– सुर्य सिङ्गक लिम्बु

त्यो दुर्घटना !

  हङकङको निर्माण क्षेत्रमा पर्ने काम मध्ये एउटा एकदम गाह्रो काम प्यानलको कामलाई मानिन्छ । यहि कामबाट गुजारा चलिरहेको अवस्थामा हामीसंग काम गर्ने एकजना दाई दुर्घटनामा पर्नुभयो । दुर्घटनामा दाईको दुईवटा करङ भाचिएको रहेछ भनेर पछि दाईसंग फोनमा कुराकानीको क्रममा थाहा भयो ।

हङकङमा कुनै पनि  निर्माण क्षेत्रमा दुर्घटना भएको खण्डमा एक वा दुईदिन काम बन्द हुने गर्दछ । दाई दुर्घटनामा परेको हुनाले हाम्रो काम पनि  एक दुई दिन बन्द हुन्छ होला भनेर सोचेका थियौ ।  आजबाट काम शुरु हुन्छ होला,  भोलीबाट काम शुरु हुन्छ होला भन्दै करिब दुई हप्ता बितिसकेको थियो ।

बल्लतल्ल दुई हप्तापछी भोलीबाट काम शुरु हुदैछ है । सबैजना कामको लागि रेडि हुनु भन्दै हाम्रो कामको ठेकेदार भाईले कामको भाईबर ग्रुपबाट उर्दि जारी गरे । काम त शुरु भयो तर एक हप्ताको काम पछि कंक्रीट ढिलो हुने भयो भनेर फेरि करिब हप्ता  छुट्टी राखियो ।

त्यो बिहानी !

एक हप्ताको छुट्टी पस्चात फेरि भोली सात बजेबाट काम शुरु भन्दै ठेकेदार भाईले भाईबरमा उर्दि गरे । काममा जाने दिनको त्यो बिहानीमा उठेर काममा जानको लागि ताजा भईयो । तर , खै किन ! त्यो दिन काममा जान पटक्कै मन लागेन । सायद काम भन्दा धेरै छुट्टीले गर्दा होला शरीरमा आलस्य पैदा महसुस भैरहेको थियोे । काममा जाउ कि नजाउ ! भन्ने कुरा खेलाउदै एकछिन थुचुक्क बसे । होस! आज नजानु पर्‍यो भोलीबाट चाहिँ काम सुचारु गर्नु पर्‍यो भन्ने निर्णय गरे ।

आजबाट काममा नजाने भोलिबाट काममा जान्छु भन्ने निर्णय गर्दै ठेकेदार भाईलाई भाईबरमा म्यासेज लेख्दै आज म काममा आउन सक्दिन  भोलीबाट आउछु भन्दै सन्देश पठाए । काममा नजाने भएपछि  लुगा  खोलेर ओछ्यानमा ढल्किन गए ।  मोबाईल चलाउन थालेँ ।  ठेकेदार भाईको कल आयो   । एकदुई कल त उठाईन ।  कल नउठेपछी भाईबरमा म्यासेज आउन थाल्यो ।

“हेल्लो”

“दाइ मान्छे पुगेन । काममा आइदिनु परयो।”
“होर?”
” हो नि । बरु आठ बजेसम्ममा आइदिनोस ।”
” ओके ओके।”

त्यो दिन !

भारी मन बोकेर  काममा जान घरको ढोकाबाट बाहिरिए । घरको सिढीबाट झर्दै थिए । फेरि ठेकेदार भाईले कल गरेर दाई हिड्नु भयो ? भनेर सोध्यो ।  ठेकेदारलाई पनि  आफ्नो काम समयमा सक्ने चिन्ता भएको पाएँ ।

साइटमा काम सुरु गर्नथाले पछि लन्चको समय भएको पत्तै भएन। लन्च खानको निम्ति नजिकैको सधैं जाने चिनियाँ रेष्टुरेन्टमा गयौं  । लन्चको समय सकियो ।काम शुरु भो।

” दाइ !  मसंग काम गर्ने मेरो पार्ट्नर त घर पो गएछ ।” एउटा भाइ आएर मलाई सुनायो।
” किन गएछ त घर ?” भनेर जिज्ञासा राख्दा भाईले अनभिज्ञता जाहेर गरे ।

करिब दिनको तीन बजेतिर अर्को एकजना भाई मेरो नजिक आयो र भन्यो “दाई अघि लन्चपछी घर गएको दाईको बुढी र छोरीलाई त कोरोना पोजेटिभ देखियो रे त्यही भएर लन्चपछि घर गएको रहेछ ” ।
यस्तो खबर सुन्दा कस्तो नरमाइलो लागेर आयो। कोरोनाले अब नेपालीलाई पनि बाकी नराख्ने भो। अब के  हुन्छ होला ? त्यो भाइको परिवारबाट उसलाई पनि सरयो कि ? र उसबाट यहाँ काम गर्ने हामीलाई । डर र आतंक एकैचोटि मनभरी छायो।

एकछिन पछी त्यही भाई आएर लु दाई हामीसंग काम गर्ने साथीको परिवारलाई पोजेटिभ देखिएकोले मुख्य कम्पनीबाट हामी सबैलाई पिसिआर परिक्षण गर्न अहिले नै जानू पर्ने रे भनेर जानकारी गराए ।

त्यो पिसिआर परिक्षण !

मुख्य कम्पनीबाट अनिवार्य पिसिआर परिक्षण गर्ने उर्दी आएपछी काम रोकेर लुगा फेरेर तयार भयौ । पिसिआर परिक्षण गर्नु कहाँ जाने त भन्दै छलफल गरियो । कामको साथीहरु धेरै जसो जोर्डन र याउमातेवासीहरु भएकोले याउमाते नै जाने भनेर निर्णय गरियो ।

याउमाते जाने कुरा हुदा कम्पनीको चिनियाँ फोरमेनले याउमातेमा मान्छे धेरै हुन्छ र पैसा पनि  तिर्नु पर्छ । बरु यहि नजिक पिसिआर परिक्षण गर्दैछ । पैसा तिर्न पर्दैन अनि मान्छे पनि धेरै हुदैन भन्ने जानकारी दिए ।

लु यहाँ नै ठिक रहेछ भनेर हामी सबै साथीहरु ती चिनियाँ फोरमेनको पछी लाग्दै पिसिआर परिक्षण केन्द्रमा पुगेर परिक्षण गरायौं  । परिक्षण गरेको बहत्तर घण्टापछि परिणाम आउँछ भन्ने जानकारी भयो । हङकङमा कोरोना महामारी पश्चात् मैले पहिलोपल्ट जाँच गराएको थिए ।

पहिलोपल्ट भएकोले के हुने होला भन्दै मनमा डर पनि उत्पन्न भईरहेको थियो । मन दह्रो बनाएँ । भोलिपल्ट नै परिक्षणको परिणाम नेगेटिभ भनेर मोबाईलमा म्यासेज आयो । अहा! मन प्रफुल्लीत भएर आयो ।

“मेरो त नेगेटिभ आयो है” भन्दै कामको ठेकेदार भाईलाई सुनाए । सबै कामदारहरुको पिसिआर परिणाम आएपछी काम शुरु हुन्छ भनेका थिए ठेकेदारले । हामीसंग कामगर्ने सबैको नेगेटिभ नै आएको रहेछ ।

अब त काम शुरु हुन्छ होला भनेको ठेकेदार भाईले ” लु कम्पनीबाट फेरि एकचोटि पिसिआर परिक्षण गर्नुपर्छ भनेको छ । फेरि सबैले परिक्षण गर्नुहोला ” भनेर जानकारी दिए । त्यसै त दैनिक ज्याला मजदुरी गर्ने मान्छे, कम्पनीले भनेपछी गर्नु नै पर्ने भयो । दोस्रो चोटि कम्युनिटी सेन्टर याउमातेमा परिक्षण गरियो । दोस्रोपल्ट  पनि नेगेटिभ नै भनेर म्यासेज प्राप्त भयो । धन्य जिन्दगी ।

स्वास्थ्य विभागको त्यो कल !

दोस्रोपल्ट पिसिआर परिक्षण गर्दासम्म तीन दिन बितिसकेको थियो । तर तिनदिनपछि हामीसंग काम गर्ने भाई जो उसको श्रीमती र छोरीलाई पोजेटिभ देखिएको थियो , त्यो भाईलाई पनि पोजेटिभ देखियो भनेर जानकारी भयो ।
अब चाहिँ मनमा पक्का ढ्याङ्ग्रो बज्न थाल्यो । कामसंगै गर्ने भएपछी काममा हल्का के छ कसो छ भनेर साथीभाइ माझ कुराकानी भईहाल्छ । मैले पनि त्यो भाईसंग काममा हल्का कुराकारी गरेको थिएँ।

अबभने मनमा भाईरस सरी हाल्यो कि वा क्वारेन्टाइन जानू पर्ने हो कि भनेर चिन्ता लाग्न थाल्यो । नभन्दै कामको ठेकेदार भाईले हामीसंग काम गर्नेलाई पोजेटिभ भएकोले हामी सबै संगै काम गर्ने साथीहरु अनिवार्य क्वारेन्टाइन जानू पर्ने भयो र स्वास्थ्य विभागबाट फोन कल आउँछ पर्खेर बस्नुहोला भनेर उर्दि गरे ।

नभन्दै स्वास्थ्य विभागबाट एकजना नेपाली बहिनीले कल गरिन ।
“तपाईंको संपर्क  पोजेटिभ भएको मान्छेसँग भएकोले तपाईं हङकङको कानुन अनुसार क्वारेन्टाइन बस्नुपर्ने हुन्छ।” नारी आवाजले भन्यो ।

” हुन्छ म बस्न तयार छु।” अदालतले सजाय तोकिदिएको अपराधी जस्तो भयो मेरो हालत  ।

ती बहिनीले मेरो आईडी नम्बर देखि घरको ठेगाना आदि ईत्यादी सबै टिपिन मानौ जेलबाट फरार भएमा खोज्न सजिलो होस भनेर पुर्ण विवरण मागिदैछ ।
अनि तपाईंले पहिले कुनै रोगको उपचार गराउनु भएको छ र हालसम्म कुनै औषधि लिरहनु भएको छ ? भनेर सोधे ।

आफू त उक्त रक्तचापको रोगी, मैले उक्त रक्तचापको औषधि दैनिक सेवन गरिरहेको र अरु त्यस्तो कुनै ठुलो रोग नभएको जानकारी गराएँ। स्वास्थ्य विभागका  ती बहिनीले क्वारेन्टाइन जादा ती औषधि पनि लिएर जानू होला साथै तुथपेस्ट तुथब्रस , स्याम्पो , तौलिया , चप्पल , मोबाईल , मोबाईलको चार्जर आदि ईत्यादी बोक्न नभुल्नु होला भनेर जानकारी दिए ।

“अब तपाईलाई स्वास्थ्य विभागको अर्को कल आउँछ त्यति बेलासम्म घरदेखी बाहिर नजानु होला । घरमा बस्दा एक्लै कोठामै बस्नुहोला । खाना ढोकामा राखीदिनु लाउनु होला । दिशा पिसाब गरिसकेपछी सेनिटाईजरले मज्जाले सफा गर्नुहोला  । “
होइन! हेर्दाहेर्दै कस्तो समय आयो यो अहिलेको अहिले । मैले फोनमा सुनेको कुरा मेरै लागि  हो र? मलाई विस्वास गर्न मन लागेन ।
बहिनिले यति भनिसक्दा म आफै मानसिकरूपमा  बिरामी भैसकेको थिएँ । मैले हुन्छ भने कि भनिन हेक्का भएन । फोन राखेको पनि थाहा पाइन ।

अब क्वारेन्टाइन जाने भएपछी केही समानहरु जगेडा गर्नुपर्ने भयो । केही समान किनमेल गर्न पर्‍यो भनेर श्रीमतीसंग वेलकम सुपर मार्केट गएँ। केही समान किनमेलपछी घर आएर फेरि अर्को स्वास्थ्य विभागको कल पर्खेर बसेँ ।

केही समयपछी  स्वास्थ्य विभागबाट कल आयो । यसपाली चाहिँ एक चिनियाँ केटाले स्वास्थ्य विभागबाट कल गरेको हुँ भन्यो ।
“तलाई अहिले बेलुकी आठ बजेदेखी दस बजेभित्र लिन आउँछ । तेरो क्वारेन्टाइन बस्ने चाहिँ सिल्का होटेल चुनवान हो र सबै समान सहित  आफु पनि तयार बस्नु ।” कम्प्युटरको रेकर्ड गरेको आवाज बोली आयो उताबाट ।
  ” हुन्छ धन्यवाद” भनी दिए ।

मैले सोचेको थिए कुनै सरकारले बनाएको क्वारेन्टाइन सेन्टरमा लाने होला । जहाँ केही कुराहरुको कमि हुन्छ भनेर सुनेको थिए । तर होटल भनेपछी मनमा केही राहत महसुस भयो ।

त्यो साझँ !

“भविष्यमा हुने दुर्घटनाको आभास वर्तमानमा हुने गर्छ”  भन्ने सुनेको थिएँ। सायद त्यो दिन म काम नगएको भए यो अवस्था आउने थिएन रहेछ भन्ने मनमनै सोचे पनि ।

सबै क्वारेन्टाइनमा लाने समानहरु तथा लत्ताकपडाहरु एउटा झोलामा हालेँ । बेलुकीको आठ बजेपछी स्वास्थ्य बिभागको मान्छे कुनै समय पनि  आउनसक्छ भनेर आठ बजे नै तयार भएर बसेँ।
आठ बजे तयार भएर बसेको दस बजेसम्म पनि लिन आएन । यो भन्दा अघि नै हाम्रो कामका साथीहरु होटल क्वारेन्टाइनमा पुगिसकेका थिए ।
करिब एघार बजेतिर फोन कल आयो र “म पाँच मिनटपछि आईपुग्छु  तयार बस ” भन्यो ।

म आठ तल्ला बस्ने मान्छे त्यो पनि  लिफ्ट नभएको भवन । सास फुलाउदै स्वास्थ्य विभागबाट एक महिला आइन ।

” यो तल्लासम्म आईपुग्दा त राम्रो कसरत हुने रहेछ” बढेको सास दबाउदै छातीमा हात राख्दै भनिन। 
“हो नि ” मैले पनि थपीदिएँ ।

मेरो ज्वरो नापेपछि  मेरो पछाडि हिड भनिन । म पनि भेडा जस्तो  उनलाई पछ्याउन  थाले ।
  कसैले देखि हाल्ला र के भन्ला एउटा  महिलाको पछि लाग्दा भन्ने डर पनि  कता कता लाग्यो । हाम्रो समाज नै केहि संकीर्ण छ नि । होइन त?

हङकङ तेह्रथुम मञ्च अध्यक्ष देबेन्द्र खापुङ दाईसंग जम्काभेट भै त हाल्यो । दाईले के भयो भनेर सोधे । मैले पनि काममा साथीलाई पोजेटिभ भयो । मलाई क्वारेन्टाइनमा लादै गरेको हो भनेँ ।

मलाई लिन आएको गाडी भित्र छिर्दा पहिले नै एक नेपाली पुरुष र उसको करिब पाँच , छ वर्षको छोरीपनि बसेका रहेछ्न ।
नेपाली नेपाली भएपछी एकआपसमा बोल्ने चलन छ । मैले उसलाई तपाईं चाहिँ कसरी पर्नु भयो क्वारेन्टाइनमा र यी बच्चाको आमा चाहिँ कता छन भनेर जिज्ञासा राखे ।

उसले बच्चाको आमालाई पहिले नै अर्को ठाउमा लगिसकेको र हामी चाहिँ आफन्तलाई पोजेटिभ देखिएकोले क्वारेन्टाइनमा जादै गरेको कुरा उनले गरे।

” होइन एकै परिवार क्वारेन्टाइनमा पर्‍यो भने संगै बस्न मिल्छ ?” मैलो सोधेँ  ।

“बच्चाको आमालाई पहिले नै अर्को ठाउ लगेर राखेको छ” उनले जवाफमा  भने ।

मैले मनमनै सोचे एकै परिवार क्वारेन्टाइनमा पर्दा कसरी चाहिँ श्रीमती अर्को ठाउ र श्रीमान उसको छोरी एक ठाँउ परेछ ।
सायद श्रीमती चाहिँ  पोजेटिभ भएर  हस्पिटलमा उपचाररत होलिन । उनले भन्नू नचाहेको पनि  हुन सक्छ ।

हाम्रो गाडी  जोर्डन एरियामा पुगेर घुमेको घुमेकै थियोे  । पछि ती हामीलाई लिन आउने महिला र गाडीको चालकले ईटन होटल कहाँ छ भनेर हामीलाई पो सोधे ।

हामीले पनि नाथन रोडमा हो भन्यौ । गाडी फेरि जोर्डन एक फन्को मारेर ईटन होटलको छेउमा रोकियो । हामीलाई आभास भईसकेको थियो कि यहाँबाट पनि कोहि लानु आएको रहेछ भन्ने । तर नेपाली हुन कि चिनियाँ हामी अनभिज्ञ थियौ । नभन्दै ती महिलाले एक नेपाली पुरुष लिएर आए । गाडी भित्र छिर्दा उनी त हामीसंगै काम गर्ने साथी पो रहेछ । ती साथीलाई गाडीमा राखे पछी  हाम्रो गाडी मङ्कक हुँदै प्रिन्स एडवार्ड तिर हुईकियो ।

मैले पछाडी हेरे ति नेपाली पुरुषको छोरी मोबाईल हेरिरहेको थिइन। सोचे चौध दिनको क्वारेन्टाइनमा कसरी बाउ-छोरी बस्न सक्छ्न होला !। किनकी मेरोपनि छ वर्षको छोरी छ । छोरी उसकै आमालाई खोजिरहेको हुन्छ । यति सोची रहदा गाडी प्रिन्स एडवार्ड मै दुइचोटी फन्को मार्‍यो ।

त्यहाँबाट क्वारेन्टाइनमा लानु पर्ने एकजनाको ठेगाना गाडीको चालक र ती महिलाले पत्ता लगाउन सकेको रहेनछ । बल्ल त्यहाँको स्थानीय चिनियाँलाई सोधेर पत्ता लगायो ।

यहाँबाट पनि ती महिलाले एक नेपाली पुरुष नै लिएर आए । ती नेपाली पनि हामीसंगै काम गर्ने साथी थिए । ती साथीलाई गाडीमा राख्दा करिब रातको बाह्र बज्न लागेको थियो । आधा रात भईसकेको हुनाले अब अरु कोहि छ भनेर सोध्यौँ। ती महिलाले अब अरु छैन सिधा होटल जाने हो भन्यो । अब चाहिँ गाडी सिधा होटल तर्फ अघि बढ्यो । बाह्र बजे गाडी होटल पुगेर रोकियो । गाडीबाट ओर्लने बेला पछाडी फर्केर हेरेको त ती बच्चा बाबाको काधमा सुतिसकेको रहेछ । सायद क्वारेन्टाइन लामो हुन्छ भनेर बच्चाको लागि धेरै खानेकुरा बोकेका रहेछ्न ।

बच्चा बाबाको काधमा सुतिसकेकोले उसको केही समान होटलको काउन्टरसम्म बोकि दिनु सहयोग गरेँ। काउन्टरबाट कोठाको कार्ड लिएर लिफ्टबाट कोठा तर्फ अघि बढ्ने काम गरियो।

क्वारेन्टाइन डे !

क्वारेन्टाइन बस्नु पर्ने चिन्ताले होला बेलुकी केही खानु पनि मन परेको थिएन । होटलको कोठा भित्र छिरेर झोलाबाट एउटा कप नुडल्स बनाएर खाएँ । घरपरिवारमा कल गरेर होटल पुगियो भनेर खबर पनि गरेँ।

नौलो ठाँउ त्यो पनि आधा रात कहाँ पो निन्द्रा लाग्छ र । त्यहि पनि जसोतसो निदाउने कोसिस गरेँ। सायद ढिलो सुतेर होला भोलिपल्ट बिहान अलिक ढिलो उठिएछ । बिहान ब्रेकफास्ट आउदा ढोका ढकढक्याउछ भनेर भनेका थिए । ढोका ढकढक्याउछ कि भनेर पर्खेर बसे । तर बाहिरबाट आवज नै आएन । अति नै भयो भनेर ढोका खोलेर हेरेको त ब्रेकफास्ट अघि नै राखिदिएको रहेछ । निन्द्राले गर्दा आवाज सुनिएन रहेछ । बेलुका कप नुडल्स मात्र खाएकोले त्यो चिसो भईसकेको ब्रेकफास्ट जबर्जस्ती खाएँ।

स्वास्थ्य बिभागले हामीलाई ज्वरो नाप्ने थर्मोमीटर र ज्वरो कति आएको छ भनेर लेख्ने कागज दिएको थियो । ज्वरो चाहिँ बिहान र दिउँसो नापेर उनिहरुले दिएको कागजमा लेख्नु पर्ने रहेछ । स्वास्थ्य विभागबाट बिहान ज्वरो छ कि छैन कति छ शरीरको तापक्रम भनेर मोबाईलमा कल गरेर दैनिक सोध्ने रहेछ्न ।

क्वारेन्टाइन बसेको पहिलो दिन नै पिसिआर टेष्ट गरेँ। तर टेष्टको परिणाम नभन्ने रहेछ्न । अब क्वारेन्टाइनमा त बसियो भनेर सामाजिक संजाल फेसबुकमा तस्बिर हालेँ। फेसबुकमा हालेको तस्बिर देखेर मेरो साथीभाई र आफन्तजनले हौसला प्रदान गरे ।

क्वारेन्टाइन कै तस्बिर देखेर हङकङका साहित्यकार तथा हङकङखबर.कम (hongkongkhabar.com)अनलाईन पत्रीकाका प्रकाशक तथा संपादक  क्रान्ति सुब्बा दाईले मलाई कल गर्नु भयो । क्रान्ति दाईले के कसरी क्वारेन्टाइनमा पर्नुभयो भनेर सोधे । काममा पोजेटिभको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा पर्न गएको जानकारी दिए । दाईले मेरो अनलाईन समचारमा क्वारेन्टाइन डायरी भनेर स्तम्भ शुरु गर्दैछु । क्वारेन्टाइनमा बस्ने नेपालीहरुको दैनिकी जीवन र कसरी पर्नुभयो भनेर लेख्नु होला । म मेरो अनलाईनमा प्रकाशित गर्नेछु भनेर लेख्ने हौसला दिनुभयो । मैलेपनी हुन्छ दाई कोसिस गर्नेछु भने ।

म क्वारेन्टाइनमा बसेपछी मलाई सहयोग गर्नहुने हिम सिङ्गक भतिजलेपनि मलाई तपाईले त लेख्नुहुन्छ । त्यतिकै नबस्नुहोला केही लेख्नु है भन्दै भतिजले हौसला प्रदान गरिरहेको थियो । यसबिचमा हङकङका सामाजिक कार्यकर्ता जुडि गुरुङले पनि हौसला प्रदान गर्दै केही साह्रो गाह्राे परे मलाई सम्पर्क गर्नुहोला भनेर कल गरिन।

एचकेनेपाल डटकम तथा पत्रकार जगतअम्बु गुरुङ दाईले पनि कल गरेर कसरी यस्तो भयो भनेर सोध्नु भयो । जो स्वयंम वहाँपनि हाल क्वारेन्टाइनमा पर्नु भएको रहेछ ।

एनएचडीडी स्टुडियोका संचालक तथा क्यामराम्यान देवमान तुम्बाहाम्फे भदाले पनि  कल गरेर मलाई हौसला प्रदान गर्नु भयो । अन्तमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हौसला प्रदान गर्नुहुने सम्पुर्ण सबैमा हार्दिक नमन छ । पक्कै पनि  पुर्ण रुपमा स्वस्थ्य नै छु भनेर आसा गर्दै घर फिर्ती हुने दिन गन्दै क्वारेन्टाइनमा दिन र रात काटिरहेको छु ।

तपाईको प्रतिक्रिया