धरान : सिद्धी नेवा परिषद धरानले प्रदान गर्दै आएको चन्द्र स्मृति पत्रकारिता पुरस्कार यसपटक अग्रज पत्रकार आनन्द श्रेष्ठलाई प्रदान गरिएको छ । स्वर्गीय सिद्धिमान गङ्गालक्ष्मी पलिखेको १५९ औँ जन्म जयन्ती तथा परिषदको सोह्रौँ वार्षिक साधारण सभामा शनिवार पुरस्कार प्रदान गरिएको हो ।

परिषदको धरान-७ स्थित भवनमा आयोजित एक समारोहका बीच  प्रमुख अतिथि सुनसरी-१ प्रदेश सभा (क) का नव निर्वाचित सांसद रमेश बस्नेतले पत्रकार श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए  । पुरस्कार अन्तर्गत नगद राशि २१ हजार रुपैयाँ र सम्मान पत्र रहेको थियो । सोही अवसरमा परिषदले धरानका स्कुल र क्याम्पसहरूका नेवार समुदायका २२ जना मेधावी विद्यार्थीहरुलाई  १० हजार रुपैयाँको दरले छात्रवृत्ति पनि वितरण गरेको थियो । उक्त पुरस्कार तथा छात्रवृत्तिहरू परिषदका विभिन्न दाताहरूले स्थापना गरिदिएका हुन ।

नवनिर्वाचित प्रदेश सांसद बस्नेतले सिद्धी नेवा परिषदको सामाजिक कार्य धरानमा उदाहरणीय रहेको बताउँदै पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्न पुरस्कारको स्थापना गरेर थप उल्लेखनीय कार्य गरेकोमा प्रशंसा गरे । परिषदकी निवर्तमान अध्यक्ष सरला कायस्थले दाताहरूको सहयोगमा सञ्चालित पुरस्कार तथा छात्रवृत्ति कार्यक्रमलाई संस्थाले निरन्तर बढाउँदै लैजानु पर्नेमा जोड दिइन् । पत्रकार श्रेष्ठले पुरस्कारले आफूलाई हौसला दिएको र नयाँ दायित्व थपिएको अनुभव गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका भूतपूर्व सभापति ५९ वर्षीय पत्रकार श्रेष्ठ २०४३ साल देखी पत्रकारितामा प्रवेश गरेका हुन् । वातावरण पत्रकारितामा क्रियाशील श्रेष्ठ ब्लाष्ट टाइम्सका संस्थापक कार्यकारी सम्पादक, डेलि मर्निड पोष्टका सम्पादक, प्रकाशक रहिसकेका छन् । काठमाण्डौको कामना प्रकाशन समूह, देशान्तर साप्ताहिकमा सम्बद्ध रहिसकेका श्रेष्ठ हाल दृष्टि साप्ताहिक तथा दृष्टि अनलाइनसँग सम्बद्ध छन् । हालै मात्र उनलाई नेपाल प्रेस काउन्सिलले पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । उनी हङकङ खबर अन्लाईन र क्रान्ति सुब्बा युट्युव च्यानल हङकङका नेपाल प्रतिनिधि पनि  हुन।

परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठको सभापतित्वमा भएको सभामा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदनहरू पारित गरिएको थियो । महासचिव महेश प्रधानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष भरत मोहन पलिखेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


पत्रकार श्रेष्ठको योगदानलाई बुझ्न सहज होस भनेर पाठक समक्ष सम्मान पत्रको व्यहोरालाई यहाँ राखिएको छ।

सम्मान कार्यक्रमको दृश्य (भिडियो )



  सम्मान–पत्र
श्रीमान आनन्द श्रेष्ठज्यू !
धरान – १३, सुनसरी
प्रदेश नं. १, नेपाल

विक्रम संवत २०२० साल वैशाख १५ गते पिता पुर्णकाजी श्रेष्ठ र माता डम्बर कुमारी श्रेष्ठको पुत्ररत्नको रुपमा धरान बजारको वार्ड नं. १३, सुनसरी जिल्लामा जन्मनु हुने यहाँले आफ्नो जीवनको उर्जावान समय पत्रकारिताको क्षेत्रमा समपर्ण गर्नुभई समाज परिवर्तनका निम्ती एक योद्धा र निर्भिक पत्रकारको रुपमा रहेर समाजको विकृति, विसंगति, अनियमिता र अन्याय विरुद्ध कलम चलाउनु भई समाजमा एक उदाहरणिय व्यक्तित्वको रुपमा स्थापित हुनु भएको छ ।  

विक्रम सम्बत २०४३ साल देखि हाल सम्म निरन्तर राष्ट्रको चौथो अंगका रुपमा रहेको पत्रकारिताको क्षेत्रमा संलग्न भएर त्यस ताका धरानबाट प्रकाशन हुने मर्निङ   टाईम्स राष्ट्रिय  दैनिकको सम्पादक प्रकाशक, व्लाष्ट टाईम्स राष्ट्रिय दैनिकको संस्थापक कार्यकारी सम्पादक, कामना प्रकाशन समितिको पुर्बी ईन्चार्ज, देशान्तर साप्ताहिकको पूर्व सम्बादाता, टुटुल्को हास्य व्यंग्य मासिक पत्रिकाको सम्पादक प्रकाशक, गणतन्त्र एफ एफको निर्देशक, दृष्टी साप्ताहिक तथा दृष्टी खबर अनलाईनको पुर्वी व्युरो ईन्चार्ज, क्रान्ति सुब्बा युट्युव च्यानल हङकङ तथा हङकङ खबर अनलाईन हङकङका नेपाल प्रतिनिधि र अन्य दर्जनौ स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुमा काम गरिरहनु भएका यहाँ पत्रकारिता क्षेत्रका एक कोषेढुंगा सावित हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको पूर्व अध्यक्ष, समाजबादी प्रेस संगठनको केन्द्रिय संस्थापक सदस्य, आदिवासी पत्रकार महासंघ सुनसरीको सल्लाहकार, नेवाःराष्ट्रि पत्रकार दबू सुनसरीको सल्लाहकार, वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्व प्रेस सल्लाहकार समेत रहनु भै पत्रकारिता क्षेत्रको विकास र व्यवस्थापनमा समेत पुरयाउनु भएको योगदानको कदर गर्दै राष्ट्रपतीबाट प्रेस काउन्सील राष्ट्रिय पत्रकारिता पुरस्कार र  दर्जनौ संघ संस्था र निकायबाट पुरस्कृत र अभिनन्दित यहाँ एक आर्दश व्यक्तित्व हुनुहुन्छ ।

पत्रकारितासँगै वातावरण तथा पर्यटन विकास केन्द्र (सेड) नेपालको अध्यक्ष र विभिन्न स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय सामाजिक संघसंस्थाहरुमा संलग्न भएर समाज विकाका लागि खेल्नु भएको भुमिका तथा  लेख रचनाको माध्यमबाट समाजलाई सकारात्मक सचेतना दिने कामका समेत तल्लिन भएर गर्नु भएको योगदान, अनवरतको लगन र अथक परिश्रम भावी पुस्ताको लागि सुनौलो ईतिहास बनेको छ ।  

समाजका विभिन्न पक्षहरु सँगै आफ्नो जातीय संस्कार र संस्कृतिलाई वचाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने महायज्ञमा सहयोगी बन्नु भई नयाँ पुस्तालाई हौसला र प्रेरणा दिनुहुने तपाईको अनुकरणीय कार्यको कदर गर्दै धरानको एक स्थापित संस्था सिद्धि नेवा परिषदको १६ औं साधारण सभा र  अग्रणी समाजसेवी दानवीर सिद्धिमान पलिखे र श्रीमती गंगालक्ष्मी पलिखेको १५९ औं जन्मजयन्तीको सुअवसरमा तपाई श्रीमान आनन्द श्रेष्ठज्यूलाई चन्द्र प्रसाद श्रेष्ठ (चन्द्र सर) पुरस्कारबाट सम्मान् गर्दछौ ।
शुभाय ।

तपाईको प्रतिक्रिया