न्युयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा आयोजना गरिएको यस वर्षको “सिसेक्पा तङ्नाम २०२५” विशेष कार्यक्रम सहित सम्पन्न भएको छ । गत आइतबार अर्थात जुलाई २७ तारीख न्युयोर्क स्थित क्विन्स ब्रीड्ज पार्कमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो, कानुनी सल्लाहकार दुर्गा सुब्बा र मिलिटरी एड्भाइजर मिसनरी अफ नेपालका कर्णेल रोहित गुरुङ विशेष अतिथि रहेका थिए ।


त्यसै गरि चलचित्र निर्देशक किशोर सुब्बा , उद्यमी व्यवसायी तथा समाजसेवी केशवराम राई, पुर्व एआइजी अमर नेम्वाङ, नृत्य निर्देशक गोविन्द राई, नेपाली कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राई लगायत विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको यस वर्षको सिसेक्पा तङ्नाम कार्यक्रममा किरात याक्थुङ चुम्लुङ नेपालको पुर्व उपाध्यक्ष लिला सिङखक तुम्याहाङ, प्रेम मेन्याङ्बो, शिव लाबुङको नेतृत्वमा धान नाच, के लाङ प्रस्तुत भएको थियो ।
कार्यक्रममा नेपाल लगायत अमेरिकाको अन्य स्टेटबाट आएका लिम्बू दाजुभाइ तथा दिदिबहिनीहरुलाई प्रमुख अतिथिबाट खादा ओढाई सम्मान गरिएको थियो । बिङ्गो, छेलो, डोरि तान्ने लगायतका खेलहरु पनि कार्यक्रममा समाबेश गरिएको थियो । उक्त कार्यक्रममा कलाकार नवीना लिम्बू र सनाया थापाको बेजोड नृत्य प्रस्तुति रहेको थियो । प्रमुख अतिथि दधिराम भन्डारीले लिम्बू जातिको सिसेक्पा तङ्नाम जस्तै अन्य जातिहरुको पनि विशेष पर्वहरु मनाउनु आवश्यक छ र यसका लागी महावाणिज्यदूतावासको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

यसैगरी कार्यक्रमका सभापति तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्ष पुरन पयाङ्गु लिम्बुले आफ्नो संस्कार संस्कृती चाडपर्व आदिको प्रबर्द्धन गर्दै पुस्तान्तरण निम्ति सिसेक्पा तङ्नाम जस्तो पर्वहरुको विशेष कार्यक्रम गर्नु आवश्यक रहेको बताए । लिम्बू तथा गैर लिम्बुहरुको उल्लेख्य उपस्थिति रहेको यस वर्षको सिसेक्पा तङ्नाम विशेष कार्यक्रम संस्थाका अध्यक्ष पुरन पयाङ्गु लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया