२०१३ मा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाउँमा जन्मेका कृष्ण बाउसेकाे हालसम्म साहित्यका विभिन्न बिधामा लेखिएको एक दर्जन कृति  प्रकाशित छन् ।
लामो समयदेखि कविता कर्ममै रमाएका बाउसेको कविताहरुले सामाजिक  न्यायको निम्ति वकालत गरिरहेका हुन्छन् । पछिल्लो समयमा पर्यावरणीय सोचसँग नजिक रहेर कविता लेखिरहेका यी सर्जकको कविताले मानवीय मूल्य र मान्यताको बिषयमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

फूलको प्रश्न

अत्तर बनाएको भए
सुगन्ध छरिरहेको हुन्थेँ ।

माटोमा झर्न पाएको भए
नयाँ बिरुवा बनेर
फेरि फुलिरहेको हुन्थेँ ।

भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै
टिपेर मन्दिरमा पुर्‍यायौ
र हुर्यायौ मूर्तिको पाउमा मलाई  ।
‘कसैका देवता खुशी हुन्छन् भने ठीकै छ’ भने
र सहिदिएँ ।

माला बनाउने भन्दै
धागोसहितको तीखो सियोले मुटुमै घोच्यौ
र बन्दी बनायौ मलाई ।
‘कसैको खुशीकोलागि पीडा सहनु पनि धर्मै हो’ भने
र सहिदिएँ ।

तर,
हदै पार गरेर
सेलाएको भन्दै
फेरि किन मिल्कायौ मलाई नदि-किनारमा लगेर ?
र त्यसपछि
किन आफै थुक्न थाल्यौ मलाई
‘दुर्गन्धित फोहर’को विशेषणले आभूषित गरेर ?

मैले त
आफूसँग भएभरको सौन्दर्य
तिम्रै आँखामा पोतिदिएकै थिएँ त !
मैले त
आफूसँग भएभरको सुवासलाई
तिम्रै नाकमा घसिदिएकै थिएँ त !
तर त्यसको बदलामा
गर्नै नहुने कृत्य गर्दै
आफैले समेत पिउने
र आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै
तिमीले नै
पुर्‍यायौ मलाई दुर्गतिको यो खाडलमा ।

जवाफ देऊ
ए कृतघ्न मान्छे !
दिएका हौ तिमीले मलाई
मेरो
कुन अपराधको सजाय ?

  पर्याप्रेमको गुञ्जन

कुनै दिन
हावाहुरीपछिको कुनै बिहानीमा
रुखसँग सोधेथेँ –
         झरेछन् तिम्रा सारा पातहरू
         अब के गर्छौ ?

कुनै दिन
घनघोर वर्षाले बितण्डा मच्चाएको भोलिपल्ट
क्षतबिक्षत खोलाको किनारलाई सोधेथेँ –
              तिम्रो शोभा बढाइरहेका
              सबै रुखहरूका जरा खोतलेर
              बगाइदिएछ बाढीले ।
              अब के गर्छौ ?

कुनै दिन
मक्किएर ढलेको थाङ्ग्रोमाथि
थचारिएको लहरोलाई सोधेथेँ –
       पुगिरहेको छैन
       तिम्रा पातपातमा सूर्यको प्रकाश ।
       अब के गर्छौ ?

आज
मेरा सारा प्रश्नहरूमाथि
उनीहरू सबैले एकमुष्ट प्रतिप्रश्न ठड्याए –
            “ए नाङ्गिएको कालापत्थर !
              तँ जसका कारणले
              हिमाल भएर ठडिएको थिइस् नि
               त्यसलाई त
               हिउँपहिरोले बढारेर लग्यो ।
               अब भन् –
               तँचाहिँ के गर्छस् ?”

पहिला
मेरा प्रश्नहरू सुनेर उनीहरू दुखित  हुनेगर्थे
अहिले
आफ्ना देहमुक्त पितालाई सम्झँदै
उनीहरूको सामूहिक  प्रश्न सुनिरहँदा
मेरो हृदय अवाक् चर्किरहेछ ।

मेरा प्रथम गुरु उहाँ भन्ने गर्नुहुन्थ्यो –
         “तैँले रुखसँग व्यवहार गर्दा
           मसँग व्यवहार गरेजस्तै गर्नू !
           तैँले
           नदिसँग व्यवहार गर्दा
           तेरी आमासँग व्यवहार गरेजस्तै गर्नू
           र
           तैँले आकाश र धर्तीसँग व्यवहार गर्दा
           तेरा बाजेबजै
           र तेरा छोराछोरीहरू सँग जस्तै व्यवहार गर्नू ! “

तर
जथाभावी रुख काट्दा
भुसुक्कै बिर्सेँछु मैले त्यो कुरा ।
नदिमा विषालु फोहर फाल्दा
भुसुक्कै बिर्सेँछु मैले त्यो कुरा ।
पहाडलाई आफ्नै आँखाअगाडि डोजरले बलत्कार गर्दा
भुसुक्कै बिर्सेँछु मैले त्यो कुरा ।

आफैले विषाक्त धुवाँ-धुलोलाई मलजल गर्दा
भुसुक्कै बिर्सेँछु मैले त्यो कुरा ।

आँखैअगाडि अक्षम्य अपराध भएको टुलुटुलु हेर्नेले
कसरी भन्न सक्नु र ‘म सबैको उद्धार गर्छु ‘ !

त्यसैले त
आफ्नालागि अरूले तेर्साएका प्रश्न
र कानमा गुन्जिरहेका उहाँका वाणीहरू सामू
यसबेला
म शतप्रतिशत निरुत्तर छु
र छु
आफ्नो मन भित्रैदेखि एकदमै लज्जित ।

मेरा प्रथम गुरु !
तैपनि
एउटा संकल्प चाहिँ गर्दैछु म अहिल्यै –
बाँचेको स्वाङ पारिरहनुमा कुनै आनन्द नहोस् मलाई
म आफै
एकाकार नहुन्जेल
तपाईंको अन्तर हृदयको पर्याप्रेमको गुञ्जनमा !

प्रकृति र हामीहरू

प्रकृति
हँसाउन खोजिरहन्छिन् सधैँ
खोजिरहन्छौँ रुने बहाना हामीहरू ।

प्रकृति
उचाल्ने काँध थापिरहन्छिन् हरदम
ओर्लन खुड्किला खोजिरहन्छौँ हामीहरू ।

थेग्न सकिरहेकी छैनन्
उनले हाम्रो बाढी
हुन त कुनै नदि नभएर
मात्र खहरेहरू हौँ हामीहरू ।

फुलौँ भन्छिन् उनी
लालीगुराँससँगै पाखामा
उडौँ भन्छिन् उनी
चरीसँगै खुल्ला आकाशमा
तर खोस्छौँ उनको मुस्कान
विविध निहुँमा हामीहरू
तर काट्छौँ उनकै पखेटा
अनेकौँ बहानामा हामीहरू ।

एउटै भूमिका सन्तान हौँ भनेर के गर्नु !
कोही शासक भएर
विनाशको कर्ममा आवद्ध भएका छौँ हामीहरू
र कोही विद्रोही भएर
विनाशकै कर्ममा आवद्ध भएका छौँ हामीहरू !

” डढेलो नलगाऊ !” भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
” धुवाँ नबढाऊ !” भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
“पहाड त हो भनेर
मेरो आङमा
जथाभावी घाउ नलगऊ !” भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
“नीलो ग्रहलाई
पानी निख्रिनेगरी तताएर
चिता तुल्य नबनाऊ !”
भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
यसरी
हामी दुबैथरी अबुझहरूलाई
मान्छे हुनुको अर्थ लगाउँदा लगाउँदै
थकित थकित भैसकिन् प्रकृति ।

अब त
हामी होश हराएकाहरूलाई सुमार्गमा लगाउन
हाम्रै मूर्खतामा हाँसिरहेका कालापत्थरहरूलाई नै
हाम्रो विवेक हराएको खप्परमाथि
घोप्ट्याइदिन मात्र बाँकी छ उनले ।
अब त
हाम्रो सम्भावित विनाशको वृत्तचित्रलाई
हाम्रै मनमा कोची कोची
हाम्रै मस्तिष्कबाट छदाउन मात्र बाँकी छ उनलेे ।

तपाईको प्रतिक्रिया