शिल्पी नाटकघरको आयोजनामा लाइभ म्युजिकको साथ पर्या कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नाटकघरले पर्याबरणमै केन्द्रीत रहेर आयोजना गरेको कविगोष्ठी यो पहिलो हो । हरेक शुक्रबार नेपाली कवि र कविताहरुलाई प्रस्तुत गर्दै आएको नाटकघरले यो पल्ट वातावरण संरक्षणमा केन्द्रीत एघार कविहरुलाई उभ्याएको थियो । कार्यक्रमका परियोजनाकार शिल्पी थिएटरका प्रमुख, लेखक, कलाकार, निर्देशक घिमिरे युवराजले यो किसिमको कार्यक्रमले पाठक र लेखकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बिचार व्यक्त गर्नु भयो ।

पर्या कवितालाई कसरी आम पाठक सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा वातावरण संरक्षणको क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहनु भएका ११ जना संरक्षणकर्मी तथा अभियन्ता, प्राध्यापक, विद्यार्थी , मिस नेपाल, समालोचक, साहित्यकार तथा कविलाई निम्तो गरिएको थियो । कविहरुले आफूलाई मन परेका कविका दुई दुई वटा पर्या कविता वाचन गरेर सुनाएका थिए ।

कविता सुनाउने क्रममा पर्या साहित्यकार, वातावरणविद तथा कार्यक्रमका संयोजक विजय हितानले ‘प्रेममा पर्दा प्रेमिल कविता, बिछोड हुँदा वियोगका कविता लेखेजस्तै पर्यावरण बिग्रिदै जाँदा पर्यावरणका कविता लेख्नुपर्छ भन्दै उपस्थित सबैलाई स्वागत गर्दै राजा पुनियानिको ‘महिनावारीमा छ युमा’ र डा देवेन सापकोटाको ‘प्वाल परेको छाता’ कविता वाचन गरेका थिए ।

त्यस्तै कवी गीतकार निवन्धकार प्राध्यापक गीता त्रिपाठीले मनप्रसाद सुब्बाको ‘खेतमाथि आक्रमण : केहि भिडियो क्लिपिङ’, अमन प्रताप अधिकारीले क्षेत्र प्रताप अधिकारिको `१५ असार´ र ‘नयाँबर्ष २०३४’, त्रिचन्द्र क्याम्पसका केमेस्ट्रीका असिस्टेन्ट प्रोफेसर तथा नेपाल पोलिमर इन्स्टिच्युटका सचिव वुमन साइन्टिस्ट फोरमकी सदस्य डा ज्योति गिरीले भूपिन खड्काको ‘प्रेमपत्र’ र ‘तेह्रसय ग्राम मस्तिष्क’, संरक्षणकर्मी, लेखक तथा निवन्धकार डा रोशन शेरचनले विप्लव ढकालको ‘भ्यागुताको बिहे’ र अन्जान प्रदिपको ‘स्याण्डग्लास : सृष्टिको काउन्टडाउन’, जलाधारविज्ञ अजय दीक्षितले रविन्द्रनाथ टैगोरको अंग्रेजी कविता ‘द गोल्डेन बोट’ र आफ्ना स्वर्गिय पिता डाक्टर मोहनमणी दिक्षितलाई लेखनाथ पौड्यालले वि स २०१९ मा लेखेर दिएको समवेदना लेखनाथको ‘श्री गंगाजीको झाँकी’, लेखक तथा अनुसन्धाता प्रतिभा पुनले तीर्थ श्रेष्ठको ‘बाघ’ र ‘लयमा’ वाताबरण कानुन बिज्ञ तथा अधिवक्ता पदम बहादुर श्रेष्ठले वातावरण संरक्षण सम्बन्धिका मुद्दालाई सर्वोच्च अदालतमा बहस गर्दा कविताका यिनै लाइनलाइ कोट गरेर न्यायाधीशलाई सुनाउन सकुँ भन्दै साहित्यकार उषा शेरचनको ‘मान्छे र प्रकृती’ अनि ‘वातावरण’,अस्मिता म्यागजिनका सम्पादक कवि लक्ष्मी रुम्बाले बिन्दू शर्माको ‘दंगीसरणको आँगनवाट र अविनाश श्रेष्ठको ‘करोडौं सुर्यहरुको अन्धकार’ कविता वाचन गरेका थिए।

त्यस्तै कार्यक्रममा पर्यावरण शहिद दिलीप महतोको बहिनी तथा विद्यार्थी सबिता कुमारी महतोले प्रज्वल अधिकारीद्वारा लिखित कविता ‘औरही नदि’ र भावेश भुमरीद्वारा रचित गीत ‘प्रकृतीलाई माया गर्दा’ वाचन गर्नुभयो । यी कविता र गीत दुवै विजय हितानद्वारा लिखित “पर्यावरण सहिद” कथामा समावेश छन् । यो प्रयोगवादी कथा पर्यावरण संरक्षण अभियन्ता दिलिप महतोको जीवनमा घटेको घटनामा केन्द्रीत रहेर लेखिएको हो । महतोको , जनकपुरस्थित औरही नदीबाट गिट्टिबालुवा उत्खनन् गरेर खोलाको दोहन गर्ने क्रसर उद्योगको बिरुद्दमा आवाज उठाउदा हत्या गरिएको थियो ।

कार्यक्रमको अन्तमा मिस नेपाल २०८० श्रीच्छा प्रधानले सरुभक्तको ‘संसारको सवैभन्दा खतरनाक प्राणी’ र चाइनिज कवि जदी माजिया ‘को आमाको हात’ कविता बाचन गर्नुभयो । आफ्नो कविता वाचनपूर्व उहाँले, ‘ लाई महशुस गर्नुहोस र लामो सास फेर्नुहोस र चराचुरुङ्गी, नदीनाला र जनावरलाइ सुनेर रमाउन सिक्नुहोस’ भन्नुभयो । कविता वाचनकै क्रममा नेपालका नदिनाला र पर्यावरणलाई कसरी अमेरिकाका नदी जस्तै सफा बनाउन सकिएला भन्ने चिन्ता व्याक्त गर्नु भएको थियो । कार्यक्रम सञ्चालन युवा कवि प्रज्वल अधिकारीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया