सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको रुचि कविता लेखनमा पनि छ। उहाँको साहित्यीक सुरुवात कविता लेखनबाट भएपनि प्राय आख्यान तथा गैर आख्यानमा कलम चलाउनु हुन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो दखल भएका आचार्यको पछिल्लो समय नेपाली भाषाको उपन्यास मोचन र अङ्ग्रेजी भाषाको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको सेक्स, जेण्डर एण्ड डिसेबिलिटी गैर-आख्यान कृति पनि बजारमा आइसकेको छ। प्रस्तुत छ साताको तीन कविता ।

बुवालाई पत्र

बा-
छोरीलाई काँधमा राखेर
खुल्ला आकासमा चम्किरहेका
ताराहरु देखाउदै गर्दा
सम्झिरहेछु यी तिनै ताराहरु होलान
जसलाई मैले तिम्रा काँधबाट हेरेको थिएँ ।

तिनै ताराहरु थिए साक्षी
मेरा उट्पट्याङ्ग प्रश्न, मेरो हुर्काई र तिम्रा प्रेमका ।

टिलपिल तारा जडित क्यानभास जस्तो आकासलाई पृष्टभूमिमा राखेर
तिमीले पोतेको थियौ मेरो अनुहार प्रेम मसिले
त्यहि मसिले पोतेका थियौ सपनाको चित्रकला
जुन म आज कोर्दैछु मेरी छोरीलाई काँधमा राखेर
त्यहि तारा जडित क्यानभास जस्तो आकासलाई पृष्टभूमिमा राखेर ।

अथाह खुशी र प्रेम त मैले मेरो सन्तानलाई दिए भन्दा पनि
अबोध सन्तानबाट लिनु झन् बढिरहेछ भन्ने बुझेपछि
मैले तिमीलाई कति पिरोले होला ?
भन्ने पल पलको प्रश्नले त्यति पिरोलेको छैन मलाई आजकाल
तर पनि मैले कसम खाएको छु तिनै तारालाई साक्षी राखेर
म कहिल्यै बिर्सने छैन मेरा बाको म संगको प्रेम
र मनमनै भन्दैछु मेरी छोरीलाई तिमि पनि नबिर्सिनु है मलाई

बा-
तिमि र आमालाई सम्झदैछु यतिबेला
गोडमेल गरेउ, मल हालेउ
र एउटा रहर लाग्दो पिपल झैं बनायौ
म जरा हाल्ने भएपछी
सन्तान पत्नी र बा-आमालाई छहारी दिनु
मेरो कर्तव्य हुन थाल्यो ।

यदि कतै तिमीलाई यो छोरो स्वार्थी भयो भन्ने लाग्यो भने
मेरा सबैमा तिम्रो हक लाग्न छोड्यो भन्ने लाग्यो भने
वा म कसैको भएँ र माया दिन छोडे भन्ने लाग्यो भने
जस्तो तिम्रा बाले पनि त्यही सोचेको हुन सक्थे
सम्झिनु-
हुर्कदै गएपछी सन्तान र बाआमा बिचको प्रेम पर्दामा नदेखिएको मात्र हो
तारा जडित आकासको क्य्यानभासमा नपोतिएको मात्र हो
प्रेम भन्दा माथी अर्को ठूलो कर्तव्य भएर मात्र हो
तर म कहाँ बिर्सिनु सक्छु र
तिम्रो चुम्बनले यो चिउडोमा बनाएको सुन्दर डिम्पल ।

कोही बाँचोस् त धुपीकोबोट जस्तो

मेरो घरको पहरेदार भएर बसेको छ

एउटा धुपीको रुख
बर्षौ भयो यसले आफ्नो रङ्ग फेरेको छैन
हरेक ऋतुमा उ त्यसरीनै तैनाथ देखिन्छ
जसरी पल्टनमा सिपाही हातमा बन्दुक बोकेर उभिन्छ
घरी उ देखिन्छ उड्न लागेको अन्तरिक्ष यान जस्तो ।

प्रचण्ड तापमा पनि मुस्कुराएकै हुन्छ।
हिउँको सिरक ओडेका बेलापनि
अलिकति टाउको निकालेर च्याएकै हुन्छ आकाश
बरु उखेलिन्छ, काटिन्छ, भाँचिन्छ, च्यातिन्छ
तर-

फेर्दैन उ आफ्नो जवानीको हरियो जब्बर रङ्ग
अन्तिम घडीसम्म पूरा जीवन बाँच्छ
जिएर बाँच्छ, मस्त बाँच्छ
कोही बाँचोस् त धुपीको बोट जस्तो।

बुढो उमेर र मृत्यु

म खाली रुख हुँ
सुखा डण्ठि हुँ पात झरिसकेको
हाँगा भाँचिसकेको
कुनै चरा आउदैन गुँड लाउन
कुनै हावाको झोका आउदैन पात हल्लाउन
पानीको एक थोपा पर्दैन मलाई चुम्न
न सुर्यको किरणले मलाई सेक्छ
न त प्रकृतिले मलाई प्रेम गर्छ
न त घृणा नै गर्छ ।
म छोडिएको, वास्ता नगरिएको
एउटा बुढो वृक्ष हुँ
बटुवा आउँछ तर
मेरो छहारीमा सुस्ताउदैन
मेरो पछाडी लुकेर
कुनै प्रेमजोडीले चुम्बन गर्दैन
मेरा जराहरुले माटो समाउन छोडिसके
काण्डहरु कमजोर भैसके
न माटोले नै मलाई समाउँछ
मलाई आज कोहि चाहिएको छ
मलाई कोहि चाहिएको छ
माया गर्ने ताकि
म बुझ्न सकौं घृणा के हो ।

मृत्यु अनिवार्य छ

तर कतिबेला आउँछ त्यो थाहा छैन
समय नखर्चिनु बलिया पाखुरा बनाउन
बरु तयारी भएर बस्नु बलियो मुटु लिएर
जुन कुनै पनि बेला धड्किन छोड्छ ।
नरुनु,
यदि तिम्रो मान्छेलाई उसले चुँडेर लग्यो भने,
बरु बुझ्नु
जन्म जीवनमा दुई चोटि आउँछ,
एउटा जन्मिदा आउँछ, अर्को मर्दा आउँछ।

जन्मनु भ्रम हो,मर्नु सत्य हो
यो सत्य हो, सत्यसंग जो पनि डराउँछ,
पिंडा हुन्छ, पोल्छ
यदि उ आएर
तिमीले मन पराएको मान्छेलाई लिएर गयो भने
बाँकी काम तिमीले गर्नु ।
उ जति बेला पनि आउन सक्छ
तिम्रो प्रस्वासमा आएर अल्झिन सक्छ
तिमी सुतेको बेला, सुरुप सुरुप चिया पिएको बेला
बिहान घाम उदाएको बेला, गोधुली साँझमा
चरा चिरबिराएको बेला
जुनी जुनी बाँच्ने कसम खाएको बेला
बादल मडारिएको बेला
दिन खुलेको बेला
घरमा गाई ब्याएको बेला
तिमी यात्रामा निक्लिदै गर्दा

बोट बिरुवासंग बोल्न नबिर्सिनु
घाम र जुनसंग भलाकुसारी गर्न नबिर्सिनु
बटुवासंग सुसेली हाल्दै एकछिन आराम गर्नु
पानी पर्यो भने एकछिन रुझ्नु,
हिउँ पर्यो भने, एकछिन खेल्नु
झुप्रो देखियो भने एकछिन पस्नु र बस्नु
सम्झनामा रहने काम गर्नु उ जति बेला पनि आउन सक्छ ।

तपाईको प्रतिक्रिया