तीसको दशकको शक्तिशाली कवि विष्णुविभू घिमिरे आफ्ना पुस्तामाझ शक्तिशाली कवि मध्ये एक हुन् । नेपालको राजनीतिक , सामाजिक र शैक्षिक आन्दोलनका विभिन्न आन्दोलनहरुमा ससक्त भुमिका खेलेका यी कविका कविताहरुले तीसको दशकमा सामाजिक र राजनितीक परिवर्तनको निम्ति खेलेको भुमिका उल्लेखनीय छ । यी कविताहरु तीसकै दशकमा लेखिएका कविताहरु हुन् । घिमिरे नेपाली साहित्य क्षेत्रमा थोरै लेखेर धेरै चर्चा पाउने मध्ये एक कवि हुन् । सरकारको विभिन्न निर्णायक भुमिकामा बसीसकेका घिमिरेका कविताहरुले सामाजिक अन्याय , अत्याचार र असमानताको बिरोध गरिहेका हुन्छन् प्रस्तुत छ साताको तीन कविता ।
चोट
चोट जस्तै बढिरहेछ
उमेर चोट जस्तै चहर्याईरहेछ
कुनै औषधीले थेक्न सकेन यो चोट
हरपल औषधी पचाउँदै बढिरहेछ यो चोट ।
हिड्नुपर्ने अनेक सडक बाँकी छन्
हेर्नुपर्ने अनेक उल्लनसहरु थाती छन्
लेख्नुपर्ने थुप्रै हरफहरु यथावत छन्
सबैलाई उछिनेर बढिरहेछ चोट ।
खोइ मै रहेछ मान्छे भन्नू पनि
प्रत्येक मान्छे प्रत्येक चोट त रहेछ
प्रत्येक छाती प्रत्येक प्रहार खप्ने अचानो त रहेछ
बाजेले यही चोट भोगे
बाबुले यही चोट स्याहारे
हामी छोराछोरीहरु यही चोट सुम्सुम्याइरहेछौं
यहाँ धेरैजसो असुरक्षामै यस्ता चोटहरु बढेका छन्
यहाँ सधैजसो अविश्वासमै यस्ता चोटहरु हुर्केका छन् ।
जीवन चोटको पर्याय भएर
अक्षर चोटको अर्को रुप भएर
जीवनमा सबभन्दा चाँडो डस्न सक्ने यो चोट
अहिले विभिन्न कलमहरु हुँदै समस्त राष्ट्रमा झल्कीरहेछ ।
तपाईंलाई पत्यार लाग्दैन होला महाशय
साँच्चै भन्दैछु मेरा प्रिय मित्र
अचेल मलाई अक्षर पढ्न डर लाग्छ
अचेल मलाई कलम समात्न कहाली लाग्छ
कस्तो चाँडो आक्रान्त बन्दै फैलने कस्तो रहेछ
यो चोट अहिले प्रत्येक नानीहरुको आँखामा लेखेको छु
यो चोट अहिले प्रत्येक जवानहरुको सपनामा भेटेको छु
चोटै चोटको वाणमाथि भीष्म राष्ट्र छट्पटाइरहेछ
एक मुठ्ठी पानीका लागि आत्मा तड्पाइरहेछ ।
मलाई अहिले
भन्नेहरु कुन्नि के भन्छन्
सुन्नेहरु कुन्नि के सुन्छन्
बुझ्नेहरुले के बुझेका हुन्
नबुझ्नेहरुले के नबुझ्न खोजेका हुन्
अहिले म भने भिडमा हराएको छु
यो भीडमा आफ्नो अभिभावक खोजीरहेछु
यो भीडको घुइँचो र होहोल्लाले थिचिएर
एक बौलाहा वर्तमान बितिरहेछु
एक हुरी वर्तमान भोगीरहेछु
दिशाहिन शुन्य , केवल शुन्य बितिरहेछु
निभ्न लागेको चुरोटको पर्याय म
आफुलाई घरीघरी बाँच्नुको आशामा झोसिरहेछु
सल्काएर आफ्नै मनको दागबत्ती प्रतिक्षण
म दुरुस्त लाटोकोसेरो ब्युँझेको छु
धेरै भयो हरपल प्यास लागेको लाग्यै छ
मलाई अहिले आगो पिउने तिर्खा जागेको छ
मलाई अहिले बारुद चपाउने भोक लागेको छ ।
कति डरलाग्दो
मन प्रतिक्षण कहालीलाग्दो कालो रात
मलाई अहिले सर्वत्र डढेलो सल्काउने बजोड रहर उठेको छ
संझौता कहाँनिर गर्नु खोइ !
धतुरो खाएर लर्बराईरहेको यो समयसँगै
कहिले यता ढुनमुनिंदै , कहिले उता रिङ्दै
बिना ट्राफिकको यो सडकमा यात्रा र मृत्यु उस्तै लागिरहेछ ।
मेरो कविताको अनुरोध
यो नगरको बीच पेटीमा उभिएर
कन्या, सुकन्या र सुश्री , श्रीमतीहरुसँग
एक दिनको उनीहरुको श्रृङ्गार माग्न मन लाग्छ
यस्तै कुमार, सुकुमार र श्रीमानहरुसँग
एक दिनको रक्सी माग्न मन लाग्छ
माग्दा केको पाप लाग्ला
माग्दा, हो अवगाल आईलाग्ला
अलिकति लाज लाग्ला
अलिकति अप्ठ्यारो लाग्ला
तर यी बजेटबाट मैले भविष्यको
एउटा सुन्दर योजनाको सपना देखेको छु ।
देशमा अलिकति सडक बनाउन सकिन्छ
भत्केमा मन्दिरहरु टालटुल गर्न सकिन्छ
चुडिएका पुलहरु जोड्न सकिन्छ
स्कुलहरु खोल्न सकिन्छ
खुट्टा हात नपाएका , आँखा गुमाएका
तर बाँच्न मन नपाएकाहरुलाई
अलिकति जीवन बाँड्न सकिन्छ ।
भन्नुहोस् कन्या , सुकन्या र श्रीमतीहरु
तपाईंहरु बुझ्नुहुन्छ
तपाईंहरु यो देशको माया गर्नुहुन्छ भने
के एकदिनको श्रृङ्गार दान गर्न सक्नुहुन्छ ?
मलाई थाहा छ यो सब बिदेशबाट आईरहेछ
एक दिन श्रृङ्गार र खुस्बु छोडेर स्वदेशी बन्न सक्नुहुन्छ ?
म प्रश्न गर्छु
ए श्रीमान कुमार , सुकुमारहरु हो
तपाईहरुको एक दिनको रक्सीको बजेटले
यहाँ हजारौंको आँखा खुल्छ
के तपाईंहरु उज्यालो मन पराराउनुहुन्छ ?
तपाईंहरु एक दिन नमाती के आफू र आफ्नो देश सोच्नु सक्नुहुन्छ ?