तीसको दशकको ससक्त कविहरु मध्ये एक विश्वविमोहन श्रेष्ठ  आफ्नो पुस्ताको शक्तिशाली कवि हुनुहुन्छ । सामाजिक  बेथिति अन्याय र असमानताको बिरोधमा निर्भीक भएर उहाँको कविताहरुले निरन्तररुपमा सुशासन ,समानताको वकालत गरिरहेको हुन्छ । मानवीय संवेदनशीलतालाई उहाँको कविताहरुले निकै सुक्ष्मरुपमा बोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

वार्ता

आउनु होस –
वार्तामा बस्नोस
थरी थरीका पकवान छन्,
ज्युनार गर्नोस
मर्ने मर्दै गर्छन्
बन्द-हडताल भनेको
चल्दै गर्छन्
ढिकुटी खुल्ला छ
सक्दो सोर्नुस
सके दुत गुहार्नोस
कुर्ची माग्नोस
नसके टिभि छदैछ
खुब रुनोस
भाषण ठोक्नुस
बेला यही हो
मौका छोप्नोस 
देश एउटा छ
चीरा पार्नोस
औजार अनेक छन
प्रयोग गर्नोस 
जनजातिको “नुन” छर्नोस
पहिचानको “पिरो” दल्नोस
अझै नपुगे
धर्म भाक्नुस
“चुक” मल्नोस
राणाले बनाएको
“सिंहदरबार” छ
काठमाडौंमा –
राजाले सिङ्गारेको
“सिंहासन” छ
त्यही सिंहदरबारमा
आराम गर्नोस
शुरा पिउनोस
के छ नाथे
त्यो आन्दोलनमा ?
बरु ख्याल राख्नोस
हरेक दिन
एक न एक “नारा” दिनोस
जनता भनेका “भेंडा” हुन 
आपसमा भिडाई राख्नोस
नभए ती एक हुन्छन
चुट्नु चुट्छन
मोसो दल्छन
चारपाटा मोडेर
टुकुचामा चोपल्छन्
त्यसैले, आउनोस
बार्तामा बस्नोस
थरी थरीका पकवान छन्
ज्युनार गर्नोस । 

पत्रकारले सोधे
पहिले गजक्क पर्नोस
अनी गम्भीर हुनोस
अली अली अभिनय गर्दै
कुरा मोड्नोस
सारा दोष
प्रतिपक्षलाई दिएर
आफु चोखो हुनोस 
हेक्का राख्नोस
धेरै अबेर नगर्नुस 
हिडी हाल्नोस
हिड्दाहिड्दै भनी हाल्नोस् –
” बार्ता अझै बाकी छ
किन हतार मान्नु हुन्छ 
पहिले बार्ता
सक्न दिनोस
अनी पो परिणाम आउछ “
त्यसैले, आउनोस
बार्तामा बस्नोस
थरी थरीका पकवान छन्
ज्युनार गर्नोस । 

भन्नेले भन्दै गर्छन 
कुर्चिमा हुनेले
एक्लै खान्छन
अरुलाई खान
किन बोलाउछन
भन्नु होला हामी पनि
जनप्रतिनिधी हौं
यसरी कहाँ पाईन्छ
हामीलाई पनि
भाग चाहिन्छ
त्यसो हो भने
पहिले बार्तामा बस्नोस
लेखेर ठिक्क पारेको छ
त्यसमा ल्याप्चे ठोक्नोस
पालो सबैको आउँछ
भाग सबैले पाउँछ
अघि-पछि न हो
मात्र कसले ठुलो 
चौका भिडाउछ
पालो उसैको
पहिले आउछ
न रिस गरेर भो
न दागा धरेर भो
बार्ता त एउटा
बाहाना हो
छिर्के लाउन जान्नु पर्छ
नत्र हात राखेर
पुर्पुरोमा
चुकचुकाउदै बस्नु पर्छ । 

त्यसैले, आउनोस
बार्तामा बस्नोस
थरी थरीका पकवान छन्
ज्युनार गर्नोस ।


ती जानेहरुका नाममा

नसोध तिमी गएपछि
म किन रोइन
झारेर आँशु
किन श्रद्धाञ्जली दिइन
फोटो अघिल्तिर
झुकाएर शीर
किन मौन बसीन
बली रहेका एकाध धुपहरु
ओइलाएका केहि सेता फूलहरु
देखेर किन “उफ” गरिन
कलेटी परेका ती वाचाल ओठहरु
निस्तेज, चीसा ती मौन आँखाहरु 
देखेर किन “छट्पटाइन”
नसोध तिमी गएपछि
म किन रोइन
झारेर आँशु
किन श्रद्धाञ्जली दिइन ?

थाहा थियो
त्यो छातीमा
यो छातीमा जस्तै
समयका बग्रेल्ती 
घातहरु थिए
सङ्गै हिडेका तर गन्तब्यमा नपुग्दै
छुटेका साथहरु थिए
ताराहरु गन्दै आकाशमा
भोकै काटेका रातहरु थिए
पारी क्षितिजमा ईन्द्रधनुष झैं
फैलन नपाइ
टुटेका सपनाहरु थिए
लिएर ती सबैलाई
आफूसंगै
तिमी चुपचाप गयौ
भन्थ्यौ –
“ भोली त उज्यालो हुनेछ “
तर त्यो उज्यालो तिमीसम्म
नपुग्दै गयौ । 

जानु –
जानेहरुलाई कसले रोक्न सकेको छ
माथि हिमालबाट बग्दै आएको
“रोशी” लाई
खै कसले छेक्न सकेको छ
हामी पनि जाने त्यही बाटो हो
त्यो बाटोमा
कति भीर / पहरा होलान
जङ्घार र मझदारहरु होलान
त्यो कसले देखेको छ  ?
त्यहाँ बस्ने घर
कस्तो छ  ?
खरले छाएको छ कि
झिङ्गटी हालेको छ
जानेहरु पनि सबै पुगे कि
परेर अलपत्र
बीच मै अट्केको छ  ?
पुग्नेहरु पनि के गर्दै होलान
खुशीले बसेका छन कि
सम्झेर हामीलाई रुदै होलान
खै कसले सोचेको छ ?
भन्न त हामीले भन्ने गरेका छौ
शान्ति –
चिर शान्ति  –
तर के त्यहाँ “शान्ति” छ
साच्चैको  “शान्ति”
कसले देखेको छ ? 

नसोध तिमी गएपछि
म किन रोइन
झारेर आँशु
किन श्रद्धाञ्जली दिइन
फोटो अघिल्तिर
झुकाएर शीर
किन मौन बसिन
नसोध तिमी गएपछि
म किन रोइन …. ।


विरुद्धमा

उहिले हजुरले जुलुसमा
नारा लगाउदै हिडेको
र अहिले सेल्फी खिचेर मन्त्रीसँग
फेस-बुकमा हालेको
कस्तो सुहाएको ….

जुलुसको फोटोमा हजुर
चप्पलमा देखिनु हुन्छ
सेल्फीको फोटोमा “क्लार्क-सु” देखिन्छ
देशले साच्चै फड्को मारेछ
यसैबाट अनुमान गर्न सकिन्छ ….

कसैको खाली खुट्टा
कसैको फाटेको जामा
कसैको हातमा
कुच्चेका डबका पनि देखिन्छ
फोटोको कुना-काप्चामा
तर मलाई थाहा छ
थिएनन तिनीहरू 
त्यस बडेमाको जुलुसमा 
र त छलाङ्ग मार्न सकेनन
जोबनको यस आपाधापीमा 
साँझ छिप्पिएपछि जहाँ 
बाँडिएका थिए एक एक गर्दै 
हजार हजारका सपना ….

हो, साच्चै सुहाएको छ
हजुरलाई
फेस-बुकका सप्पै फोटोहरूमा
उहिले जेल जाँदाको
भ्रष्टाचारको अभियोगमा
र पछि जेलबाट फर्कदाको
अबिर-जात्रामा 
शपथ खादै गर्दाको रङ्गिन खादामा
पद बहालीका दिन
बिराजमान आरामदायी कौचमा
साच्चै, कस्तो सुहाएको हजुरलाई
सप्पै फोटोहरूमा ….

हो, कस्तो सुहाएको हजुरलाई
त्यो पुरानो फोटोमा 
कालो फेट्टा कसेर उभिएको
सत्ताको बिरोधमा
र अहिले त्यसरि नै उभिएको
धरेर मयलपोश
बिरोध गर्नेहरु कै विरुद्धमा ….

उहिले हजुरले जुलुसमा
नारा लगाउदै हिडेको
र अहिले सेल्फी खिचेर मन्त्रीसँग
फेस-बुकमा हालेको
कस्तो सुहाएको …. ।

तपाईको प्रतिक्रिया