साँघुटार बजार , रामेछापमा जन्मनु भएका कवि तथा गीतकार स्थापित कवि मध्ये एक हुनुहुन्छ ।
गीतमा पनि त्यतिकै शसक्त , उहाँको  कविताहरुले मानवीय संवेदना, प्रेमलाई निकै शालिन शान्तरुपले अभिव्यक्त गरिरहेको हुन्छ । यात्रामा म पनि,गीति एल्बम- ‘स्पर्श’ ,‘वर्ड्स्’ ,‘मनमोहिनी’- लगायतका कृतिहरु प्रकाशित छन् उहाँका । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नोबेल स्कुल एण्ड कलेज संस्थापक मध्ये एक हुनुहुन्छ ।
हाल फ्रण्टलाईन अस्पतालमा आबद्ध भौकाजी निरन्तर  लेखीरहने कवि मध्ये एक हुनुहुन्छ  प्रस्तुत छ साताको तीन कविता ।


पाठशाला

लेख्दै / मेट्दै
केरमेट गरेर
कच्याक कुचुक
बत्तीस मुजा परेको
एक शेर पुरानो गजल ..
भेटियो
पुरानो कोटको माथिल्लो गोजीमा ।

फूल झैँ स्युँरिएको
तर
वासना रहित
सुनकेशरी दाना जस्ता
मेरा अजम्बरी अक्षरहरु
धमिलो स्वरुपमा
अझै
कागजमा लिपिक्कै
टाँसिएर बसेका रहेछन् ।

कस्तो टिठलाग्दो
शब्द – त्यतिखेरको
भाषा अस्पष्ट
कुरो
अधुरो अपुरो
प्रयोगको
तौर तरिका हेर्दा
लथालिङ्ग
हुन सक्छ –
त्यो नै मेरो जीवनको पहिलो ‘गीत’ थियो ।

हिँड्थे –
रित्तो सडकमा

हराउथेँ –
गीतका कुनै भाकाहरुमा ..
पत्तै नपाइ
ओंठहरु उसै सल्बलाउथे,
मन चन्चल
बसन्त बहार थियो,
न राग थियो त्यहाँ
न कुनै वैराग नै
एक्लो म –
कुनै साधनामा लीन झैं
सायद –
त्यो नै मेरो जीवनको
पहिलो ‘सङ्गीत’ थियो ।
कता कता 
डर लाग्छ – आजभोलि
शब्दसँग जथाभावी खेल्न
होशियार छु -सधैं

आजित छु- शब्दसँग
‘शब्द ’ जत्तिको खतरनाक हतियार
दुनियाँमा अर्थोक केही छ जस्तो लाग्दैन –
मलाई ।


प्रियसीको यादमा

तिमी छौ ,
र त
म –
सम्झिरहन्छु  बारम्बार ।

तिमी नै नभए
भन त –
म , कसलाई सम्झिउँ ?

यो बाटो
यो फूल

यहाँको माटो
तिम्रै सिर्जनामा
सिँगारिए जस्तै ..
ओहो !
यो मौसम
यो वर्षा

ऋतुको आगमन
तिम्रै खुसीमा वर्षिरहे  झैँ …. ।

तिमी बिनाको दिन
ख्वै !
दिन कहाँ रह्यो र ?
साँझपखको चन्द्रमा पनि
मुसुक्क कहाँ  पो मुस्कुरायो र ?
नसम्झिँदा तिमीलाई –
सधैंको ओझेल
सधैंको अन्धकार
रातमा समेत एक्लै बात मार्न सकिएन ।

ठम्याउन गार्हो परिरहेछ
मलाई – 
तिमी परी हौ कि परी जस्तै ?
कि हौ कुनै सुकुमारी
वा –
थियौ, कुनै बेला मेरी सपनाकी  राजकुमारी
भनन प्रिय  तिमी को हौ ?


रहर

फेरि-
एकपटक बच्चा बन्न मन छ ।

अपलक
आमाको सुन्दर मुहार
एकटक हेरिरहन मन छ ।

बा’को हात समाएर
गाँउ बेसी
तल र माथि हिंडिरहन मन छ ।

स्कुलको घण्टी
जब लाग्छ नि ..
हस्याङ्ग फस्याङ गर्दै
दौडदै …
ढिलो भएकोमा
सजाय स्वरुप
स्कुलको खुल्ला चौरमा
कान समातेर उठबस गरेको सम्झना मै’
भएपनि 
फेरि गर्न मन छ ।

मन त
के-के  छ  के-के
अनेक तर्कनाहरु आँउछन् ।

घरिघरि सम्झन्छु :
बिहेको अघिल्लो रात
रत्यौली खेल्दै
आमाहरु नाचेको
बा’हरु जन्तीमा बाजाको ताल सँगसँगै
उफ्रेको।
उमेर थियो ..
जवानी थियो ..
कसैसँगको प्रेममा
त्यो एउटा ठूलै विस्फोट थियो,
त्यसपछि त  शुरु भैगो – जीवनको लामो यात्रा
….।

अचेल –
यात्रामा हिँड्दै गर्दा
सम्झन मन लाग्छ-ती दिन
सुनौलो बिहानी र रङ्गीन सपनाहरु ।

क्रमश: खुइलिदैँ गएका
जीवनका रङ्गहरुमा यस्ता रङ्गीन सम्झनाहरुले
टक्क अडिएर केही छिन वात मारे झैँ लाग्छ ।।

र ,
पुलकीत हुँदैं हठात अल्मलिन्छु केहीबेर आफैंसँग
आजभोलि , जीवनका हरेक पल
कुनै उत्सव झैँ सान्दार ढङ्गले मनाउन मन
लागिरहन्छ ।

तपाईको प्रतिक्रिया