न्यूयोर्क। फेब्रुअरी १९, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले “नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस” मनाएको छ। प्रथम सहिद लखन थापा मगरले नेपालको इतिहासमा पुर्याएको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप यो स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशव राम राई र सदस्य संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

महासचिव टोमा लामाले कार्यक्रमको थालनीमा नेपालको प्रथम सहिद लखन थापा मगरको योगदानको चर्चा गर्ने क्रममा नेपाल सरकारले लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेता पनि व्यवहारमा उनको कदर नगरिएकोमा दुःख व्यक्त गरिन। पछिल्लो चरणमा नेपालमा त्यो वा योको नाममा सहिदहरु थपिँदै गए तर लखन थापा मगर जस्ता सच्चा सहिदहरुको उच्च मूल्यांकन नेपाल सरकारले नगरेको तथ्य उनले अघि सारिन।

कार्यक्रम फिप्नाका अध्यक्ष राज कुमार बिष्टको अध्यक्षता भएको थियो भने फिप्नाका कोषाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । नेपालको प्रथम सहिद लखन थापा मगरको योगदानको स्मरणमा १ मिनेट मौनधारण गरि उनको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

सबै वक्ताहरुले प्रथम सहिद लखन थापामगरको योगदानलाई स्मरण गरेका थिए । वक्ताहरुमा गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाका अध्यक्ष तोरण गुरुङ, तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, मगर संघ अमेरिका अध्यक्ष कुलदीप रानामगर, जिरेल संघ अमेरिकाका अध्यक्ष शान्ति जिरेल, नेवा गुठीका अध्यक्ष विजयमान सिंह, थारुज एण्ड फ्रेण्ड एशाोसियसनका उपाध्यक्ष दीपक चौधरी, फिप्नाका सभामुख शुर्वण कुमार शाक्य, उपसभामुख गोमा योञ्जन, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशव राम राई र फिप्नाका पूर्व सल्लाहकार तेञ्जिन उक्याव आदि रहेका थिए ।

नेपाल सरकारले लखन थापा मगरलाई नेपालको प्रथम सहिद भनी घोषणा गरेता पनि सोही हिसाबले मान्यता दिन कन्जुस्याइँ गरिरहेको परिप्रेक्ष्यमा देशव्यापी रुपमा लखन थापा मगरको स्मृति दिवस सम्मानजनक ढंगले मनाइयोस भनेर सरकारलाई दबाब दिनुपर्ने कुरामा सबै वक्ताहरुको मतक्यैता रहेकोे थियो ।

फिप्नाका सभामुख शुर्वण कुमार शाक्यले मन्तव्य राख्ने क्रममा यदि नेपाल सरकारले लखन थापा मगर नेपालका प्रथम सहिद हुन भनेर भन्छ भने प्रथम सहिद दिवस किन मनाइदैन ? भन्ने प्रश्न सरकारलाई राखेका थिए ।

अन्तमा कार्यक्रममा अध्यक्ष राजकुमार बिष्टले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै “आउँदा दिनहरुमा हामी सहिद लखन थापा मगरको स्मृति दिवस अझ भव्यरुपमा मनाउने प्रयत्न गर्नेछौं ” भनेका थिए । कार्यक्रमको समापनमा उनले राष्ट्रिय स्तरमा लखन थापा मगर सहिद दिवस मनाउन  नेपाल सरकारलाई दबाब दिने पनि बताए ।

तपाईको प्रतिक्रिया