन्द्रको सतह
चर्कदों छ तापक्रम, पग्लदो छन् हाम्रा हिमाल
नाकछोपी हिंड्नुपर्छ, प्रदुषणको जाल

मासीईसके बन्यजन्तु, फॉडेर हरिया जंगल
रित्तीईसके बालुवा, ठडाएर कंक्रिटका महल

त्यसैले,
मानवीय अस्तित्व परेकोछ धरापमा, गरिराखे ख्याल
यो धरती गुज्रंदैछ संकटबाट, होसियार
जरुर साथी, नबन पागल
अब त सुधार, तिम्रो चाल ।

डस्टमान्डु

मेरो ढुङ्गासँगको नाता
हतौडी र घनले नतोड
मेरो कन्दरासँगको सम्बन्ध
डोजर लगाएर बिच्छेद नगर ।

मेरो पहाडसँगको गाँठो
मेरो माटोसँगको पहिचान
कोदाली र गैँतीले छियाछिया नपार ।

नत्र भने
म वायुमन्डलमा हावासँगै मन्डारिन्दै
सवारी साधनको धुँवाको मुस्लोसँग बाँधिएर
तिम्रो नाक, मुख, र आँखा भित्र छिर्दै
तिम्रो शरीरलाई उल्टै छियाछिया पार्छु ।

मलाई माटोको डल्लाबाट नतोड
मेलम्चीको पानी
र बर्षातको बाछिटाले मलाई छम्किने काम नगर
त्यो छम्काइ दुई दिनको हो
भोली म घाम र बतासको सहायताले
तुँवालोमा लुकेर फेरी उडिहाल्छु
अनी बर्सीन्छु भुईभरि

तिमीले मेरो स्वरुपहरुलाई क्याफे, रेस्टुरेन्ट, सुपर मार्केट
मिटिङ, अफिस, घर जताततै भेट्नेछौ
साला।।। यो कस्तो धुलो भन्दै
मलाई ढोका बाहिरै टकटकाउने छौ
म त्यतिबेला तिम्रो फोक्सोको ढोकाभित्र
तिमीले थाहै नपाउने गरी छिरिसकेको हुनेछु ।

र,
त्यसपछी अस्पतालको सैयामा
प्रदुषणका खोकिहरु खोक्दै पल्टने छौ
त्यसैले
मेरो यस धरतीसँगको सम्बन्धमा दरार पार्ने प्रयत्न नगर
मलाई मेरो माटो र ढुङ्गाबाट नछुटाउ
मेरो अस्तित्व ढुङ्गासँग गासीएको छ
मेरो पहिचान माटोसँग जोडीएको छ
म जुनदिन यी सबैबाट छुट्टीन्छु
तब म धुलो बन्छु डुलिरहन्छु पागल जस्तै
तिम्रै शहर बस्ती , घर गल्ली चौक र हावाहरुमा
म माथी यस्तै अत्याचार चलीरहन्छ भने
बन्न के बेर ??
सुन्दर, मन्दिरै मन्दिरको कान्तिपुर मरुभूमि
र , बदलिने छ पहिचान काठमाण्डुको डस्टमान्डु शहर भनी ।

तपाईको प्रतिक्रिया