-बिलोक शर्मा

वन्यप्राणी संरक्षण प्रकृतिप्रेमीहरूका निम्ति एउटा जल्दोबल्दो विषय हो। तथापि आम जनताको निम्ति चासोको विषय बन्न सकिरहेको छैन। यो वर्तमान समयको यथार्थ र गम्भीर समस्या हो। यही प्रसङ्गमा वन्यप्राणी संरक्षणमाथि आधारित ‘गैँडालाई चार वर्ष’ कथा पर्या साहित्यकार विजय हितानको गैँडा संरक्षणमाथि आधारित एउटा गम्भीर कथा हो। गैँडा संरक्षणमाथि रचिएको यस कथा मार्फत हितानले आम मानिसहरूका वैचारिक स्पन्दनलाई आलोकित गर्ने काम गरेका छन्।

गैँडा शब्दसँग म आफू पनि सानैदेखि नजिक रहेको छु। मेरो स्थायी निवास भारतको डुवर्स क्षेत्रस्थित जल्दापाडा राष्ट्रिय उद्यानसित जोडिएको छ। त्यसैले वन्य जीवजन्तुहरूसित हाम्रो सधैँको उठबस रहेको छ। जल्दापाडा राष्ट्रिय उद्यान एक सिङे गैँडाको वासस्थान हो। यहाँ अहिले घटबड २३७ वटा गैँडाहरूलाई संरक्षण दिइएको छ। सम्पूर्ण भारतमा भने कुल ३,६०० वटा गैँडा रहेको तथ्य पाइएको छ। नेपालको कुरा गर्दा देशभरि हाल ७५२ वटा गैँडाहरू रहेका छन्। यी मध्ये चितवन राष्ट्रिय उद्यानमै ६९४ वटा गैँडाहरू रहेका छन्। यी तथ्यहरूबाट गैँडा हाम्रो प्रकृतिको अमूल्य सम्पदा हो भन्ने थाहा लाग्दछ। अनि यसको संरक्षणतर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको छ। यही विचारधाराले ओतप्रोत रहेको कथा ‘गैँडालाई चार वर्ष’ हितानको कथा सङ्ग्रह ‘ब्लु-प्लानेट’ को एउटा अति महत्त्वपूर्ण कथा मान्न सकिन्छ। कथामा चितवन निकुञ्जका एक वन अधिकारी कमलजङ्ग कुँवर र एकजना स्थानीयवासीको गैँडा प्रेमलाई दर्साइएकोछ। वास्तविक घटनामा आधारित यो कथा कमलजङ्ग कुँवरलाई नै समर्पित गरिएको भान हुन्छ।

कथाकार विजय हितान

‘गैँडाहरू गणतन्त्र विरोधी थिए वा राजावादी ?’- कथाको दोस्रो पंक्तिमै कथाकारको यस कथनले तत्कालिन राजनैतिक परिस्थिति, भनौँ राजनैतिक पीडालाई उदाङ्गो पार्छ। नेपालमा वर्षौँसम्म घटित जनक्रान्तिको नाममा भएको आन्दोलनमा आम मानिसका प्राण हानीका खबर र तथ्यहरू सार्वजनिक भए। तर उक्त जनआन्दोलनले प्राकृतिक संसाधनहरूलाई के कति क्षति पुर्यायो ? यसको वास्तविक तथ्य भने कसैसित छैन। युद्ध तथा जनआन्दोलन हुँदा त्यहाँका प्राकृतिक संसाधनहरू क्षतिग्रस्त हुने गर्दछन । आन्दोलनको आडमा अराजक तत्त्वहरू स्वार्थपुर्तितिर लाग्दा वन्य पारिस्थितिकी तन्त्रमा नराम्रो प्रभाव पर्दछ। जसको भरपाइ हुन असम्भव हुन्छ । सन् १९८६ को भारतको दार्जीलिङ पहाडी क्षेत्रमा घटित अलग गोर्खा राज्यको मागले चर्केको आन्दोलनले पनि यो सत्यतालाई प्रमाणित गर्दछ।

कथामा बुधैया नामका पात्रले कथा बुनेका छन र कथालाई प्राण दिएका छन् । गैँडाप्रति पात्रको असीमित प्रेम र प्रकृतिप्रति असाध्य स्नेहलाई सुन्दर ढङ्गले कथामा उतारिएको छ। बुधैयाको चरित्रले हामीलाई प्रकृतिप्रति कर्तव्यनिष्ट बन्ने प्ररणा दिलाउँछ । यस कलालाई कथामा कथाकारको ठुलो सफलताको रूपमा लिन सकिन्छ।

कथामा कथाकार बुधैया मार्फत भन्छन्- “यो हरियो भूआकृतिमा जनावरको सिङ र नङ्ग्रासँगै मानव हातहरूद्वारा युगानुयुग खनिएका यहाँका गरा, कान्ला, आहाल, दुला र ओढारका स्वरूप कोरिएका हुन्। हाम्रा पाइताला र तिनका खुरको पदचापले फूलदानीमा कुँदिएका बुट्टाजस्तै यहाँ गोरेटोहरू कुँदिएका हुन्। हामी दुवैको जन्म, आहार, सिक्री र मृत्युको चर्खामा जैविक विविधताको जालो बुनिएको हो।” प्रकृति अनि वन्यजन्तुसँग मानव जीवनको साँठगाँठलाई यो भन्दा सुन्दर अनि यथार्थ रूपमा वर्णन गरिएको अन्त कतै पाइन्न ।

कथाको प्रसङ्गमा आऔँ। जनान्दोलनको समय छ। चितवन निकुञ्जमा दिनहुँ गैँडाहरू मारिएका समाचार आउँछन। चोरीसिकारीहरू नियन्त्रणदेखि बाहिर छन्। गैँडाको खागको अन्तरराष्ट्रिय बजारमा पाइने मूल्यको लोभमा अव्यवस्थित शासनप्रणालीको फाइदा उठाउँनेहरूको रगरगीले चितवन निकुञ्ज गम्भीर समस्याको भुमरीमा छ। यहीबिच, निकुञ्जका अधिकृत कमलजङ्ग कुँवरसँग वन्यप्राणी प्रेमी अनि उखु किसान बुधैयाको संयुक्त प्रयासमा ‘गैँडा बचाऊ अभियान’ को थालनी हुन्छ। किसानबाट कबाडीवाला हुँदै गुप्तचरको भूमिका निभाउने बुधैयाले कथामा आफूलाई एकजना नायकको रूपमा स्थापित गरेका छन्। एकजना साधारण गाउँलेको मनभित्र गैँडाप्रतिको असीम प्रेमको अभिव्यक्ति हो यो कथा । कथामा गैँडाबारे बुधैया भन्छन-
यस धरतीमा तिनको पनि मानवसँगै बाँच्ने अधिकार छ।
निकुञ्जका गैँडा मारिँदा मेरो गोठ रित्तिएझैँ हुन्छ।

बुधैयाको वन्यजीवनप्रतिको समर्पणभाव देखेर एक ठाउँ कमलजङ्ग भन्छन “अपनको मान गए बुधैया भैया। तपाईँ त मभन्दा पनि अतिवादी संरक्षणकर्मी हुनुहुँदो रहेछ। मेरो ठाउँमा तपाईँ हुनुहुन्थ्यो भने चितवनलाई जुरासिक पार्क जस्तै बनाइसक्नु हुन्थ्यो होला है ?”

बुधैया पात्रको चरित्र निर्माणको पक्षमा कथाकार हितानको पनि अगाध प्रकृति प्रेम झल्कन्छ। आफू प्रकृतिसँग नजीक नभए कथाकारलाई यति सजीव पात्रको खोजी गर्न अप्ठ्यारो पर्छ। कथाकारले पात्रको प्रत्येक गतिविधिद्वारा आफ्नो प्रकृतिप्रति आबद्धता पनि दर्शाएका छन्।
कथा यसरी अगाडि बढ्छ कमलजङ्गको चार वर्षको कार्यावधिमा कुल डेढ दर्जन जति चोरीसिकारीहरू पक्राउ पर्छन्। चोरीसिकारी समूहमा हडकम्प मच्चिन्छ। तिनिहरुबाट अब कमलजङ्गलाई धम्कीहरू आउँन थाल्छन्। बुधैया पनि एक अर्को अवरोधको रुमपा उनीहरूको नजरमा पर्छ।

यसै बीच एकजना खुङ्खार चोरीसिकारी टिकाराम पक्राउ पर्दा यस कथाले सिनेम्याटिक फड्को मार्छ। टिकारामलाई जेल चलान गर्दा कमलजङ्गलाई घातक सिद्ध हुनजान्छ। उनीमाथि राजनैतिक दबाउ दिनहुँ बढ्दै जान्छ। अर्कोतिर, जेलभित्र टिकाराम प्राकृतिकरूपले ब्रेन ह्यामरेजको सिकार बन्छ अनि उसको मृत्यु हुँदछ। तर उसलाई अनुसन्धानको क्रममा कुटपीट गरी मारिएको भन्दै कथामा मिडिया अनि मानव अधिकारकर्मीहरूको प्रवेश हुँदछ। यस घटनालाई लिएर राजनीतिक चलखेल सुरु हुन्छ । कमलजङ्गलाई फाँसी देऊ भन्दै सडकमा नाराबाजी गरिन्छ। राजनैतिक छत्रछायाँमा मृतकको पोस्टमर्टम रिपोर्ट पनि झुठो बनिन्छ। निकुन्जको बन्दीगृहभित्र कुटपीट गरिदा टिकारामको मृत्यु भएको भन्ने डक्टरको रिपोर्ट बनाइन्छ। कमलजङ्ग छाँगोबाट खस्छन्।

कथाको अन्तमा चरम राजनैतिक उतारचढाव देखिन्छन्। इमान्दार तथा कर्मठ कमलजङ्गलाई राजनैतिक चेपारोमा पारिन्छ। उनलाई दोषी ठहर्याएर पाँच वर्षको सजाय सुनाइन्छ। यी सबै घटनाक्रमले गाउँले बुधैया निराश बन्छ। हाम्रो भ्रष्ट राजनैतिक व्यवस्थाप्रति उसको घृणा आँसुको रूपमा बाहिरिएर आउँछ।

वन्यजन्तुमा आफ्नो जीवन समर्पन गर्ने एकजना कर्मठ अधिकारीको साहसिक संघर्षलाई जनान्दोलनको राजनीतिले यसरी अन्त गरिदिन्छ। अर्कोतिर, निरीह बुधैयाको गैँडा बचाउने अभियानलाई स्वार्थलोभीहरूले योजनाबद्ध तरिकाले ध्वस्त पारिदिन्छन्। यसरी राजतन्त्र हटाएर गणतन्त्र भित्र्याउने तथाकथित क्रियाकलापले गणतन्त्रप्रेमी गैँडाको भविष्यमाथि नै ठुलो प्रश्न चिन्ह खडा गरिदिन्छ।

तपाईको प्रतिक्रिया