- क्रान्ति सुब्बा

हङकङ । हङकङ सरकारले वाङ फुक कोर्टका आगलागी पीडित घरधनीलाई घर भाडा तिर्नको लागि हङकङ डलर वार्षिक एक लाख पचास हजारको दरले अनुदान दिने घोषणा यही डिसेम्बर १८ बिहीबार एक प्रेस ब्रीफिङ मार्फत गरेको छ। यो अनुदान आगामी दुई वर्ष सम्म दिइनेछ । यस सरकारी प्रेस ब्रीफिङमा डेपुटी चिफ सेक्रेटरी वार्नर चेउक विङ-हिङ, गृह तथा युवा मामिला मन्त्री एलिस माक मेई-कुन र श्रम तथा कल्याण मन्त्री क्रिस सुन युक-हानको उपस्थिति रहेको थियो ।

अर्को हप्ताबाट वितरण गरिने यो अनुदान प्रत्येक प्रभावित घरपरिवारलाई किस्तामा दिइनेछ र प्रत्येक ६ महिनामा हङकङ डलर ७५,००० दरले दिइनेछ । यसको अर्थ प्रत्येक फ्लाट मालिकले २ वर्षमा जम्मा हङकङ डलर ३ लाख अनुदान प्राप्त गर्नेछन् । यसका अलावा घर सर्नको लागि रिलोकेसन खर्च भनेर थप ५० हजार हङकङ डलर पनि एक चोटिको लागि प्रत्येक पीडित घर धनी र भाडामा बस्ने परिवारलाई प्रदान गरिनेछ । होटेल वा युथ होस्टेल जस्ता अस्थायी आवासमा सर्ने फ्लाट धनीले पनि यो रिलोकेसन एलाउन्स प्राप्त गर्न सक्नेछन् ।

आगलागीबाट क्षति नपुगेको एक मात्र भवन वाङ ची हाउसका घरधनीले पनि यो अनुदान पाउनेछन् ।

वाङ फुक कोर्टमा भाडामा बस्ने आगलागी पीडित व्यक्तिहरु जो हाल टान्जिसनल (अस्थायी) आवास वा हाउजिङ सोसाइटीद्वारा प्रदान गरिएको रेन्टल युनिटहरूमा बसिरहेका छ्न उनीहरूलाई भने २०२६ साल मे महिनाको अन्त्यसम्म घर भाडा छुट दिइएको छ। यी किरायादारहरुले पनि एक पटकको लागि दिइने घर सर्ने खर्च ५० हजार हङकङ डलर प्राप्त गर्नेछन् । तर यो खर्च प्राप्त गर्नका लागि उनीहरु मे महिनाको अन्त्य अघि नै प्राइभेट युनिटमा सरिसकेको हुनुपर्छ -इमर्जेन्सी एड एन्ड डोनेसन्स तास्क फोर्स प्रमुख चेउकले स्पष्ट पारे।

यस क्रममा डेपुटी चिफ सेक्रेटरी वार्नर चेउकले विस्थापित बासिन्दाहरूलाई पुनर्वास गराउनको लागि लगभग एक हजार वटा अस्थायी फ्लाटहरू अझै उपलब्ध रहेको उल्लेख गरे। तर धेरै जसो घर मालिकहरुले आफ्नो लागि आफै भाडाको घर खोजेर बस्ने इच्छा व्यक्त गरेको पनि उनले बताए ।

चेउकले अगाडि भने – प्रत्येक पीडित घर परिवारलाई हेरचाह गर्न एक परिवार एक सोसल वर्कर सरकारले खटाएको थियो । र ती सोसल वर्करको एउटा दायित्व उनीहरुको इच्छा, चाहना बुझ्नु पनि थियो । सोसल वर्कर र जिल्ला प्रतिनिधिले पीडित परिवारको राय लिदा कतिपय रेसिडेन्टले घर भाडाको लागी पाइने यस अनुदानलाई आफ्नै तरिकाले खर्च गर्ने विकल्प पनि दिइयोस् भन्ने अनुरोध राखेका थिए जसले गर्दा उनीहरुले प्राइभेट मार्केटबाट आफुलाइ पायक पर्ने उचित स्थान भाडामा लिन सकियोस् ।

रिलोकेशन पेमेंटको पहिलो ब्याच २० डिसेम्बरदेखि “हर घर एक सोशल वर्कर” सपोर्ट सिस्टम मार्फत जारी गरिनेछ साथै घर मालिकहरुले ओनरशिप प्रूफ पुन उपलब्ध गराउनु पर्दैन मन्त्री माकले भनिन् ।

तपाईको प्रतिक्रिया