क्रान्ति सुब्बा । हङकङ ।

सामरीटन बीफ्रेन्डर्स हङकङ नामको गैरसरकारी संस्थाले जुलाई २९ तारीख शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार  सन् २०२२ सालमा हङकङमा आत्महत्या गर्नेको संख्या १,०८०  रहेको छ। आत्महत्या गर्नेमा ६० प्रतिशत पुरुष रहेका छ्न।

  सन २००७ साल यताको अर्थात १५ वर्षको अबधिमा आत्महत्याद्वारा मृत्युवरण गर्नेको संख्या र आत्महत्या दर दुबैको तथ्यांक यो वर्ष उच्च देखिएको छ । 

आत्महत्या गर्नेमा झन्डै आधा जस्तो अर्थात ४७७ जना  मानिस ६० वर्ष वा सोभन्दा बढी उमेरका थिए । यो भन्दा अगाडि सन १९७३ सालमा वयोवृद्धको आत्महत्याको संख्या उच्च थियो। तर त्यसबेलाको रेकर्ड समेत यस पटक तोडिएको छ। साथै आत्महत्या गर्नेको संख्या वार्षिक ६.९५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

सामरीटन बीफ्रेन्डर्सका कार्यकारी निर्देशक क्लेरेन्स साङ चिन–क्वोकले वयोवृद्धहरुको जनसंख्यामा वृद्धि आए संगै  वृद्धवृद्धाद्वारा  आत्महत्या गर्ने घटना पनि बढेको बताएका छ्न। अहिलेको अवस्थामा वृद्धवृद्धाले पारिवारिक सहयोग पनि कम पाइरहेको उनले उल्लेख गरे ।

“उनीहरूका छोराछोरी विवाहपछि प्रायः टाढा जान्छन्। साथै मानिसहरूले आजभोलि कम बच्चाहरू जन्माउँछन् त्यसैले अर्को पुस्ताबाट धेरै सहयोग प्राप्त गर्ने स्थिति छैन ” उनले भने।

“आफ्नो जीवन साथी गुमाए पछि उनीहरुमा एक्लोपन बढेर जान्छ र उनीहरूले आफ्ना बच्चाहरूबाट पनि खासै सपोर्ट पाउदैनन् ।”

साङ कार्यरत संस्थाले आत्महत्या रोकथाम सम्बन्धि कार्य गर्दछ। हरेक वर्ष हङकङको कोरोनर्स कोर्टले सार्वजनिक गर्ने तथ्याङ्कलाई यस संस्थाले विश्लेषण गर्ने गर्दछ। साङका अनुसार ७० वर्ष वा सोभन्दा बढी उमेरसमूहका बासिन्दामा आत्महत्या गर्ने जोखिम बढी देखिएको छ। उमेरसंगै उनीहरुको स्वास्थ्य र सामाजिक जीवन खराब हुदै जाने भएका कारण उनीहरु आत्महत्या तर्फ उन्मुख भएको देखिन्छ ।

आत्महत्या गर्ने सोचाइ मनमा आएमा त्यसलाई हटाउन तुरुन्त सहयोगको खोजी गर्नुपर्दछ भन्छ्न साङ। हङकङमा पाको पुस्ताको जनसंख्या बढ्ने क्रममा छ। त्यसैले पाको उमेरका कमजोर समूहलाई सहयोग गर्नको लागि युवाहरुलाई हङकङबाट पलायन हुन नदिने उपायहरू लागू गर्नु अति महत्त्वपूर्ण रहेको कुरा साङले बताए।
“हालैका वर्षहरूमा हङकङमा चलेको बसाइँसराइको लहरले गर्दा परिवारका सदस्यहरुले आफ्ना वृद्ध नातेदारहरूलाई छोडेर विदेश बसाइँ सरेका छन् जसले  गर्दा वृद्ध वृद्वाले एक्लिएर बस्नुपरेको छ,” साङले भने।

“सरकारले अधबैंसे र कम उमेरका मानिसहरूलाई कसरी हङकङ मै राख्न सकिन्छ त्यसका उपायहरू बारे चिन्तन  गर्नुपर्छ।” उनले थपे।

कोरोनर्स कोर्टले उपलब्ध गराएको यो तथ्यांक जुलाई २९ तारीख शनिबार सार्वजनिक गरिएको हो । यस तथ्यांक अनुसार २०२२ सालमा आत्महत्या गर्ने पुरुषको संख्या ६ सय ७६ र महिलाको संख्या  ४ सय ४ रहेको छ।

यस तथ्यांकले आत्महत्या दर १४.७३ देखाएको छ जसको अर्थ हो प्रति एक लाखमा १४.७ जनाले आत्महत्या गरेका छन् । 

कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव, निराशावादी सामाजिक वातावरण र वृद्धजनको जनसंख्या बढ्दो  भएका कारण आत्महत्या गर्नेको यो संख्या बढ्दै गएको समूहले जनाएको छ । 

महामारीको असर स्वरुप वृद्धजनले जागीर नपाउनु र सामाजिकरूपमा घुलमिल हुने वातावरण नहुनुले पनि  वृद्धजनमा आत्महत्या गर्ने मनोवृत्ति बढेको संस्थाले जनाएको छ।
आत्महत्या गर्ने  २८२ जना ७० वर्ष वा सोभन्दा माथिका उमेर समूहका थिए भने १९५ जना ६० देखि ६९ वर्ष उमेर समूहका थिए ।

समूहले ६७ वटा आत्महत्या मानसिक समस्यासँग सम्बन्धित रहेको जनाएको छ। सन २०२३ मा विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदनअनुसार डिप्रेसन सबैभन्दा सामान्य मानसिक रोग भएको पनि समूहले औंल्याएको छ । 

विश्वको करिब ३.८ प्रतिशत जनसंख्या डिप्रेसनबाट पीडित छ र आत्महत्याको प्रमुख कारण मध्ये एक डिप्रेसनलाई  पनि मानिएको छ ।  डिप्रेसनले आत्महत्याको जोखिमलाई  १५ देखि २० गुणासम्म बढाउदछ। 

तपाईको प्रतिक्रिया