भुईमान्छेको संवेदनालाई जस्ताको त्यस्तै राख्न सक्नु उनको लेखनको स्वाभाव हो । नेपाली साहित्यमा कथा, कविता र अनुभूतिजन्य निबन्ध लेखनमा स्थापित नाम हो अनमोलमणि । झन्डै दुई दशक सक्रिय पत्रकारिता गरेका उनको नीलिमा र गाढा अँध्यारो (२०६६),१९ नम्बर (२०७४) कथा संग्रह), सबुत २०६८ (कविता संग्रह), आजका नेपाली कथा (सम्पादन २०६९), नदीकिनारमा उभिएर २०६१ पुस्तक प्रकाशित छन् । प्रस्तुत छ साताको तीन कविता

साउनको अन्तिम दिन
त्यसैगरी रोयो साउनको अन्तिम दिन
जसरी रोएकी थियौ तिमी स्टेशनमा छुट्टिनु अघि !

हुरी चल्यो रात रातभर
स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा
खुल्यो बन्द भयो पटक पटक
पटक पटक खस्यो तिम्रो तस्वीर भित्ताबाट
र अडिएन पटक पटक
कुकुरहरु एकोहोरो रोइरहे रात रातभर
तर अँध्यारो पच्छ्याएर हिँडिरहे तिम्रै जस्ता केही छायाँहरु
सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम्ठम्ती

तिम्रो सम्झना तर्साएर जिस्किरहे चट्याङको आवाजसँगै
विजुलीका धर्साहरु आकाशको मझेरीबाट मसँग
तर साउनको भेलजस्तै गएकी छौ तिमी
र कुनै पनिबेला बगेर विलिन हुन सक्ने
वाजमिरहने बनाएर मलाई
तिमीसँगै गएका छन् मेरा सुन्दर सपनाहरु

उमेर बाहेक गणनाको कुनै कुरो बाँकी नरहेको यो जीवनमा
तिमी गयौ मसँग वाचाबन्धन गरेर फर्किने गरी
साउनको अन्तिम दिन
तर कहिल्यै नफर्किने गरी गणनामा बाँकी भएर गएको छ
साउनको यो अन्तिम दिन !

त्यसपछि तिमीले पनि भुल्नेछौ
मात्रै केही दिन हो
त्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई !

जब अस्ताउने छ घाम
भुल्नेछन् सबैले अघिल्लो दिन
जसरी भुल्छन् यात्रीहरु
आफ्नो छाया र पैतालाको डोब,

पक्कै बिर्सनेछन् सबैले मेरो उपस्थिति
जसरी बिर्सिन्छन् खहरेको भेल
र त्यसले भत्काएको पुरानो गोरेटो
जब बन्छ त्यहाँ नया बाटो,

लेउ लाग्दै गएको तुलसीको मठ
सुक्दै गएको आँगनको नीमको बोट
मेरै उमेर जस्तो मक्किँदै गएको अम्बाको रुखले पनि भुल्नेछ,
रातभर खोकिरहने दमको रोगी जस्तो
त्यो बुढो कुकुरले भुल्नेछ
भुल्नेछ मलाई त्यो मखमली फूलले पनि,

कब्जा खुस्केका ती पुराना झ्यालहरुले भुल्नेछन्
जहाँबाट हेरेथेँ मैले पूर्वको क्षितिज र अस्ताउँदो पहेँलो घाम
भुल्ने छ त्यो सिरसिरे बतासले
जो मलाई छोएर तिमीसम्म पुग्थ्यो हरदिन
भुल्नेछ त्यो सुक्दै गएको खोलाले
जो बगिरहन्छ दुई किनार छुँदै बेढंगले
जंगलको कुकुर दाइनोको लहराले भुल्नेछ
बिना ओत म भिज्दै हिंडेको त्यो झरीले भुल्नेछ
र मलाई भतभत पोलेको त्यो धूपले पनि भुल्नेछ,

भुल्नेछ मलाई म हिंडेको बाटोले भुल्नेछ
स्कुलको भाँचिन लागेको बेन्ची र रंग खुइलिएको
मूलथामले भुल्नेछ
मास्टरजीको पावरदार चस्मा
र मेरो हत्केलामा सुम्ला पारेको त्यो ताप्रेको सिर्कनोले भुल्नेछ,

कतै कुनै मित्रको एलबममा रहेछ भने पुरानो तस्वीर
खुइलिँदै जानेछ त्यसको चमक
र एलबमले भुल्नेछ
पक्कै भुल्नेछ !

मात्रै केही दिन हो आँखामा
सम्झनाको पछ्यौरी फरफराइरहने
मात्रै केही दिन हो मुटुमा
प्रेमको बतासले सुम्सुम्याए जस्तो गर्ने
यस्तो लाग्छ,
यता हिउँमा पग्लिएर हराउने छ मेरो पैतालाको डोब
त्यही बेला ‘उता’ हराउनेछ
दोबाटोको दर्शन ढुंगामा बुढी औँला ठोकिएर लागेको मेरो रगतको दाग,

बस्,
त्यसपछि त तिमीले पनि भुल्नेछौ !

घुम्ती छेलिएपछि

घुम्ती छेलिएपछि
हर साँझ
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

विर्सिदिनू विझाउने सम्बन्ध
सहरको भीरबाट मान्छे मान्छेको कहाली लाग्दो छाँगोमा
नजोड्नू खिइदै छिन्न लागेको सम्झनाको तार
जसमा बज्ने छैन कुनै मुर्च्छना
च्यातिदिनू तरंगको सिरसिरे हावामा
एकनास फरफराइ रहने पीडाका पर्दाहरु
र हेर्नु आकांक्षाको खुला आकाश
शीतल बतासको मुस्लोले छोयो भने त्यतिखेर
अनुभव गर्नू म तिम्रै छेउछाउ कतै उडिरहेछु हावा भएर
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

तिम्रो अभावमा-
लम्पसार अजिङ्गर जस्तो कालो सडकमा
हुन्हुनाएर कुद्ने गाडीजस्तै चिप्लिएँ भने म
हुस्सुको डोरी समातेर उठ्न सकुँला नसकुँला
सुसेली विनाको आवाजले पछारिएँ भने म
पट्यार लाग्दो यो अँध्यारो समयमा
नकहालिइ ब्यूझिन सकुँला नसकुँला
धमिराको देवल जस्तो चुचुरै चुचुरा वा खण्डै खण्ड पारेर मनलाई
तिम्रो नाममा समर्पण गर्न सकुँला नसकुँला
पानी सुक्दै गएको सहरको मैलो नदी जस्तो अल्छीलाग्दो गरी बगिरहेछु
विहान हुनु अघि मुर्झाएको जून, तारा वा आकाश जस्तो एक्लिरहेछु
म याद गरिरहुँला तिमीलाई,तिमीले पनि याद गर्नू
वाडुलीहरुमा असरल्ल फिँजाइ दिउँला एकअर्कालाई
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

नसोध्नु मसित
घुम्ती छेलिएपछि हर कुइनेटाहरुमा
किन यति सारो नमेटिने गरी गाढा हुन्छ स्मृति ?
म यही प्रश्न सोधिरहेछु आफैसित ।

तपाईको प्रतिक्रिया