हङकङ । हङकङको ताई पो आगलागीमा ज्यान गुमाएका विदेशी घरेलू कामदारको परिवारलाई सरकारले हङकङ डलर आठ लाखको हाराहारीमा क्षतिपूर्ति स्वरुप राहत रकम दिने घोषणा डिसेम्बर २ तारीख मंगलबार गरेको छ।
वांग फुक कोर्टमा लागेको आगोमा डिसेम्बर २ तारीख सम्ममा दस जना घरेलु कामदारको मृत्यु भएको थियो र ३० जना बेपत्ता थिए । यस हाउजिङ एस्टेटमा फिलीपींस र इंडोनेशियाबाट आएका २३५ जना डोमेस्टिक हेल्परहरु काम गर्दथे ।
“मृत्युवरण गरेका प्रत्येक कामदारका आफन्तलाइ हङकङ डलर ५००,००० ( ५ लाख ) भन्दा बढीको वैधानिक क्षतिपूर्ति दिइनेछ । यसका अतिरिक्त एक पटकको लागि हङकङ डलर २५०,०००( २ लाख ५० हजार ) आर्थिक सहयोग पनि दिइनेछ”- श्रम तथा कल्याण मन्त्री क्रिस सनले भने ।
“उनीहरूले लगभग हङकङ डलर ८००,०००( ८ लाख ) पाउनेछन्,” सनले भने।
“हामी यो आर्थिक सहयोग संबंधित वाणिज्य दूतावासको सहयोग लिएर हङकङमा श्रम विभाग मार्फत वितरण गर्नेछौं। मुल कुरा के हो भने उनीहरूका वास्तविक परिवारका सदस्यहरू मात्र आर्थिक सहयोग दाबी गर्न योग्य छन् भन्ने कुरा हामीले सुनिश्चित गर्नु पर्दछ । ”
आगलागीमा घाइते भएका घरेलु कामदारहरूले अस्पतालमा बसेको आधारमा हङकङ डलर ५०,००० देखि हङकङ डलर १,००,००० सम्म सहयोग पाउनेछन्। आगलागीबाट बाँचेका अन्यले हङकङ डलर २०,००० पाउनेछन्।
घाइते भएको या नभएको वाङ फुक कोर्टमा काम गर्ने प्रत्येक घरेलु कामदारलाई सरकारले हङकङ डलर २,००० रकम भरेको अक्टोपस कार्ड पनि प्रदान गरिरहेको छ ।
आगलागीमा परी कम्तीमा १० घरेलु कामदारको मृत्यु भएको थियो, जसमा नौ जना इन्डोनेसियाली र एक जना फिलिपिन्सकी थिइन्।





