नेपाली महिला अधिकार र आन्दोलनको क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि क्रियाशील अभियन्ता महिला अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ नेपाली महिला हक र अधिकारको क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तित्व हुनुहुन्छ । बियोण्ड बेजिङ्ग कमिटिको निवर्तमान अध्यक्ष श्रेष्ठ नेपाली महिला आन्दोलनको क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मीहरुबीच अग्रस्थानमा हुनुहुन्छ । प्रस्तुत छ उहाँसग नेपालमा महिलाहरुको अवस्था र बर्तमान परिस्थितिमा केन्द्रित रहेर गरिएको कुराकानी ।

.नेपाली समाजमा महिलामाथि हुने विभेद जघन्य छ । यो बिभेदपुर्ण समाज रहनुको मुख्य कारण के हो ?

नेपालमा सामन्ती, केन्द्रिकृत एकात्मक राज्य ब्यवस्थामा परिवर्तन ल्याई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था (federal democratic republic) ल्याएता पनि मूलत: महिला, अन्य लिंगका र पछाडि परेका उपेक्षित समुहका पुरूषहरुको समेत यथा स्थानमा मान सम्मानमा भएको देखिदैन । शक्तिहीन माथि शक्तिशालीले शासन गर्ने, र बलियोले निर्धोमाथि थिचोमिचो गर्ने सामन्ती संस्कृति र संस्कारको अन्त भएको छैन । अझ पितृसत्तात्मक संरचना र संस्कृतिमा परिवर्तन नल्याएकोले महिलाप्रतिको बिभेदकारी ब्यवहार, हेर्ने दृष्टीकोण, मनन गर्ने मनोभावनामा खासै परिवर्तन आएको छैन । महिलाको शरिरको शोषण, दमन दलन, हिँसा र अधीनस्थ गर्ने स्त्री-द्वेष, विषाक्त सोचमा, संस्कारमा परिवर्तन आएको छैन । परम्परा र चलनको नाममा पितृसत्तात्मक संरचना र संस्कृति झन् मौलाउदै गएको पाइन्छ । बिश्वमा फैलिएको पुजीवादी अर्थ ब्यवस्था प्रवर्द्धन गर्ने नवउदारवादी आर्थिक बिश्वब्यवस्थाले त झन महिलाको शरिरलाई वस्तुकरण गरी कमाउने र उपभोक्तावाद प्रवर्द्धन गर्ने साधन नै बनाउदै स्त्री-द्वेष (Misogyny) को परिपोषक नै बनेको छ । पूँजिवादी बिचारधारामा आधारित नवउदारवादी आर्थिक बिश्वब्यवस्थाले धन कमाउन महिलाको शरिरलाई भोग्य, मनोरन्जन, र पुँजी बढाउने साधनको रुपमा प्रयोग गर्दै आएको छ । त्यति मात्र नभई यसले पुँजी बढाउन , हातहतियारको ब्यापार गर्न, यसको माग बढाउन झैंझगडा र लडाई गराउन कट्टरवाद (Fundamentalism) लाई पनि प्रश्रय दिइरहेछ। यसले सुरक्षा र शान्तीको नाममा सैनिकिकरण गर्छ । सैनिकिकरण र कट्टरवादले महिलालाई अझ नाजुक स्थितिमा पुर्याउछ र पितृसत्तालाई अझ दरिलो र फराकिलो बनाउँछ । उदाहरणको लागि अफगानिस्थानलाइ हेर्नुहोस । तालिवानले अफगानिस्थानमा शासन गर्नासाथ वालिकाहरुलाई बिद्यालय समेत जान प्रतिबन्ध लगाए । बर्मा अर्थात म्यान्मारलाई हेर्नुहोस । जन निवार्चित आङ साङ सुकिलाई अपदस्थ गरी जेलमा राखी सैनिकहरुले सैनिक शासन चलाईराखेको छ । बिश्वका प्रजातान्त्रीक देशहरु अनि संयुक्त राष्ट्रसंघ हेरेर बसेको छ । बिश्वको यस परिवेशबाट नेपाल अछुतो छैन ।

नेपालमा शासन व्यवस्था परिर्वतन भएता पनि महिला र अधिकांश उपेक्षित व्यक्तिहरुको अवस्थामा खासै परिवर्तन आएको छैन । आउदैन पनि । विश्वबाट पूँजिवादी पितृसत्तामा परिवर्तन नआएसम्म महिला माथिको जघन्य अपराध घटदैन । Capitalism explicitly serves patriarchy by facilitating the oppression of women. किनभने यी दुवैले स्त्री-द्वेषको परिपोषण गर्छ तसर्थ महिलामाथिको जघन्य अपराध हुनुकोे कारक तत्व पितृसत्ता हो र झन् बढ्नुको मुख्य कारण पुजीवादलाई बढावा दिने नवउदारवादी आर्थिक विश्व व्यवस्था हाबी हुनु नै हो जुन ग्लोबलाइजेसनको नाममा सवैको घरघरमा पुगेको छ। त्यसैले घर घरमा हिंसा र जघन्य अपराध बढ्दै छ । तपाई हामी जतिसुकै कराएता पनि संयुक्त राष्ट्रसंघले महिला बिरूद्ध हुने सवै प्रकारको भेदभाव अन्त गर्न महिला बिरूद्ध हुने सवै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि ( CEDAW) सन् १९८९ लाई पारित गरे पनि,नेपाल सरकारले अनुमोदन (Ratify) गरे पनि बिभेद कायमै छ । जहाँसम्म, जहिलेसम्म बिभेद रहिरन्छ त्यँहा अन्याय र असमानता रहन्छ । जबसम्म महिला र पुरुषको मूल्य मान्यता र अवसरमा असमानता कायम रहन्छ तबसम्म शक्ती सम्वन्ध असमान नै हुन्छ । शक्ती सम्वन्ध असमान भएकैले महिला माथिको जघन्य अपराध, हिँसा भइरहन्छ । तसर्थ नारीवादी (Femenist) हरुले बिश्व आर्थिक ब्यवस्थामा परिवतर्नको माग गरीरहेको छ । संयुक्त राष्ट्र संघ (United Nations ) मा सम्पन्न हुने हरेक सेसनमा नारीवादीको एउटा मुल समुह ( Feminist Women Major Group ) ले नारीवादीहरु व्यवस्था परिवर्तन गर्न चाहन्छ्न (Feminists Want System Change) भन्दै आवाज उठाइनै रहेका छन् निरन्तर रुपमा । म त्यस समूहको एक अभियन्त हुँ र मेरो माग पनि त्यही हो । दिगो बिकास र न्यायको लागि पूँजिवादी पितृसत्तात्मक ब्यवस्थामा कायापलटकारि परिवर्तन (Transformative Change ) आउनै पर्छ ।

.नेपाली समाजमा जात ब्यवस्थाको कारण पनि महिलाहरु माथि हिंसा बढ्दो छ । तर वाहिर आएका घटनाक्रम हेदौ दलित मधेसी महिलामाथी नै यस्तो घटना घट्ने मनोबैज्ञानिक कारण के होला ?
मनोबैज्ञानिक कारणः
नेपाल एक बिभेदै बिभेदले भरिएको देश हो । स्त्री-द्वेष युक्त समाज हो । यहाँ अनेकौं प्रकारका बिभेदहरु छन् । जातिय, क्षेत्रिय, वर्गीय, धार्मिक, सांस्कृतिक, भाषिक, लैंगिक, अनि अल्पसंख्यक, आदिवासी, सबै समदायमा बिभेद छ । ठुलाले सानालाई, हेप्ने, चेप्ने, हिंसा गर्ने संस्कार छ । नेपालमा महिलाहरुमध्ये सवभन्दा नाजुक स्थितिमा रहेको महिला दलित मधेसी महिला नै हुनु पर्छ । नाजुक स्थितिमा रहेकालाई त्यस स्थितिवाट उकास्न होइन, त्यस स्थितिबाट फाइदा लिनु पर्छ र सकिन्छ, मेरो शक्ति अघि शक्तिहिनले केहि पनि गर्न सक्दैनन् र म चोखिन्छु भन्ने स्त्री- द्वेषी मनोग्रन्थिले भरिपूर्ण पासविक सामन्ती मनोबिज्ञान छ । यही मनोबिज्ञानका कारण दलित मधेसी महिलामाथि नै बढी हिंसा हुन गएको हुन सक्छ । दलितमधेसी महिला, महिला भई जन्मेका कारण, दलित आमाको कोखमा मधेसमा जन्मेका कारण – (Misogony, Castism and communalism- triple discrimination ) हिंसाको शिकार हुन्छन् । यस्ता महिलाको सुरक्षा न परिवार, न सुमदाय नत सरकारले नै गर्न सकेको छ । सुरक्षा ब्यवस्थाको अभावमा, सुरक्षीत हुन सिकाउने शिक्षाको अभावमा, हिंस्रकलाई दण्ड सजाय गर्नु भन्दा राजनैतिक र शक्तीको आडमा दण्ड मुक्त ( impunity) गर्ने संस्कृति, स्त्री-द्वेष कै टेकोमा अडिएर भिक्टिम ब्लेमिङ्ग गरी पिडकलाई उन्मुक्ति दिने संस्कार र समुदायले गर्दा दलित मधेसी महिलामाथि नै बढी हिंसा हुन गएको हुन सक्छ । दलित मधेसी महिलामाथि नै बढी हिंसा हुन गएको हो या होइन भन्ने बिषयमा अध्ययन अनुसन्धान र छुट्टै तथ्यांक नभएकोले यकिन रुपमा भन्न गाह्रो छ । महिला भएर जन्मे पछि सहनु पर्छ, दलित भएपछि सहनु पर्छ मधेशी भएपछि सहनु पर्छ, सहनु नै धर्म हो, कर्म हो भन्ने मानसिकता पनि हिंसाको कारण हो । मधेशी दलित महिलाले, मधेशी दलितबाट , मधेशी गैर दलितबाट , गैर मधेशी अर्थात अरुबाट र बिदेशीबाट समेत हिंसा खप्नु परेको स्थिति छ ।

.पितृसत्ताले महिलालाई अगाडी बढ्न दिएन भनिन्छ तर कतिपय अवस्थामा समाजमा त्यस्ता परिदृष्य पनि देखिन्छन् कि महिला आफै आफनो प्रगतीको कारक होकि जस्तो । यसमा तपाइको बुझाइ के छ ? खास समस्या केमा छ हाम्रो सोचमा ? संस्कार र संस्कृतिमा कि कानुनमा?

पितृसत्ताले महिलालाई अगाडी बढ्न नदिएकै हो । नेपालमा मात्र होइन यत्रतत्र सवत्र । यसमा दुबिधा र दईमत नै छैन । तर सबै परिवार, समुदाय, समाज, देशमा उहि र उस्तै छैन । कहिं कम र कहि बढि छ । जहाँ पितृसत्ताको काष्ठा, कोटि र मात्रा कम छ त्यहाँका महिलाहरुले अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने आधारभूत अवसर ( खाना, नाना, छाना,शिक्षा, सुरक्षा) पाई आफनो एजेन्सी बिकास (agency development ) गरी प्रगतीको कारक आफै बन्न सफल हुनु भएको पनि छ । अपवादमा केही महिलाको हकमा वाहेक आम महिला पछाडी पर्नुको कारण पछाडी पारेर नै हो । पछाडी पार्ने पितृसत्ताको मूल्य मान्यता, संस्कार, संरचना नै जड कारण हुन् । कानुन भन्दा माथि रहेको अलिखित पितृसत्तात्मक स्त्री-द्वेषी संस्कृति र संस्कार पनि महिला पछि पर्नुमा दोषी छ। महिला मैत्री कानुन नबनिनु पनि अर्को महिला प्रगतिको बाधक तत्व हो । समानतामा आधारित समान कानुन बनेकै छैन ।

.नेपाली समाजमा महिलामाथी हुने बिभेदहरुलाई जात ब्यवस्थाले संरक्षण गरेको देखिन्छ । तर महिलामुक्तीको आन्दोलनको अग्रस्थानमा रहेका अभियानहरु आफनो मार्ग स्पष्ट नभए झैं देखिन्छ कारण के होला ?

नेपाली समाजमा महिलामाथी हुने बिभेदहरुलाई जातब्यवस्थाले संरक्षण मात्र होइन सम्बर्द्धन, परिपोषण नै गर्दै आएको छ । सामन्ती ब्यवस्थाभित्रको अनेकन शोषण गर्न चालिएका प्रथाहरु मध्ये एक प्रथा जातिय प्रथा हो । यसको जन्म नै उच्च र निचको वा साना र ठुलाको भावना र ब्यवहार गर्नको लागि गरिएकोले जातिय प्रथाको शिकार बढि महिलाहरु नै भए । यसले महिलाहरुलाई एक हुन नदिइ महिला महिलामा पनि बिभेदको भावनाको बिकास गरी फुटाउ र राज गर (Divide and rule) को सिद्धान्त अवलम्वन गरी पितृसत्तालाई मजबुत बनायो । जहाँ सम्म महिला मुक्तीको सवाल छ मेरो बिचारमा नेपालमा वास्तबिक रुपमा महिला मुक्तीको सशक्त आन्दोलन नेपालको पितृसत्ताले हुन दिएकै छैन । भएकै छैन ।
देशको शासकिय ब्यवस्था अर्थात देशको राजनैतिक व्यवस्था परिवर्तनका लागि आन्दोलन भयो र व्यवस्था पनि परिवर्तन भयो जस्तै २००७, २०१७, ०६२ र ०६३ मा । अहिले चलीरहेको, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था ०६२ र ०६३ सालको आन्दोलनको परिणाम हो । देशको राजनैतिक ब्यवस्थाको परिवर्तन भएमा महिलाको अवस्था र मर्यादा स्तरमा पनि परिवर्तन आउछ भन्ने दृष्टीले प्रजातान्त्रीक र वामपन्थी राजनैतिक आन्दोलनहरु मै महिलाहरु लागे र ति आन्दोलनभित्र नै जे जसरी सकिन्छ महिला मुक्ति र लैङ्गिक समानताका लागि आवाज उठाउदै आएको र संघर्ष गर्दै आएको पाउँछौं ।
महिलाहरु राजनैतिक आन्दोलन मै लागे र ति आन्दोलन भित्र नै जे जसरी सकिन्छ आन्दोलन गर्दै आएको पाउछौं ।
महिला मुक्ति कै लागि, लैङ्गिक समानता कै लागि, नारीवादी दृष्टिकोणले, नारीवादी बिचारधाराबाट पितृसत्तात्मक मूल्य मान्यताको अन्त्यको लागि आन्दोलन भएको इतिहास मलाइ थाहा छैन । समय समयमा छिटफुट रुपमा कहिले सहभागीताको लागि त कहिले पैतृक सम्पत्तिमा महिलाको अधिकारको लागि, कहिले आमाको नामबाट नागरिकताको लागि, कहिले महिला हिंसाको बिरुद्ध सडक देखि सदनसम्म आवाज उठाउने, नारा जुलुस, अनसन, भोक हडताल, सभा स्म्मेलन, अन्तरकृया, छलफल गर्ने जस्ता कामहरु भने नभएका होइनन। प्रशस्तै काम भएका छन । सुन्दरी प्रतियोगिताको बिरुद्ध समेत नारा जुलस र धर्ना भएको छ । तर समुच्च महिलामाथिको बिभेदको अन्त, असमानताको अन्तको लागि एककृत महिला जनआन्दोलन आजसम्म हुन सकेको छैन । त्यसैले संबिधानप्रदत स्थान र सेवा समेत गुम्दै गएको अवस्था छ । उदाहरणको लागि हालसालै भएको दोश्रो स्थानिय तहको निर्वाचनलाई लिन सकिन्छ । स्थानीय तहकोे निर्वाचन २०७९ को नतिजालाई लिन सकिन्छ । नगर प्रमुखमा १३ (४.५ % ), पालिकाअध्यक्षमा १२ (२.६ % ), र वडा अध्यक्षमा ६८ (१ % ) महिलाहरु निर्वाचित हुनुभएको थियो । यस निर्वाचनमा केवल ३९.१ महिलाहरु मात्र निर्वाचितहुनुभएको छ । संबिधानले प्रदत्त गरेको अवस्थामा पनि , स्थानिय सरकार संचालनभएको ५ बर्ष बितिसक्दा पनि यस्तो निर्वाचन परिणाम आउनु बिभेद र असमानताको निरन्तरताको प्रतिक हो । सबै महिलाहरुको सबै बिभेद अन्तका लागि नारीवादी चेत सहित सबै महिलाहरु मिली सबै महिलाहरु माथी हुने सबै प्रकारका बिभेद (लैङ्गिक, जातिय,भाषिक, धार्मिक, साँस्कृतिक, शारीरिक आदि) अन्तका लागि अन्तरपक्षिय नारीवादी चेत (Intersectionality Feminist Consciousness) सहित समग्र रुपमा सशक्त नारीवादी अभियान, आन्दोलन संचालन गर्नु आवश्यक छ । किनभने सबै महिलाहरु एकै खालका छैनन् । महिलाहरु भित्रको बिबिधता (diversities) बिबिधतालाई मनन गरी लैङ्गिक मात्र होइन अरु जातीय , भाषिक ,धार्मिक , साँस्कृतिक, शारीरिक आदि बिभेदले समेत मारमा परेकाको मर्मलाइ मनन गरीआन्दोलन गर्नु आवश्यक छ ।
तर, बिडम्वना के छ भने सबै राजनैतिक पार्टीका महिलाहरु समेत महिलाका मुद्दामा एकमत भएर एकै स्थानमा आउन पाएका छैनन् र सकेका छैनन् । अन्तर पार्टी महिला संजाल बनेको छ तर एक भई काम गर्न पाएका छैनन् र सकेका छैनन् । उसैगरी महिला गैरसरकारी संस्थाहरु, नागरिक समाज पनि एकै स्थानमा आउन सकेका छैनन् । आ-आफ्नो मुद्दामा मात्र केन्द्रीत छन् । महिला नागरिक समाज सशक्त हुन नसक्नु, समग्रताको सोच यथेष्ट मात्रामा नहुनु, नारीवादी चेतना (Feminist consciousness) को कमी हुनु, नयाँ पिढी तयार नहुनु, महिलाका मुद्दालाई स्थानीय देखि राष्ट्रिय र अन्तराष्ट्रीय स्तरसम्म पुर्याउनु नसक्नु, नपाउनु आदिआदि धेरै कारणहरुले महिला आन्दोलनको मार्ग स्पष्ट गर्न पाएका छैनौं । महिला आन्दोलनको मार्ग स्पष्ट गर्न आवश्यक सक्षम वातावरण (enabling environment) नबन्नु नै मार्ग स्पष्ट नहुनुको मुल कारण हो जस्तो लाग्छ । यसको लागि सवै नागरिक समाजलाई परिचालन गरी दिशा र्निदेश गर्ने नारीवादी सचेतताको बिकास गर्न सक्ने एक्टिभिस्ट किसिमको दुरदर्शी साचो नारीवादी नेतृत्वहरु ( Feminist Visionary, Strategic Authentic Leaders) को अभाव देख्छु । नारीवादी सचेतना बिनाको महिला आन्दोलनले सबै महिलाको हित हुन सक्दैन । स्पष्ट रुपमा भन्ने हो भने कमला भाषिन जस्तै तन, मन र धनले लाग्ने च्यभि रोल मोडेल नेतृत्व (Role Model Leaders) जन्मन नसक्नु, नपाउनु पनि महिला आन्दोलनको मार्ग स्पष्ट नहुनुको एक कारण हो ।

नेपालमा आम महिलाको नमुना नेत्री को हन् भनि खोज्यो भने भेटाउन गाह्रो छ । यहि नै मुख्य कारण हो जस्तो लाग्छ । नेपालमा राजनैतिक ब्यवस्था परिवर्तन भइ गणतन्त्रात्मक ब्यवस्था आइसकेको अवस्थामा अब महिलाहरु राजनैतिक ब्यवस्था परिवर्तनका लागि होइन आम महिलाको अवस्थामा परिवर्तन गर्नको लागि आन्दोलन, अभियान चलाउनु आवश्यक छ । केवल पार्टिगत राजनितिमा लागेका महिलाको स्थान सुरक्षित गर्न आन्दोलन गर्ने होइन । संबिधानले केहि मात्रामा भए पनि सोको ब्यवस्था गरेको छ । आम महिला – दुर दराजमा रहेका गृहिणी, किसान, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर, बिभिन्न पेशामा लागेका पेशाकर्मी, संचारकर्मी आदिको अवस्थामा परिवर्तन गर्न सामाजिक, सांस्कृतिक आन्दोलन गर्नु आवश्यक छ । सामाजिक, सांस्कृतिक मुद्दालाई राजनैतिक मुद्दा बनाई संबोधन गराउन आन्दोलन गर्नु आवश्यक छ । नत्र भने ल्याएको , पाएको उपलब्धी पनि बिस्तारै गुम्ने र पहिले भन्दा पनि नराम्रो अवस्थामा पुग्ने खतरा छ । महिला समानताको मुद्दा सबैको र समयको मुद्दा बनाउन पार्टीगत राजनितिबाट माथि उठ्न आवश्यक छ । मेरा बिचारमा महिलाको मुद्दा पार्टीगत राजनिति भन्दा पनि माथिको मुद्दा हो । बिश्वको कुनै पनि पार्टीगत राजनैतिक बिचारधाराले सम्पुर्ण रूपमा महिलाको मुद्दालाई उठाउन र सम्बोधन गर्न सकेको छैन । महिला मुक्तिको अभिष्ट पार्टीको राजनीतिक अभिष्ट भन्दा माथी हुन्छ। राजनीतिक विचारधाराले होइन केवल नारीवादले मात्रै महिला मुक्तिलाई सम्बोधन गर्न सक्छ। (women’s cause is above party political cause. None of the political ideology other than feminism has really address the cause of women.) स्त्री जाति (female being) ले सम्पूर्ण मानवलाई जन्माउने, र्हुकाउने हुनाले स्त्री जाति (female being) को बिचारधारा नारीवाद (“feminism” ) ले नै मात्र सबै मानबको मानब अधिकारको मुद्दा सबैका लागी सुनिश्चीत हुन्छ भन्ने लाग्छ । किनभने नारीवाद नारीबाट जन्मेका सबै मानवको अधिकार सुश्चित गर्नको लागि हो केबल नारीको लागि मात्र होइन ( “feminism is for everybody”.)।

.नेपाली समाजमा स्थापित कतिपय मान्यताहरु संबिधान बिपरित छ । नेपालको नारीवादी आन्दोलन कहिं कतै बाटैमा अल्मलिएको जस्तो छ । कारण महिलाहरु पार्टीको हुइप भन्दा माथी बैचारिकरुपमा उठ्न सकेका छैनन्, कारण के होला ? तपाईको दृष्टिमा पार्टीभित्र कस्तो अवस्था छ?
नेपाली समाजमा स्थापित कतिपय मान्यताहरु मात्र होइन अधिकांश मान्यताहरु पितृसत्तात्मक हिन्दु धर्मबाट धर्मको नाममा (अधिकांस नेपालीलाई मूलत महिला, दलित, जनजाती, आदिवासी, अल्प संख्यक समुदाय र अन्य धर्मका लागि ) शोषण, दमन, र बिभेद गर्नकै लागि स्थापित भएको हुँदा आजको संबिधान बिपरित हुनु स्वभाविक छ । आजको संबिधान तिनै मान्यताहरुमा पवितर्वन ल्याउनको लागि दोस्रो जनआन्दोलन, १० बर्षे जनयुद्ध, महिला आन्दोलन (फाटफुट नै सही) , अन्तराष्ट्रिय प्रभाव र दवाब का कारण दक्षिण एसियामा नै प्रगतीशिल मानिने गणतन्त्रात्मक संबिधान पाएका छौं । हाम्रो अहिलेको संबिधान हामीले खोजे जतिकै लैगिंक मैत्री, दलित मैत्री जनजाती मैत्री नभएता पनि पहिलेको भन्दा धेरै राम्रो छ । तर अपसोच उहि पितृसत्तात्मक सोच र ब्यवहार भएकाहरु कै हातमा परेकाले संबिधानको मर्म अनुरुप कार्यान्वयन भएको छैन । संबिधान अनुरुपको कानुन,निति र कार्यक्रम हुन सकेको छैन । सदनमा महिला, जनजातिको प्रतिनिधित्व बढे पनि पार्टीगत ब्यवस्थामा महिलाहरु पार्टीको हुइप भन्दा माथी जान बैचारिक रुपमा उठ्न सके पनि पाउदैनन् । महिला मात्र होइन जाति जनजाती कसैले पनि हुइप बिपरित जान पाउदैनन्, यो संसदीय ब्यवस्थाको एक बिषेशता हो । जहाँसम्म पार्टी भित्र महिलाको क्षमताको कुरा छ, त्यो जुन रुपमा हुनुपर्ने नभएकै कारण सबै पार्टीमा महिलाको अवस्था उस्तै देख्छु । महिलाले दोहोरो , तेहोरो भार वहन गरी पार्टीलाई गरेको योगदानलाई कदर गरेको पाईदैन । जति खुला र फुक्कारुपमा रात बिहान पार्टीमा पुरुष लाग्न पाउछन् त्यसैगरी महिलाहरु लाग्न चाहेर पनि पाउदैनन् । नपाएपछी क्षमता बढ्दैन । नगरी क्षमता बढ्दैन । महिलाको दोहोरो, तेहोरो भार कम गर्ने प्रयास देखिदैन ।

महिला शसक्तीकरणको क्षेत्रमा लामो समय देखि सकृय हुनुहुन्छ। हामाी कहाँ कमजोर रह्यौ ?
हामी सवै आआफ्नो मुद्दामा मात्र केन्द्रीत भयौं । नारीवादी सचेतना (Feminist consciousness) ल्याई नारीवादी महिलाको आधारभूत जमात (Critical Mass) तयार गर्न सकेनौं, नारीवादी नागरिक समाज तयार गर्न सकेनौ । नारीवादी नारीवाद प्रतिको मिथ्या गलत धारणा हटाउन सकेनौं । बिभिन्न लिङ्ग र लैङ्गीगता भएका ब्यक्ती र पुरूषलाई नारीवादी बनाउन सकेनौं । यो नै हाम्रो कमजोरी हुन् जस्तो लाग्छ ।

महिला महिला बीचको अन्तरबिरोधले पनि समग्र महिला आन्दोलन अगाडि बढ्न नसकेको भन्ने तर्कहरु आउन्छन् यसमा तपाईंको भनाइ के छ?

“अन्तरबिरोध” हुनु राम्रो कुरा हो अन्तरबिरोध हुन्छ नै । पुरूष पुरूष बीच पनि अन्तरबिरोध छ र हुन्छ । मानिस सामाजिक अनि सचेत प्राणी हो, कारखानामा उत्पादन भएको वस्तु ( factory product) होइन । ति अन्तरबिरोधलाई चिरी नारीवादी चेतका साथ मुलभुत कुरामा सहमती जनाइ अघि बढ्ने रणनीति बन्न नस्क्नु ,त्यतातिर कम प्रयास हुनु आदि कमजोरी हुन तर महिला कमजोर भएकोले आन्दोलन अगाडि बढ्न नसकेको जस्तो लाग्दैन र होइन । महिला कमजोर छैनन् त्यसरी सोच्नु चाहिँ कमजोरी हो ।

कमला भासिनले एक ठाउँमा भन्नु भएको छ महिलाहरु आफ्नो झ्यालबाट चियाउन त थाले तर अझै बाहिर आउन सकेका छैनन् भने जस्तै महिलामाथी हजारौं वर्षदेखि भएको अन्यायको बिरोधमा उभिन महिलाहरुलाई किन यति सकस ? हरेक दिन जसो दक्षिण एसियामा महिला हिंसा, हत्या र बलात्कारको घटना वाहिर आईरहेको छ यसलाई समाप्त गर्न राज्य समाज र यस क्षेत्रमा लागेका अभियन्ताले के गर्नु पर्ला ?

अन्यायको बिरोधमा उभिन पनि त न्याय के हो अन्याय के हो, अन्यायको सामना कसरी गर्ने भन्ने ज्ञान,सीप, कला सिक्ने मौका पाउनु पर्छ । मौका नै नपाएको अवस्था – अर्थात निदाएको अवस्थाको मानिस नबिउझी कसरी प्रश्न गर्न सक्ला ? नारीवादी सचेतता कति प्रतिशतमा आएको होला ? कति संस्थाले यो सचेतता ल्याउन प्रयास गरेको छ ? संगठन, संस्थाभित्रै पनि यो सचेतता ल्याउन प्रयास कति भएको छ ? ज्यादै कम । नेपालको अधिकांस ग्रामिण महिलाहरु आफ्नो झ्यालबाट चियाउन त के निन्द्रामा नै छन् । नारीवादको “न” सुन्न समेत पाएका छैनन् । घर ब्यवहार मै र्चुलुम्म डुब्नु परेको परिस्थिति छ । अधिकांस महिला अधिकारको बिषयमा निदाएकै स्थितिमा बस्न वाध्य छन् । निदाएकोलाई बिउझाउन , बिउझिएकाहरुले अरुलाई बिउझाई आधारभूत समुह (critical mass) तयार गर्न अभियन्ताहरुको पहिलो कर्तब्य र कर्म हो । यस्तो कामलाई मान्यता दिई सराहना गर्नु समुदायको दायित्व हो । यस्तो कामलाई प्रोत्साहन, प्रवर्द्धन र आर्थिक साथै ब्यवसायिक सहयोग गर्नु राज्यको दायित्व हो ।
यसै कुरालाई मनन गरी बेजिङ प्लेटफर्म फर एक्सन (BPFA), सस्टेनेबल डेभलपमेन्ट गोल्स इम्प्लिमेन्टेसन (SDGs implementation) लाई द्रुतता दिई जेन्डर इक्येलिटि ( Gender equality achieve) द्धारा पारित जेनेरेसन इक्येलिटि फोरुम (Generation Equality Forums) ले कार्यान्वयनमा ल्याएको छ । त्यसमा समाबेश गरिएका ६ विषय मध्ये एउटा विषय नारीवादी आन्दोलन र नेतृत्व (Feminist movement and Leadership )हो ।
नारीवादी आन्दोलन र नेतृत्व सबल नभए सम्म व्यवस्था वा विश्व व्यवस्थामा परिवर्तन ल्याउन कठिन हुन्छ । सो नभई महिला हिंसा, हत्या र बलात्कारको घटना समाप्त हुदैन । अन्यथा काग कराउदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तै हामी कराउदै गर्छौं , लिङ्गको आधारमा गरिने हिंसा विरुद्ध १६ दिने अभियान ( 16 days Activism against GBV) बर्षै पिच्छे गर्दै गर्छौं , नारी दिवस मनाउदै गर्छौं अनि हरेक दिन महिला हिंसा, हत्या र बलात्कारको घटना बढ्दै गरेको समाचार सुन्दै रहन्छौं ।

अन्तमा केही भन्न छ की ?
मानव अधिकारको क्षेत्रमा लाग्ने अभियन्ताहरुले , अभियानलाई रोजी रोटी, करियरको साधन मात्र नबनाई सच्चारुपमा साधना बनाई जीवनको ध्येयको रुपमा लिनु आवश्यक छ । नयाँ पिढीले यस्ता मिसनमुखी महिलाको जमात तयार गरी नारीवादी आन्दोलनलाई समावेशी व्यापक र तिब्रता दिन अगुवाई गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहान्छु । यसको निम्ति मेरो साथ र सहयोग सधै रहनेछ । यसो भन्ने अवसर दिनु भएकोमा धन्यवाद ।

तपाईको प्रतिक्रिया