क्रान्ति सुब्बा / विशेष रिपोर्ट

तीन वर्षपछि बल्ल चीन र हङकङ बीच क्वारेन्टाइन फ्री यात्रा यही जनवरी ८ तारिख देखि शुरु भएको छ। पहिलो चरणको क्वारेन्टाइन फ्री यात्राको पहिलो दिनमा विभिन्न ७ वटा सिमानाका खुला गरिएको थियो । यद्यपि हङकङका कार्यकारी प्रमुख जोन लीले यथाशीघ्र सम्पूर्ण  १४ वटा सिमानाका नै खोल्ने योजना रहेको जनवरी ८ तारीख बताएका थिए ।

हङकङ सरकारले जनवरी ५ तारीख केन्द्रिय सरकार, गुआङडोङ प्रान्तीय सरकार र शेन्जेन नगरपालिका सरकारसँगको छलफल र समन्वयपछि र केन्द्रिय सरकारले स्वीकृति दिएपछि हङकङ र मेनल्याण्ड चीनका नागरिकहरु सिमा नाका क्रस गर्दै यही जनवरी ८ तारीखबाट आवतजावत  गर्न पाउने भएको घोषणा गरेको थियो । दुई स्थान बीचको यात्रा विभिन्न चरणमा क्रमबद्ध सुचारु गरिनेछ भनिएको थियो । मुल भुमि चीनसँगको यात्रालाई सामान्य तुल्याउनको निम्ति यात्रालाई  प्रगतिशील, व्यवस्थित र व्यापक रूपमा कार्यान्वयन गर्ने  उद्देश्य सरकारको रहेको छ।

संसार कै लामो समुद्री पुल – मकाउ हङकङ जुहाइ ब्रीज

पहिलो चरणको सिमा पुन: खोल्ने प्रक्रियाको सुरुवात हुने क्रममा लोक मा चाउ चेकपोइन्टले शेन्जेनबाट हङकङ आएका भिजिटरको पहिलो हुद्दालाई स्वागत गरेको थियो । प्रयोगमा आएका हङकङ चीन बीचका सिमा नाकाहरु हुन – १) हङकङ अन्तर्राष्ट्रिय विमानस्थल (हङकङ र मुल भूमि बीचको उडानहरू), २)हङकङ-जुहाई-मकाउ ब्रिज ,३) सञ्चालनमा रहेका शेन्जेन बे कन्ट्रोल प्वाइन्ट, ४) हङकङ-मकाउ फेरी टर्मिनल,५) चाइना फेरी टर्मिनल, ६)मान काम तो कन्ट्रोल पोइन्ट र ७) लोक मा चाउ स्पर लाइन/फुटियन कन्ट्रोल प्वाइन्ट।

यात्रालाई सामान्य रूपमा पुन: व्यवस्थित रूपमा सुरु गर्न हङकङ सरकारले संबंधित स्थान पुग्नलाइ ट्याक्सी सटल बस आदिको पनि व्यवस्था गरेको छ साथै कुन चेक पोइन्टबाट दैनिक कति जना व्यक्तिहरूले सिमा पार गर्न सक्छन् त्यसको संख्या तोकिदिएको छ । सम्बन्धित व्यक्तिहरूले यात्रा गर्नु अघि अनलाइन बुकिङ गर्न आवश्यक छ । साथै हङकङ र मुल भूमिबीच ओहोरदोहोर यात्रा गर्ने व्यक्तिले यात्रा गर्नु अघि ४८ घन्टा भित्र नेगेटिभ नतिजा आएको  न्यूक्लिक एसिड परीक्षण पेस गर्नु पर्दछ।

हङकङ सरकारले पहिलो चरणमा लागु भएको खुला यात्राको अनुभवलाई यथाशीघ्र समीक्षा गर्ने र त्यसपछि चीनको संबंधित निकायसंग परामर्श गरि बाकी चरणको व्यवस्थापनमा पनि लाग्ने बताइएको छ। बाकीका चरणहरु लागु गर्ने क्रममा थप  बोर्डर कन्ट्रोल पोइन्टहरु पनि थप्दै जाने भनिएको छ। सोही अनुसार बोर्डर कन्ट्रोल पोइन्ट मार्फत जाने व्यक्तिहरूको तोकिएको दैनिक संख्या बढाइनेछ।  चिनियाँ नयाँ वर्षपछि मेनल्याण्ड चीन र हङकङको सीमा वारपार गर्ने विद्यार्थीहरूलाई आमनेसामने कक्षामा सहभागी हुन प्रत्येक दिन आवतजावत गर्न अनुमति दिइनेछ।

यात्रालाइ सुचारु गर्ने प्रक्रिया

सिमाना पुनः खोलिएको पहिलो चरणको यात्रा प्रक्रियाको विस्तृत विवरण  निम्नानुसार छन्:

(१) हङकङ अन्तर्राष्ट्रिय विमानस्थल (हङकङ र मेनल्याण्ड बीचको उडानहरू), हङकङ-जुहाइ-मकाउ ब्रिज, हङकङ-मकाउ फेरी टर्मिनल र चाइना फेरी टर्मिनलको यात्रु ह्यान्डलिङ क्षमता उनीहरूको यात्रु सम्हाल्ने अधिकतम क्षमतामा निर्भर पर्दछ र यी चेक पोइन्ट प्रयोग गर्दै गन्तव्य प्रवेश गर्ने यात्रुहरू दैनिक संख्या तोकिने छैन । (निजी कार र हङकङ-जुहाई-मकाउ ब्रिज हुँदै यात्रा गर्ने क्रस-बाउन्डरी भाडाका कारहरू बाहेक; हेर्नुहोस् बुँदा (३)।  यी बोर्डर कन्ट्रोल पोइन्ट मार्फत दैनिक एकतर्फी रूपमा यात्रा गर्ने यात्रुको संख्या करिब १० हजार रहने अपेक्षा गरिएको छ;

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल

(२) भु मार्गमा रहेका बोर्डर कन्ट्रोल पोइन्टहरु जस्तै सेन्जेन बे कन्ट्रोल पोइन्ट, मान काम तो कन्ट्रोल पोइन्ट र लोक मा चाउ स्पर लाइन/फुटियन कन्ट्रोल पोइन्टहरु पुर्व अवस्थाको सामान्य समय तालिका अनुसार नै पुनः संचालनमा आउनेछ्न र सबै यात्री क्लियरेन्स सेवाहरू (निजी कार क्लियरेन्स सेवाहरू, यदि कुनै भएमा) पनि  पुन: सुरु हुनेछन।

(३) सुरक्षित, व्यवस्थित र सहज रूपमा सामान्य यात्राको पुन: आरम्भ भएको सुनिश्चित गर्न सबै व्यक्तिहरू (मेनल्याण्ड चीनबाट हङकङ आएर चीन फर्कने चीनका बासिन्दाहरू, चीन गएर हङकङ फर्कने हङकङका बासिन्दाहरू र चीनबाट हङकङ फर्कने विदेशी आगन्तुकहरू बाहेक) माथि उल्लिखित तीनवटा भु मार्गमा रहेका बोर्डर कन्ट्रोल पोइन्टहरु मार्फत मेनल्याण्ड चीन वा हङकङ यात्रा गर्नु अघि अनलाइन बुकिङहरू गर्न आवश्यक छ।
यी बोर्डर कन्ट्रोल पोइन्टहरु मार्फत दैनिक एकतर्फी सिमा पार गर्ने व्यक्तिको कुल संख्या सामान्यतया  ५,००० (शेन्जेन बे कन्ट्रोल पोइन्ट -१०,००० , मान काम तो कन्ट्रोल पोइन्ट-५,०००, र लोक मा चाउ स्पर लाइन/फुटियन कन्ट्रोल प्वाइन्ट- ३५,००० ) हुनेछ।   र

(४) निजी कारका चालकहरू र हङकङ-जुहाई-मकाउ ब्रिज हुँदै मेनल्याण्ड चीन वा हङकङतर्फ जाने क्रस-बाउन्डरी भाडाका कारहरू र त्यसका यात्रुहरू र  उनीहरू अनलाइन बुकिङ गर्न आवश्यक भएका व्यक्तिहरू हुन् भने (हेर्नुहोस् यो खण्डको बुँदा ३ ), उनीहरूले हङकङ-जुहाई-मकाउ ब्रिज हुँदै यात्रा गर्नु अघि सफलपूर्वक अन्लाईन बुकिङ  गर्न आवश्यक हुनेछ। र यो पुलबाट आवतजावत गर्न सक्ने व्यक्तिहरूको कुल तोकिएको दैनिक एकतर्फी संख्या एक हजार रहेकोेछ।

जनवरी ५ तारीखको प्रेस बृफिङमा कार्यकारी प्रमुख जोन ली

अनलाइन बुकिंग

हङकङ सरकारले जनवरी ६ तारिख अन्लाईन बुकिङ सिस्टम लन्च गरेको छ। हङकङबाट चीन जान चाहने हङकङ रेसिडेन्ट र हङकङमा रहेका विदेशी भिजिटरहरूले सफलपुर्वक अनलाइन बुकिङ निम्न बमोजिमको बोर्डर कन्ट्रोल पोइन्ट मार्फत गर्नु पर्दछ ।  तर मुल भूमि चीनका बासिन्दाहरू हङकङ आएर चीन  फर्कनका लागि कुनै बुकिङ गर्नुपर्दैन।

– शेन्जेन बे कन्ट्रोल पोइन्ट
– मान काम तो कन्ट्रोल पोइन्ट
– लोक मा चाउ स्पर लाइन/फुटियन कन्ट्रोल पोइन्ट
– हङकङ-जुहाई-मकाउ ब्रिज (जुहाई) (निजी कारका चालक र यात्रुहरू र क्रस-बाउन्डरी हायर कार सेवाहरूका लागि मात्र यो बुकिङ सिस्टम लागू हुन्छ तर शटल बसहरू (गोल्ड बसहरू) को यात्रुहरूले बुकिङ गर्न  आवश्यक छैन)

त्यसैगरी, शेन्जेन नगरपालिका सरकारले मेनल्याण्डका बासिन्दाहरूलाई मेनल्याण्डबाट हङकङको यात्रा गर्नुअघि नै सफलपूर्वक बुकिङ गर्नका लागि अनलाइन बुकिङ प्रणाली सुरु गरेको छ।  हङकङका बासिन्दाहरू र मुल  भूमिबाट हङकङ फर्कने विदेशी आगन्तुकहरूले कुनै पनि बुकिंग गर्न आवश्यक छैन।

हङकङ सरकारको अनलाइन बुकिंग प्रणाली भएको पोर्टल हो www.gov.hk । बुकिंग प्रणाली २४ घण्टा खुला रहन्छ। अग्र समयमा बुकिङ गर्नेले अग्र स्थान पाउनेछन् । आवेदकले  बुकिङ सफल भएको सूचना  एसएमएस मार्फत प्राप्त गर्नेछन्। यदि आवेदकले आगामी दिनको लागि कुनै एउटा बुकिङको अपोइन्टमेन्ट लिइसकेको छ भने उसले दोस्रो बुकिङ पाउदैन ।  प्रत्येक आवेदकले एउटा बुकिङमा तीन जना व्यक्तिलाई संलग्न गराउन सक्छ ।

हङकङ  सरकारको अनलाइन बुकिङ प्रणाली आठ हप्ता अर्थात ८ जनवरीदेखि ४ मार्चसम्म उपलब्ध रहनेछ  । १५ जनवरीदेखि नयाँ हप्ताको समय स्लटहरू प्रत्येक आइतवार बिहान ९ बजे बुकिङको लागि उपलब्ध गराइनेछ (जस्तै  ५ देखि ११ मार्चसम्मको हप्ताको लागि समय स्लटहरू १५ जनवरीमा उपलब्ध हुनेछ )।  सफलपूर्वक बुकिङ गरेको व्यक्तिले बुकिङ मितिमा चयन गरिएको समय (बिहान, दिउँसो वा साँझ) मा तोकिएको बोर्डर कन्ट्रोल पोइन्टमा पुग्नुपर्छ र बुकिङ कन्फर्मेसन भएको प्रमाण जस्तै  पृन्ट संस्करण वा मोबाइलमा स्टोर भएको इलेक्ट्रोनिक संस्करण साथमा ल्याउनुपर्छ साथै बुकिङ गरेको बेला प्रयोग भएका कागजातहरु बोर्डर कन्ट्रोल पोइन्टका कर्मचारीद्वारा जाँच गराउनको लागि लानुपर्दछ।

यातायातको व्यवस्था

ट्रान्सपोर्ट एन्ड लजिस्टिक ब्यूरो, ट्रान्सपोर्ट डिपार्टमेन्ट, सिभिल एभाइसन डिपार्टमेन्ट र मरिन डिपार्टमेन्टले समुद्री, स्थल र हवाई यातायात अपरेटरहरूसँग समन्वय गरी मुल भूमिसँगको सामान्य यात्रालाई प्रगतिशील र व्यवस्थित ढङ्गले सुचारु गर्न र विभिन्न बोर्डर कन्ट्रोल पोइन्ट आवतजावत गर्न जनसमुदायको लागि पर्याप्त सार्वजनिक यातायात सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्न अगाडि बढेको छ। यातायातका सम्बन्धित व्यवस्थाहरू निम्नानुसार छन्:

(१) हवाई सेवाहरू: स्थानीय र मेनल्याण्ड एयरलाइन्सहरूले माग अनुसार हङकङ र चीनका विभिन्न बन्दरगाहहरूमा क्रमिक रूपमा यात्रु सेवाहरू बढाउँदै जानेछ ।

(२) फेरी सेवाहरू: फेरी अपरेटरहरूले हङकङ-मकाउ फेरी टर्मिनल र शेन्जेन शेकोउ, साथै चाइना फेरी टर्मिनल र शेन्जेन फुयोङ बीचको सेवाहरू पुनः सुरु गर्नेछन्।  चीनको अन्य बन्दरगाहहरूमा पनि क्रस-बाउन्डरी फेरी सेवाहरू क्रमशः पुन: सुरु गरिनेछ;

(३) हङकङ-जुहाई-मकाउ ब्रिज हङकङ पोर्ट: हङकङ र जुहाई बन्दरगाह बीचको शटल बस (गोल्ड बस) सेवाहरू बढाइनेछ;

(४) शेन्जेन बे कन्ट्रोल पोइन्ट: जन समुदायले फ्रान्चाइज्ड बस, हरियो मिनी बस वा ट्याक्सी चढेर कन्ट्रोल पोइन्टसम्म जान सक्छन् ।  प्रिन्स एडवर्ड, याउ मा तेई, चिम्सा शा चोइ, वान चाइ वा कजवे बेबाट मेनल्याण्ड पोर्ट क्षेत्रमा सीधै जाने क्रस-बाउन्ड्री कोच मार्गहरू पनि छन्;

(५) मान काम तो कन्ट्रोल पोइन्ट: जनसमुदायले स्योङ शुई र कन्ट्रोल पोइन्टको बीचमा चल्ने क्रस-बाउन्डरी कोचहरू लिन सक्छन्;  र

(६) लोक मा चाउ स्पर लाइन/फुटियन कन्ट्रोल पोइन्ट: जनसमुदायले पूर्वी रेल लाइन, फ्रान्चाइज्ड बसहरू, हरियो मिनी बसहरू वा ट्याक्सीहरू चढेर कन्ट्रोल पोइन्टसम्म जान सक्छन् ।

सार्वजनिक यातायात सञ्चालकहरूले ग्राहकको माग अनुसार आवश्यक पर्दा बोर्डर पोइन्टमा सेवाहरू बढाउन तयार हुनेछन् र आवश्यक परेका यात्रुहरूलाई सहयोग गर्न थप जनशक्ति परिचालन गर्नेछन्।

महामारी विरोधी उपाय

सामान्य यात्रा पुनः शुरूवात भएको पहिलो चरण अन्तर्गत हङकङबाट मुल भूमि चीन प्रवेश गर्ने वा मुल भुमिबाट हङकङ प्रवेश गर्ने सबै व्यक्तिहरूले न्यूक्लिक एसिड परीक्षण ४८ घण्टा अगाडि अनिवार्य रूपमा  गर्नुपर्छ र विमानस्थल मार्फत प्रवेश गर्नेहरूको हकमा निर्धारित उडान समय भन्दा अगाडी र बोर्डर कन्ट्रोल पोइन्ट मार्फत प्रवेश गर्नेको हकमा आगमन समय भन्दा अगाडि नेगेटिभ परिणाम प्राप्त गर्नुपर्दछ।  यात्रुहरूले बोर्डर कन्ट्रोल पोइन्टका कर्मचारीहरू समक्ष पेस गर्ने पिसिआर  रिपोर्ट साथमा बोकि राख्नु पर्छ।

हङकङ सरकारले हङकङ भित्रीने सम्पूर्ण यात्रुलाई हङकङ आइपुगेको दिन (जसलाई दिन-शुन्य भनेर गणना गरिन्छ ) र  हङकङ आएको पाँचौ दिनमा एन्टिजेन टेस्ट सल्लाह दिदछ।

हङकङ भित्रीएका व्यक्तिहरू पोजिटिभ पुष्टि भएमा उनीहरुलाई स्थानीय केसको रूपमा हेरिन्छ।सम्बन्धित व्यक्तिहरूले जतिसक्दो चाँडो अनलाइन प्लेटफर्महरू (न्यूक्लिक एसिड परीक्षण वा आरएटीका लागि) मार्फत स्वास्थ्य विभागको स्वास्थ्य सुरक्षा केन्द्रलाई जानकारी उपलब्ध गराउनु पर्छ। 

हङकङ  सरकारले स्थानीय स्वास्थ्य सेवा प्रणाली र स्रोतहरूको रक्षा गर्न र खाँचोमा परेका हङकङका बासिन्दाहरूलाई चिकित्सा सेवा र औषधिहरू प्राप्त गर्न प्राथमिकता दिइनेछ भन्ने कुराको सुनिश्चित गर्न हरसम्भव प्रयास गर्नेछ।  अस्पताल प्राधिकरणले श्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न र यसको ह्यान्डलिङ क्षमतामा सुधार गर्न आफ्नो आपतकालीन रेस्पोन्स र चिकित्सा प्रणालीलाई सुदृढ गर्ने कार्यलाई जारी राख्नेछ।  चिकित्सा सेवा र औषधिहरू प्राप्त गर्ने प्राथमिकताको सुचिमा योग्य संक्रमित व्यक्तीहरुलाइ राखिनेछ।

यसबारे भिडियो हेर्नुस्

यसैबीच, हङकङ सरकारले हिजो ( जनवरी ५) घोषणा गरे अनुसार मकाउ सरकारसँग सहकार्य गरेर हङकङ र मकाउ बीच क्रस-बाउन्डरी फेरी सेवाहरू  जनवरी ८ देखि बिस्तारै प्रभावकारी रूपमा सुचारु हुनेछन्।

८ जनवरी देखि हङकङ-मकाउ फेरी टर्मिनल मार्फत हङकङ र मकाउ बीच क्रस-बाउन्डरी फेरी सेवाहरू बिस्तारै  प्रति दिन लगभग १० ट्रीपको हिसाबले पुन: सुरु हुनेछ।  क्रस-बाउन्डरी फेरी सेवाहरू पुन: सुरु गर्ने  तयारीका लागि समुद्री विभागले टर्मिनल उपकरणहरूको निरीक्षण र परीक्षण गरेको छ साथै जहाज सर्वेक्षणहरू, कुदाउने परीक्षण, बर्थिङ ट्रायलहरू र सम्बन्धित सरकारी विभागहरू संलग्न ड्रिलहरू पूरा गर्न फेरी कम्पनीहरूसँग सक्रिय रूपमा काम गरेको छ। 

भूमि यातायातको सन्दर्भमा हङकङ र मकाउ बीच चल्ने विद्यमान क्रस-बाउन्डरी बस सेवाहरूलाई आवश्यकता अनुसार सुदृढ बनाइनेछ।

मकाउबाट आउने सबै व्यक्तिहरूले गर्नुपर्ने विद्यमान  परीक्षण बिधि धेरै हदसम्म अपरिवर्तित रहनेछ । ३ वर्ष वा सोभन्दा माथिका सबै हङकङ आउने व्यक्तिहरूले यहाँ आउनु अघि २४ घन्टाभित्र एन्टिजेन  अन्यथा  ४८ घण्टाभित्र पीसीआर परीक्षण गराउनुपर्नेछ र नतिजा नेगेटिभ आएको हुनुपर्छ । 

शेन्जेन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो दिन सिमा पारी हङकङ जानेको यात्रुको संख्या करिब ६,६०० रहेको थियो ।
जनवरी ८ तारीख पूर्वाह्न ११ बजे सम्मको रेकर्ड अनुसार लोक मा चाउ पोर्टबाट करिब ९,००० यात्रुहरू चीन प्रवेश गरेका थिए ।
हङकङ -मकाउ-शेन्जेन ब्रीजमा चल्ने हाइ स्पिड रेलको अहिले परिक्षण धावन जारी रहेको र जनवरी १५ तारिखबाट मात्र यसले यात्रु ओसारपसार गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया