नेपाली कविता लेखनमा निकै ठुलो सम्भावना बोकेका एक युवा जो आफ्नो कविताहरुमा भुईमान्छेको जीवन र मानवीय समवेदनालाई नेपाली र हिन्दी भाषामा धाराप्रवाह बडो मिहिन र शालिनरुपमा लेख्थे । उनी छोटा र चोटिलो कविता लेखनमा निकै माहिर थिए तर क्यान्सरसँग जुझीरहेका कवि प्रचण्ड भास्कर अब हामीबीच रहेनन् । हामीले आजको साताको तीन कवितामा उनका कविता प्रस्तुत गरेकाछौं ।

गल्ती

हिजो सम्म त्यागेर गुलियो
जो बाँचिरहेथ्यो मधुमेहबाट
त्यही मान्छे मरिरहेछ आज
चाखेर नेताको मिठो जिब्रो ।

जिज्ञासा

सरकारसँग छैनन्
जनताका प्रश्नका उत्तरहरू
जनतासँग छैनन्
सरकारका उत्तरका प्रश्नहरू
मेरो देश अब कसरी उत्तीर्ण होला ?

डर

निषेध गरेको छु
आफूलाई
मायाको जङ्गलमा पस्न
आफ्नो जलिरहेको हृदय बोकेर ।

तपाईको प्रतिक्रिया